आज सचिवालय बैठक को पछि हट्लाः ओली कि प्रचण्ड ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक शक्ति संघर्षले अब कुन बाटो समात्ने हो भन्ने कुरा प्रष्ट नभए पनि सचिवालय बैठकपछि एक न एक परिणाम निस्कने छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भैरहेको यो सत्ता संघर्षको परिणाम कस्तो आउला भनेर त्यस पार्टीका नेता कार्यकर्ता मात्र होइन देशवासीलाई नै चिन्तित बनाएकोलाई नकार्न सकिँदैन ।’cause नेकपाको यो विवाद सहज रुपमा सुल्झिएन भने यसको परिणामले सबैलाई असर गर्ने निश्चित छ ।

माधव नेपालको व्यथा कथा

एकीकरणबाट बनेको नेकपामा माधव नेपाल कमजोर बने । दुई वाम पार्टी एक भएपछि पार्टीमा उपेक्षित हुने नेताको अग्रपंक्तिमा उनको नाम छ । आकारमा नेकपा शक्तिशाली भएपछि पार्टीमा माधवको जोडबल चल्न छोडेको थियो । उनलाई कमजोर बनाउनमा सबैभन्दा ठूलो हात थियो प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको । एकतापछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ पाएका उनले नेपाललाई उपेक्षा गर्नु रणनैतिक चाल थियो ।

नेपाललाई कमजोर बनाउन वरिष्ठ नेताको वरियतामा तेस्रोबाट चौथो स्थानमा झारियो । ओलीको यो कदमले नेपाल असन्तुष्ट बने । तर नौ सदस्यीय सचिवालयमा उनको असन्तुष्टिले खासै फरक पर्ने अवस्था थिएन । 

यस्तै पार्टीको प्रदेश इन्चार्ज–सहइन्चार्ज र अध्यक्ष–सचिव मनोनयनको क्रममा पनि नेपाल पूर्णरुपमा उपेक्षित भए । नेपालले आफ्नो असहमति लिखित रुपमै बुझाए । तर पनि उनको असन्तुष्टि सम्बोधन गर्न अध्यक्ष ओलीले आवश्यक ठानेनन् । उनी रिसाएकामा ओली भित्रभित्रै दंग थिए । 

नेपाल उपेक्षित हुने क्रम यतिमा सीमित थिएन । गत भदौको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेपालसँग चर्काचर्की समेत गरे । ओलीले नेपालको सुस्वास्थ्यको शुभेच्छा अपमानपूर्वक अस्वीकार गरे । नेपालले यसअघि नै ओलीलाई पार्टीको अध्यक्ष पद छोड्न आग्रह गर्दै आएका थिए । ओलीले सोही रिस नेपालमाथि पोखेका थिए, फरक बहानामा । 
तर, ओलीले आफ्नो हेपाहा शैली यतिमै सीमित रहेन । कहिले वामदेव गौतम त कहिले प्रचण्ड, सबै विरुद्ध ओलीले यही शैली प्रयोग गरे । 

नेपाललाई जस्तै ओलीले वामदेवलाई सधैं नै पेल्दै आएका हुन् । विशेषगरी वामदेवको प्रतिनिधि सभा सदस्य बन्ने सपनालाई ध्वस्त पार्दै आएका ओलीले उनलाई पछिल्लो समय राष्ट्रिय सभा सदस्य बन्ने सम्भावनाको ढोका पनि बन्द गरिदिएका थिए । 

नेकपाका यी दुई खम्बालाई ओझेलमा पार्न ओलीले प्रचण्डलाई उपयोग गरेका थिए । तर मौका पाउनासाथ प्रचण्डलाई पनि पेल्न छोडेनन् ।

सरकार चलाउने विषयमा त ओलीले पार्टीलाई र अर्का अध्यक्ष प्रचण्डसँग कुनै सल्लाह नै आवश्यक ठानेनन् । मन्त्रिमण्डल हेरफेर गर्दा होस् वा नयाँ सभामुख चयन सबै विषयमा ओलीले अन्यलाई भूमिका दिएनन् । आफू नजिकका बाहेक अन्य सबैलाई पेलेरै जाने नियत ओलीले स्पष्टै देखाए । 

तर, सभामुख प्रकरणमा भने ओली चिप्लिए । सरकार आफ्नो स्वेच्छाले चलाएका उनले हरेक विषयमा सोही व्यवहार देखाउन थालेपछि वामदेव निवास भैंसेपाटीमा ओलीबाट पेलिएकाहरुको गठबन्धन बन्यो । सो गठबन्धनमा प्रधानमन्त्री ओली र उनका दुई विश्वास पात्र ईश्वर पोखरेल र विष्णु पौडेल बाहेकका ६ सचिवालय सदस्य एकै कित्तामा उभिए । 
ओलीको एकलौटी निर्णय लाद्ने प्रवृत्ति विरुद्धको सो गठबन्धनले पहिलो पटकमै सफलता पायो । भेलाले सभामुखमा अग्नि सापकोटा हुनुपर्ने निर्णय ग¥यो । भेलाको निर्णय अनुसार चल्न प्रधानमन्त्री ओली बाध्य भए । 

सभामुख चयनमा पछारिएका प्रधानमन्त्री ओलीले केही समय शतर्कता अपनाए पनि आफ्नो कार्यशैलीलाई निरन्तरता दिए । 

विशेषगरी कोभिड–१९ (कोरोना भाइरस) को महामारीका क्रममा उनले पार्टी पंक्तिको सहयोग नै लिएनन् । राज्य यति ठूलो संकटमा परेको बेला सचिवालय बैठक समेत बोलाइएन भने अध्यक्ष प्रचण्डसँग सल्लाह गर्न आवश्यक नै ठानिएन । 

ओली नेतृत्वको समूहले गरेको कामले सरकार र नेकपा पार्टी नै बदनाम हुने अवस्था आयो । ओम्नी समूहसँग गरेको खरिद सम्झौताले कोरोनाको संकट बढाइरहेको अवस्थामा अध्यादेश प्रकरणले नेकपालाई थप विवादित बनायो । पार्टीमा सल्लाह नगरी ल्याइएको अध्यादेशले नेकपा तरंगित भयो । 

सोही तरंगको प्रतिक्रिया स्वरुप भैंसेपाटी गठबन्धन फेरि सक्रिय बन्यो । सो गठबन्धनको जोडबलले कोरोनाको प्रकोपलाई बेवास्ता गर्दै मधेश केन्द्रित पार्टी फुटाउने, संवैधानिक आयोगका प्रमुख नियुक्तीमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई उपेक्षा गर्ने गरी ल्याइएको अध्यादेश नै फिर्ता गर्नुपर्ने अवस्था आयो । 

यी दुई घटनाले पार्टीको छविमा असर परेकाले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन नेपाल, झलनाथ खनाल र प्रचण्डले आग्रह गरिसकेका छन् । शक्तिको मदमा मस्त रहेका ओली अहिले भने समस्यामा परे । 

गल्ति बोध गर्नुपर्ने अवस्थामा उनी अहिले माधव र गौतमलाई ‘ललीपप’ देखाएर फकाउन लागि परेका छन् । भैंसेपाटी गठबन्धन भत्काउन उनले ‘फुटाउ र राज गर’ को सिद्धान्त पछ्याए ।  ओलीले माधवलाई पार्टीको तेस्रो अध्यक्ष र वामदेवलाई प्रधानमन्त्री पदको आशा देखाए । वामदेव भने सो ‘ललीपप’ ले अल्मलिए पनि माधवले यसलाई ठाडै अस्वीकार गरिसकेका छन् ।

यसअघि पार्टीमा सबैभन्दा बढी ओलीको पेलाइमा परेका माधवले ओलीलाई साइजमा ल्याउने यो अवसर गुमाउन चाहेका छैनन् ।

ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई सहजै उपेक्षा गर्ने गरेको अवस्थामा तेस्रो अध्यक्षले कुनै प्रभाव पार्न नसक्नेमा नेपाल स्पष्ट छन् । अध्यक्ष बन्नका लागि नेकपाको विधान नै संशोधन गर्नु पर्ने भएकाले त्यो तत्काल सम्भव पनि नहुने र ओली एक्लैले चाहेर मात्र त्यो सम्भव नहुने उनले बुझेका छन् ।

ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एकमा मात्र भएपनि राजीनामा गराइ शक्ति सन्तुलन मिलाउने स्वर्ण अवसर आएको छ प्रचण्ड र नेपालको हातमा । यस्तोमा ओलीलाई साइजमा ल्याउन तेस्रो अध्यक्षको लोभमा नेपाल पर्ने सम्भावना देखिएको छैन । 

आज नेकपाको सचिवालय बस्दैछ । एकतापछि यो पार्टीभित्र उत्पन्न संकट कसरी टरेर जाने हो यसको कुनै संकेत देखिएको छैन । तर प्रचण्ड र नेपाल समूह प्रधानमन्त्री ओलीलाई सक्रिय राजनीतिक जीवनबाट विश्राम लिन वाध्य पार्ने रणनीतिबाट पछि हटेको देखिँदैन । यदि यो परिस्थितिमा दुवै पक्षले आफ्नो हठ कायम राखिरहे भने राजनीतिले अनपेक्षित बाटो हिँड्न वाध्य हुनुपर्ने छ । त्यसबेला आर्थिक रुपले जर्जर भैरहेको देशले थप संकटको सामना गर्नुपर्ने छ भने जनताको शक्ति अनपेक्षित शक्तिको हातमा पर्न पनि सक्ने छ । सरलापत्रिका