विश्वकप : शुक्रबारदेखि क्वाटरफाईनलको भिडन्त

 

 

 

 

विश्वकपमा गए राति समुह १६ को सबै खेलहरु समाप्तसँगै क्वाटरफाईनलको समीकरण पुरा भएको छ । यो हप्ताको अन्तमा क्वाटरफाईनलको खेलहरु हुने छ । पहिलो खेल उरुग्वेले फ्रान्सको सामना निझ्नी रंगशालामा जुलाई ६ तारिक शुक्रवार साँझ ७ः४५ मा गर्ने छ । सोही दिनको मध्य राति ११ः४५ बजे ब्राजिल र बेल्जियमको भेट कजान एरिनामा हुने छ । जुलाई ७ तारिक शनिवार समरा एरिनामा साँझ ७ः४५ बजे स्वीडेन र ईङ्गल्याण्डवीच खेल हुने छ । अन्तिम क्वाटरफाईनल राति ११ः४५ बजे सोचीमा आयोजक रसिया र क्रोएसियावीच  हुने छ । हालसम्म विश्वकप विजयी ८ टिममध्ये यो क्वाटरफाईनलमा पाँच पटकको विजयी ब्राजिल, दुई पटकको विजयी उरुग्वे र एक पटकको विजयी फ्रान्स र ईङ्गल्याण्डले मात्र क्वाटरफाईनल खेल्ने छन् । सेमीफाईनलमा पूर्व विश्व विजयी एक टिम पुग्ने निश्चित भएपनि ब्राजिलले बेल्जियमको तथा ईङ्गल्याण्डले स्वीडेनको सामना गर्दा बाँकी रहेको ४ विश्व विजयी मध्ये  तीन वटै सेमीफाईनलमा पुग्छन् भन्न सकिदैन । उता फ्रान्स र उरुग्वेको भिडन्तमा एक विश्वकपको पूर्व विजेता निराश  हुने नै छ । क्वाटरफाईनलको नालीबेली सम्भावना र क्षमताका विषयमा भोली र पर्सिको अंकमा चर्चा गरिने छ ।

 

ईङ्गल्याण्ड सडेन डेथमा बच्यो

 

 

 

 

निर्धारित समयमै ईङ्गल्याण्डले खेल जित्ने अवस्थामा ईङ्गल्याण्डले अन्तिम समयमा गोल रोक्न सकेन र खेल अतिरिक्त ३० मिनेटमा लम्बियो । खेलको अतिरिक्त समयमा ईङ्गल्याण्डको रक्षकले गोल टार्न नसक्दा खेलको ५७ औं मिनेटमा पेनाल्टीबाट बनाएको अग्रता निर्धारित ९० मिनेट पछिको तेश्रो मिनेटमा गुमायो । खेल अवधिभर १–१ गोल भएपछि ईङ्गल्याण्ड र कोलम्बियाले थप ३० मिनेट खेले । अतिरिक्त ३० मिनेटमा पनि गोल नभएपछि पेनाल्टी सुट आईटबाट ईङ्गल्याण्ड विजयी चुनिएको थियो । सडेन डेथमा ईङ्गल्याण्डका चार प्रहारले जाली गुमे भने कोलम्बियाको ३ प्रहार मात्र गोलमा परिणत भए । पेनाल्टी सुट आउटमा कोलम्बियाले बनाएको अग्रता चौथो प्रहार गर्न आएको उसका खेलाडीले गोलपोष्टको वारमा हानेपछि ईङ्गल्याण्डले कोलम्बियाको विश्वकप यात्रालाई पूर्ण विराम लगायो ।

 

 

ईङ्गल्याण्डले मध्ये  तथा अग्र भागमा बललाई राखेर कोलम्बियाको गल्तिको फाईदा उठाउँदै गोल गर्ने रणनीति ३–५–२ मा मैदानमा उत्रिएको थियो । बललाई नै नियन्त्रणमा राखि डिफेन्सिभ खेल खेल्दै काउन्टर एट्याकमा गोल गर्ने रणनीतिका साथ कोलम्बिलया ४–३–२–१ को खेलशैलीमा मैदान छिरेको थियो । दुवैको बलमाथि नियन्त्रण राख्ने रणनीति हुँदा यी दुवै टोलीको बलमाथि नियन्त्रणमा खासै फरक थिएन् । ईङ्गल्याण्डको रणनीतिअनुसार विपक्षीको गोल क्षेत्रमा बढी बल खेलाउँने योजनाले काम गरेन । उता राम्रो मुभसहित आक्रमण गर्ने रणनीतिमा रहेको कोलम्बियाले पनि मुभहरु राम्रो बनाउँन सकेको थिएन । कोलम्बियाले ४ प्रहार लक्ष्यमासहित कुल १४ प्रहार गर्दा ईङ्गल्याण्डले १६ प्रहार गरेर २ प्रहार लक्ष्यमा राखेको थियो ।

 

 

 

ईङ्गल्याण्डका ५ प्रहार कोलम्बियाका रक्षकले छेकेका थिए भने कोलम्बियाको ३ प्रहार ईङ्गल्याण्डका रक्षकले विफल बनाएका थिए । धेरै जसो हार्रहुर्रमा समय बर्बाद गरेका दुवै टोलीले उत्कृष्ट मुभ तथा खतरनाक आक्रमण गर्न सकेका थिएनन् । खेलको ५४ मिनेटमा ईङ्गल्याण्डका ह्यारी केनलाई कार्लोस साञ्चेजले कर्नर प्रहार समयमा समाएर लडाएपछि ईङ्गल्याण्डले पेनाल्टीको अवसर पायो । सो पेनाल्टीलाई केनले कुनै गल्ति गरेनन् र खेलको ५७ औं मिनेटमा ईङ्गल्याण्डले १–० को अग्रता बनायो । खेलमा मुभ बनाउँदा बनाउँदै धेरै समय बिताए पनि निर्धारित ९० मिनेटको अतिरिक्त समयको तेश्रो मिनेटमा यारी मिनाले हेडरबाट कोलम्बियालाई खेलमा फर्काए । थप ३० मिनेटको खेलमा पनि दुवै टोली गोल गर्न सकेनन् र सडेन डेथमा कोलम्बिया निरास भयो ।

 

 

 

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गियो । खेलको रणनीतिअनुसार नै कोलम्बियाले रक्षात्मक खेलेको थियो । उसले केवल ४ पटक ईङ्गल्याण्डको गोल लाईनमा प्रहार गर्दा एक लक्ष्यमा प्रहार गर्न सकेको थियो । ईङ्गल्याण्डले भने ८ वटा प्रहार गरेपनि कोलम्बियाको रक्षा चिर्न सकेको थिएन् । ईङ्गल्याण्डको एक मात्र बल लक्ष्यमा थियो भने कोलम्बियाका रक्षकले ईङ्गल्याण्डको ३ प्रहार छेकेका थिए । पहिलो हाफमा ईङ्गल्याण्डले ५३ प्रतिशत समय बलमाथि नियन्त्रणमा राखेको थियो । उसको ८४ प्रतिशत पासहरु सफल भएको थियो ।

 

 

 

ईङ्गल्याण्डका लागि स्टर्लिङ्गले ३, ह्यारी केनले २,  लिङगार्ड, त्रिप्पीअर र योङ्गले समान एक एक प्रहार गर्दा योङ्ग प्रहार मात्र गोलपोष्टको लाईनमा थियो । उता कोलम्बियाका लागि क्वान्टेरोले २ प्रहार, मोजिका तथा कुअड्राडोले एक एक प्रहार गरेका थिए । कोलम्बियाका क्वान्टेरोको दुई मध्य एक प्रहार लक्ष्यमा थियो । पहिलो हाफ गोल नभएर मात्र होईन आक्रमक मुभको कमीमा खेल हेर्दा अल्छीलाग्दो देखिन्थ्यो । दुवै पक्षले बलको २० प्रतिशत समय पनि विपक्षीको गोल क्षेत्रमा खेलेका थिएनन् । आफ्नै गोलक्षेत्र तथा मध्यभागमा बढी खेल खेल्दा फुटबलको रोमाञ्चकता नभएर क्रिकेटको टेस्ट म्याच हेरे जस्तो भान हुन्थ्यो ।

 

 

 

दोश्रो हाफ तथा अतिरिक्त समयको ३० मिनेटमा ईङ्गल्याण्डले भन्दा कोलम्बिया बढी आक्रमक बन्यो । खेलमा फर्किएपछि कोलम्बिया बढी नै आक्रमक बनेको थियो । यो समयमा ईङ्गल्याण्डले १ लक्ष्यमा सहित ८ वटा प्रहार गोलका लागि गरेको थियो, भने कोलम्बियाले १० वटा प्रयास गर्दा ३ वटा लक्ष्यमा राखेको थियो । तर, खेलको दोश्रो हाफको ५४ औं मिनेटमा कार्लोस साञ्चेजले ह्यारी केनलाई कर्नर प्रहारको समयमा समातेर लडाएपछि ईङ्गल्याण्डले पेनाल्टीको अवसर पायो । सो पेनाल्टीलाई केनले ५८ औं मिनेटमा गोल गरे । सो गोल खाएपछि केही आक्रमणको प्रयास कोलम्बियाले गर्दा ईङ्गल्याण्डको डिबक्स क्षेत्रमा पुगेपछि मुभ विफल हुन्थ्यो वा प्रहार बाहिरिन्थ्यो । खेलको निर्धारित समयपछि अतिरिक्त समयमा कोलम्बियाले लामो प्रहार गर्दा ईङ्गल्याण्डका पिकफोर्डले मुस्किलले बचाएर कर्नर बनाए । सो कर्नरमा मिनाले हेडरबाट गोल गरेर कोलम्बियालाई खेलमा फर्काए । अतिरिक्त समयमा पनि केही प्रहारहरु बाहिरिए तथा रक्षकले छेकेपछि खेलको छिनोफानो सडेन डेथमा भएको थियो ।

 

 

सडेन डेथको दुवै टोलीको दुई दुई प्रहार सफल भएपछि कोलम्बियाले तेश्रो सफल प्रहार गर्यो भने ईङ्गल्याण्डका हेन्डरसनले गरेको तेश्रो प्रहार कोलम्बियाका गोलकिपर बचाए भने । लगतै कोलम्बियाको चौथो प्रहार गर्न आएका माटेयस उरिबले गरेको प्रहार गोलपोष्टको बारमा हाने । त्यसपछि ईङ्गल्याण्डले बराबरी गोल गरेको थियो । पाँचौ प्रहार गर्न आएका कोलम्बियाका कार्लोस बाक्काले गरेको प्रहार ईङ्गल्याण्डका गोलकिपरले बचाए भने अन्तिम प्रहारमा ईङ्गल्याण्डका डियरले कुनै गल्ति गरेनन् । खेल ईङ्गल्याण्डले सडेन डेथमा ४–३ ले जित्यो र स्वीडेनसँगको भेट निश्चित गर्यो ।

 

 

 

स्वीडेनले आफ्नो ५० औं विश्वकपको खेल जित्यो 

 

 

विश्वकपमा स्वीडेनले पचासौं खेल खेल्दा संघर्षपूर्ण १–० गोलको जित स्वीटजरल्याण्डमाथि निकालेको छ । झिनो अन्तरले परिणाम आउँने र निक्कै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको खेलमा परिणाम त अपेक्षित नै आयो तर, खेलमा भने त्यत्ति धेरै रोमाञ्चकता, आकर्षण, कलात्मकता तथा सन्तुलन देखिएन । पश्चिमी मिडियाहरुले केही स्वीटजरल्याण्डको पल्लाभरी भने पनि स्वीडेनको जित हुनसक्नेमा नकार्न सकेको थिएनन् । खेलमा समुह विजयता भएको स्वीडेनले विश्वकपको उपस्थितिको एक कोसेढुंगे खेलमा विजय हासिल गर्दै खुशी साट्ने मौकालाई गुमाएन् । गोल गर्न पटक पटक चुकेको स्वीटजरल्याण्डले स्वीडेनको काउन्टर एट्याकको रणनीतिलाई राम्रो जवाफ दिन सकेन ।

 

 

खेलमा हरेक हिसाबले अघि भएपनि स्वीटजरल्याण्डले अप्रत्यासित गोल खान पुग्यो । खेलको ६६ औं मिनेटमा स्वीडेनका फरस्वर्गले हानेको कडा प्रहार स्वीटजरल्याण्डका अकान्जीको खुट्टामा लागेर गोलपोष्टको दिशामा गएपछि गोलकिपर सोम्मर हेरेको हेरै भए । यो प्रतियोगितामा उत्कृष्ट खेल खेलका गोलकिपर सोम्मरले गोलको दिशा परिवर्तन भएपछि केही गर्न सकेनन् । त्यसपछि स्वीटजरल्याण्डले खेलका प्रशस्त अवसर बनाए पनि स्वीडेनका रक्षकले छेके तथा स्वीस प्रहार लक्ष्यमा पर्न सकेन । खेलको केही सेकेण्डमात्र बाँकी हुँदा काउन्टर एट्याकमा ओल्स्सनलाई स्वीस रक्षक लाङ्गले एक्लै बल अघि बढाउँदा पछाडिबाट धकेलेका थिए । लाङ्गले रातो कार्ड पाए । रेफ्रीले प्रारम्भमा पेनाल्टीको अवसर दिएपनि भिडियो असिस्सटेन रेफ्री (भार) को सहायतमा फल डिबक्स बाहिर भएको निर्णय गर्दै फ्रिकिकको अवसर स्वीडेनलाई दिईयो । स्वीडेनका फरस्वर्गले राम्रो फ्रिकिक हाने तर स्वीटजरल्याण्डका किपर सोम्मरले बचाए । यो जितसँग स्वीडेन १९९४ पछि पहिले पटक विश्वकपको क्वाटरफाईनलमा पुगेको छ ।

 

 

 

 

खेलको सुचकहरुको हिसाबले स्वीटजरल्याण्ड अगाडि देखिन्छ । स्वीस टिम ४–२–३–१ को रणनीतिमा बलमाथि बढीभन्दा बढी नियन्त्रण बनाई राम्रा मुभसहित आक्रमण गर्ने खेल योजनासहित मैदान छिरेको थियो । उता ४–४–२ को आक्रमक खेल खेल्ने रणनीतिका साथ स्वीडेन उत्रिएको थियो । रणनीतिलाई मैदानमा प्रदर्शन गर्न स्वीटजरल्याण्ड टिमले सकेको देखिन्छ भने स्वीस टोली गोल गर्न चुकेका थिए । रणनीतिअनुसार आक्रमण गर्न नसकेपनि राम्रो रक्षात्मक खेल तथा काउन्टर एट्याक राम्रो गर्न सकेर स्वीडेनले खेल आफ्नो पक्षमा पर्यो । खेल अवधिभरी स्वीटजरल्याण्डको पक्कड राम्रो थियो ।

 

 

जम्मा १८ वटा प्रहारहरु स्वीस टिमले स्वीडेनको गोललाईनमा गर्दा ४ वटा लक्ष्यमा थियो भने ९ वटा स्वीडेनका रक्षकले छेकेका थिए । त्यस्तै स्वीस खेलाडीले ६३ प्रतिशत समय बल खेलाएका थिए भने सफल पास प्रतिशत ८३ थियो । उता स्वीडेनले ३ लक्ष्यमासहित जम्मा १२ वटा प्रहार गरेको थियो । तर, खेलमा रोचकता र रोमाञ्चकता देखिएन किनेभने प्रहार फितलो र रक्षामा बढी जोड दिनुका अतिरिक्त स्वीडेनले २० प्रतिशत र स्वीटजरल्याण्ड २२ प्रतिशत मात्र बल विपक्षको गोल क्षेत्रमा खेलाएको थियो । पहिलो हाफको ७ आक्रमणको दाँजोमा आक्रमक देखिएको स्वीटजरल्याण्डले दोश्रो हाफमा थप ११ वटा प्रहार गोलका लागि गरेको थियो । स्वीडेन भने झनै सुस्त देखिएको थियो । उसले दोश्रो हाफमा केवल ५ प्रहार गरेर दुई लक्ष्यमा राख्दा एक बल सफल भएको थियो ।

 

 

पहिलो हाफमा दुवै टिमले जम्मा सात सात वटा प्रहार गोलका लागि विपक्षी गोलपोष्टको क्षेत्रमा गरेका थिए । स्वीडेनको एक मात्र प्रहार लक्ष्यमा स्ट्राईकर वर्गले गरेका थिए, भने स्वीटजरल्याण्डका जुवेर र रोड्रिगेजले एक एक प्रहार लक्ष्यमा राखेका थिए । पहिलो हाफमा स्वीटजरल्याण्डले ६६ प्रतिशत समय बलमाथि नियन्त्रणमा राखेको थियो । स्वीटजरल्याण्डका झाका, जुवेर, रोड्रिगेज, द्जेमाईली र साकिरीले गोलका लागि प्रयास गर्दा स्वीडेनका लुस्टिग, ईकडाल, फरस्वर्ग र वर्गले गोलका अवसरहरुलाई गोलमा रुपान्तरण गर्न चुकेका थिए । खेलको सातौं मिनेटमा जुवेरले हानेको प्रहार स्वीडेनका गोलकिपरको सिधै हातमा गयो । खेलको आठौं मिनेटमा स्वीडेनका वर्गले गरेको प्रहार रक्षकले छेके भने ईकडालले गरेको प्रहार आकासिएको थियो । स्वीडेनका वर्गले २८ औं मिनेटमा डिबक्सभित्रबाट गरेको प्रहार सशक्त हुने सकेन र स्वीस गोलकिपर सोम्मरले बचाए । स्वीस खेलाडीले खेलको ३४ औं मिनेटमा मध्यभागबाट लामो प्रहार गरे जुन स्वीडेनको गोलपोष्टभन्दा केहीमाथिबाट बाहिरियो । स्वीस खेलाडी द्जेमाईलीले ३८ औं मिनेटमा डिबक्स ठिक भित्रबाट हानेको कडा प्रहार गोलपोष्टमाथिबाट बाहिरियो ।

 

 

 

 

दोश्रो हाफमा स्वीटजरल्याण्डले ११ वटा आक्रमक प्रहार गर्दा ८ वटा स्वीडेनका रक्षकले बचाएका थिए । उता केवल ५ वटा प्रहार गरेको स्वीडेनले २ वटा बल लक्ष्यमा राख्दा एकमा गोल गरेको थियो । दोश्रो हाफमा स्वीटरजरल्याण्डका झाका, साकिरी र रोड्रिगेजले गोलका लागि प्रयत्न गरेका थिए भने स्वीडेनका फरस्वर्ग, ईकडाल र तोईभोनेनले गोल गर्न प्रहार गरेका थिए । फरस्वर्गले ६६ औं मिनेटमा गरेको प्रहार अकिन्जीले डिफ्लेक गर्दा स्वीस गोलकिपर हेरेका हेरै भए । यही गोल नै यो खेलको निर्णायक गोल बन्यो । खेलको ६८ औं मिनेटमा ईकडालले लामो प्रहार गरे सो प्रहार आकासियो ।

 

 

स्वीसहरुले गोल खाएपछि निक्कै मुभहरु बनाई आक्रमण गर्दा दोश्रो हाफमा मात्रै १० वटा कर्नर पाए, तर सदुपयोग गर्न सकेनन् । खेलको ७९ औं मिनेटमा कर्नरमा स्वीटजरल्याण्डका खेलाडीले गरेको प्रहार गोललाईन छेउबाट स्वीडेनका रक्षक ग्रान्कभिष्टले क्लियर गरेका थिए । अतिरिक्त समयको पहिलो मिनेटमा स्वीस खेलाडीले लामो पासमा गरेको हेडर स्वीडेनका गोलकिपर ओल्सनले बचाए । खेलको केही सेकेण्ड बाँकी हुँदा स्वीडेनका ओल्स्सनलाई स्वीस रक्षक लाङ्गले पछाडिबाट धकेलेपछि रातो कार्ड पाए । रेफ्रीले भारको सहायतमा पेनाल्टी भएर फल डिबक्स बाहिर भएको ठहर गरेर स्वीडेनका फ्रिकिक पायो । फरस्वर्गले राम्रो प्रहार गरे तर स्वीटजरल्याण्डका किपर सोम्मरले बचाए । अन्त्यमा खेल १–० मा समाप्त हुँदा स्वीडेनले विश्वकपको ५० औं खेलमा सुखद नतिजा निकाल्यो भने राम्रो खेलका बाबजुद स्वीटजरल्याण्ड घर फर्कियो । जुलाई ७ मा स्वीडेनले समरा एरिनामा ईङ्गल्याण्डको सामना गर्ने छ ।