कोरोना भाइरस खोप: प्रतिरोधात्मक क्षमता बलियो बनाउने प्रमाण

खोपले व्यक्तिको रोग प्रतिरोधात्मक प्रणालीलाई कोरोना भाइरसविरूद्ध लड्न सिकाउने पहिलो संकेत दिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ।

सुरक्षा परीक्षणमा सहभागी आठ जनामा निष्क्रिय बनाउने एन्टिबडी पाइएको मोडेर्नाले बताएको छ। प्रतिरोधात्मक प्रतिकार्य पनि वास्तविक भाइरस संक्रमितजस्तै भएको कम्पनीले जनाएको छ। उक्त सुईँले संक्रमणबाट सुरक्षा दिन्छ/दिँदैन पत्ता लगाउने ठूलो परीक्षण जुलाईबाट सुरू हुने अपेक्षा गरिएको छ।

कोरोना भाइरसको खोप विकास गर्ने काम अभूतपूर्व गतिमा भइरहेको छ। विश्वभरि करिब ८० समूह यसमा काम गरिरहेको छ। मोडेर्नाले एमआरएनए  १२७३ भनिने परीक्षण खोप पहिलो पटक व्यक्तिमा जाँचेको हो। खोपमा कोरोनाभाइरसको जेनेटिक कोडको सानो अंश राखिएको छ। यसले संक्रमण हुँदैन। कोभिड १९ को लक्षण पनि देखा पर्दैन। तर शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाउन पर्याप्त हुन्छ।

अमेरिकी सरकारको नेसनल इन्स्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेजले गरेको खोप परीक्षणमा कोरोनाभाइरस निष्क्रिय बनाउने एन्टिबडीको उत्पादन भएको देखिएको छ। तर एन्टिबडीको परीक्षण हालसम्म ४५ मध्ये आठ जनामा मात्रै भएको छ।

परीक्षणमा सहभागी व्यक्तिलाई खोपको न्यून, मध्यम वा उच्च मात्रा दिइएको थियो। उच्च मात्राले सबैभन्दा धेरै दुष्प्रभाव भएको देखिन्छ। तर न्यून मात्रामा खोप दिइएका व्यक्तिमा पनि कोभिड १९ बाट निको भएका बिरामीको शरीरमा भए बराबरकै एन्टिबडी उत्पादन भएको मोडेर्नाले जनाएको छ। मध्यम मात्रा प्रयोग गरिएका व्यक्तिको शरीरमा निको भएका बिरामीभन्दा उल्लेखनीय मात्रामा एन्टिबडी उत्पादन भएको देखिएको छ।

यो अध्ययनलाई पहिलो चरणको परीक्षण भनिएको छ। यो परीक्षण खोपको प्रभावकारिताभन्दा पनि कति सुरक्षित छ, जाँच्नलाई गरिएको हो। खोपले व्यक्तिलाई भाइरसबाट सुरक्षा दिन्छ भनेर पत्ता लगाउन अझ धेरै र ठूला परीक्षण गर्नुपर्छ। तर मूसामा गरिएको परीक्षणमा खोपले फोक्सोमा फैलिरहेका भाइरस रोकथाम गरेको देखिएको छ।

“प्रारम्भिक भए पनि अन्तरिम पहिलो चरणको डाटाले एमआरएन १२७३ खोपले प्राकृतिक संक्रमणमा हुने जति प्रतिरोधी क्षमता सिर्जना गर्ने देखाएको छ,” मोडेर्नाका चिफ मेडिकल अफिसर डा. टाल ज्याक्सले भने, “यो डाटाले एमआएएनए १२७३ मा कोभिड १९ रोकथाम गर्ने सम्भावना छ भन्ने हाम्रो विश्वासलाई पुष्टि गरेको छ। अब आधारभूत परीक्षणका लागि खोपको मात्रा छनोट गर्ने हाम्रो क्षमता पनि बढाएको छ।”

मोडेर्नाले जुलाईमा ठूलो परिमाणको परीक्षण सुरू गर्ने आशा गरेको बताएको छ। त्यसका लागि ठूलो परिमाणमा खोप कसरी उत्पादन गर्ने’bout अनुसन्धान भइरहेको पनि कम्पनीले जनाएको छ।

अक्सफोर्ड खोप

अक्सफोर्ड विश्वविद्यालयको विकास गरेको खोप पनि व्यक्तिमा परीक्षण भइरहेको छ। तर हालसम्म नतिजा भने आएको छैन। तर बाँदरमा गरिएको परीक्षणलाई लिएर केही चासो भने जागेको छ।
परीक्षणमा खोप लगाइएका पशुमा गम्भीर लक्षण देखिएन। निमोनिया पनि लागेको छैन। तर उनीहरू भाइरसबाट पूर्ण रूपमा सुरक्षित थिएनन्। उनीहरूको नाकमा भाइरसको मात्रा खोप नलगाइएका बाँदरमा जतिकै देखिएको थियो।

एडिनबरा विश्वविद्यालयकी प्राध्यापक इलिनोर राइलीले भनिन्,“व्यक्तिमा पनि उस्तै नतिजा देखिएको भए खोपले रोग विरूद्ध आंशिक सुरक्षा मात्रै दिने थियो तर समुदायस्तरमा हुने व्यापक प्रसार रोक्न सक्दैन थियो।” तर व्यक्तिमा परीक्षण नभएसम्म खोपको प्रभावकारिता’bout केही भन्न सकिँदैन।जेम्स ग्यालाहर

काठमाडौँ प्रेस