आईसल्याण्डका गोलकिपर चम्कँदा अर्जेन्टिनाका मेसी मासिए -बेदप्रसाद भुर्तेल 

 

बेदप्रसाद भुर्तेल 

 

विश्व कपको सबैभन्दा व्यस्त दिनमा उपाधी दाबेदार फ्रान्स विजयी, अर्जेन्टिना निराश

आज हुने प्रतिस्पर्धाहरुमा कोष्टारिका विरुद्ध सर्वियाको खेलमा कोष्टारिका विजय हुने सम्भावना छ । उता उपाधीको दाबेदार जर्मनीले मेक्सिको चुनौति सजिलै पार लगाउँने अनुमान गरिएको छ । ब्राजिल र स्वीटजरल्याण्डबिचमा अर्को उपाधीको दाबी गरेको ब्राजिल विजयी हुने धेरैको अनुमान छ । स्टार खेलाडीहरुको ब्राजिललाई स्वीटजरल्याण्डको चुनौति कस्तो हुन्छ हेर्न आज मध्य रात कुर्नु पर्ने छ । जर्मनीलाई सुखद शुरुवात हुनबाट रोक्न उत्तर अमेरिकी राष्ट्र मेक्सिकोले कडा मेहनेत गर्नुपर्ने छ ।

 

फ्रान्सको नतिजा अपेक्षित तर खेल अनपेक्षित

 

युवा तथा स्टार खेलाडीले सुसजित फ्रान्सले अपेक्षित नतिजा निकाल्दै विश्व कप २०१८ मा सुखद शुरुवात गरेको छ । तर, खेल भने फ्रान्सले अपेक्षित खेल्न सकेन । स्टार खेलाडी पोग्बाले ८१ औं मिनेटमा गोल गर्दै फ्रान्सको विजय सुनिश्चित गरेका थिए । पहिलो आधा समय दुवै टोली गोलविहिन बराबरमा थिए । खेलको पहिलो गोल भने फ्रान्सका एन्टोईने ग्रिजमेनले पेनाल्टीमार्फत गरेका थिए । जुन अग्रता ४ मिनेटपछि नै अस्ट्रेलियाले प्राप्त गरेको पेनाल्टीमार्फत नै जेडिनकले समाप्त पारेका थिए । दिनको पहिलो तथा समुह सीको कजान एरिनामा भएको खेलमा अस्ट्रेलियाले राम्रो रक्षात्मक खेल खेलेको थियो ।

 

 

 

आक्रमक रणनीति ४–३–३ का साथमा मैदानमा ओर्लिएको फ्रान्सले १३ वटा प्रहार गर्दै अस्ट्रेलियालाई दबाब दिएको थियो । तर, ४–२–३–१ मा रक्षात्मक खेल खेल्दै काउन्टर आक्रमण गर्न बनाएको रणनीतिअनुसार ४ वटा मात्र प्रहार फ्रान्सका विरुद्ध अस्ट्रेलियाले  गरेको थियो । ५१ प्रतिशत समय बलमा नियन्त्रण गरेको फ्रान्सको सफल पास प्रतिशत ८७ थियो, जुन अस्ट्रेलियाकोभन्दा २ प्रतिशतमात्र बढी हो । निक्कै प्रतिस्पर्धात्मक देखिएको खेलमा फ्रान्स आक्रमक देखिन्थ्यो भनेअस्ट्रेलिया रक्षात्मक । दुवै देशको फिफा बरियता, प्राविधिक पक्ष, एक्सपोजर तथा क्लबको संरचनालाई बिचार गरेर भन्दाखेरि  म्याच फ्रान्सले जित्यो, तर फुटबल अस्ट्रेलियाले जित्यो ।

 

 

 

 

 

पहिलो हाफ दुवै टोलीले लगभग बराबरीको बलमाथि नियन्त्रण राखे । तर, कुनै गोल गर्न सकेको थिएनन् । बढी रक्षात्मक देखिएको अस्ट्रेलियाले ६ प्रतिशत बल मात्रै फ्रान्सको गोल क्षेत्रमा पुर्याएको थियो । फ्रान्स पहिलो हाफमा पनि केही आक्रमक देखिएको थियो । कुल ६ प्रहार मध्ये ५ वटा प्रहार गोल पोष्टमा गर्न फ्रान्स १५ प्रतिशत गोल अस्ट्रेलियाको क्षेत्रमा लागेको थियो । दोश्रो हाफमा अझ बढी आक्रमक देखिएको फ्रान्सले अझ बढी गोलका लागि प्रहार गरेको थियो र सफलता पनि हासिल गर्यो । पहिलो हाफमा ग्रिजमेनले २, पोग्बाले १ तथा एमबाप्पेले १ वटा प्रहार अस्ट्रेलियाको गोल पोष्टमा प्रहार गरेका थिए । उता पहिलो हाफमा अस्ट्रेलियाले लेक्काई र बेहिचले लक्ष्यविहिन प्रहार गरेका थिए ।

 

 

 

फ्रान्सले दोश्रो मिनेटबाटै आक्रमण शुरु गरेको थियो, जुन अस्ट्रेलियाका गोलरक्षक रायनले बचाएका थिए । चौथो मिनेटमा मिलिगानले फ्रान्सका एमबाप्पेलाई फल गर्दा प्राप्त फ्रिकिक पोग्बाले गोलरक्षक रायनको टाउको माथि प्रहार गरे तर बलले जाली चुम्न सकेन । त्यस्तै ६ औं मिनेटमा ग्रिजमेनको प्रहार पनि गोलरक्षक रायनले उत्कृष्ट डाईभ गरि बचाएका थिए । ८ औं मिनेटको एमबाप्पेले गरेको फ्रिकिक रक्षापंतिको हेडपछि किपर रायनको हातमा पुगेको थियो । १७ औं मिनेटमा अस्ट्रेलियाले राम्रो आक्रमण गरेको थियो ।

 

 

 

अस्ट्रेलियाका कान्टेले प्रहार गरेको फ्रिकिकलाई हेड फ्लिक गर्दा फ्रान्सका गोलकिपरले मुस्किलले बचाए । त्यस्तै दोश्रो हाफको ५५ मिनेटमा फ्रान्सका ग्रिजमेनलाई अस्ट्रेलियाका रक्षकले डिबक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई ग्रिजमेनले गोलमा परिणत गरे । त्यस्तै ६० औं मिनेटमा फ्रान्सका अमटिटिले डिबक्सभित्र हातले छोएका पछि उरुग्वेका रेफ्री कुन्हा आन्द्रेसले अस्ट्रेलियालाई पेनाल्टीको अवसर दिएका थिए । अस्ट्रेलियाका जेडिनकले सो पेनाल्टीलाई जाली चुमाए । त्यस्तै ६८ औं मिनेटमा लामो पासमा एमबाप्पेले प्राप्त गरेको अवसरलाई अस्ट्रेलियाका गोलरक्षक रायनले डिबक्स बाहिर आएर बचाए । ८० औं मिनेटमा पोग्बाले डिबक्स भित्रबाट गरेको चिप बल गोलको पोष्टभित्र पसेको थियो । जुन रेफरल सिस्टमले प्रमाणित गर्यो । यसरी पटकपटकको आक्रमण र रक्षाको खेलमा फ्रान्स विजयको हकदार बन्यो र खेल २–१ को नतिजामा टुङ्गियो । फ्रान्सले विश्व कप विजय अभियान सुखद शुरुवात गरि थालेको छ ।

 

 

 

आईसल्याण्डका गोलकिपर चम्कँदा अर्जेन्टिनाका मेसी मासिए

 

 

आईसल्याण्डको रक्षा दिवार र प्रत्याक्रमणको रणनीतिले अर्जेन्टिनाका स्टार खेलाडी मेसीलाई ओझेल पर्यो। पहिलो विश्व कप खेलिरहेको आईसल्याण्डले १–१ खेलबाट एक अंक हासिल गर्दै सुखद शुरुवात गरेको छ । अर्जेन्टिनाको स्पष्ट जीत हुने अपेक्षा गरिएको खेलमा आईसल्याण्डले रक्षाको अनुपम नमुना पेश गर्यो  । जारी विश्व कपको अहिलेसम्म कै सबैभन्दा बढी आक्रमक खेलमा मेसीले पेनाल्टीमा गोल गर्न चुक्दा अर्जेन्टिना  निराश बन्यो । त्यसो त १९ औं मिनेटमा कुन एईगुरोले दिलाएको अर्जेन्टिनाको अग्रता ४ मिनेटभन्दा बढी टिकेन् । अर्जेन्टिनाको क्षेत्र रक्षणलाई दबाब दिँदै २३ औं मिनेटमा आईसल्याण्डका ११ नं. जर्सी लगाएर खेलिरहेका फिनबोगासनले डिबक्स भित्रबाट गोल गरे । सिगुरसनले गरेको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक काबाल्लेरोले राम्रोसँग बचाउँन नसकेको फाईदा उठाउँदै फिनबोगासनले गोल गरेका थिए । आक्रमक खेलसहित २६ वटा प्रहार अर्जेन्टिनाले गर्यो भने काउन्टर आक्रमणको रणनीतिमा रहेको आईसल्याण्डले ९ वटा प्रहार गरेको थियो ।

 

 

४–२–३–१ को रणनीतिका साथ मैदानमा धेरै गोल नियन्त्रणमा राखेर विपक्षीलाई दबाव दिने तथा निरन्तर आक्रमण गर्ने योजनाअनुसार नै अर्जेन्टिनाले खेलेको थियो । सशक्त प्रत्याक्रमण गर्ने र मेसीलाई रोक्ने रणनीतिका साथ ४–५–१ मैदान छिरेको आईसल्याण्डले सम्पुर्ण शक्ति रक्षामा खर्चेको थियो । ७२ प्रतिशत समय बलमाथि नियन्त्रण, ९० प्रतिशत सटिक पास र ७१५ वटा जम्मा पास गरेका खेलाडीले पनि अर्जेन्टिनालाई विजय दिलाउँन सकेनन् । उसको बराबरीमा सबैभन्दा ठूलो मौका मेसीले गुमाएका थिए । दोश्रो हाफमा कमै मात्र अर्जेन्टिनाको क्षेत्रमा गोल पुर्याएको आईसल्याण्डले ३ वटा मात्र राम्रा मुभ बनायो तर प्रहार गर्न असफल रह्यो ।

 

 

 

 

पहिलो हाफमा ९१ प्रतिशत सफल पाससहित ७४ प्रतिशत समय बलमाथि नियन्त्रणमा राखेको अर्जेन्टिनाले १० वटा आक्रमणको प्रयास गरेको थियो, भने प्रत्याक्रमणमा रहेको आईसल्याण्डले ९ प्रहार अर्जेन्टिनाको गोलपोष्टमा पहिलो हाफमै गरेको थियो । दोश्रो हाफमा झनै आक्रमक भएको अर्जेन्टिनाले मिडफिल्डर परिवर्तनसँग थप स्ट्राईकरलाई मैदानमा उतारेको थियो । त्यसैले दोश्रो हाफमा १६ वटा प्रहारहरु आईसल्याण्डको विरुद्ध अर्जेन्टिनाले गरेको थियो । अर्जेन्टिनाका २६ मध्य ९ वटामात्र लक्ष्यमा थिए भने दशवटा रक्षकहरुले रोकेका थिए । दोश्रो हाफको ६३ औं मिनेट प्राप्त पेनाल्टीलाई मेसीले गोलमा रुपान्तरण गर्न सकेनन् । आईसल्याण्डका गोलकिपर हलडोरसनले उत्कृष्ट बचाउँ गरे । त्यस्तै अन्य खतरनाक आक्रमणहरुमा उत्कृष्ट बचाउँ गरेका गोलरक्षक हलडोरसन म्यान अफ द म्याच भएका थिए । मेसीले केही मुभ बनाए पनि पेनाल्टी र फ्रिकिकहरुलाई उपयोग गर्न सकेनन् । मेसीले गोल गर्न मिस मात्र गरेनन् अर्जेन्टिनाको सबैभन्दा सुलभ मौकासमेत स्खलित गरेका थिए ।

 

 

 

पोलिस रेफ्रीको कमजोर निर्णय खेलमा प्रष्ट देखियो । तर, उनको कमजोरी, कुनै एक पक्षमा नभई दुवै पक्षमा समान रहेको थियो । उनले एक डिबक्सभित्रको फल र ५ वटा ह्याण्ड देखेनन् । ४१ औं मिनेटमा आईसल्याण्डका खेलाडी आर. सिगुर्डसनले डिबक्सभित्र ह्याण्ड गरेका थिए तर पोल्याण्डका रेफ्री स्जीमोनले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएनन् । त्यस्तै ५० औं मिनेटमा जी. सिगुर्डसनले अर्जेन्टिनाको डिबक्समा ह्याण्ड भई बाहिरेको गोलमा कर्नर दिएका थिए । ५१ औं मिनेटमा सो कर्नरमा अर्जेन्टिनाका सालभियोले आफ्नै गोलक्षेत्रमा ह्याण्ड गरेका थिए तर रेफ्रीले आईसल्याण्डलाई पनि पेनाल्टीको अवसर दिएनन् । त्यस्तै दोश्रो हाफको अन्तिम तिर डिबक्सभित्र आईसल्याण्डका खेलाडीले गरेको फल पनि पोलिस रेफ्रीले देखेनन् । पोलिस रेफ्री स्जीमोनको निर्णय क्षमता कमजोर देखिन्थ्यो ।

 

 

पेनाल्टी असफल पेरु असफल

 

 

३६ बर्षपछि विश्व कप फर्किएको पेरुले प्राप्त पेनाल्टीको अवसरलाई सदुपयोग गर्न नसक्दा निरास बन्यो । दोश्रो हाफको ५७ औ मिनेटमा काउन्टर एट्याक गर्दै इरिकसेनको उत्कृष्ट पासमा युरारीले निर्णायक गोल गरेका थिए । खेल रणनीति ४–२–३–१ मा पेरु र ४–३–३ मा डेनमार्क उत्रिएका थिए । न पेरुले बललाई बढी समय आफुसँग राख्न सकेको थियो । न डेनमार्कले नै रणनीति अनुसार बढी आक्रमण गर्न सकेको थियो । पेरु रक्षात्मक शैलीमा देखिए पनि गोल खानबाट बचेन । गोल खाएपछि खेल रणनीति परिवर्तन गरी आक्रमक बनेको पेरुले खेलको अन्तिम ३० मिनेटमा पटकपटक आक्रमक प्रहारहरु गर्यो । पेनाल्टी उपयोग गर्न नसक्नुको मुल्य पेरुको हारको कारण बन्यो र अंक पनि गुमायो । उता डेनमार्कले त्यसको पुरा फाईदा लिन सफल भयो र सुखद ३ अंक सहितको विश्व कप यात्रा शुरु गरेको छ ।

 

 

 

पहिलो हाफ बराबरीमा सकिएको थियो भने दुवै टोलीले सशक्त प्रहार गर्न सकेका थिएनन् । पहिलो हाफमा पेरुले प्राप्त गरेको सबैभन्दा राम्रो पेनाल्टीको अवसर पनि फालेको थियो । पहिलो हाफको ४५ औं मिनेटमा डेनमार्कका युरारीले पेरुका क्युईभालाई डिबक्सभित्र फल गरेका थिए । सो फलबाट प्राप्त पेनाल्टी प्रहार क्युईभाले गर्दा बल आकासियो । पहिलो हाफमा डेनमार्कले बलमा ५८ प्रतिशत नियन्त्रण गरेपनि विपक्षीको गोलपोष्टको दिशामा ५ वटा मात्र बल प्रहार गर्न सकेको थियो । कम बल नियन्त्रणका बाबजुद पेरुले ८ वटा बल प्रहार विपक्षीको गोलपोष्टमा पहिलो हाफमै गरेको थिया । तर लक्ष्यमा पेरुको २ वटा मात्र प्रहार परेको थियो भने डेनमार्कको १ प्रहार, जुन विपक्षी गोलरक्षकले बचाएका थिए । पहिलो हाफमा दुवै टोली गतिलो मुभ र प्रहार गर्न चुकेका थिए ।

 

 

 

 

दोश्रो हाफको ५७ औ मिनेटमा युरारीले गोल गरेका थिए । युरारीलाई काउन्टर एट्याकमा मध्य भागबाट बल ल्याएर इरिकसेनले उत्कृष्ट बल उपलब्ध गराएका थिए । एक गोलले पछि पर्ने वित्तिकै पेरुले ६० मिनेटमा खतरनाक मुभ बनाउँदै शक्तिशाली प्रहार गरेको थियो । सो प्रहार डेनमार्कका गोलरक्षक स्मेईचेलले नियन्त्रणमा लिएका थिए । त्यसपछि पेरुले निरन्तर आक्रमण गर्यो । ६९ औं मिनेटमा गरेको सशक्त प्रहार डेनमार्कको गोलपोष्टको दाहिने तिरबाट बाहिरियो । परेरोले ७८ औं मिनेटमा सानो डिबक्स भित्र प्राप्त बललाई चलाखीपूर्ण पछाडि खुट्टाले प्रहार गरेका थिए । तर, सो प्रहार गोलमा रुपान्तरण हुन सकेन र पोष्टको नजिकै गोललाईनबाट बाहिरियो । ८४ औं मिनेटमा पेरुका फारफनले शक्तिशाली प्रहार गरेका थिए । गोलकिपर तथा रक्षकले सो प्रहारलाई मुस्किलले बचाएका थिए । त्यसको १ मिनेट पछि डेनमार्कले पनि खतरनाक मुभ तथा प्रहार गरेको थियो । जुन पेरुका गोलरक्षक गल्लेसेले जोगाएर गोल अन्तर २–० हुन दिएनन् । त्यस्तै अतिरिक्त समयको पहिलो मिनेटमा पनि पेरुका खेलाडीले अवसर पाए पनि फितलो प्रहार गरेका थिए । यसरी झिनो अन्तरले डेनमार्कले बाजी मार्यो र समुह चरणको पहिलो खेलमा ३ अंक हासिल गर्यो ।

 

 

क्रोएसियाले जोड्यो तीन अंक नाईजेरियाको आत्माघाती गोल

 

 

हिन्दी फिल्मीको एउटा चर्चित सम्वाद छ, “मुझे तो अपने हैं ने लुटा, दुश्रो में कहां दम था? मेरे किस्मत डुबी वहां जहां पानी कम था” । यो हिन्दी फिल्मीको सम्वाद चरितार्थ गर्न नाईजेरियाका ८ नं. जर्सीका ईटेबोले गोललाईन बाहिर जाने बललाई आफ्नै गोलपोष्टको दिशा दिए । सो गोल नाईजेरिया निराश हुँदै क्रोएसियाको जीतको आधार बन्यो । खेलको ३२ औं मिनेटमा कर्नर बलमा हेड फ्लिकबाट प्राप्त गोललाई मान्डजुकिकले गोलपोष्टमा लो हेडिङ गरेका थिए । उक्त बलमा नाईजेरियाका ईटेबोले आत्माघाती गोल गरेका थिए । म्यान अफ द म्याच मोड्रिक प्रेरित क्रोएसियाले दुवै हाफमा एक एक गर्यो  । अर्जेन्टिनाको समुह डी मा रहेको क्रोएसियाले नाईजेरियालाई २–० ले पराजित गर्दै दोश्रो चरणको यात्राका लागि दह्रो आधार तयार गरेको छ । उत्कृष्ट खेल खेलेका लुका मोड्रिकले नाईजेरियाको विरुद्ध ७१ औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई गोलमा रुपान्तर गर्दै विजयी गोल गरेका थिए ।

 

 

दुवै टोलीले ४–२–३–१ को रणनीतिमा बल पोशेसनमा राखी विपक्षीलाई दबाब दिने र गोल गर्ने रणनीति बनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा आक्रर्षक गोल प्रहार गरेको क्रोएसियाले बाजी मार्यो । नाईजेरियाले क्रोएसियाको भन्दा बढी १४ आक्रमणको प्रयास गर्दै क्रोएसियाको गोलपोष्टमा प्रहार गर्यो । तर, उसको २ वटा बल मात्र लक्ष्यमा थियो भने ७ वटा क्रोएसियाका रक्षकले रक्षा गरेका थिए । उत्ति नै लक्ष्यमा बल प्रहार गरेको क्रोएसियाले २ गोल गर्न सक्यो । खेलमा क्रोएसियाले ५४ प्रतिशत बलमाथि नियन्त्रण लिएको थियो भने दुवैको समान ८४ प्रतिशतका दरले सटिक पास थियो ।

 

 

 

 

पहिलो हाफको १३ औं मिनेटमा नाईजेरियाका खेलाडीले डिबक्सभन्दा बाहिरबाट गरेको कडा प्रहार क्रोएसियाका रक्षकले विफल बनाएका थिए । १४ औं मिनेटमा क्रोएसियाले गरेको प्रहार आकासिएको थियो, भने १६ औं मिनेटमा राकिटेजले गरेको प्रहार पनि सही दिशामा गएन । फेरी ३२ औं मिनेटमा क्रोएसियाका खेलाडीको सशक्त प्रहार नाईजेरियाका खेलाडीले कर्नरका लागि बाहिर पठाईदिए । सोही कर्नरमा कोभाकिकले हेड फ्लिक गरेर मान्डजुकिकलाई लो हेडका लागि बल उपलब्ध गराए । मान्डजुकिकको लो हेडले राम्रो दिशा लिएको थिएन, तर ईटेबोले बलको दिशा विपक्षका लागि ठीक मात्र गरेनन्, नाईजेरियाको दशा पनि बढाए । ४२ औं मिनेटमा क्रोएसियाका डिफेन्डरले कडा प्रहार त गरे तर दिशा सही दिन सकेनन् । पहिलो हाफको अरिरिक्त समयमा नाईजेरियाका ईवोबीले शक्तिशाली प्रहार गरे तर क्रोएसियाका मान्डजुकिकले छेकेका थिए । अतिरिक्त समयमा नै नाईजेरियाका मोसेसले पनि दुई प्रहार गरेका थिए । पहिलो बल आकासियो, भने दोश्रो पोष्टभन्दा बाहिर थियो ।

 

 

 

त्यस्तै दोश्रो हाफमा पनि राम्रा आक्रमणहरु भए । दोश्रो हाफको ५० औं मिनेटमा क्रोएसियाका राँकिटेजले लामो प्रहार गरे, जुन आकासियो । क्रोएसियाले आक्रमणलाई निरन्तरता दिँदै ५५ औं मिनेटमा रेबिकले बल प्रहार गरे, जुन धेरै नै उचाई तथा बाहिरबाट गयो । ५९ औं मिनेटका नाईजेरियाका ९ नं. जर्सीधारी ईघालोको हेड फ्लिक क्रोएसियाका गोलरक्षक सुबासिकले सजिलै नियन्त्रणमा लिए । खेलको निर्णायक समय ६९ औं मिनेटमा भयो । जतिबेला कर्नर किकमा नाईजेरियाका डिफेन्डर ईकोङ्गले क्रोएसियाका खेलाडी मान्डजुकिकलाई समाए । क्रोएसियाले पेनाल्टीको अवसर प्राप्त गर्यो  र पेनाल्टी बललाई ७१ औं मिनेटमा लुका मोड्रिकले जाली चुमाए । नाईजेरियाका मोसेसले ७७ औं मिनेटमा डिबक्सभित्रबाट गरेको प्रहार गोलमा रुपान्तरण हुन सकेन । त्यस्तै ७९ औं मिनेटमा क्रोएसियाले बुनेका खतरनाक चाल नाईजेरियाका गोलरक्षकले विफल बनाए । त्यसपछि केही राम्रा मुभ बने पनि दुवै टोलीले सशक्त प्रहार गर्न सकेनन् । क्रोएसियाले आक्रमक खेलका साथ पुरै समय नाईजेरियामाथि हाबी भयो र परिणाम सोचेअनुसार निकाल्यो ।

 

 

 

आजको खेल

 

विश्व कप, २०१८ अन्तर्गत आज पनि ३ वटा खेल हुने छ । पहिलो खेल नेपाल समयअनुसार ५ः४५ बजे कोष्टारिका विरुद्ध सर्वियाको समरा रंगशालामा हुने छ । दोश्रो खेल लुजनिकी रंगशालामा नेपाली समयअनुसार बजे राति ८ः४५ मा जर्मन विरुद्ध मेक्सिकोबिच शुरु हुने छ । त्यस्तै ब्राजिलको सामना स्वीटजरल्याण्डले राति ११ः४५ बजे रोस्तोभ एरिनामा गर्ने छ । आजको खेलमा ब्राजिल विरुद्ध स्वीटजरल्याण्डको खेललाई बढी महत्वका साथ हेरिएको छ ।

 

 

कोष्टारिका विरुद्ध सर्वियाको खेलमा कोष्टारिका विजय हुने सम्भावना छ । उता उपाधीको दाबेदार जर्मनीले मेक्सिको चुनौति सजिलै पार लगाउँने अनुमान गरिएको छ । ब्राजिल र स्वीटजरल्याण्डबिचमा अर्को उपाधीको दाबी गरेको ब्राजिल विजयी हुने धेरैको अनुमान छ । स्टार खेलाडीहरुको ब्राजिललाई स्वीटजरल्याण्डको चुनौति कस्तो हुन्छ हेर्न आज मध्य रात कुर्नु पर्ने छ । जर्मनीलाई सुखद शुरुवात हुनबाट रोक्न उत्तर अमेरिकी राष्ट्र मेक्सिकोले कडा मेहनेत गर्नुपर्ने छ ।