प्रधानमन्त्री पदबाट ओलीलाई हटाउने शक्ति चिनियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन देशी–विदेशी शक्ति लागि परेको रहस्य खोलेपछि तरंगित भएको राजनीतिले नयाँ मोड पक्रेको छ ।
प्रधानमन्त्रीले नेतृत्व गरिरहेको दल नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै देशी विदेशी शक्ति नभै आफू स्वयं प्रधानमन्त्री पदबाट ओलीलाई हटाउन सक्रिय भएको खुलासा गरेपछि राजनीतिले अर्कै मोड समातेको हो ।
यही आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तिका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले यसो भने पछि देशभित्र र छिमेकमा समेत तरंग पैदा भएको थियो । यसमा विभिन्न तर्क,आलोचना र विश्लेषणहरु प्रकट भैरहेकै छन् ।
ओलीले त्यो विदेशी शक्ति भारत रहेको प्रष्टै बताएका थिए भने देशी शक्तिको ’boutमा केही खुलाएका थिएनन् । एउटा सार्वभौम राष्ट्रका कार्यकारी प्रमुखले सार्वजनिक रुपमा यसो भनिरहँदा आम नेपालीको मनमा ठूलो खुल्दुली पैदा भएको थियो । साथै काठमाडौंस्थित कुटनीतिक समुदायमा समेत हलचल आएको बुझिएको छ ।
ओलीले नेपालको नक्शा छापेर संविधान संशोधन गरेवापत प्रधानमन्त्री हटाउन लागि परेको भन्दै आफू तीव्र दबाबमा रहेको बताउन पनि भ्याए । उनले यसअघि चीनसँग पारवहन सम्झौता गर्दा आफ्नो सरकार ढलेको प्रसंग स्मरण गर्दै अहिले आफ्नो दलसँग बहुमत रहेकाले भारतलाई यस्तो सपना नदेख्न चेतावनी समेत दिएका थिए ।
आमस्तरमा प्रधानमन्त्रीको अभिव्यक्ति’boutको चर्चा सेलाउन नपाउँदै नेकपा स्थायी समिति बैठकमा भने ओलीलाई उनका प्रतिस्पर्धी नेताले वास्तविकतासँग साक्षात्कार गराइदिए ।
मंगलबारको बैठकमा बोल्दै नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीतर्फ हेर्दै भने, ‘तपाईंसँग राजीनामा मैले मागेको हो, भारतले होइन । यसअघि पनि मागेको थिएँ, अहिले पनि मागेको छु ।’
प्रचण्डअघि बोलेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताइसकेका थिए ।
ओलीका यी चारै प्रतिस्पर्धी नेताले प्रधानमन्त्रीका हैसियतमा उनको भनाईलाई गैरजिम्मेवार भनी आलोचना गरेका थिए । कार्यकारी पदमा रहेका बेला सार्वजनिक स्थलबाट मित्र राष्ट्र भारतविरुद्ध जथाभावी बोल्दा पार्टीको प्रतिष्ठामा गम्भीर धक्का पुगेको विचार चारै नेताले राखे ।
पछिल्लो समय नेकपामा प्रधानमन्त्रीले पार्टी पद्धति मिचेर काम गरिरहेको भन्दै असन्तुष्टि चुलिएको छ । स्थायी समिति बैठकको उद्देश्य नै यही विषयमा प्रधानमन्त्रीलाई जवाफदेही बनाउनु रहेको एक स्थायी समिति सदस्यले सरल पत्रिकालाई बताए ।
प्रधानमन्त्रीको ‘राष्ट्रवादी’ रणनीति
नेकपा एकीकरणपछि नै वामदेव गौतम र माधवकुमार नेपाललाई किनारामा पुर्याएका प्रधानमन्त्री ओलीले प्रचण्डसँगको सम्बन्धलाई भने सुमधुर बनाएको स्पष्टै देखिन्थ्यो ।
तर पछिल्लो समय वामदेव र माधवकै स्थानमा पुर्याईएका प्रचण्डसँग पनि उनको सम्बन्धमा चिसो पस्दै गएको सार्वजनिक अभिव्यक्तिहरुमा देखिन थालेको थियो ।
नेपाल कोरोना भाइरसको प्रकोपको चपेटामा आउनुअघि देखि नै ओलीको कार्यशैलीले पार्टीमा असन्तुष्टि बढेको सार्वजनिक रुपमा नै देखिने गरेको विषय हो । यी सबै कारणले ओली विरुद्ध वामदेव निवास भैंसेपाटीमा प्रचण्ड, वामदेव, झलनाथ, माधव, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा लगायतको बैठक सुरु हुन थालेको थियो ।
सुरुआती समयमा सो गठबन्धनलाई वास्तै नगरेपनि सभामुख प्रकरणमा पराजित हुँदै अग्नि सापकोटालाई स्वीकार्नु पर्दा भने ओलीले गठबन्धनको बल चाल पाए ।
भैंसेपाटी गठबन्धनले सुरु देखि नै ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने अनौपचारिक घोषणा नै गरिसकेको थियो । यसको सुँइको पाएयता नै ओलीले आफूलाई जोगाउन अनेक अस्त्र प्रयोग गरिरहेका छन् ।
कहिले मन्त्रिमण्डल हेरफेर, कहिले माधव नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव, कहिले वामदेवलाई प्रधानमन्त्रीको ललीपप देखाउँदै आएका छन् । उनको कुनै अस्त्रले काम नगरेपछि उनले आइतबार ‘राष्ट्रवादी’ अस्त्र चलाएको विश्लेषण भइरहेको छ ।
स्थायी समितिमा उनको राजीनामा माग्ने विषय नेकपाका सामान्य कार्यकर्तालाई समेत थाहा थियो । यस्तोमा उनले आफ्नो राजीनामाको मागलाई ‘राष्ट्रवाद’ सँग जोडेर पार्टी भित्रकै विपक्षीलाई अप्ठ्यारो पार्ने नियत राखेको नेकपाकै नेताहरु बताइरहेका छन् ।
तर, पछिल्लो समय महाकाली सन्धिको प्रसंग र त्यसमा ओलीको भूमिकाको चर्चा सेलाइनसकेको हुँदा उनको अस्त्रले सोचेअनुरुप काम गर्न सकेन । उनले बेलाबेलामा राष्ट्रवादी नारा लाउनुको अर्थ सत्ता स्वार्थभन्दा बढी नरहेको टिप्पणी आउन थालेपछि उनको अस्त्र असफल साबित भयो ।
ओलीको ‘राष्ट्रवाद’ मोदी शैलीको
सत्ता स्वार्थका लागि राष्ट्रवादी नारा लगाउने मन्त्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पारंगत रहेको जानकारहरु बताउँछन् । ओलीको शैली मोदीकै शैलीसँग मिल्दोजुल्दो रहेको उनीहरुको मत छ ।
मोदीले भारतमा कुनै काम गर्दा ‘कांग्रेस आईले यसो गरेका थिए हामीले यसो गर्यौं’ भन्दै आफ्नो काम राम्रो बनाउन अन्यलाई गिराउने गरेका छन् । उनले दिल्लीमा सुशासन कायम गरेका अरबिन्द केजरीवालविरुद्ध समेत अनेक लाञ्छना लगाउने गरेको भारतीय मिडियाबाटै थाहा पाउन सकिन्छ ।
मोदी र ओली दुबैजना आफूविरुद्ध कसैले आरोप लगाएको सहनै नसक्ने प्रवृत्तिका रहेको धेरै घटनाबाट पुष्टि भइसकेको छ । यस्तोमा मोदीले राष्ट्रवादी नारालाई तर्साएर सत्ता यात्रा लम्ब्याएको देखेर ओलीले पनि यस्तै गरेको हुनसक्ने एक राजनीतिक विश्लेषकले बताएका छन् ।
सरकार र आफ्नो कमजोरी लुकाउनका लागि अन्य अस्त्र भन्दा टिकाउ भएकाले पनि यो अस्त्रको प्रयोग गरिएको उनको बुझाइ छ । सरलपत्रिका