सुन्दर पोखराको पहिचान जोगाउन चुनौती थपिँदो

आँखामा राखे पनि नबिझाउने पोखराको सुन्दरता क्रमशः मासिँदै छ । बढ्दो प्रदूषण, अव्यवस्थित संरचना, तालतलैया र सिमसारमाथिको अतिक्रमण, सडक विस्तार, अव्यवस्थित होर्डिङ्ग बोर्ड, जेलिएर यत्रतत्र छरिएका तारहरुले पोखरालाई कुरुप बनाइरहेको छ ।

 

चिप्लेढुङ्गा, पोखरा, १४ फागुन : गायक प्रकाश श्रेष्ठको एउटा कालजयी गीत छ – ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया, जीवन मेरो सेती बगर विना तिम्रो माया’ । ‘पोखरा त साँच्चिकैको पोखरा नै रै’छ, माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै’छ’ भन्ने अर्को लोकप्रिय गीत छ गायक प्रेमप्रकाश मल्लको । यी कर्णप्रिय गीतहरु सुन्ने जो कोहीलाई पोखरा पुगिहालौं जस्तो लाग्छ ।

पत्रकार मोहन मैनालीले एक प्रसङ्गमा भन्नुभएको थियो – “प्रकृतिले भएभरको सुन्दरता पोखरालाई खन्याइदिएको छ ।” केही समय अघि मात्रै पोखरा घुम्न आउनुभएका फिलिपिनो राजकुमारी मारिया अमोरले पोखराको सुन्दरताको खुलेरै प्रशंसा गर्नुभयो । अधिकाँश सर्वसाधारण, कलाकार, नेता, व्यापारी, कर्मचारी, विद्यार्थी सबैको प्रमुख रोजाइको शहर पनि हो पोखरा । पोखरा घुम्न आउने जो कोहीलाई यहाँको प्राकृतिक छटाले मन्त्रमुग्ध बनाइदिन्छ ।

अमेरिकी नागरिक फिल हुलवर्क वर्षको तीन महिना पोखरामा बिताउने गर्नुहुन्छ । “पोखराको सुन्दरताले म जहिल्यै मोहित हुन्छु, जति घुमे पनि जति डुले पनि लोभ्याइरहन्छ पोखराले,” हुलवर्क भन्नुहुन्छ – “हिमाल र तालहरु मलाई असाध्यै मन पर्छ । होटलका झ्यालबाट देखिने हिमाल कम लोभलाग्दा छैनन् ।”

मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमा दरिएको यो शहरमा नेपाल आउने ६० प्रतिशत पर्यटक भित्रिने गरेकोे अनुमान गरिन्छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि हवाइ मार्ग र स्थल मार्गबाट आउने पर्यटकको अभिलेख राख्न शुरु गरेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार स्याङ्जाको गल्याङ्, आँबुखैरेनी र नागरिक उड्डयन कार्यालय पोखराबाट प्राप्त तथ्याङ्क अनुसार भारतीय र अन्य देशबाट आउने पर्यटकको सङ्ख्या चालु आवको साउनदेखि पुससम्म १ लाख ७६ हजार ५६१ पुगेको छ ।

पोखराको सौन्दर्यसँग जोडिएको विशेष पक्ष भनेकै हिमाल र ताल हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी भन्नुहुन्छ – “फेवातालमा छर्लङ्ग हिमाल देखिने दुर्लभ दृश्य सम्भवतः विश्वमा कहीँ कतै छैन । पोखराको अर्को सुन्दर पक्ष हो यो । भू–गर्भबाट कलकल गर्दै बग्ने सेती, उत्तरतर्फ देखिने माछापुच्छ«े, अन्नपूर्ण र धौलागिरि हिमशृङ्खला, नौ तालले सिङ्गारिएको उपत्यका, शान्ति स्तूप, डेभिज फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, धार्मिक मठमन्दिर यो शहरका आर्कषण हुन् ।”

साहसिक खेल रुचाउनेहरु प्याराग्लाइडिङ्ग गर्छन् र आकाशमा चरा झै उडेर मज्जा लिने गर्छन् । हिम शृखङ्लाहरुलाई नजीकैबाट छुन खोज्नेहरु अल्ट्रालाइट चढेर रमाउने गर्छन् । क्यानोनिङ्ग, जिप फ्ल्यायर, हट बेलुनको मज्जा लिन चाहनेहरुलाई पनि पोखराले सधैं स्वागत गर्ने गर्छ ।

हिमालदेखि बग्दैआएको पानीलाई केआइसिंह पुलमा स्पर्श गर्न पाइन्छ । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हिमाल आरोहणदेखिका रोमाञ्चकारी दृश्य र सामग्रीको सङ्ग्रह हेर्न पाइन्छ । न धेरै जाडो न धेरै गर्मी । उस्तै मिलेका घर, उस्तै मिलेको वस्ती, उस्तै मिलेको मनले पनि सिङ्गारिएको छ पोखरा ।

गण्डकी प्रदेशको राजधानी पोखरामा बृहत् योजनासहित पूर्वाधारहरु बनिरहेका छन् । पञ्चासे केबुलकार र पुम्दिकोटमा विशाल महादेवको मूर्ति बन्दैछ । त्यसैगरी, काहँुडाँडामा आधुनिक धरहरा र भगवान् बुद्धको विशाल मूर्तिसहितको यशोधरा पार्क निर्माणका लागि तयारी थालिएको छ । सराङ्गकोट, काँहु, घान्द्रुक, सिक्लेस, धम्पुस, पञ्चासे, ताङतिङ जस्ता सुन्दर ग्रामीण वस्तीले ग्रामीण पर्यटन प्रर्वद्धन गरिरहेको छ । कपुचे तालले पनि पछिल्लो समय पर्यटकलाई लोभ्याइरहेको छ ।

प्रकृतिको अनुपम बरदान पाएको पोखराका बासिन्दा यी सुन्दरता बेचेर नै बाँचेका छन् । शहरीकरणको प्रक्रियाबीच अब पोखराको सुन्दरता जोगाउने चुनौती पनि थपिँदै गएको मुल्मी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “आँखामा राखे पनि नबिझाउने पोखराको सुन्दरता क्रमशः मासिँदै छ । बढ्दो प्रदूषण, अव्यवस्थित संरचना, तालतलैया र सिमसारमाथिको अतिक्रमण, सडक विस्तार, अव्यवस्थित होर्डिङ्ग बोर्ड, जेलिएर यत्रतत्र छरिएका तारहरुले पोखरालाई कुरुप बनाइरहेको छ ।”

पोखराको सुन्दरता जोगाउन विकल्पहरु अघि सार्नुपर्ने मुल्मीको सुझाव छ । उहाँले भन्नुभयो – ”हामी भाग्यमानी हौं । पोखरा जस्तो शहर पाएका छौं । हामीले थप केही गर्न नसके पनि यसको प्राकृतिक सुन्दरतालाई जोगाउन सक्नुपर्छ । यसको संरक्षण र व्यवस्थित वस्तीका लागि अब दीर्घकालीन लक्ष्यसहित दिगो विकासको अवधारणा अगाडि सार्नुपर्छ ।”

प्रदेश सरकारले सन् २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ र सन् २०२२ लाई ‘पोखरा पर्यटन वर्ष’ मनाउने भएको छ । पर्यटन व्यवसायी एवं नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य वासु त्रिपाठी भन्नुहुन्छ – “पोखराको प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको संरक्षण गदै नयाँ सम्भावना भएका स्थानको खोजी महत्वपूर्ण हुन्छ । प्राकृतिक सुन्दरता जोगाउँदै पर्यटक जाने स्थलसम्म सडक, हवाई तथा आवास सुविधामा विशेष ध्यान दिनु पर्छ ।” पर्यटकको बसाइ लम्बाउन पदयात्रा मार्गहरुलाई संरक्षण गर्नुपर्ने र एक्यापले दिँदै आएको अनुमतिपत्रलाई बहु–प्रवेशीपत्र बनाउनुपर्ने उहाँको सुझाव छ ।

पोखरा बृहत् सरसफाइ अभियानका अभियन्ता एवं राष्ट्रिय संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले सफा र हरियाली शहरको रुपमा पोखराको पहिचानलाई जोगाइराख्नु पर्ने बताउनुहुन्छ । “हामीलाई प्रकृतिले नै सबै दिएको छ, यसको संरक्षणमा जुटौंं,” निरन्तर १४२ औँ हप्तासम्मको सफाइ अभियानबाट पोखराको सुन्दरता जोगाउन सक्रिय पौडेलले भन्नुभयो – “सार्वजनिक हित भन्दा व्यक्तिगत हितलाई केन्द्रमा राखेर अघि बढ्दा पोखराले आफ्नो परिचय गुमाउँदै गएको छ ।” स्थानीय सरकारले आफ्नो अधिकारको प्रयोग गर्न नसक्दा मापदण्ड विपरीत बनिरहेका संरचनाले पोखरालाई कङ्क्रिटको शहरमा परिणत गर्दैगएको उहाँको ठहर छ । अङ्ग्रेजी नव वर्षको स्वागतार्थ गरिने आतशबाजी १९ वर्ष पछि अदालतमार्फत रोक्न सकेको र वरपिपल चौतारो संरक्षण विधेयक २०७५ ल्याउन सफल भएको पनि उहाँले स्मरण गराउनुभयो ।

पोखराको फेवा किनारमा मात्रै डेढ दर्जन भन्दा बढी पर्यटनसम्बद्ध सङ्घ सस्थाहरु छन् । तर पनि पोखराका सौन्दर्य दिन प्रतिदिन बिग्रँदै गएको छ । उनीहरुको संरक्षणतर्फ तदारुकता देखिँदैन । अव्यवस्थित शहरीकरण र मानवीय अतिक्रमणले तालतलैया र सिमसारहरु साङ्घुरिँदै गएका छन् । कृषि जैविक विविधता लोप हुँदैछ । जिम्मेवार निकायको उदासीनता र नाफा मात्रै हेर्ने व्यवसायीका कारण पोखरातालाई कुरुप बनाउँदै लगेको बताउनुहुन्छ अधिवक्ता भगवती पहारी । उहाँका अनुसार प्रकृति र संस्कृतिलाई जोगाउन प्रदेश र स्थानीय सरकारले स्थानीय बासिन्दासँगकै सहकार्यमा सार्वजनिक–निजी साझेदारी ढाँचाबाट अघि बढ्नु अबको एक मात्र विकल्प हो ।

विसं २०३१ मा ‘पोखरा टाउन प्लान’ बन्यो, त्यसलाई सर्वोच्च अदालतले लागू गर्न आदेश पनि दियो । त्यसैगरी, फेवाताल अतिक्रमणको विषयमा पनि सर्वोच्चले फैसला गरिसकेको छ तर, कार्यान्वयन प्रभावकारी हुन सकेन।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख दिवाकर पौडेलले वन तथा जलाधार व्यवस्थापन नीति प्रदेश सरकारबाट स्विकृत भएको र वातावरण तथा जलवायु परिवर्तन नीति मन्त्रिपरिषद्मा पेश भएको बताउनुभयो । वरपिपल चौतारो संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक २०७५ प्रदेश सभाबाट पारित भइसकेको र प्रदेशस्तरीय ताल संरक्षण तथा विकास प्राधिकरण स्थापना गर्न मन्त्रिपरिषद्बाट स्वीकृत भई्र प्रदेश सभामा छलफलका लागि पठाइएको छ । उहाँका अनुसार पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव प्रदेश सरकारबाट स्विकृति भएर सङ्घीय सरकारसामु पु¥याइसकिएको छ ।(रासस)