अप्प दिपो भव !  -सुनिल उलक 

शव्द /तस्विर : सुनिल उलक 
   

बुद्ध जन्मस्थल लुम्बिनीको हेलिकप्टरबाट खिचिएको संभवत पहिलो तस्बिर

 

 

सिद्धार्थ गौतम राजकुमारको रूपमा जन्मेका थिए, गौतम बुद्ध महामानव थिए । सिद्धार्थ गौतम नेपालमा जन्मेका थिए, गौतम बुद्ध यो पृथ्वीमा जन्मेका थिए । उनको राज्य थिएन, उनको सिमाना थिएन, उनी बन्दुकको नालले छुट्टयाएको कुनै देशमा जन्मेका थिएनन् । उनि बिश्वका साझा हुन् । आज किन Buddha was born in Nepal को नारा चर्केछ, थाहा छैन । Siddharth Gautam was born in Nepal भन्नु पर्थ्यो, यो सत्य थियो । बुद्ध त गयामा लामो ध्यान पछि भएका थिए ।

 

 

बुद्ध बन्न कठिन हुन्छ । सिमामा बाधिने भए, राज्यले तिम्रो मेरो भन्ने भए सिद्धार्थ,  बुद्ध नै बन्ने थिएनन् । युद्धमा होमिन नचाहेका सिद्धार्थ जब राज्य त्यागेर हिड्छन् तव नै बुद्धत्वको नजिक पुगेका हुन् । युद्धको अस्विकृत गर्ने सिद्धार्थलाई उनकै शाक्यसंघले दण्डित गरेको थियो । कोलिय राज्य र कपिलवस्तु बीच बहने रोहिणी नदीको पानी दुवै राज्यले बराबर बाड्नुपर्छ भन्ने सिद्धार्थको मतमा विवादित भएर जनमत हुदा सिद्धार्थको हार भए पछि मृत्युदण्ड र राज्य त्याग रोज्न लगाएका थिए शाक्यसंघले । सिद्धार्थ जीवनको बैराग्यताले मुक्ति चाहेका थिए यसर्थ स्वेच्छाले राज्यबाट निस्कन तैयार भए । तर पछि यिनै सिद्धार्थ बुद्ध बनेपछि बिरक्तिएर राज्य त्यागेको वर्णित गरे तिनै शाक्यसंघले ।

 

 

सिद्धार्थ गौतमको जन्मको ’boutमा अश्वघोषले २००० बर्ष पहिले नै बुद्ध सम्बन्धी पुस्तक बुद्धचरितम् मा लेखेका थिए ।

 

ततः प्रसन्नश्च बभूव पुष्यस्तस्याश्च देव्याव्रतसंस्कृतायाः

पाश्र्वात्सुतो लोकहिताय जज्ञे निर्वेदनं चैव निरामयं च । ९ ।

ऊरोर्यथौर्वस्य पृथोश्च हस्तान्मान्धातुरिन्द्रप्रतिस्य मूर्घ्य ।

कक्षीवतश्चैव भुजांसदेशात्तथाविधं तस्य बभूव जन्म । १० ।

 

 

सिद्धार्थको जन्म अलाैकिक शक्तिबाट भएको थिएन, तर जन्म केही अस्वभाविक भने थियो । जयसेनका नाती तथा सिंहहनुका छोरा शुद्धोधनको जन्म साधारण किसान परिवारमा भएको थियो उनि कपिलवस्तु गणराज्यमा राजा चुनिएका थिए । मायादेवी छिमेकी कोलिय राज्यमा बसोबास गर्ने अञ्जन तथा सुलक्षणाका छोरी थिए । बिबाहको केही वर्ष सम्म पनि सन्तान नभए पछि बहिनी प्रजापती गौतमीसंग बिबाह गरेका थिए । तर यस पछि पनि सन्तान भएन । औषधोपचार तथा बिभिन्न पूजा अर्चना पछि पनि सन्तान भएन ।

 

 

 

४५ वर्षे बुढ्यौली उमेरमा गर्भवती बनेका मायादेवीको लागी निकै स्याहार सुसार गरेका थिए । तर गर्भ रहेको दश महिनामा पनि बालकलाई जन्म दिन नसके पछि सबै चिन्तित थिए । दश महिने गर्भ पछि पनि ४५ वर्षिय आमा मायादेवीले बालकलाई जन्म दिन नसके पछि माइत देवदहमा रहेका सिपालु सुँडेनी कहा लगिएको थियो । तर बाटोमा रहेको लुम्बिनी वनमा पुगेपछि पिडाले धेरै छटपटाए भएपछि सबै रोकिएका थिए । यसै समयमा अचानक भूकम्प हुन थाल्यो, भूकम्पले सबै अट्टालिए । मायादेवी पनि नजिकै रहेको साल वृक्षको हांगामा समातेर आफूलाई ठाम्न खोजे । भूकम्पको कम्पन साथै गर्भको शिशुको छटपटाहटले गर्भमा रहेको शिशुको बाहिरियो । अस्वभाविक रूपले बालकको जन्म पछि अत्यधिक रक्तप्रवाह भयो । यसरी ५४ वर्षिय राजा शुद्धोदन बुढ्यौली उमेरमा पिता बने तर आमा मायादेवीको अत्यधिक रक्तश्रावले सातौ दिनमा देहावसान भयो । सानीआमाले नै सिद्धार्थ गौतमलाई हुर्काए ।

 

बालकको जन्म अलौकिक थिएन, तर अस्वभाविक थियो । जन्मना साथ दाहिने हातको औला ठड्याएर सात पाइला हिडेको भन्ने कथन लेखेर अश्वघोषले अद्भूत शक्ति भएको सावित गर्न खोजे भने हिन्दुवादीले बिष्णुको अवतार भनेर कथा लेख्न थाले । अश्वघोषले बुद्धचरितम् लेख्ने समय बुद्ध धर्मको उत्कर्षमा पुगेको थियो । तसर्थ सिद्धार्थ गौतमलाई भगवान मान्न थालि सकिएको थियो । त्यसैले उनलाइ जन्मदा नै भगवान बनाउने कोशिस गरिएको आभास हुन्छ । उनि जन्मदा भगवान थिएनन्, केवल राजकुमार थिए । उनि भन्दा पहिले २७ जनाले बुद्धत्व पाएर बुद्ध कहलिसकेका थिए । उनकै समयमा पनि महाविरका अनुयायी धेरै भइसकेका थिए । उनको राज्यमा जैन धर्मको प्रभाव शुरु भईसकेको थियो । राज्यबाट निस्कासित हुनु अगाडी महाविरका अनुयायी भिक्षु बप्प शाक्यसंग भेटेका थिए । आषाढ पुर्णिमाको रात केवल २९ वर्षको उमेरमा सिद्धार्थ महाभिनिष्क्रमणमा भए ।

 

 

यसरी महाभिनिष्क्रमण पछि सिद्धार्थले बिभिन्न योगी मुनिहरू संग शिक्षा लिए, बिभिन्न साधना गरे । अन्तमा ३५ पुरा भइ ३६ लागेको दिन गयाको बृक्ष मुनि तपस्यारत सिद्धार्थले बुद्धत्व प्राप्त गरे । यसपछि बुद्धत्व प्राप्त गरेको बृक्ष बोधीबृक्ष, स्थानलाई बौद्धगया भन्न थालियो ।

 

 

सिद्धार्थले बुद्धत्व प्राप्त गरे पछि सबैभन्दा पहिले तपुस्स र भल्लुक दुई ब्यापारीलाइ शिक्षा दिदै भने, “अप्प दिपो भव !”  जीवनको यथार्थ यहि नै हो । आफैले आफुलाइ दुखी बनाइरहेको हुन्छाै तसर्थ यसबाट मुक्त हुन पनि आफैले प्रयत्न गर्नुपर्छ । अरू कसैले गरिदिदैन । यो नै जीवनको सार हो ।

 

(मैले प्रस्तुत गरेको बिवरण गत मंसिरमा स्वर्गारोहण हुनुभएका बुद्ध तथा बुद्ध धर्म सम्वन्धि अन्वेषक स्व. कविताराम श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखमा आधारित छ । यसमा कतिपयको बिरोधाभास हुनसक्छ यसको लागी क्षमा चाहन्छु ।)