महिला नेता संकटका बेला उत्कृष्ट

  • राज पेरसाउद :

कोभिड-१९ महाव्याधि बढिरहेको छ। धेरै देश रोग नियन्त्रण गर्न संघर्ष गरिरहेका छन्। यही बेला न्यूजिल्यान्ड र आइसल्यान्डले कोभिड-१९ उन्मुलन भएको घोषणा गरे। दुवै देशमा महिला नेतृत्वको सरकार हुनु संयोग अवश्य होइन।

कोभिड १९ को संकटमा उत्कृष्ट नेतृत्व प्रदर्शन गरेको भन्दै न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन र आइल्यान्डकी प्रधानमन्त्री कात्रिन याकोब्सदोत्तिरले निकै प्रशंसा बटुले। संकटको यो घडीमा उल्लेखनीय मात्रामा परीक्षण गर्ने र मृत्यु दर घटाउने शीर्ष दश देशमध्ये एस्टोनिया, आइसल्यान्ड, न्यूजिल्यान्ड र ताइवान महिलाले नेतृत्व गरेका छन्।

महाव्याधिमा नेतृत्वदायी भूमिका खेलेकोमा जर्मन चान्सलर एन्गला मर्कल र डेनमार्ककी प्रधानमन्त्री मेत्ते फ्रेडरिक्सनको पनि प्रशंसा भएको छ। विश्व नेतृत्वमा सात प्रतिशत मात्रै महिला छन्। त्यसैले कोभिड १९ महाव्याधिको संकटमा उनीहरूले गरेको कामलाई धेरैले प्रशंसा गर्नु महत्वपूर्ण विषय बनेको छ।

यति मात्रै होइन। यो संकटमा सबैभन्दा कमजोर प्रदर्शन गरिरहेका केहि देश पुरानै “पुरूष” ले नेतृत्व गरिरहेका छन्। ब्राजिलका राष्ट्रपति हायर बोल्सोनारोको सम्पूर्ण व्यक्तित्व नै प्रतिगामी पुरूषत्व र महिलालाई हेर्ने पित्तृसत्तात्मक सोच प्रस्तुत गर्दछ। बोल्सोनारोले भाइरसलाई सामान्य रूघाखोकी भने। आफू संक्रमित भए केही नहुने ध्वाँस पनि पिटे।

युरोपमा सबैभन्दा धेरै मृत्यु संयुक्त अधिराज्यमा भएको छ। प्रधानमन्त्री बोरिस जोन्सन “सेक्सिस्ट” टिप्पणीका लागि पनि जानिन्छ। बोल्सोनारोजस्तै जोन्सन पनि कोभिड १९ लाई खतरा मान्दैन थिए। तर आफैँ संक्रमित भई सघन उपचारमा भर्ना भएपछि उनको सुर फेरियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि उस्तै ताल छ। महिला विरूद्ध यौन दुर्व्यवहार गर्ने शक्तिशाली पुरूषको क्षमता’bout महिमागान गरेर शक्तिमा आएका ट्रम्पले स्त्रीद्वेषको बिल्लालाई सम्मानको पदकजस्तै बेलाबेला पहिरेका छन्। उनले पनि कोभिड १९ संकटलाई झिनोमसिनो ठानेका थिए। अमेरिकी सीमाभित्र भाइरस फैलिन दिएकोमा चीनले मुल्य चुकाउनु पर्छ भन्नेमै उनले बढि ध्यान दिए।

“मास्कुलिन स्टिरियोटाइप” र महाव्याधिको कमजोर प्रतिकार्यबीच सहसम्बन्ध देखिएजस्तै समभाव, करूणा र सहकार्य गर्ने इच्छाशक्तिजस्ता परम्परागत “फेमिनिन” गुणकै कारण महिला नेताले सफलता पाएको धेरैको विश्वास छ। नर्वेकी प्रधानमन्त्री एर्ना सोर्लबर्गले देशका बालबालिकालाई टेलिभिजनमार्फत् सम्बोधन गरेको घटनालाई महिला नेतृत्व अन्तर्गत हुने “साधारण, सामान्य मानवीय नवीनता” भएको फोर्ब्सले बतायो।

यो व्याख्या पुरानो, अधुरो र गलत हो। ट्रम्प र उनीजस्ता व्यक्तिले आफू बलियो भएजस्तो देखाउन सक्छन् तर उनीहरूको नेतृत्व धमास, अनिर्णय र आत्मकेन्द्रित अक्षमताको आवरण मात्रै हो। उच्च कार्यसम्पादन प्रस्तुत गर्ने महिला नेता भने दृढ देखिए, प्रमाणको आधारमा मूल्याङ्कन गरे, विशेषज्ञको सल्लाह माने र निर्णायक काम गरे।

न्यूजिल्यान्डमा कोभिड १९ को पहिलो बिरामीको मृत्यु हुनु चार दिनअघि आर्डेनले कडाइका साथ बन्दाबन्दी लागु गरिन्। ताइवानकी राष्ट्रपति चाइ इङ वेनले जनवरीमै सार्वजनिक स्वास्थ्यसम्बन्धी सयभन्दा धेरै उपाय अवलम्बन गरिन्। त्यतिबेला विश्व स्वास्थ्य संगठनले व्यक्ति व्यक्तिमा रोग फैलिने सम्भावनामा शङ्का गरिरहेको थियो।

परम्परागत “फेमिनिन” गुणले संकटको समयमा महिला नेताको बलियो प्रस्तुति व्याख्या गर्दैन भने के ले गर्छ? उत्तर सायद शक्तिमा पुग्न महिलाले समाउने बाटोसँग सम्बन्धित छ, जुन पुरूषको तुलनामा सामान्यतया बढी चुनौतीपूर्ण छ। विशेषगरी यसलाई “ग्लास क्लिफ फेनोमेनोन” सँग जोड्न सकिन्छ जस अनुसार बढी जोखिम र असुरक्षित नेतृत्वदायी पदमा पुरूष नै बढि नियुक्त हुन्छन्।

“ग्लास क्लिफ फेनोमेनोन” को अध्ययनमा पुरूषलाई बोर्डमा नियुक्त गर्नुअघि फाइनान्सियल टाइम्स स्टक एक्सचेञ्ज १०० इन्डेक्समा शेयर मूल्य सामान्यतया स्थिर भएको देखिएको छ। तर महिलालाई नियुक्त गर्नुअघि तिनै कम्पनीको शेयर मूल्य पाँच महिनादेखि घटेको पाइयो। अर्को अध्ययन अनुसार युके स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीमा ठूलो घाटा हुन थालेपछि बोर्डमा लैङ्गिक विविधता बढ्न थालेको देखियो।

राजनीतिमा पनि यस्तै प्रवृत्ति देखिन्छ। मार्गरेट थ्याचर संकटकै समयमा कन्जर्भेटिभ पार्टीको नेता बनिन्। असन्तुष्टिकै बीच प्रधानमन्त्री पनि बनिन्। सन् २००५ को संयुक्त अधिराज्यको आमनिर्वाचन विश्लेषण अनुसार जित्न कठिन सिटमा कनजर्भेटिभ पार्टीका महिला उम्मेदवारले नै बढी प्रतिस्पर्धा गर्ने गरेको देखियो।

आर्डेनको सवालमा पनि यस्तै भयो। अघिल्ला प्रधानमन्त्री राजीनामा दिन बाध्य भएपछि सन् २०१७ मा उनी न्यूजिल्यान्डको लेबर पार्टीको नेता बनिन्। त्यसको दुई महिनापछि न्यूजिल्यान्डको १५० वर्षको इतिहासमा देशकै कान्छी प्रधानमन्त्री बनिन्।

अनुसन्धाताका अनुसार “स्ट्याटस क्वो” ले काम नगरेपछि संगठनहरू यथास्थितिवादलाई चुनौती दिन बढी इच्छुक हुने भएकाले “ग्लास क्लिफ” हुन्छ। महिला नेतृत्वले सरोकारवालालाई परिवर्तन भइरहेको आश्वासन दिनसक्छ। महिलाहरू संकटको समयमा नेतृत्व लिन्छन् ’cause माथिसम्म पुग्नलाई उनीहरूसँग थोरै अवसर हुन्छ।

कारण जे भए पनि, विशाल बाधा पार गरेर कर्पोरेट वा राजनीतिक शक्तिमा महिला पुगेका हुन्छन्। पुरूषको हकमा पनि यो लागु हुन्छ तर ग्यारेन्टी हुँदैन। जोन्सन (जो झुटो बोलेको आरोपमा थुप्रै कामबाट निकालिएका थिए) र ट्रम्पलाई (जो थुप्रै पटक टाट पल्टिएका छन्) दोस्रो अवसरको कुनै खाँचो छैन। यी नेताको शक्तिसम्मको यात्रा सहज थियो र त्यो देखिन्छ पनि।

कोभिड-१९ महाव्याधिको समयमा भइरहेका उपलब्धिमा थुप्रै कारणले योगदान पुर्या्इरहे पनि नेतृत्व सबैभन्दा महत्वपूर्ण भएकोमा कुनै शङ्का छैन। को कति प्रभावकारी छन् भनेर नेताहरूले देखाइसकेका छन्। ती महिला नै हुन्। काठमाडौँ प्रेस