सांसद अपहरण प्रकरण: पूर्वआईजीपी खनाल भन्छन्, ‘यादवलाई हामीले मेरियट होटलमा छाडेका हौंं’

काठमाडौं, वैशाख ११ : समाजवादी पार्टीका सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण भएको पुष्टि भएको छ। अपहरणको आरोप लगेका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वराज्यमन्त्री यादवलाई आफूहरुले जनकपुरबाट काठमाडौं ल्याएको पुष्टि गरेका हुन्। 

बुधबार राति समाजवादीले पार्टी फुटाउने प्रयोजनका लागि यादवको अपहरण प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा भएको आरोप लगाएको थियो। डा यादवको बिहीबार बिहान राजधानीको होटल मेरियटबाट उनको उद्दार भएको थियो।

त्यस लगत्तै समाजवादी पार्टीका सहप्रवक्ता विश्वदिप पाण्डले यादवको अपहरणमा सर्वेन्द्र खनालसँगै नेकपा सांसद महेश बस्नेतको नाम जोडेका थिए। पाण्डेले भनेको थिए,‘प्रधानमन्त्री ओलीको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिँड्नुस् काठमाडौं भन्दै दबाब दिँदै प्रमसँग फोनमा कुरा पनि गराएर काठमाडौं ल्याइएको रहेछ। ओलीको गुण्डागर्दी शैली हदभन्दा बढी भयो।’

पाण्डेले आरोप लगाएपछि काठमाडौंप्रेसले खनालसँग सम्पर्क गरेको थियो। पूर्वआईजीपी खनालले उक्त प्रकरणमा आफ्नो संलग्नता रहेको स्वीकार गरे। जनकपुरस्थित घरमा सेल्फ क्वारेन्टाइनमा बसेका यादवलाई साँझ ५ बजे यादवलाई उनकै घरबाट प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल, नेकपा सांसद् महेश बस्नेत र सांसद एवं व्यापारी किसान श्रेष्ठ लगायतले काठमाडौं ल्याएका थिए। 

काठमाडौंको नक्सालमा रहेको होटल मेरियटमा समाजवादी पार्टीका सांसदहरुलाई प्रधानमन्त्री ओलीले नै खान बस्नको बन्दोबस्तको व्यवस्था गरेको समेत खुलेको छ। पूर्वआईजीपी खनालले यादव, समाजवादीकै अर्का सांसद् कौशल यादवलाई जनकपुरबाट ल्याएर सो होटलमा छाडेको स्वीकार गरे। 

सांसद डा. यादवको भनाइ उदृत गर्दै विश्वदीप पाण्डेले होटलको कोठा नम्बर ७०१ देखि ७१५ सम्म समाजवादीका सांसदहरूलाई राख्न बुकिङ गरिएको र त्यहाँ केहीलाई डर तथा केहीलाई आर्थिक लगायत प्रलोभन देखाएको खुलेको बताएका छन्।

यादवलाई होटलमा लगेर छाड्दै गर्दा समाजवादीकै सांसदहरु रेणु यादव, मोहम्मद इस्तियाक राई लगायतका सांसदहरु रहेको खनालले बताए। ‘हामी (म, महेश बस्नेत) ले उहाँहरुलाई होटलमा छोडेका हौं। त्यहाँ सोही पार्टीका सांसद रेणु यादव, मोहम्द इस्तियाकराई लगायत समेत थिए,’ खनालले भने।

बाबुराम र उपेन्द्रको दौडधूप

प्रधानमन्त्री ओलीले पार्टी फुटाइदिन भगिरथ प्रयत्न गरिरहँदा समाजवादीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले सक्रियतापूर्वक लागेका छन्। उनीहरुले पार्टी विभाजन गर्न लागेका इस्तियाक राई लगायतलाई बारम्बार फोन गरिरहेको पाण्डेले जानकारी दिए। 

त्यस्तै, राईहरु बसिरहेको होटलसम्म समाजवादीका वरिष्ठ नेता अशोक राई, नेता गंगानाराण श्रेष्ठ लागायतका नेताहरु पुगेका थिए। र, उनीहरुको टोलीले सुरेन्द्र यादव लगायतलाई सँगै लिएर आएका थिए।  ‘मेरियट होटल, नक्सालमा ७०१ देखि ७१५ सम्मका कोठाहरूमा थुनेर राखेको भन्ने खबर आएपछि वास्तविकता बुझ्न म बिहान साढे ८ बजे होटलमा पुगेँ।

म पुग्दा आङ्काजी शेर्पालगायतका केही साथीहरू पनि होटलमा पुगिसक्नु भएको रहेछ। हामीलाई होटलभित्र छिर्न दिइएन,’ श्रेष्ठले भने,‘झण्डै ९ बजेतिर कलुदेवी विश्वकर्मा लगायतका सांसदहरूलाई एउटा रातो कारमा हालेर पछाडिको गेटबाट नेकपाका नेता महेश बस्नेतहरूले भगाए। त्यसपछि हामी घर फर्कन लाग्दै थियौं। एक्कासी तीन वटा भ्यान प्रहरी आएर हामीलाई घेरा हालेर हामीलाई नियन्त्रणमा लिए। १० मिनेटपछि हामीलाई छाडिदिए।’

कसरी ल्याइयो काठमाडाैं ? पूर्वआईजीपी खनालकै शब्दमा

केही दिनअघि भक्तपुरबाट उपत्यका छोड्ने नागरिकहरूको चाप धेरै भयो।   लकडाउनका बेलामा के गर्न सकिन्छ भनेर भित्री रुपमा हामीले काम गरिरहेका थियौं। मसँगै सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ हुनुहुन्थ्यो। त्यही  बेलामा महेशलाई मधेसका एक नेता उमाशंकर भन्नेको फोन आयो। त्यतिबेला उनीहरुबीच राजनीतिक कुराकानी भयो। त्यही बेला उहाँले अप्रोच गरेको हुनुपर्छ।

सुरेन्द्र यादवहरु काठमाडौं आउन खोजिरहेका छन् यहाँबाट हिँड्न गाह्रो भयो भनेर। त्यसपछि फोनमा मैले कुरा गरेँ। मैले लकडाउन छ सर बसेर कुराकानी गर्नु त थियो भनेँ। कुराकानी भएपछि हामी आउँछौँ भन्याैं। र, हामी बुधबार बिहान ९ बजेतिर सुरेन्द्र यादवको घरमा पुग्यौं। कुराकानी भएपछि उहाँले ठीक छ भन्नुभयो। बिहानको खाना र खाजासमेत खुवाउनु भयो। उहाँहरुबीच इस्तियाक राई लगायतका नेतासँग पनि कुराकानी भयो। उहाँहरुबीच समझदारी के भयो हामीलाई थाहा भएन। त्यसपछि दिउँसो मधेसकै डा. सूर्यनारायण (पहिले मेडिकल प्रोफेसर समेत रहेछन्) नाम गरेका एक जना नेता रहेछन्। उनीहरुले उहाँसँग पनि कुराकानी गरे।

त्यसपछि घरपरिवार आफन्तसँग पनि कुराकानी गरे। माथि (काठमाडौं)बाट फोन आयो भनेर कुराकानी भएपछि आउने कुरा भयो। त्यसपछि काठमाडौं जाने भनेपछि उनकै गाडीमा उनकै पार्टीका अर्का सांसद् कौशल यादव जाने कुरो भयो। कौशलले म पहिला त्यहाँ बस्दा चिन्थे, दाइ दाइ भनेर बोलाउँथें। उनको गाडीमा भिनाजु नाता पर्ने बडीगार्डसहित मज्जाले आएका हुन्। उनीहरुले नै कुराकानी गरेका हुन्। सबै कुरा गरेर आए बेलुका यहाँ होटलमा पनि बसे। 

अनि हामीले के–के कुरा आयो भन्ने सुन्यौं। उनीहरुलाई मेरियट होटलमा छाडेपछि म त घर आएर बसेँ। मलाई के मतलब भयो र ? उनको गाडीमा हाम्रो गाडी बिग्रिएकाले दुई–तीन जना केटाहरु पनि थिए। पार्टी एक हुने भएपछि उनी निस्किएका होलान मलाई त थाहा भएन।  उनीहरु यसरी–यसरी जाने भनेर सहमतिसहित आएका थिए, भनेका पनि थिए।

बिहान त उनीहरु छैनन्। अशोक राई, विश्वदीप भन्नेहरु को–को आएछन्, गएछन्। हामीलाई किन जोडिरहनु। हामीले नागरिकको हिसावले ल्याइदिएका हौं। अरुले भन्दा पनि विश्वदीपले अलिक फण्डा गरिरहेको देखिन्छ। उनलाई जवरजस्ती उठाएर ल्याइन्थ्यो भने उनीसँगै ६–७ जना किन आउँथे। घरमा किन गइन्थ्यो। त्यस्तो नचाइने कुरा गर्ने?  हामी त्यस्तो गर्छौँ ? हामी लकडाउनका बेला राहत के दिन सकिन्छ भनेर लागिरहेका छौँ।

सुरेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीसँग टेलिफोनमा कुराकानी पनि गरेका छन्। म आउँछु र पार्टी प्रवेश गर्छु पनि भनेका छन्। अनि हामीलाई दोष दिने ? उनको बडीगार्डले डा. बाबुराम भट्टराईलाई फोन गरेको भन्ने पनि बुझिन्छ। हामी सिन्धुलीको बाटो हुँदै आएका हौं।काठमाडौँ प्रेस