बडा दशैं सदभाव, सहिष्णुता र भाइचाराको श्रोत

सांस्कृतिक चावपर्वको उदेश्य भनेकै आपसी भाइचारा, सद्भाव र सहिष्णुताको अभिवृद्दि हो । सानाले ठुलालाई आदर गर्ने र ठूलाले सानालाई स्नेह दिने, बाटो देखाउँने, असल व्यक्तित्व निर्माण गर्न उर्जा दिने पर्वको रूपमा बडादशै जीवन्त बनोस् ।

 

दशैको आगमनले सवै नेपाली चाहे देशमा होस वा परदेशमा जहाँ बसे पनि रोमान्चित हुने गर्छन् । दशैको मनोवैज्ञानिक पक्ष भनेकै सुखद भेटघाट, पुनर्मिलन, सुख र खुसीको आगमन भन्ने बुझिन्छ । दशैको धार्मिक, सांस्कृतिक र परम्परागत महत्व जति छ, त्यति नै छ यसको मनोवैज्ञानिक सबल पक्ष पनि छ । दशैको मनोवैज्ञानिक पक्ष भनेको जन्म स्थानसँग जोडिएको भावनात्मक अनुराग हो । जन्मभूमिप्रतिको ममता दायित्व र कर्तव्य हो । दशैले कर्तव्यबोध गराउँछ । माटोको माया गर्न प्रेरित गर्छ । माटोको मायाले देशको माया प्रतिबिम्बित गर्छ । हरेक चाडपर्वको पछाडि सुन्दर इतिहास, कला, साहित्य, दर्शन र अलौकिकता पनि रहेको हुन्छ, त्यसको उत्खनन गरेर बर्तमानसँग जोडने र प्रासंगिक बनाउँने चेष्टा हरेक पुस्ताले गर्यो भने पुस्तान्तरणसँगै यसको सकारात्मक पक्ष पनि हस्तान्तरित हुन्छ । परम्पराको सकारात्मक पक्ष हस्तान्तरण समयको माग हो ।

 

भावी पुस्तालाई देशको ऐतिहासिकतासँग सधैं जोडी राख्ने कडी र जीवन्त बनाइ राख्ने सेतु भनेकै हाम्रा चाडपर्व हुन । चाडपर्वले प्रत्येक देशको आफ्नो स्वपहिचान र मौलिकता बोकेको हुन्छ । त्यसैले यस्ता चाडपर्र्व बचाइराख्नु सबैको कर्तव्य र दायित्व हो । कर्तव्य र दायित्वले पहिचान दिन्छ । पहिचान कसलाई चाहिन्न र ? पहिचान र आत्मसम्मान सबैलाई मनपर्ने कुरा भएकोले नै संस्कृति जीवित रहदै हस्तान्तरण हुँदै आइरहेको हुन्छ ।

 

हाम्रो देशमा रहेका विविध सांस्कृतिक धार्मिक चाडपर्वको आआफ्नै सामाजिक मान्यता र उपादेयता छन् । सामाजिक संस्कृतिक मेलमिलाप, पारस्परिक सद्भाव, भाइचारा, सहअस्तिव, बन्धुत्व र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न मद्दत गरेको हुन्छ । परिवारका सदस्यको पुर्नमिलन, अनुभव साटासाट, दुःखसुखको हरहिसाब, भावी योजना र उदेश्य बनाउँनको लागि सामुहिक जमघटको वातावरण बनाउँन हाम्रा परम्पराले महत्वपूर्ण भुमिका निर्वाह गर्ने गर्छ ।

 

दशै पर्वले समाजमा ब्याप्त कलह द्वन्द्व, झैझगडा र तनाव अनि प्रतिस्पर्धालाई भुलेर एक अर्काको निकट पुर्याउन र मनमुटाव मेटाउँन सहयोग गर्द्छ । सामाजिक एकतालाई थप मजबुत बलियो र भरोसायुक्त बनाएर अध्यावधिक गराउँने मुल सामाजिक तत्वको रूपमा समाजशास्तत्रीय कोणले बुझ्न पर्छ भन्ने मान्यता पाइन्छ ।

 

अनुकुल मौसम र वातावरणको कारण पनि शरदीय दिनहरु उसै रमाइला र रोमाञ्चक हुन्छन् । यसैबेला मनाइने नेपालीहरुको महान चाड बडा दशैले अरु रौनकता थपेको हुन्छ । चाडपर्वले दिने खुशी र ल्याउँने बहारको सीमा अनन्त हुन्छ । खुशी खोज्ने, खुशी जोड्ने र खुशी आर्जन गर्ने पर्वले नेपाली धनी छौं । बहानाको खुशी, कृर्तिम खुशी हैन साच्चिकै हृदय प्रफुल्ल हुने खुशी, दिल दिमाग नै तरङित हुने खुशी प्राप्त हुन्छ । हाम्रा धार्मिक, सास्कृतिक र ऐतिहासिक निरन्तरताले ।

 

दशैको मस्तिले रोमान्चित नहुने पात्र को होला ? कुन उमेर समूह र वर्ग नहोला दशै सम्झेर जो उद्देलित नभएको होस । हरेक पुस्ता उमेर र प्रवृति दशैको खुसीमा प्रफुल्ल मात्रै बन्दैन । कर्तव्यशील, क्षमाशील, विनयशील र आदरभाव राख्ने, र मैत्रीपूर्ण रहने गर्छ ।

 

परम्परा र संस्कृतिले सिकाएका राम्रा कुरालाई ग्रहण गर्दै र आधुनिक समयसँगै विकृत बनेका कुरा छोडदै, त्याग्दै हटाउँदै जानू आजको पुस्ता र समयको गहन दायित्व र अभिभारा हो । भावी सन्ततिलाई नकारात्मक कुराको प्रभाव र पहुँचबाट टाढा राख्न पनि देशले विकृत बनेका कुरालाई निर्मम समिक्षा गर्न जरुरी छ, आजको आलेखको मुल ध्येय पनि यहि हो ।

 

हामी दशैमा पाइने आत्मिक र भावनात्मक खुशी छोडेर कृतिम सुख र मस्तिमा रनभुल्ल भएका छौं । आध्यात्मिक, भावनात्मक र आत्मिक खुशीभन्दा ठुलो शारीरिक खुशी र मस्ति भौतिक सुख होइन । हाम्रो रुपान्तरण आध्यात्मिक दर्शन र वैज्ञानिक खोजीमा हुनुपर्छ नकि क्षणभरको, पल भरको खुशी र प्राप्तिमा । दीर्घजीवनको खुशी र सुखसँग साक्षत्कार गर्ने कि अल्पकालिन मस्ति र भौतिक सुखसँग ? असिम पारिवारिक ममता र खुशी ठुलो कि निमेष भरको प्राप्ति ?

 

राज्य, समाज, र ब्यक्तिले सच्याउँनु पर्ने, सुधार गर्नुपर्ने, केही व्यवहारिक सामाजिक र वैयक्तिक आचरण कानुन र प्रावधान पनि रहेका छन् ।

 

सरकार मस्तिको लागि दिने छुट ब्यवस्थापन गर्न खरो उत्रनु जरुरी हुन्छ । सरकारी लामो बिदा अनुत्पादक र प्रत्युत्पादक दुबै बन्नु हुन्न । केवल मोज मस्ति अनि फजुल खर्च र शैतानी शैली होइन ब्यवहारिक जीवनपयोगी सन्देशमुलक र अनुकरणीय बन्नु बनाउँनु पर्छ ।

 

चाडपर्वमा गरिने मस्ति जांँड रक्सी, चुरोट बिडीलगायत नशालु पदार्थको सेवन, बेचबिखन र लत कुलतमा कडा निगरानी, जुवा तासमाथि नियमन र कार्यबाही हुनु पर्छ । परिवारको दशै बिग्रने नाममा उपद्रो गर्ने, अपराधिक घटनामा संलग्न जो कोहिलाई पनि कानुनको दायरामा ल्याउँन बिलम्ब गर्न हुदैन । यस्तो गर्ने नियति र नियतबाट सरकारी मातहतका कर्मचारी विशेष त प्रहरी सचेत रहनुपर्छ ।

 

चाडपर्वको नाममा कानुन उलंघन गर्ने कसैले पनि छूटको सुबिधा पाउनु हुन्न । चाडपर्व मा खासगरी शान्ति सुरक्षा र जीउधनको हानी नोक्सानी हुने घटना र परिस्थिति बढी हुने र सुरक्षा संवेदनशिलता धेरै भएकोले यसको सुब्यवस्थित प्रबन्ध सरकारको प्रथम दायित्व हो । सवारी आवागमनदेखि, सवारी चाप र यसको उचित ब्यवस्थापन ठुलो चुनौति देखिएको छ, बिगतदेखि नै । दशै यति ठुलो पर्व हो, जसले एकै पटक देशको अर्थतन्त्रसँगै सारा अवयब भयंकरसँग चलयमान बनाउँछ ।

 

दशैसँग प्रतिबिम्बत हुने आर्थिक सामाजिक र संस्कृतिक पक्षले देशको तस्विर बोल्छ । यस्तो बेला राज्यले आफ्ना नागरिकलाई दिने सेवा र सुविधामा विशेष ख्यालसहित यथोचित प्रबन्ध गर्नु अपरिहार्य हुन्छ । सवारीसाधनको अभाव, आवश्यक खाद्य वस्तुको अभाव, नयाँ नोटको अभाव जस्ता कुरा दशैको बेला सधैं खटकने र खतरनाक चलखेल हुने विकृति हुन यसको सामधान गर्न नीतिगत सुधार र प्रबन्ध चासो र सरोकार सरकारको दायित्व हो ।

 

यातायात ब्यवसाय बर्ष दिन भरको क्षति असुल्ने अवसरको रूपमा यसलाई लिएर जतिसक्दो असुल्ने नीति बनाएर अराजक तवरले दशै तिहार छठ जस्ता पर्वमा ब्यवसायको थोरै पनि नैतिकता बिर्सेर व्यबहार गर्छन् र सवारी चलाउँछन्, यातायात व्यवसायीहरु ।

 

सवारी ब्यबसायको लागि कानुनसँगै आचरण व्यबहार र शैलीको लागि सदैव नैतिक शिक्षा र सन्देश प्रभाव आवश्यक छ । कानुनको काम दुश्कर्मपछिको दण्ड सजाय हो भने नैतिक शिक्षाको काम कुकर्म नगर्न रोक्ने सचेतता हो । तसर्थ कुनै पनि घटना दुर्घटनाको न्युनिकरणको लागि नैतिक शिक्षा अत्यावश्यक हो ।

 

बिना मापदण्ड बाटोको गुणस्तर विना जथाभावी रुट सञ्चालनको लागि अनुमति अझ सहरबाट विस्थापित पुराना र थोत्रा सवारी साधन पहाडी भुभागको लागि योग्य देख्नु सरकारी निकायको निकम्मा र निर्लज्जता हो । पहाडका अत्यन्तै साघुरा घुम्ति र मोड, अक्करे भिरमा डोजर चालकको इन्जिनियरिङमा बनेको कच्चिसडकमा भोक निन्द्रा नभनी सवारी चलाउँने अझ त्यसमाथि मादक पदार्थ सेवन गरेर क्षमताभन्दा बढी मान्छे र सामान कोचेर सवारी चलाउँदा हुने गम्भीर दुर्घटना हामीले सधैं देख्दै र सुन्दै आएको तितो वास्तविकता हो ।

 

जब चाडपर्व आउँछ तब दुर्घटनाको मात्रा भयावह हुन्छ यस्तो बर्षेनी किन हुन्छ सरकारको ध्यान जानू र नीतिगत प्रबन्ध गरि ब्यवहारिक प्रयोग गर्न अब ढिला गर्नु मनासिब छैन । सरल, सहज, सुब्यवस्थित र सुरक्षित यातायातको सरकारी पहलकदमी जनताको सरकारप्रतिको माग र अधिकार हो ।

 

अनिन्द्रा थकाइ र तनावको कारण हुने दुर्घटनाबाट बच्न सवारी चालकलाई आवश्यक वातावरण दिनु सवारी धनी र सरकारको मुल कर्तव्य हो । ट्राफिक प्रहरी पनि सडक यातायातसँग जोडिएको महत्त्वपूर्ण संयन्त्र हो । ट्राफिक ब्यवस्थापनसँग पनि जनताको ठुलो गुनासो छ, सवारी चालकको आक्षेप छ, त्यसलाई चिरेर ट्राफिक सवारी चालकको हितैशी र सचेतक हो, दुश्मन हैन भन्ने मान्यता स्थापित गर्नु उसको अगाडि चुनौती नै छ ।

 

बजार यति अराजक छ, त्यसको नियमन गर्न अनुगमन गरेको देखाउँन र प्रचारबाजीको लागि गरिन्छ, कमाउ धन्दा गर्ने अवसरको रूपमा पनि लिइन्छ । अलि खर्चिलो पर्व भएकोले दशै झन खर्चिलो र महंगो बनाउँन सरकारी सम्वन्धित निकायमाथि लागेको आरोप होइन, जनजनले अनुभुत र अनुभव गरेको सत्य हो । आकाश छुने महंगी नियन्त्रणमा सरकारको प्रभावकारिता हस्तक्षेप जनताको स्वभाविक अपेक्षा हो ।

 

समाजमा सामाजिक संघ संस्था राजनीतिक संघसंगठनका नाममा हुने फजुल भोज भतेर र पार्टी अर्को निगरानीको विषय हो । समाजले भडकिलो खर्च गराइ र फजुल खर्चप्रति औंला तेर्साएर खबरदारी गर्नुपर्छ । सरल, सहज, सुगम र चुस्त अनुशासित शैलीलाई प्रोत्साहन दिन सक्नुपर्छ ।

 

प्रत्येक ब्यक्ति म अनुशासनमा बस्छु, भौतिक सुखभन्दा पर आध्यात्मिक सुख खोजी र खुसीमा रम्छु भन्ने प्रण गरेर जुवातास, जाँडरक्सी, मोजमस्तिबाट बिमुख बनेर अर्थपुर्ण बन्ने सुचेस्ठा गर्न लागि पर्नुपर्छ । समाजमा उदाहरण बन्ने ब्यक्ति बन्यो भने असल कुराको अनुकरण समाजले पक्कै गर्ने छ ।

 

अनावश्यक मांसहार छोडेर आफ्नो स्वास्थ अनुकुल आचार र खानपान सबैले सधै मनन गर्ने कुरा हो । एक ब्यक्ति सुध्रिनु भनेको पनि समाजमा सकारात्मक सन्ंदेश प्रबाह गर्ने अवसरको सृजना हो तसर्थ निशर्त ब्यक्ति सामाजिक आचारसंहितामा खरो उत्रिन यत्न गरोस् ।

 

हाम्रा सबै सामाजिक सांस्कृतिक, धार्मिक चाडपर्वले चाहेको हेतु र उदेश्य भनेकै आपसी भाइचारा, सद्भाव र सहिष्णुता हो । सानाले ठुलालाई सम्मान गर्ने, आदर गर्ने, खातिरदारी गर्ने र ठूलाले सानालाइ स्नेह दिने, बाटो देखाउँने, असल चालचलन र परम्पराको लागि उर्जा दिने पर्व र दिवसको रूपमा बडा दशै जीवन्त बनोस् ।

 

नयाँ चेतना, नविन सिर्जना र जीवनलाई थप सार्थक, उदेश्यमुलक र उर्जा दिने, हिम्मत थप्ने असल कर्म गर्न प्रोत्साहित गर्ने आशीर्वचन लिन र दिन सकियोस् । सहयोगी, मिलनसार, न्यायको पक्षपाती, समय सन्दर्भको लय समात्ने मेलो सबैलाई मिलोस ।

 

असुरी र राक्षसी प्रवृति दुरदुर बनोस् । मानवताभन्दा ठुलो सिद्धान्त र वाद अरु होइन भन्ने भाव सवैमा जागृत होस । नवदुर्गा भवानीले सबैको कल्याण गरून् बडा दशैको शुभकामना समस्त नेपालीप्रति । हाम्रो अमुल्य सम्पदा र धरोहर जोगाएर राख्ने सद्वुद्दी प्राप्त होस । सुपाच्य सुसंस्कृतिक आचार, व्यबहार, खानपान जीवनशैली बनोस् ।