विश्व कप : पोल्याण्डलाई पोल्यो , जापान जंगियो, र रसिया रसायो- बेदप्रसाद भुर्तेल

 

 

 

बेदप्रसाद भुर्तेल

 

 

स्पेन जस्तो टिम विरुद्ध ह्याट्रिक गरेका रोनाल्डो गोल्डेन बुटका लागि गोल गर्ने  कोशिसमा हुने छन् ।

 

 

जित्नैपर्ने सकारात्मक दबाबमा रहेको स्पेनले अघिल्लो खेलमा भाग्य दाहिना भएको ईरानलाई नराम्रोसँग पराजयको स्वाद चखाउँने छ ।  पोर्चुगलसँगको प्रतिस्पर्धामा झै गल्ती गर्न स्पेनका गोलरक्षक डि जियालाई छुट हुने छैन ।

 

रसियासँग ५–० ले हारेको साउदीलाई ईजिप्टसँग संघर्षपूर्ण जीत  निकालेको उरुग्वेले कुनै बक्सिस दिने छैन । भुत्ते देखिएका स्वारेज र धारिलो देखिएका काभानीले कति गोल गर्छन भन्न यसै नसकिए पनि ३ वा सोभन्दा बढी गोल अन्तरको परिणाम आउँने पूर्वानुमान छ ।

 

 

)

ईजिप्टलाई समुह चरणबाटै घर फिर्ता गर्न रसियाले ३–१ को जीत निकालेको छ । र, आफ्नो नकआउट यात्रा तय गरेको छ । रसियाको तीन गोल मध्ये  एक गोल ईजिप्टका   अहमेद फाथीको आत्माघाती गोल हो । उता एसियन राष्ट्रहरु कमजोर हुन्छन् भन्ने विश्वासलाई गलत सावित गर्दै जापानले कोलम्बियालाई २–१ ले हरायो । तर, ३ मिनेटमै १० खेलाडीमा सिमित कोलम्बियाले जापानलाई दह्रो चुनौति दियो । जापानले महत्वपूर्ण तीन अंक हासिलगर्दा ओसाकोको ७३ औ मिनेटमा निर्णायक गोल गरे । गए राति नै भएको अर्को खेलमा पोल्याण्डलाई सेनेगलले २–१ कै नतिजामा स्तब्ध बनायो । सेनेगलको जितमा नियाङ्गले गोल गर्दै तीन अंक जोडे, भने एक गोल पोल्याण्डका खेलाडीले सेनेगललाई सौजन्य दिएका थिए । यो विश्व कपका एउटा रोचक पक्ष पेनाल्टीको अवसर धेरै हुनु हो भने आत्माघाती गोल अर्को महत्वपूर्ण पक्ष हो ।

 

 

ईजिप्टको भएन जित, रसिया नकआउटमा पुग्ने पहिलो टोली

 

जित्नैपर्ने खेल रसियालाई सुम्पिदा विश्वकपको अघिल्लो चरणमा पुग्ने सम्भावना ईजिप्टको समाप्त भएको छ । गए रातिको सेन्टपिर्टरवर्ग रंगशालामा भएको खेलमा रसियाले ईजिप्टलाई ३–१ गोल अन्तरले हरायो । यो जीतसँगै रसियाले ६ अंक हासिल गरि दोश्रो चरणमा पुग्ने पहिलो टोली बनेको छ भने लगातार दुई खेलमा पराजित ईजिप्टको नकआउटको सम्भावना समाप्त भएको छ । गृहमैदानको फाईदा उठाउँदै रसियाले ४७ औं मिनेटमा आत्माघाती गोलबाट बलको सिलशिला शुरु गर्यो । फाथीले ४७ औं मिनेटमा दिएको गोलको उपहारलाई ५९ औं मिनेटमा डेनिस चेरिशेभले गोलरक्षक मारियो फर्नान्डेजको पासमा गोल गरे । चेरिशेभ खेलको म्यान अफ द म्याच पनि बने । त्यसको लगत्तै ३ मिनेटपछि स्ट्राईकर द्जीयुवाले रक्षक कुतेपोभको सहायतमा गोल गर्दै रसियाको अग्रतालाई ३–० मा पुर्याए । घाईते भएर अघिल्लो खेल नखेलेका ईजिप्टका मो. सलहले राम्रो मुभ तथा प्रहार गरे पनि ईजिप्टको हार टार्न सकेनन् र पेनाल्टीमा प्राप्त एक अवसरलाई गोलमा परिणत गर्दै सान्त्वना गोल गरे ।

 

 

तीन गोल गर्दै प्रतिस्पर्धात्मक खेलको दोश्रो हाफमा रसिया हावी भयो । तर, कुल ११ वटा आक्रमण गरेको रसियाले दोश्रो हाफमा जम्मा तीन वटा मात्र प्रहार गरेको थियो, जुन ईजिप्टले हानेको प्रहारभन्दा ५ कम हो । ईजिप्टले रसियाको गोलपोष्टमा कुल १३ वटा प्रहार गरेको थियो भने रसियाका रक्षकले ३ वटा छेकेका थिए । ४–२–३–१ को खेल रणनीतिमा आएको रसियाले ४६ प्रतिशत समय गोललाई नियन्त्रण लिएको थियो । उता उही रणनीतिमा ओर्लिएको ईजिप्टले ८१ प्रतिशत सफल पाससहित ५४ प्रतिशत बल नियन्त्रण लिएको थियो । रसियाले बल नियन्त्रण र सटिक पास कम खेले पनि ईजिप्टलाई हराउँने खास कारण उसका खेलाडीले गरेको सटिक प्रहार र गोलका लागि मौका बनाउँने वातावरण । रसियाले गोलको वातावरण  सिर्जना गर्न ३२ प्रतिशत बल ईजिप्टको गोल क्षेत्रमा खेलायो । जबकी ईजिप्टले रसियाको गोल क्षेत्रमा जम्मा २३ प्रतिशत मात्र बल खेलाएको थियो । तर, पहिलो हाफमा कुनै पनि गोल नभएको स्पर्धामा चारै गोल दोश्रो हाफमा भयो ।

 

 

 

 

पहिलो हाफ आक्रमणका हिसाबले रसियाको नाम रह्यो । घरेलु मैदानमा ईजिप्टमाथि पहिलो हाफमा रसियाले ८ पटक गोलको प्रयास गरेको थियोे । ८ प्रयास मध्य १ वटा मात्र लक्ष्यमा थियो, भने २ वटा विपक्षी ईजिप्टका रक्षकले छेकेका थिए । खेलका नायक चेरिशेफले पहिलो हाफमै ३ प्रयास गरेका थिए भने गाजीन्स्की, जोब्नीन, गोलोभिन, द्जीयुवा र ईग्नाशेभिचले पनि एक एक प्रयास गरेको थियो । उता ईजिप्टका मार्विनले २ तथा सलह र ट्रेजेगुइटले एक/एक लक्ष्यविहिन प्रहार गरेका थिए । ५४ प्रतिशत समय गोललाई खुट्टामा राखेपनि ईजिप्टले रसियाको जस्तो विपक्षीको गोल क्षेत्रमा बल लान सकेको थिएन । उता रसियाले ३७ प्रतिशत समय ईजिप्टको गोल क्षेत्रमा खेलेको थियो । पहिलो हाफको १९ औं मिनेटमा रसियाका चेरीशेभले र ४२ औं मिनेटमा ईजिप्टका मो. सलहले राम्रो गोलको प्रयास गरेपनि चेरीशेभको प्रहार पोष्टमाथि बाट र सलहको प्रहार दायाँबाट बाहिरियो ।

 

 

खेलको दोश्रो हाफको प्रारम्भबाटै आयोजक रसिया आक्रमणमा उत्रियो । खेलको ४७ औं मिनेटमा जोब्नीनको कडा प्रहारलाई क्लियर गर्न फाथीले सकेनन । र, सो गोललाई आफ्नै गोलपोष्टको दिशा देखाई दिए । ५९ औं मिनेटमा मारियोले डिबक्सबाट दिएको ब्याक पासलाई चेरिशेभले सटिक दिशा दिए र रसियाको अग्रता २–० मा पुर्याए । त्यसको लगतै ६२ औं मिनेटमा कुतेपोभको लामो पासलाई डिबक्स लाईनमा स्ट्राईकर द्जीयुवाले आकर्षक नियन्त्रण गरी एक रक्षकलाई छल्दै डिबक्स भित्रबाट सुन्दर गोल गरे । सो गोल नै रसियाको विजयको अन्तिम गोल बन्यो । खेलेको ७२ औं मिनेटमा जोब्नीनले ईजिप्टका सलहलाई डिबक्सभित्र लडाएपछि प्राप्ट पेनाल्टीलाई सलहले ७३ औं मिनेटमा गोलमा परिणत गरे । त्यसपछि ईजिप्टले केही राम्रा मुभ र गोलका लागि मौका बनाए पनि गोल गर्न सकेन । खेल रसियाको पक्षमा ३–१ मा समाप्त भयो । यो ३–१ को परिणामले आयोजक रसियालाई नकआउट चरणका लागि बाटो खुल्यो, भने ईजिप्ट अन्तिम खेलपछि घर फर्किने निश्चित भयो ।

 

 

१० खेलाडी सिमित कोलम्बियामाथि जापान जंगियो

 

 

कार्लोस साञ्चेजले विश्वकप ईतिहासमै दोश्रो छिटो रातो कार्ड खाएपछि जापानले छैठौं र ७३ औं मिनेटमा गोल गर्दै महत्वपूर्ण ३ अंक हासिल गर्यो । साञ्चेजले तेश्रो मिनेटमा डिबक्स भित्र गम्भीर ह्याण्ड फल गरेपछि रातो कार्डसँगै पेनाल्टी पायो र सो अवसरलाई जापानका कागावाले गोलमा परिणत गरे । तर, सो अग्रता १० खेलाडीमा सिमित कोलम्बिया विरुद्ध जापानले ३९ औं मिनेटभन्दा बढी टिकाउँन सकेन । विपक्ष टिममा कम खेलाडी भएको मौकाको फाईदा लिन नसकिरहेको जापानका लागि खेलका नायक ओसाकोले ७३ औं मिनेटमा गोल गर्दै जापानका लागि विजयको खाबो गाडे ।

 

 

तेश्रो मिनेटमा कार्लोस साञ्चेजले कागावाको कडा प्रहारलाई डिबक्सभित्र हातले रोकेपछि रेफ्री दमिर स्कोमिनाले विश्वकप ईतिहासकै दोश्रो छिटो रातो कार्ड दिएका थिए । १० खेलाडीका बाबजुद दक्षिण अमेरिकन टिम कोलम्बियाले खेलमा सन्तुलन र सामथ्र्यको नमुना पेश त गर्यो, तर त्यो जापानको विजयलाई रोक्न प्राप्त भएन । दोश्रो हाफमा जापानको आक्रमणका अगाडि कोलम्बियाको केही लागेन र खेलका हिरो ओसाकोले होण्डाको सहयोगमा गोल गरे । दुवै टोली ४–२–३–१ को रणनीतिमा मैदान प्रवेश गरेपनि रातो कार्डपछि कोलम्बियाले रणनीति परिवर्तन गरेको थियो । १० खेलाडी र एक गोल पछाडि परेको कोलम्बियाले आक्रमणलाई निरन्तरता दियो । क्वेइटेरोले ३९ औं मिनेटमा फ्रिकिकलाई ग्राउण्ड बलको रुपमा प्रहार गरी खेलमा कोलम्बियालाई फर्काएका थिए । तर खेलको निर्णयक गोल ७३ औं मिनेटमा जापानले गर्यो ।

 

 

 

 

पहिलो हाफमा दुवै टोली पाँच/पाँच गोलको प्रयास गरे । ती पाँच मध्ये कोलम्बियाले ३ र जापानले २ प्रहार विपक्षी गोलपोष्टको सही दिशामा प्रहार गरका थिए । उक्त हाफ ४९-५१ प्रतिशतको औसत बल नियन्त्रणमा रहेको थियो भने जापानकोभन्दा बढी समय करिब १७ प्रतिशत कोलम्बियाले विपक्षी गोल क्षेत्रमा बललाई खेलाएको थिए । कोलम्बियाका क्वेइटेराले दुई, फकाओले दुई र कुआड्रादोले १ प्रहार गर्दा फकाओको दुवै र क्वेईटेराको १ वटा बल लक्ष्यमा परेको थियो । जापानका कागावा र ओसाकोले एक/एक वटा लक्ष्यमा सहित दुई दुई गोलका प्रयास गरेका थिए, भने बाँकी एक लक्ष्यविहिन प्रहार ईनुईले गरेका थिए । जापानले तेश्रो, छैठौं, १५ औं, ३२ औं र ३३ औं मिनेटमा राम्रो आक्रमण गरेको थियो । कोलम्बियाले १२ औं, ३४ औं र ३९ औं मिनेटमा गोलका लागि सुन्दर मौका बनाएको थियो । ३९ औं मिनेटमा प्राप्त फ्रिकिकलाई क्वेइटेरोले बललाईन भित्र क्रस गराएका थिए भने गोललाईनभित्रबाट बललाई तानेर जापानका गोलकिपरले हाँस्यास्पद गोल नभएको अपिल गरेका थिए ।

 

 

दोश्रो हाफमा जापानले सुधारिएको खेल खेल्यो । समग्रमा ५८ प्रतिशत समय बलमाथि नियन्त्रण राखेको जापानले गरेको १४ वटा गोलको प्रयास मध्ये ९ वटा दोश्रो हाफ मै थियो । उता कम खेलाडीको अनुभूति कोलम्बियाको खेलमा देखिन्थ्यो । बल नियन्त्रण मात्र नभई गोलको प्रयासमा पनि काफी कमी आएको थियो । पहिलो हाफमा पाँच प्रयास गरेको कोलम्बियाले दोश्रो हाफमा १ लक्ष्यमा सहित कुल ३ वटा प्रयास गर्यो । जापानका ओसाको बढी नै आक्रमक देखिएका थिए । उनले एक्लै तीन प्रहार गर्दा २ वटा लक्ष्यमा थियो भने र एक गोल गर्न पनि सफल भए । त्यस्तै जापानका ईनुई र साकाईले पनि दुई दुई पटक गोलका लागि प्रयास गरेका थिए । जापानले तीन अंक जोड्न २–१ को नतिजा निकाल्दै ब्राजिलमा ४ बर्ष अघि भोगेको ४–१ को हारको बदला पनि कोलम्बियासँग लिएको छ ।

 

 

सेनेगलको शानले पोल्याण्डलाई पोल्यो

 

२० बर्ष अघि सन्सनी मचाएको सेनेगलले विश्व कप २०१८ को पहिलो खेलमा उत्तिकै छाप छोड्दै पोल्याण्डलाई २–१ ले स्तब्ध बनायो । र, टिमले पहिलो खेलमै ३ अंक जोडेको छ । मस्कोको स्र्पाटक रंगशालामा पोल्याण्डको ४–२–३–१ को रणनीति विरुद्ध ४–४–२ को आक्रमक खेल खेलेको सेनेगलले ३७ औं मिनेटमा आत्माघाती गोलबाट अग्रता बनायो । अर्को गोल पनि पोल्याण्डका खेलाडीको गल्तीमा सेनेगलले गरेको थियो । खेलको ६० औं मिनेटमा पोल्याण्डका खेलाडीले दिएको खराब ब्याक पासको फाईदा उठाउँदै नियाङ्गले बललाई जाली चुमाए । पोल्याण्डलाई गल्तीले पोल्यो भने शत्रुको कमजोरी नै विजयका लागि सदुपयोग गर्नुपर्छ भन्ने रणनीतिले सेनेगललाई स्पष्ट जित दिलायो । पोल्याण्डको हरेक गल्तीको सेनेगलले भरपुर फाईदा उठायो । म्यान अफ द म्याच एमबाये नियाङ्गले सेनेगलका लागि ६० औं मिनेटमा गरेको गोल, पोल्याण्डको छातिमा सेनेगलको विजयको झण्डा बन्यो ।

 

 

पहिलो हाफमा नै सेनेगलले पोल्याण्डलाई दबाब दिएको थियो, भने दोश्रो हाफ अलिक रक्षात्मक खेलेको थियो । पहिलो हाफमै ५ आक्रमण गरेको सेनेगलले दोश्रो हाफमा ३ वटा मात्र गोलको प्रयास गरेको थियो । उता एक गोल पछि परेको पोल्याण्डले ८ वटा आक्रमण गरि एक गोल त फर्कायो । तर, उक्त गोल अघि नै सेनेगलले निर्णायक अर्को गोल पोल्याण्डकै गलत पासको फाईदा उठाउँदै गरेको थियो । ५९ प्रतिशत समय बलमाथि नियन्त्रण र ८५ प्रतिशत सटिक पास खेले पनि पोल्याण्डले १ मात्र बललाई गोललाईन पास गराउँन सकेको थियो । तर, पोल्याण्डलाई आत्माघाती गोलले र विपक्षीलाई आफैले गोल गर्ने मौका बनाई दिँदा अंक हासिल गर्न बञ्चित भएको थियो ।

 

 

 

 

पहिलो हाफमा दुवैको रणनीतिले काम गरेको देखिन्थ्यो । पोल्याण्डको बल नियन्त्रणमाथि राख्ने रणनीतिअनुसार ५५ प्रतिशत समय पोल्याण्डकै खुट्टामा बल थियो । उता सेनेगलले भने आक्रमण गर्ने रणनीतिअनुसार ५ वटा आक्रमण गर्न पनि सफल भएको थियो । पोल्याण्डले भने जम्मा २ वटा मात्र गोलको मौका सिर्जना गरेको थियो । खेलको ३७ औं मिनेटमा सेनेगलका खेलाडी गानाले गरेको कडा प्रहार बचाउँन खोज्दा पोलिस रक्षक सियोनेकले आफ्नै गोल पोष्टको दिशा देखाए । पहिलो हाफमा पोल्याण्डका लेवानडोव्स्की र ग्रोसिक्कीले एक/एक वटा लक्ष्यविहिन प्रहार गरेका थिए भने केही राम्रा मुभका प्रयास पनि गरेका थिए । उता अविस्वासनीय खेल खेल्ने गरेको सेनेगलका गुआईले २ वटा, सानेले २ वटा र नियाङ्गले १ वटा गोलको लागि प्रयास गरेका थिए । पहिलो हाफमा पोल्याण्डले केही राम्रा मुभ र क्रस गरेपनि सटिक प्रहारको अभाव देखिन्थ्यो । त्यस्तै सेनेगलले राम्रा मुभ र प्रहार गरे पनि लक्ष्यमा राख्ने सकेको थिएन ।

 

 

दोश्रो हाफको ५० औ मिनेटमा लेवानडोव्स्कीमाथि सानेले गरेको फलमा प्राप्त फ्रिकिक लेवानडोव्स्कीले उत्कृष्ट प्रहार गरेका थिए । प्रतिउत्तरमा सेनेगलका गोलरक्षक खादिमले आकर्षक बचाउँ गरेका थिए । त्यस्तै ५५ औं मिनेटमा पोल्याण्डका क्राईच्वोकले क्रसबाट प्राप्त गोललाई लक्ष्यमा सटिक प्रहार गर्न सकेनन् । खेलको ६० औं मिनेटमा पोल्याण्डका खेलाडीले दिएको खराब ब्याक पासको फाईदा उठाउँदै सेनेगलका नियाङ्गले अग्रतालाई दोब्बर बनाए । खेलको ८६ औै मिनेटमा पोल्याण्डका क्राईच्वोकले फ्रिकिकबाट आएको क्रसलाई जाली चुमाएर खेलमा फर्काउन कोशिस गरेका थिए । खेलको पुरै अवधी पोल्याण्डका क्राईच्वोकले आकर्षक खेल खेलेका थिए । तर, उनको खेल तथा गोल पोल्याण्डको डुबिसकेको नाउँको उद्धार गर्न प्राप्त भएन । एक पटक सेनेगलले फेरी ईतिहास दोहोर्याएको छ ।

 

 

आजको खेल

 

स्टार रोनाल्डोको प्रेरणामा पोर्चुगल अफ्रिकी राष्ट्र मोरोक्कोलाई माटो सुघाउँदै समुह बीबाट नककाउट चरणमा पुग्ने अभियानसहित पोर्चुगल मस्कोको लुजनिकी रंगशालामा साँझ ५ः४५ मा मैदानमा उत्रिने छ । स्पेन जस्तो टिम विरुद्ध ह्याट्रिक गरेका रोनाल्डो गोल्डेन बुटका लागि गोल गर्न कोशिसमा हुने छन् । जित्नैपर्ने खेलमा मोरोक्कोको रोनाल्डो, आन्द्रे सिल्भा, मार्टिन, मारियो र बी. सिल्वालाई कसरी रोक्ने ? भन्ने चुनौति हुने छ । त्यस्तै राफायल, रिकार्डो, पेपे र जोसेको रक्षा पंति चिर्दै प्याट्रिसियोको गोलपोष्टमा बल छिराउँनु मोरोक्कोका खेलाडीलाई फलामको बर्गर हुने छ । गोलरक्षक यासिनलाई गोलको बर्षा गर्दै ठुलो गोल अन्तरले पोर्चुगल विजयी हुने सम्भावना छ ।

 

 

समुह बी कै अर्कोको दाबेदार टोली स्पेनले एसियन शक्ति राष्ट्र ईरानको सामना गर्ने छ । जीत्नैपर्ने सकारात्मक दबाबमा रहेको स्पेनले अघिल्लो खेलमा भाग्य दाहिना भएको ईरानलाई नराम्रोसँग पराजयको स्वाद चखाउँने छ । कजान एरिनामा मध्यरात ११ः४५ मा हुने सो खेलमा पोर्चुगलसँगको प्रतिस्पर्धामा झै गल्ती गर्न स्पेनका गोलरक्षक डि जियालाई छुट हुने छैन । डिएगो कोष्टाले पहिलो खेलको प्रदर्शन कायम राखे थिएगो, इस्को, इनेस्टा, डेभिड सिल्भाको साथमा एट्याकिङ्ग डिफेन्स नाचो, पिके र रामोसले पनि ईरानको गोलपोष्ट व्यस्त बनाउँने छन् । गोलरक्षक अलीका साथ मिलाद मोहमदी, चेश्मी, मोर्तेजा र होसेनीले बराबरीका लागि खेल्ने छन् । बाँकी दुवै खेलमा बराबरी काफी भएको ईरानले जोखिम उठाएर आक्रमक खेल्नभन्दा रक्षात्मक खेल खेल्ने छ ।

 

 

आज नै समुह ए अन्तर्गतको साउदी अरबिया र उरुग्वेको विच साँझ ८ः४५ मा रोस्तोभ एरिनामा खेल हुने छ । पहिलो खेल हारेको साउदीले जित्नैपर्ने खेलमा उरुग्वेको आक्रमणको सामना गर्नुपर्ने छ । रसियासँग ५–० ले हारेको साउदीलाई ईजिप्टसँग संघर्षपूर्ण जित निकालेको उरुग्वेले कुनै बक्सिस दिने छैन । र, उरुग्वे नकआउट चरणमा प्रवेश गर्ने ढोका खोल्ने छ । स्वारेजका साथमा काभानी, कार्लोस साञ्चेज, रोड्रिगेज र गोमेजले साउदी अरबियाको क्षेत्ररक्षणको मजाक उडाउँने छन् । भुत्ते देखिएका स्वारेज र धारिलो देखिएका काभानीले कति गोल गर्छन भन्न यसै नसकिए पनि ३ गोल वा सोभन्दा बढी गोल अन्तरको परिणाम आउँने पूर्वानुमान छ ।