राष्ट्रपति पुटिनको विश्वकप कुटनीति

 

बेदप्रसाद भुर्तेल

 

 

हिजो जुन १४ गते साँझ करिब ७ बजेको थियो । श्रीमतीले खाना तयारी गर्न आदेश दिँदै भनिन् “भान्साको काम कस्ले गर्छ? थाहा छैन । विश्वकप आजदेखि शुरु हुँदैछ । एक महिना विश्व कप हेरिन्छ । रिमोट मेरो हातमा ल्याउँनु ।” मैले भने आज उद्घाटन हो खेल ८ः४५ मा शुरु हुन्छ । उनले तर्क गरिन विश्वकपको उद्घाटन जसले मिस गर्छ, उसले आधा विश्वकप हेर्दैन । उसो त फुटबल र क्रिकेटमा केही ईच्छा भएपनि क्लब फुटबलमा चासो नराखे पनि विश्व कपमा मेरी जीवन संगिनी जस्तै धेरै गृहिणीहरुको ध्यान जान्छ । त्यहाँमाथि नानीहरुले विभिन्न देशको जर्सीका मागले आमालाई पनि विश्वकपले तान्ने गर्छ ।

 

 

यो परालको आगो सल्काउनुभन्दा विश्व कपको उद्घाटन र उद्घाटन खेल हेर्ने वातावरण तिर लागियो । तर्क र वितर्कलाई बिट मार्दै विश्वकपको माहोल कायम गर्न रसोईतिर लागियो । ४५ महिने बच्चो पनि बा आमाको फुटबले गफमा सहभागी हुँदै “अनि म चै कुन को बाबा?” “गोल हान्ने बाबुको कुन काका छ ?” मैले सोधे । “मेसी काका” उसले भन्यो । कसले कसको पक्ष वा विपक्ष लिनेभन्दा पनि पश्चिमालाई रसियन जवाफ के हुन्छ ? म सुन्न आतुर थिए । जसरी सन् २००२ को उद्घाटनमा जापान र दक्षिण कोरियाले भनेका थिए, “मित्रता पूर्वबाट” (फ्रेन्डसिप फ्रम ईष्ट) । भान्साको काम सकेर टिभीको पर्दा अघि बस्दा नबस्दा विश्व कप उद्घाटन कार्यक्रम शुरु भई सकेको थियो ।

 

 

 

 

रुसमाथि पश्चिमा देशले विभिन्न प्रतिबन्धहरु लगाउँदै आएको अवस्थामा र रुसमा यो खेल आयोजना नै नहोला भन्ने संसयवीच रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले गर्व र रवाफका साथ शालिन र मुस्कान भरिएको मुद्रामा संसारलाई खेल कुटनीति सम्झाउँदै थिएँ । “म विश्व कप, २०१८ शुरु भएको घोषण गर्छु ।” उदघाटन भाषण गर्न उभिएका राष्ट्रपति पुटिनले भने “फुटबलको मायाले सम्पुर्ण विश्वलाई एक टिमको रुपमा जोड्छ, भाषा, रितीरिवाजहरु, विश्वास, विचारधारा र दर्शन थातिराखेर ।” मस्कोस्थित लुजनिकी रंगशालामा उपस्थित ७८,०११ दर्शक र विश्वभरका करोडौंका दर्शक अघि फुटबलका माध्यमबाट देशको छवि, शान र क्षमतालाई संसारको हरेक कुनामा पु¥याउँन राष्ट्रपति पुटिन सफल भएका छन् । २० भन्दा बढी देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको उपस्थिति तथा दर्जनौं फुटबलका हस्तीहरुको उपस्थितिले पनि रसियाले यो विश्वकपसँगै कुटनैतिक सफलता पनि हासिल गरेको विश्लेषण गर्न थालिएको छ ।

 

 

फुटबलको महासंग्रामको उद्घाटन हुनुभन्दा करिब आधा घण्टा अगाडि मस्कोमा रहेको लुजनिकी रंगशाला सांगितिक पर्वमा झुमेको थियो । आर्कषक नृत्यका विचमा भव्य सांगितिक माहोलमा ईङ्गल्याण्डका रोब्बी विलियमस्ले ३ गीतहरु गाए । प्रविधिको प्रयोगले सांगितिक माहोल अझ सुन्दर बनाएको थियो । यद्यापी रोब्बी केही फिक्का देखिए । उनको गायन तथा गीत छनौट नै विश्वकपको उद्घाटनका लागि उपयुक्त थिएन जस्तो प्रतित हुन्थ्यो । तीनवटा ट्रयाक गाएका रोब्बीको लेट मी इन्टरटेन युन भन्ने गीतले सामान्य प्रभाव परेको थियो । आगोको लप्का र रंग संयोजनले उद्घाटनलाई कलात्मक र आर्कषक बनाएको थियो ।

 

 

 

 

विश्वकप शुरु हुनु ठीक एक दिन अघि रसिया टेलिभिजनलाई अन्तरवार्ता दिँदै फिफा प्रमुख जियान्नी ईनफ्यान्टिनोले भनेका छन् “फुटबलसँग जनताहरु जोड्ने जादु र शक्ति छ । धन्यवाद फुटबल, हामी फुटबलबाट एकताको सन्देश पठाउँने सक्छौ ।” उनले आर्थिक, सामाजिक, राजनीति वा धार्मिक जेसुकै कारणले विभाजित भए पनि फुटबलले मानिसहरुलाई एक ठाँउमा उभ्याएको र एकताबद्ध गर्न कोशिस गरेको औंल्याए । हुन त रसिया र कतारलाई आयोजनाको जिम्मा दिँदा चर्किएको फुटबलमा हुने भ्रष्ट्रचारले रसियाले गर्ने भनेको यो संस्करणलाई नै चुनौति दिएको थियो । यद्यपी यसपछि विश्व फुटबलमा धेरै परिवर्तन भयो, भएन त रसियालाई दिएको सन् २०१८ को विश्वकप आयोजनाको जिम्मा ।

 

 

आयोजनाको अधिकार नपाएको बेलायत र पश्चिममा मिडियाले रसियामा हुने विश्वकपको निरन्तर आलोचना गरि रहे । रसियाले विश्वकपको आयोजनाका लागि तयारी निरन्तर गरिरयो । अत्यन्त भव्य तयारी र विश्वकप आयोजनाका लागि ११ शहरका १२ रंगशालाहरु तयार गरिएको छ । रंगशाला मात्र होईन एर्यरपोर्ट, सडक, रेल, जलयात्रा र पुरै शहर रंगाईको छ । अहिलेसम्मैको सबैभन्दा बढी खर्च गरेर रसियाले विश्व कपको आयोजनामा कुनै कसर छोडेको छैन । सुरक्षा व्यवस्था अन्त्यतै चुस्त पारिएको छ । सुरक्षा अत्यावश्यक छ राष्ट्रको छवीका लागि भन्दै राष्ट्रपतिले सुरक्षाका लागि सचेत गराएका छन् । उद्घाटनकै लागि ३० हजार सैनिक मस्कोको रंगशाला र प्रमुख स्थानहरुमा छरिएका छन् । सुरक्षाकै लागि भनेर युद्धमा प्रयोग गरिने हेलिकप्टरहरु तैनाथ गरिएको रसियाको टेलिभिजनले जनाएको छ ।

 

 

पाहुनाहरुलाई मनोरञ्जनका लागि पार्कदेखि पपसम्म र रंगशालादेखि संग्रालयसम्म व्यवस्था गरिएको दृष्य र लेख क्रमशः टेलिभिजन हेर्न र पत्रिकाहरुमा पढ्न पाईन्छ । कला, संगित र आतिथ्यतामा जोड दिएको छ । यस्तो देखिन्छ, विश्वको सबैभन्दा ठूलो राष्ट्र रसियाले विश्वको सबैभन्दा ठुलो एकल खेलको महोत्सवलाई ठूलै दिल र उत्कृष्ट व्यवस्थापनका साथ आयोजना गर्दैछ । आलोचकको जब बोली मसिनो भयो रसियाको राष्ट्रपतिले विश्व कप प्रारम्भको करिब १ साता अघि पश्चिमाको बोली बन्द गर्ने गरि झपड दिँदै भनेका छन् “हामी संसारलाई देश र मन दुवै खुल्ला गरेका छौं ।” यसलाई खेल कुटनीतिको भाषा मान्ने हो भने यसले विपक्षलाई सम्वाद, सम्मान र सहकार्यका लागि खुल्ला चुनौतिको रुपमा हेर्न सकिन्छ । पुटिनको भाषण वा फिफा अध्यक्षको सन्देशभित्रको आसय र अर्थ जेसुकै भएपनि चुनौति र आलोचनाका बाबजुद विश्वकप, २०१८ रसियामा भव्य, सभ्य र उत्कृष्ट रुपमा आयोजना भईरहेको छ ।