आज विश्व सगरमाथा दिवस

-सुनिल उलक

आज विश्व सगरमाथा दिवस साथै तेन्जिङ नोर्गेको जन्म दिवश पनि

संसारको सबैभन्दा उच्च हिमशिखर मानिएको सगरमाथामा पहिलो मानव पाइला परेको दिन हो । मे २९, १९५३ मा कर्णेल जोन हण्टको नेतृत्वमा गएको सगरमाथा आरोहण टोलीका एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको टुप्पोमा मानव पाइला टेकेर इतिहास रचेका थिए ।

हुनत यसभन्दा अगाडी पनि सगरमाथा आरोहणका प्रयासहरू नभएका होइनन्, Mount Everest Committee को १९२१ मा गठन भए देखि नै सगरमाथा आरोहणको प्रयासहरू भएका थिए । नेपालमा रहेको राणाहरूले अनुमति नदिएको हुँदा यि प्रयासहरू तिब्बती भूभाग अर्थात उत्तरी मोहडाबाट गरिएका थिए । बि.सं.१९७८ असोज ८ गते जर्ज मालोरी, गे बुलक र एडवर्ड ओलिभर ह्विलरले उत्तरी मोहडाबाट ७०२० मीटर सम्म पुग्न सफल भएको थियो । खराब मौसमको कारणले उनिहरूले आरोहण प्रयास परित्याग गरेका थिए ।

बि.सं. १९७९ जेठ ९ गते दोश्रो प्रयासमा पनि मालोरी सहितको टोली ८१७० मीटरको उचाइसम्म पुगे । दोश्रो दिन उत्तरी मोहडाबाट जर्ज फिन्च र जेफ्री बुश ८३२० मीटर सम्म पुग्न सफल भए । यो प्रयास पनि बिफल भयो । यसपछि १९८१ जेठ २६ मा पुन जर्ज मालोरी तथा एन्ड्रु इर्विनले सगरमाथा आरोहणको प्रयास गरे । उनिहरूको अचानक भएको मृत्युले आरोहणको प्रयासको सफलता या असफलताको रहस्य निर्क्याैल हुन सकेन । एकथरीको तर्कमा सफल आरोहण पछि फर्कदा मृत्यु भएको भनियो भने अर्को तर्कमा जाँदा जाँदै मृत्यु भएको भनियो । झण्डै ७५ वर्ष पछि मालोरीको शव भेटियो । तर प्रमाण केही भेटिएन । तर एउटा अनुमान फेरी लगाइयो । आरोहणमा जानु पूर्व मालोरीले आफ्नी श्रीमतीको तस्विर सगरमाथाको चुचुरोमा छोड्ने बचनका साथ लिएर गएका थिए । तर मालोरीको शवको साथ भने सो तस्विर भेटिएन । तसर्थ सगरमाथाको सफल आरोहणबाट फर्कदा मालोरीको निधन भएको हो भन्ने तर्क फेरी आयो ।

त्यसपछि १९९० देखी १९९३ सम्म लगातार चार प्रयास भए । १९९५ को प्रयासमा ८२९० मीटर सम्म पुगे । २००३ को प्रयासमा तेन्जिङ पहिलो पटक गएका थिए । २००७ को प्रयासमा पहिलो पटक अमेरिकी टोलीको पनि आगमन भयो । २००८ मा पनि प्रयास भयो भने २००९ को प्रयासमा स्विस, भारतीय र नेपालले संयुक्त प्रयास गरे । २००८ मा दुइ टोलीले अलग अलग प्रयास गरे भने २००९ मा तीन टोलीले प्रयास गरे ।

अन्तमा २०१० जेठ १६ (मे २९, १९५३) को दिउसो ११:३० मा तेन्जिङ नोर्गे तथा एडमण्ड हिलारीले सर्बोच्च शिखरमा पाइला टेके । सगरमाथा सफल आरोहणबाट फर्केपछि शुरुमा तेन्जिङले आफू पहिले चढेको र डोरीबाट एडमण्डलाई पछि तानेको अन्तर्वार्ता दिए । तर पछि दुइ बिच भएको गोप्य सम्झाैताले गर्दा तेन्जिङले डोरी ताने पछि हिलारी पछि आएका थिए भन्ने रहस्य तेन्जिङले कसैलाई नदिने बाँचा बन्धनमा बाँधिए । भरियाको नेता भएर गएका तेन्जिङलाइ उच्च शिखरमा पुगेको सफलता र सम्मान नै ठूलो थियो । तसर्थ को पहिले भन्ने बिषयमा बिबाद गर्न चाहेनन् । यसपछि पनि कति समयसम्म हिलारीले तेन्जिङलाई एक्लो छोडेनन्, सधै साथमा लिए, हरेक फोटोमा साथ साथ बसे । पछि सम्म पनि मित्रता तोडेनन् ।

तर देशले तेन्जिङलाई अपनाउन सकेन । राजा त्रिभुवनले नागरिकता दिने तथा सम्मानका साथ नेपालमा राख्ने बचन दिए पनि पुरा गर्न सकेनन् । बेलायतमा गरिने सम्मान कार्यक्रम तथा रानी एलिजाबेथबाट पाउन लागेको सम्मानको लागी बेलायत जान नेपालले राहदानी उपलब्ध नगराइदिँदा नेहरुको सहयोगले बेलायत पुगे । पछि भारतीय नागरिककै रुपमा आजन्म दार्जिलिङमा नै रहे । कुनै कुनै समय नेपालका कर्मचारीतन्त्रले कानुनी बखेडा निकालेर निर्णय समयमा गर्न नसक्दा तेन्जिङलाई कागजमा र गीतमा मात्र हाम्रा तेन्जिङ शेर्पा भनेर गर्व गर्न सकिने अबस्था बन्यो । तेन्जिङलाई नेपाल सरकारले “नेपाल तारा”को सम्मान त दिए तर नेपाली हुने गर्व दिएन । बेलायतले उनलाई सर्बोच्च सम्मान दिन लाग्दा नेहरुले रोके । जसले गर्दा उनले उनका साथ जाने हिलारी र जोन हण्टले “नाइट” को सम्मान पाउदा पनि उनले जर्ज मेडलमा नै सन्तुष्ट हुन बाध्य भए । आरोहण पछि नाइटको सम्मान पाँउदा एडमन्ड हिलारीको नामको अगाडी “सर”को सम्मानका साथ “सर एडमण्ड हिलारी” बने तर तेन्जिङ केवल तेन्जिङ नै बनिरहे ।

आज तेन्जिङ नोर्गेको जन्मदिवसको अवसरमा वहाँ प्रति हार्दिक श्रद्धाञ्जली ।