आन्दोलनमा नयाँ अनुहारः तर्सियो सरकार, झस्कियो समाज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका अनुचरका लागि सर्वथा आश्चर्य लाग्नेगरी सडकमा नयाँ अनुहार प्रदर्शनमा उत्रिएपछि सरकार दमनमा  नउत्रिई रहन सकेन । लकडाउनको अनुशासन पालना गर्दै सभ्य तरिकाले सरकारप्रति असहमति प्रकट गरिरहेका नयाँ अनुहारसँग बालुवाटार यतिसारो तर्सिएला भन्ने कमैले सोचेका थिए । तर प्रधानमन्त्री ओली नेतृत्वको सरकारले माघ १९ पछिको सरकारलाई बिर्साउनेगरी प्रदर्शनकारीमाथि दमन गरेर आफ्नो असली अनुहार देखाईछाड्यो । 

विरोध प्रदर्शनमा उत्रिएका लगभग शतप्रतिशत युवाहरु आधुनिक सूचना प्रविधिसँग रमेर स्वरोजगार हुन् । उनीहरु कुनै पनि राजनीतिक दलका भ्रातृ संस्थाको झण्डा बोकेर सडकमा आएका थिएनन् । बरु आम सर्वसाधारणको पीरमर्का र कोरोना महामारीमा भैरहेको कमजोर परीक्षण प्रणालीमा सुधारको माग उनीहरुका प्लेकार्डमा देखिन्थे । स्वतन्त्र ढंगले सडकमा आएका युवाको विरोधले बलियो सरकार तर्सिएको र सिंगो समाज समेत झस्किएको देख्दा स्वतन्त्र आवाजको महत्व पनि देखिएको छ यो प्रदर्शनबाट । लगभग कुनै पनि पेशा व्यवसायमा दलीय आवध्दताबिनाको व्यक्ति नरहेको ठानिने अवस्थामा स्वरोजगार स्वतन्त्र युवाको प्रदर्शनले ठूलो जनसमर्थन   पाएको देखियो । तर सरकारले ती प्रदर्शनकारीमाथि चर्को दमन गरेर ठूलो मूल्य चुकाएको भन्दै आलोचना भैरहेको छ ।

जस्तो कि काठमाडौंका महत्वपूर्ण दुई स्थानमा मंगलबार नागरिकको आक्रोश प्रस्फुटित भयो । पछिल्ला ७९ दिनदेखि गुम्सिएको आवाज न्युरोड र प्रधानमन्त्री निवास बालुवाटार नजिकैको सडकमा लगभग एकसाथ प्रस्फुटन भएको हो ।

लकडाउन लम्ब्याउने तर कोभिड–१९ भाइरसको नियन्त्रणमा अकर्मण्यता देखाउने सरकारी रवैया विरुद्ध न्युरोड क्षेत्रका व्यापारीहरुले पसल खोलेर विरोध गरे । यस्तै साना व्यवसायी, सामाजिक अभियन्ता र युवाको समूहले मंगलबार दिउँसो बालुवाटार क्षेत्रमा विरोध प्रदर्शन गरे ।

अहिलेको कठिन अवस्थामा न्युनतम काम गर्न समेत नसकेकाले सरकार असक्षम साबित भइसकेको भन्दै विरोध गरिएको बताइएको छ । आम जनस्तरको आक्रोशको प्रतिनिधित्व गर्दै भएका ती प्रदर्शनमा प्रहरीले सकेजति बलको प्रयोग गरेको थियो । नेकपा नेतृत्वको सरकारले चालेको यो असहिष्णु कदमको चौतर्फी विरोध भइरहेको छ ।

गत चैत ११ देखि जारी लकडाउन विभिन्न चरणमा गर्दै जेठ अन्तिमसम्मका लागि घोषणा भइसकेको छ । तर, संक्रमितको संख्या निरन्तर बढेकाले लकडाउन मात्र समस्याको समाधान नहुने प्रष्ट भइसकेको छ । यसका लागि संक्रमित पहिचान र संक्रमण बढ्न नदिने उपाय अपनाउन सरकारले कुनै ठोस कदम चालेको छैन ।

विकासका गतिविधि ठप्प पारेर सहज कार्यकाल कटाउन लागि सरकारलाई कोरोना  एउटा राम्रो बहाना भएको छ । ओम्नी जस्ता स्वार्थ समूहसँग साँठगाँठ गर्दै कमाउ धन्दामा लाग्ने सरकारी संयन्त्रकको नियत छर्लङ्ग भएकाले औपचारिक रुपमा नै विरोध भएको बुझिएको छ ।

न्युरोडका व्यापारी तथा व्यवसायीहरु अहिले समस्यामा परेका छन् । बैंकको ब्याज, कर्मचारी तलब र घरभाडा दिनुपर्ने बाध्यताले पनि उनीहरु लकडाउनको विकल्प खोज्न बारम्बार आग्रह गरिरहेका छन् । तर सरकार भने यी र यस्ता जनसमस्यामा आँखा चिम्लिँदै आएको छ ।

सुरुवाती दिनमा जनस्तरबाट लकडाउनलाई पूर्ण साथ दिइएको थियो । तर, कोरोना संक्रमणको परीक्षण तीव्र पार्न नसक्ने, सीमामा भित्रिएकाहरुको उचित व्यवस्थापन गर्न नसकेकाले नै आजको विरोध गर्नुपरेको न्युरोडका व्यापारी बताइरहेका छन् । लकडाउनको असरले परेको आर्थिक क्षति र यसले सिर्जना गरेको समस्याले जनतामा छटपटि बढेको छ । सोही छटपटि नै विरोधमा बाहिर आएको उनीहरुको भनाइ छ ।

यस्तै बालुवाटारको विरोध प्रदर्शनले पनि आम भावनाकै प्रतिनिधित्व गरेको देखिएको छ । 

लकडाउन अवधिमा सरकारले जबरजस्ती कर असुल्ने निर्णय गरेको, राष्ट्रपति कार्यालयमा करोड खर्च गर्दै कार्पेट फेर्ने जस्तो अनावश्यक काममा मात्र ध्यान दिएको विरोधमा सो प्रदर्शन भएको थियो । सभ्य शैलीमा, सामाजिक दुरी कायम गर्दै गरिएको सो विरोधमा कोरोना नियन्त्रणमा सरकार असफल भएको, अहिलेसम्म गरेको कामबाट यो सरकारको लक्षण देखिइसकेको नारा लागेको थियो ।

सरकारले जनताका आँखामा छारो हाल्नका लागि मात्र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरेकोमा समेत विरोध भएको छ । शतप्रतिशत पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट मात्र परीक्षण हुनुपर्ने उनीहरुको जायज माग विरुद्ध प्रहरीले पानीको फोहोरा प्रयोग गरेको छ । केहीलाई पक्राउ समेत गरिएको छ ।

बालुवाटारमा लागेका नाराहरु सामाजिक सञ्जालमा नियमित देखिने गरेको छ । तर, विरोधको स्वर सुन्नै नसक्ने सरकारले यी दुबै जनस्तरको आवाजलाई दबाउन बल प्रयोग गरेर प्रजातान्त्रिक मान्यतामा प्रहार गरेको    छ । न्युरोडमा गरिएको धरपकड र बालुवाटारमा गरिएको पानी फोहोरा प्रहारले यो सरकार निरंकुश हुँदै गएको प्रमाण हो । 

सिमित व्यक्तिको घेरामा बस्न रुचाउने प्रधानमन्त्री केपी शर्मा ओलीका लागि अहिलेको समय सहज छ । उनले पार्टी भित्रको असतुष्टि र जनस्तरको असन्तुष्टि सुन्नु परेको छैन । तर आजका यी विरोधले पक्कै पनि उनको कानसम्म आवाज पु¥याउने काम गरेको हुनुपर्छ । कविता फुराउँदै, बाँसुरी बजाउदै सुखमय जीवन बिताइरहेका उनलाई बेलैमा सच्चिएर कर्मनिष्ठ हुन जनआव्हान भएको छ । यसको उपेक्षा गरेमा नेकपा र प्रधानमन्त्री ओलीले यसको महँगो मूल्य चुकाउनु पर्नेमा दुईमत छैन । – सरल पत्रिका