लोप भएको मंगल ग्रहको महासागरमा वैज्ञानिक दृष्टि
–लुसी आबुर्ग, इसाम अहमद
अर्बौ वर्षअघि मंगल ग्रह ताल र समुद्रले भरिएको थियो । तर, ती सबै जलस्रोत मंगल ग्रहलाई उजाड चट्टानमा परिणत गरी कता हराए ? वैज्ञानिकहरू यही रहस्य खोजविन गर्न लागिपरेका छन् ।
हालसम्मको मान्यता छ, मंगल ग्रहको पानी अन्तरिक्षमा हरायो । तर, नासाले गरेको नयाँ अध्ययनले पानी कतै नहराएको तर मंगल ग्रहको सतहमा भएको खनिजभित्र कैद भएको हुनसक्ने संकेत गरेको छ ।
‘हामी जान्दछौँ जमिनको माथिल्लो सतहले पानी मिसिएका खनिजहरू बनाउँछ, त्यसैले खनिजको क्रिस्टल संरचनामा पानी हुनसक्छ,’ द न्यू पेपर इन साइन्सका प्रमुख लेखक इभा सेलरले एएफपीलाई भनिन् ।
वास्तवमा, सेलरको मोडेलले ३० देखि ९९ प्रतिशतबीचमा खनिजभित्र पानीको मात्रा कैद भएको हुनसक्ने बताउँछ।
मंगल ग्रहको प्रारम्भिक समयमा त्यसको सयदेखि १५ सय मिटर (तीन सय ३० देखि ४४ हजार नौ सय २० फिट) क्षेत्रफल समुन्द्रले ओगटको हुनसक्ने मान्यता छ । ’cause, यसको इतिहास खोतल्दा मंगल ग्रहले आफ्नो चुम्बकीय क्षेत्र गुमाएको निष्कर्षमा पुगिन्छ । यसको वातावरण क्रमिक रूपमा हराएर गयो । र, आफूसँग भएको पानी गुमायो ।
तर नयाँ अध्ययनमा संलग्न वैज्ञानिकहरू केही पानी हराए पनि धेरै पानी बाँकी रहेको विश्वास गर्छन् । मंगल ग्रहमा पठाइएका रोभरहरू र ग्रहको उल्कापिण्डको निरीक्षणबाट टोलीले पानीको प्रमुख भाग हाइड्रोजनमा ध्यान केन्द्रित गरेका छन् ।
मंगल ग्रहमा विभिन्न प्रकारका हाइड्रोजन परमाणु छन् । धेरैको न्युक्लियसमा केवल एक प्रोटोन हुन्छ, तर सानो अंश लगभग ०.०२ प्रतिशत हुन्छ । प्रोटोन र न्युट्रोन मिलेर यसलाई आयतन दिन्छन् । यिनीहरूलाई ड्युटेरियम वा ‘भारी’ हाइड्रोजन पनि भनिन्छ ।
हल्का किसिमको हाइड्रोजन ग्रहको सतहबाट द्रुत गतिमा हराएर जान्छ । धेरैजसो पानी अन्तरिक्षमा खस्दा तुलनात्मक रूपमा बढी ड्युटोरियम पछाडि छुट्छ ।
तर, सुरुआतमा मंगल ग्रहमा पानीको मात्रा कति थियो र त्यसबाट हाइड्रोजनको मात्रा हति हरायो भन्ने हाल उपलब्ध ड्युटेरियमदेखि हाइड्रोजनको अनुपात वायुमण्डलीय नोक्सानी केलाएर मात्र वर्णन गर्न सकिँदैन ।
वैज्ञानिकहरूले त्यस्तो गणनाको साटो मंगल ग्रहमा दुईवटा संयन्त्रको संयोजन गरिएको बताएका छन्– पहिलो– ग्रहको सतहमा रहेको खनिजमा पानीको मात्रा कैद गर्ने र दोस्रो वायुमण्डलमा पानीको क्षति आकलन गर्ने ।
‘तपाईंसँग चट्टान छ र त्यसले पानीसँग अन्तक्र्रिया गर्छ, हाइड्रेटेड खनिजमा त्यस्ता धेरै जटिल प्रतिक्रियाको शृंखला देखापर्छ,’ सेलरले भनिन् । उनका अनुसार यो प्रक्रियालाई ‘रासायनिक ह्रास’ पनि भनिन्छ । यो प्रक्रिया पृथ्वीमा पनि हुन्छ ।
तर, पृथ्वीमा ज्वालामुखीले पानीलाई पुनः सतहमा फिर्ता पठाउँछ । यद्यपि, मंगल ग्रहमा टेक्टोनिक प्लेटहरू छैनन्, सोही कारण स्थायी परिवर्तन हुँदैन ।
अध्ययन टोलीले तयार पारेको ‘सिमुलेसन’मार्फत गरिएको विश्लेषणअनुसार मंगल ग्रहले आफूमा रहेको धेरैजसो पानी चारदेखि ३.७ अर्ब वर्ष पहिले गुमायो । ‘यसको अर्थ मंगल ग्रह तीन हजार वर्षदेखि हामीले जस्तो देखेका छौँ, त्यस्तै छ,’ सेलरले भनिन् ।
बहु–वर्षे विज्ञान मिसनका लागि गत महिना मंगल ग्रहमा अवतरण गराइएको पर्सिभरेन्स रोभरले अनुसन्धानको क्षेत्रमा योगदान पु¥याउनेमा उनी आशावादी छिन् । ‘पर्सिभरेन्स रोभरले सतहको पानीमा भएको अधिग्रहणको वास्तविक प्रक्रिया र प्रतिक्रियाहरू छानविन गर्दैछ,’ उनले भनिन् ।
टोलीको मोडेलमा धेरै परिदृश्य समाविष्ट छ, वैज्ञानिकहरूले रोभरबाट प्राप्त हुने नयाँ डाटासँग तुलना गर्नेछन् । ‘हामी भन्न सक्छौँ, मोडेलका केही भागले राम्रोसँग काम गरेनन् भने पनि तिनै भागबाट हामी सटिक जवाफ प्राप्त गर्न सक्छौँ,’ सेलरले भनिन् ।
– एएफपीबाट