जीवनको सत्यवोध अर्थात् सत्यमोहन
शेखर खरेल:
कुनै विघ्नवाधा नभए ३१ बैशाख २०७४ एउटा ऐतिहासिक दिन ठहर्नेछ। काकाकूलले कुवा भेटेर घाँटी भिजाए जस्तै त्यस दिन नेपाली वालिग मतदाताहरूले दुई दशकपछि आफ्ना बूढी औला नीलो मसीले भिजाउदै स्थानीय जनप्रतिनिधि चुन्ने छन्।
तर, त्यसको ठीक एक दिन पूर्व अर्थात् बैशाख ३० चाहिँ स्वयं इतिहास नै बनिसकेका एक मनिषिले आफ्नो जीवनको पात्रोको थप एउटा पन्ना पल्टाउनेछन्। मतदाताहरू चुनावी विहानको तीब्र प्रतिक्षा गरिरहेको त्यस दिन शताब्दी उन्मुख ती मनिषिले आफ्नो ९८औं जन्म दिवस मनाइरहेका हुनेछन्। सम्बत: १९७७ को वैशाख ३० गतेका दिन पाटनको बखुम्बहालमा जन्मिएका सत्यमोहन जोशीका निम्ति अब उमेर अङ्क मात्र बनेको छ। तर जीवनको अर्थ भने अङ्क भन्दा पनि धेरै पर छ।
शताब्दी पुरुषवाट संवोधित सत्यमोहन जोशी भन्दा उपयुक्त पात्र अरू को नै पो भेटिएला र जीबनको परिभाषाका निम्ति! तर, आश्चार्य चाहिँ, यी शताब्दी पुरुषका लागि पनि जीवन परिभाषाको विषय होइन रहेछ।
‘केवलं बोध मात्रम्’, अर्थात् जीवन केवल वोध मात्र हो। भागवत गीतामा आदर्श पुरुष वा स्थितप्रज्ञको परिभाषा ‘दु:खमा नआत्तिने, सुखमा नमात्तिने एवम् रोग, भय, क्रोधवाट मुक्त’ सोह्रै आना सत्यमोहन जोशीमा मिल्न जान्छ। किनकि, अस्ताचलमा हिडेका जोशीमा न विगतको पश्चताप छ, न त आगतको अभीप्सा, न त मृत्युभव नै। वरू, वृध्दावस्थालाई ईश्वरीय वरदान मान्ने उनी भनिरहेका हुन्छन्, ‘न राग न कुनै द्वेष, न त गुनासो, न कुनै महोत्वाकांक्षा वा कामवासना, वृध्दावस्था सबै वन्धन र इच्छाहरूवाट मुक्त ईश्वरीय आशिर्वाद हो। यस्तो परम आनन्दानुभूति जीवनको अन्य कुनै अवस्थामा गर्न सकिदैन।“
रूद्राक्षको वृक्ष, चराचुरुङ्गीका चिरवीरले पाटन बखुम्बहालस्थित सत्यमोहनको घरलाई कुनै ऋषिको कुटी झै बनाएका छन्। हुन पनि त्यहाँ जसको वास छ, ती स्वयं ऋषितुल्य छन्। ज्ञानका अथाह सागर अनि विनम्रताका सगरमाथा। त्यहाँ पुग्ने जो कोही उनको अथाह ज्ञानवाट अल्हादित हुन्छन् भने उनको सौजन्यपूर्ण आतिथ्यवाट निथ्रुक्क। सत्यमोहन एक शताब्दी लामो नेपालको राजनीतिक, सांस्कृतिक र साहित्यिक कालखण्डका जीवन्त दस्तावेज हुन्। राणाकाल, शाहकाल र गणतन्त्रसम्मका कुइनोटोहरू पार गर्दै शान्त जीवन विताइरहेका उनले वाहिर जति खोज गरेर उम्दा कृति र स्रोत ग्रन्थ आम नागरिकका लागि पस्किएका छन्, त्यस भन्दा ठूलो खोज वा अन्वेषण आजपर्यन्त उनी आफै भित्र गरिरहेका छन्। प्राचीन ऋषिमुनि अनि युनानी दार्शनिकसंग सम्मति जनाउदै उनी भन्छन्, ‘केवलं बोध मात्रम्’। अनि बोधलाई यसरी अर्थ्याउछन्, ‘ऋषिमुनिहरू जीवनलाई बोधको अर्थमा लिन्थे, युनानी चिन्तकहरूले पनि त्यसै भनेका होइन रहेछन्, ‘नो दाइसेल्फ, अर्थात् आफैले आफैलाई चिन। हो चिन्नु वा वोध गर्नु नै जीवनमा सर्वाधिक महत्वपूर्ण रहेछ।“
मदन पुरस्कारमा ‘ह्याट्रिक’ गरिसकेका सत्यमोहन छिट्टै उमेरको पनि ‘सेन्चुरी’ बनाउन गइरहेका छन्। उनका सुदीर्घ जीवन सबैका निम्ति एउट सम्यक् जीवनको प्रेरणा हो नै, अझ उनको सारपूर्ण जीवनको सन्देश एउटै छ ‘केवलं बोध मात्रम्’। शुभकामना शताब्दी पुरुषमा!
(दुई वर्ष अगाडी लेखिएको यो लेख आज पनि त्यत्तिकै सान्धर्भिक भएकोले पाठकहरुलाई रुचिकर नै हुनेछ – सम्पादक । )