कांग्रेसमा गुट राजनीति: महाधिवेशनको मैदानमा भिड्ने सिटौलाको हाँक

काठमाडौं । दुइ जना चर्चित युवा नेताहरु गगन थापा र प्रदीप पौडेललाई दायाँ बायाँ राखेर नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूह संगठित स्वरुपमा पार्टीको आगामी महाधिवेशनको मैदानमा उत्रिन तयार रहेको हाँक दिएका छन् । कांग्रेसभित्र तेस्रो गुटका रुपमा चित्रित गरिँदै आएको सिटौला नेतृत्वको समूह तितरबितर भएको चर्चा चलिरहेकै बेला यी तिनैजना नेता एउटै मञ्चमा उभिएर आसन्न महाधिवेशनको तयारीमा जुटेको सन्देश दिने प्रयाश गरेका छन् ।

पूर्व महामन्त्री सिटौलाले आफ्नो समूह संगठित रहेको बताउँदै निकटस्थ नेता कार्यकर्तालाई अरुको आश्रयमा नजान सुझाए । बहुमतको बलमा पार्टीमा निरंकुशतन्त्र चलाएको आरोप खेपिरहेका सभापति शेरबहादुर देउवा समूह र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेता मानेर महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह समेत संगठित रहेको दुइ समूह वीच विवाद जारी छ । सिटौला भने पछिल्लो समय पौडेल समूहको बैठकमा सहभागी हुँदै आएका छन् । देउवाको नेतृत्वको संस्थापन समूहको हातमा पार्टी संगठनको डाडूपन्यु छ । उसले आफ्नो अनुकूल हुनेगरी मनोनयन, गठन र वितरणको काम गरिरहेको आरोप अरु दुइ समूहले लगाईरहेका छन् । यसमा देउवाले विपक्षी समूहसँग सामान्य परामर्श पनि गरेको पाईँदैन । देउवाको एकलौटी व्यवहारले पौडेल र सिटौला समूह टाढिँदै गएका छन् भने आगामी महाधिवेशनमा पुग्दासम्म देउवा विरुध्द उनीहरु एकढिक्का हुने सम्भावना पनि    देखिन्छ ।

पूर्व महामन्त्री सिटौला महाधिवेशनलाई लक्षित गरि पूर्वका जिल्लाहरुमा वडा तहबाटै कार्यकर्तासँग भेटघाटमा लाग्ने योजनामा रहेको बुझिएको छ । यसका लागि उनी चाँडै गृहजिल्ला झापा जाँदैछन् भने त्यहीँबाट यो अभियान अगाडि बढाउन लागेको सिटौला निकट सूत्रले बताएको छ । युवा नेताहरु गगन थापा र प्रदीप पौडेल पनि यस अभियानमा जिल्ला दौडाहामा निस्कने तयारी भैरहेको बुझिएको छ ।

सिटौलाले सोमबार काठमाडौं आयोजना गरिएका आफ्नो निकट क्रियाशील सदस्यहरुको भेलामा अरुको आश्रयमा नजान सल्लाह दिए । आफ्ना समर्थकहरु नेता रामचन्द्र पौडेलसँग नजिकिएको चर्चा रहेकै बेला यो भेला आयोजना गरिएको थियो । सिटौलासँगै बसेका गगन र प्रदीपले पनि आफ्नो समूहमा कुनै तलमाथि नभएको दावी गरेका थिए । त्यही कार्यक्रममा सिटौलाले ०७७ फागुन ७ देखि १० मा हुने महाधिवेशनमा आफ्नो समूहबाट पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वारी दिनेगरी तयारी गरिने पनि सुनाए । उनले क्रियाशील सदस्यता वितरण समय भएकाले अहिले कार्यकर्तालाई विषेश परिस्थितिमा बाहेक जिल्ला नछाड्न आग्रह गरे ।

 सिटौलाले तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने भन्दै कुनै पनि बहानामा महाधिवेशन सार्न नहुने बताए ।  – सरल पत्रिका….