बुधबारको बैठक पनि निष्कर्षविहीन भएपछि प्रेसरमा प्रचण्ड, रेष्ट मुडमा ओली

काठमाडाैं, असार ३१ :  पार्टीभित्रको आन्तरिक विवाद समाधान लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै अध्यक्षको भूमिका अहम् भएपनि उनीहरुले लिएको पहलकदमी फरक देखिएको छ।

आन्तरिक विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दबाबमा देखिएका छन् भने स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली आराम गर्ने मुडमा छन्।

संवादहीनताको अवस्था तोड्दै मंगलबारबाट छलफल सुरु गरेका अध्यक्षद्वय ओली र प्रचण्डबीचको वार्ता बुधबार पनि विनानिष्कर्ष टुंगिएको छ। अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै बैठकमा विशेष छलफल नभएको प्रचण्डको सचिवालयले जनाएको छ।

‘आजको बैठकमा पनि एजेण्डाका विषयमा छलफल गर्ने उचित वातावरण बनेन। भोलि फेरि बस्ने गरी बैठक सकिएको छ,’ प्रचण्डका सहयोगी विष्णु सापकोटाले भने।

मंगलबार प्रधानमन्त्री एवं अध्यक्ष  केपी ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका प्रचण्ड उनको स्वास्थ्य अवस्था देखेपछि बृहत छलफल नगरी बाहिरिएका थिए। यद्यपी उनले साउन २ गतेको स्थायी कमिटी बैठक नटार्न ओलीलाई भनेका  थिए।

स्वास्थ्य अवस्थाका कारण उनी धेरै तनाव लिने पक्षमा नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘पार्टी अध्यक्ष छलफलमा आउने भएपछि निषेध गर्न मिल्दैन तर आफ्नो स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री केही दिन तनावरहित बस्न चाहनुहुन्छ,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने।

ओलीले आफ्नो तर्फबाट असन्तुष्ट पक्षहरुसँग छलफल गर्न आफ्ना नेताहरुलाई खटाएका छन्। अहिले पार्टी एकता जोगाउनुपर्ने र शीर्ष नेताहरुबीच संवादहीनताको अवस्था अन्त्य गर्नुपर्ने भन्दै पार्टी महासचिव विष्णु पौडेलले विशेष सक्रियता देखाएका छन्।

एक साताको अवधिमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम  र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेट गरेका छन्।

‘संवादले नै सहमतिको वातावरण निर्माण गर्छ पार्टीभित्रका शीर्ष नेता र अध्यक्षद्वयबीचको प्रभावकारी संवादले नै सहमति निर्माण हुन्छ भन्ने मेरो मत छ,’ महासचिव पौडेलले भने।

नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्डले आ-आफ्नो अडान कायम राख्दा सहमति हुन सकेको छैन। प्रचण्ड आफूलाई शक्तिशाली अध्यक्ष बनाउनुपर्नेमा अडिग छन् भने ओली उनलाई शक्तिशाली बनाउन तयार छैनन्।

संवादहीनतालाई तोड्दै सहमति खोज्न बैठक बसेपनि ओलीको स्वास्थ्य अवस्थाका कारण अध्यक्षद्वयले जमेर संवाद गर्न सकेका छैनन्।

यस कारण प्रचण्ड प्रेसरमा 

दोस्रो दर्जामा कहिल्यै  चित्त नबुझाएका प्रचण्डले नेकपा एकल वर्चश्व कायम गर्न सकेका छैनन्। आफ्नो वर्चश्व कायम गर्न कि उनले ओलीको मन जित्नुपर्ने हुन्छ, कि अन्य नेताको सहायतामा ओलीलाई  पाखा लगाउनुपर्ने हुन्छ।

अहिले प्रचण्ड र ओलीको तिक्तता बढ्दै जाँदा आफ्नो उपस्थिति बलियो बनाउन उनले वरिष्ठ नेताद्वय नेपाल र खनाल, उपाध्यक्ष गौतमको साहयता लिइरहेका छन्। प्रचण्ड यस पटक यो गठबन्धनलाई गुमाउने पक्षमा छैनन्। यो गठबन्धन तोडिए आफूले पुन: दु:ख पाउने प्रचण्डको बुझाइ छ।

‘पार्टी एकता र आफ्नो समिकरण दुवै कायम राख्नु पर्ने दबाब अध्यक्ष प्रचण्डमाथि छ,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने। प्रचण्डले पार्टीको विवाद समाधानका विषयमा आफू पक्षधर नेताहरुसँग ९ पटक छलफल गरिसकेका छन्। 

अध्यक्षद्वयबीच बुधबारको बैठक पनि निष्कर्षविहीन भएपछि भोलि पुन: छलफल राखिएको छ।