नैतिक प्रश्नको घेराबन्दीमा देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आचार संहिता उल्लंघन गरेको गम्भीर आरोप लागेको छ । आगामी महाधिवेशनमा सभापति पदमा फेरि निर्वाचित हुन आफ्नो अनुकूल हुनेगरी संगठनमा चलखेल गरेर देउवाले आचार संहिता उल्लंघन गरेको एक दर्जन युवा नेताहरुले आरोप लगाएका छन् । सभापति देउवाले महाधिवेशनको मिति तोकिईसकेपछि पार्टीका विभागहरुमा निकटस्थ नेता कार्यकर्ताहरुलाई जिम्मेवारी दिएर मनोनयन गरेपछि विवाद चर्किएको छ ।

कांग्रेसका देउवापछिका अरु शीर्ष नेताले पनि यही प्रश्न उठाउँदै विधान र आचार संहिताविपरित हुनेगरी भएका सबै निर्णय खारेजीको माग गरिरहेका छन् । विभागहरुमा मनोेनय गर्दा देउवाले कसैसँग पनि सरसल्लाह र परामर्श नगरेको आरोप पनि छ उनीमाथि । उनकै निवासमा नियमित उपस्थित भैरहने नेताले समेत विभाग गठन भैसकेपछि मात्र थाहा पाउने गरेको बताईन्छ ।

यता महामन्त्री शशांक कोइराला, नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, रामशरण महत, शेखर कोइराला, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल लगायतले पार्टीमा विवाद चर्काउन सभापति देउवा नै मुख्य कारण बनेको भन्दै आलोचना गरिरहेका छन् । उनीहरुले पार्टीको बिभाग गठन कार्य तत्काल रोकिनु पर्ने र गठन गरिएका विभागहरु खारेज गरिनुपर्ने माग गर्दै लिखित पत्र नै दर्ता गरेका छन् । पौडेलले त सात बूँदे सुझाव पनि उनको फेसबूकमा सार्वजनिक गरेका छन् ।

कांग्रेसले आगामी फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्ने भनी मिति तोकिसकेको छ । यसरी महाधिवेशन र  सबै तहको अधिवेशनको मिति तोकिसकेपछि भइरहेका यस्ता नियुक्तिले महाधिवेशनको आचारसंहिताको ठाडो उलंघन गरेकाले सवै नियुक्ति खारेज गर्नुपर्ने भन्दै युवा नेताहरुले माग गरेका छन् । मंगलबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले अहिले विभागहरु गठन गरिनुलाई विभाग अनुसार पार्टीको काम गर्नका लागि भन्दा पनि महाधिवेशनलाई प्रभावित पार्ने नियतले भएको अवैधानिक कदमको संज्ञा दिएका छन् ।

केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाईँ, रामकृष्ण यादव र किरण यादवले अवैध तरिकाले गठन गरिएको विभागहरुमा नबस्न पनि सवैलाई आह्वान  समेत गरेका छन् ।

तत्कालिन सभापति सुशील कोईराला नेतृत्वको कार्यकालमा पदाधिकारी, समिति र बिभाग गठनमा दुई बर्ष मात्र ढिलो हुँदा बर्तमान सभापति शेरबहादुर देउवाले नै असहमति जनाएकाले तत्कालिन निर्णय फिर्ता लिइएको दृष्टान्त दिँदै उनीहरुले अहिले देउवाको नेतृत्वमा भने कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरु कसरी वैधानिक र उपयुक्त हुनसक्छन् भनेर युवा नेताहरुले देउवासँग प्रश्न गरेका छन् । 

 ती नेताले “हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भब्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनु पर्ने होइन र ? हामीले बनाएका बिभागहरुले आफ्ना विभागीय काम कहिले गर्ने ? महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टिका साथिहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? भनेर सभापति देउवासँग अनेक प्रश्न तेस्र्याएका छन् ।  

संसद् देखि अनेकौं राष्ट्रिय मुद्दामा प्रतिपक्षी दलको हैसियत  प्रदर्शन गर्न नसकेको आरोप खेपिरहेका देउवा अहिले आएर आफ्नै संगठनका युवा नेताहरुको नैतिक प्रश्नले घेरिन पुगेका छन् । सरकारसँग अपारदर्शी साँठगाँठ गरेको आरोप पनि छ देउवामाथि र उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग रातीको समयमा भेट्ने गरेको तर त्यस’bout पार्टीका कसैसँग पनि जानकारी नदिने गरेको भनी आलोचना  उनकै पदाधिकारीले गरिरहेका छन् ।
सभापति देउवाले महाधिवेशनलाई लक्षित गरेर संगठनमा चलखेल गरिरहेको आरोप लागिरहँदा एक शब्द पनि प्रतिक्रिया जनाएका छैनन् । उनी पार्टीको इतिहास, योगदान र राजनीतिक मार्ग दर्शनलाई लत्याएर पद, धन र शक्ति सञ्चयलाई मात्र लक्ष्य बनाएर अघि बढिरहेको टिप्पणी भैरहेको छ ।सरलपत्रिका