ओलीज्यू भालुलाई मकै पिसाउने भए बाँदरलाई रुँगालो राख्नुस् ! –प्रबुध्द घिमिरे

बाँदर र भालुबाट मकै जोगाउनु छ भने पासो थाप्न जान्नु पर्दछ । भालुलाई मकै पिसाउनु छ भने मकै रुग्ने काममा बाँदरलाई राख्नु पर्छ । अनि पो काम सजीलै फत्ते हुनसक्छ । होइन भने एक बिस्कुन मकै भए पनि जाँतो पिस्न बसेको भालुले जाँतोमा ओइरो हाल्नु भन्दा पहिले आफ्नै मुखमा हालेर मकैको सत्यानास पारिदिनसक्छ ।

 

लेकमा फागुन महिना भित्रै मकै छरिसकियो ’cause त्यहाँ मकै पाक्न झण्डै वर्ष दिन लाग्छ । मकै पाक्न थालेपछि भालु आकर्षित हुनथाल्छ । “भालुको मन कि खनिउँ कित मकैमाथि” बहुचर्चित उखानै छ ।

 

 

मकै खान भालु बारीमा पसेपछि किसानको मेहनतको सर्वनास । गाउँका अलि जान्ने ब्यक्ति (जसलाई भालु धपाउने ढंग थाहा छ )ले भालु मकैबारीमा पसेको थाहा पाएपछि भालुलाई अनेक अक्किल लगाएर खेद्छन् । मानिसले भालुलाई तर्साएर धपाउने कि भालुले गाउँलेलाई झुक्याएर मकैबारी स्वाहा बनाउने ? मानिसले मकैको खेती गर्न थालेदेखि यो लुकामारी जारी छ । बेलैमा भालु धपाउन सकिएन भने वर्ष दिनको किसानको दुखले न्याय पाउदैन !

 

 

लेककै जस्तो कथा वेसीमा पनि दोहोरिइरहेको छ । तर पात्र र प्रबृत्ति अली भिन्न हुन्छ । लेकमा भालुले झैं बेँशीमा मकै पाक्न थालेको बाँदरले चाल पाइहाल्दछ । मान्छेका पूर्खा भएर होला बाँदर धेरै नै बाठो हुन्छ । एक पटक हुल बाँधेर मकै बारीमा छिर्न पाए किसानको वर्षभरिको सामल खत्तम । कृषक हेरेको हेर्यै हुन्छ– हनुमानजीको चर्तिकला !

 

 

न लेक न बँेशी ! पहाडे किसानलाई मकै जोगाउन सजिलो छैन । त्यसैले होला आजभोलि पहाडका अधिकाँस बैसालुहरु खेती गर्नुको सट्टा विदेश जान्छन् । उनले कमाएको पैसाले धान, मकै र गहुँको बोराका बोरा गाउघरमै आइपुग्छ । भालु र बाँदर धपाउने कसरथ गर्नै पर्दैन । शहरीयाको खाद्य उद्योग मालामाल छन् ।

 

 

भुक्तभोगीहरु भन्छन्, भालु र बाँदरको चर्तिकला साह्रै दुखद र तिनलाई तह लगाउनु गाह्रो काम पनि हो । तर यी दुबै जनावर तह पनि लाग्ने र मान्छेको काम पनि सजीलै सम्पन्न गर्ने अक्किल के हुन सक्छ ? ’cause अक्किल र बुद्धि लगाएर नै मानवजाती अरु जनावरको तुलनामा शिखरमा पुगेको हो ।

 

 

यदि बाँदर र भालुलाई नै जालको माध्यमबाट देशभर समात्दै तालिम दिएर तिनैलाई जाँतो घुमाउन लगायो भने यो भन्दा दिगो र काम गर्ने कालुको मकै खाने भालुको ‘अग्र्यानिक’ सदुपयोग अरु के हुनसक्छ ?

 

 

एकातिर भालुलाई धुतुरुसिंको तालिम दिएर मकै पिस्न राख्यो र अर्कातिर बाँदरलाई तालिम दिएर भालू रुग्न राख्यो भने मकैको राम्रै पिसाइ हुनसक्छ । मकै पिस्न बाँकी रहेको समयमा बाँदर र भालुका अनेक खेला देखाएर पैसा कमाउने बोनस छँदैछ । यो भन्दा उम्दा अक्किल अरु के हुनसक्छ ? त्यसैले भनिन्छ “भालुलाई मकै पिसाउने भए बाँदरलाई रुँगालो राख्नु पर्दछ” । यस्तो उदाहरणीय काम सम्पन्न गर्न एनजीओ÷आइएनजीओ र इयु जस्ता आधुनिक विश्वका विकासका वाहकले उदारमनले सहयोग पनि गर्नसक्छन् । त्यसपछि त यो काम हाम्रा लागि झन् खुँदो हुनसक्छ !
दोहो¥याइरहनै पर्दैन, भालु र बाँदरले मकैमा मरिहत्ते गर्नुका कारण उनीहरुमा उत्पन्न प्राकृतिक भोकले गर्दा नै हो । भोक लागे पछि त्यसलाई खप्नु भनेको गाह्रै कुरा हो । जो निकै कठिन पनि हुन्छ । कतिपय महामनाहरुले यही भोक खप्न नसकेर मलमुत्र नै खाएका समाचार संचारमाध्यममा आउछन् भने बाँदर र भालुले खेतबारीमा पाकेको मकै देखेपछि मकै नखाएर के ले जठराग्नी शान्त पारुन् ?

 

 

नीतिमा नै छ– “कष्टम कष्टात बुभुक्षीतं !” भोक मार्नका लागि कुुन प्राणीले ठूलो जोखिम उठाउँदैन ? बाँदर र भालुलाई त बोल्न नसक्ने हुनाँले तिनलाई आरोप लगाइएको मात्र हो, तिनले भन्दा कैयौं गुना जोखिम भोको मान्छेले भोक मार्न उठायो, उठाउदैछ र भविष्यमा पनि उठाउँछ ।

 

 

तर विकासोन्मुख भनिने नेपाल जस्ता मुलुकहरुमा यसको प्रलचनमा अलिक फरकखालको हुन्छ । तेश्रो विश्वको देशको भूगोल नै त्यस्तो भएर हो कि ? वा खै के हो ? यस्ता देशमा पढेलेखेका, सरकारी जागिर खाने र जनताको भलो गर्दछु भन्ने अधिकांस नेताजीहरुलाई बाँदर र भालुलाई जस्तो प्राकृतिक भोक मात्र लाग्दैन । यिनीहरुलाई लोभको भोक ज्यादा लाग्दछ । त्यसैले उनीहरु मौका पाउना साथ सरकारी ढुकुटीमा अनधिकृत हात हालेर आफ्नो हात जगन्नाथ पारिहाल्छन् ।
मकैबारीमा भालु र बाँदरको आतंक मच्चाए जस्तै बिगबिगी नेपालका सरकारी कार्यालयमा पनि भोका सज्जनहरुको छ । जुनसुकै कार्यालयमा पनि यस्ता मान्छेको आपूर्ती भएकै छ । जनताले सानो भन्दा सानो काम लिएर कुनै अड्डा गयो भने तिनले आफ्नो भोक मार्ने ब्यवस्था नगर्ने जनताको काम गर्दै गर्दैनन् । अचम्म त के भने यो चलनले झण्डै अढाइसय वर्ष अगाडि नेपाल राज्यको स्थापना हुँदासमेत जरा गाडिसकेको रहेछ ! त्यही भएर होला, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेका– “घुस दिन्या र लिन्या दुबै राज्यका शत्रु हुन !”

 

 

शाहकाल, राणाकाल, पञ्चायतकाल र जनआन्दोलनबाट स्थापित बहुदल र गणतन्त्रकालकालको अनुभव पनि नेपाली जनताले गरे तर घुष खाने प्रबृतिबाट भने मुक्ति पाएनन् । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा त भ्रष्टाचार संस्थागत नै भएको छ ।

 

 

शासन प्रणाली फेरियो, मान्छे फेरिए तर प्रबृति किन फेरिएन हाम्रो देशमा ? निरंकुश शासनबाट मुक्ति पाउने नेपाली जनताले किन भ्रष्टाचारीबाट छुटकारा पाउन सकिरहेका छैनन् ? यो अजिब रोग के हाम्रो रगतमै छ ? हाम्रो जीनमै छ कि के हो ? किन भ्रष्टाचारविरोधी संबिधान, ऐन कानून बन्दा पनि आमनेपालीले यसबाट मरिगए छुटकारा पाउन सक्दैनन् ?

 

 

तर, यतिबेला नेपाली जनता अलिक फरक आशमा आशातित छन् । त्यो आशा बाम गठबन्धनले जगाउदै छ भनिदैछ । इतिहासमा आजसम्म नभएको छुट्टै शासन ब्यवस्था दिने भन्दैछन् बामपन्थी मित्रहरु ।

 

 

अब घुष, भ्रष्टाचाररहित शासन कायम हुन्छ भनिदैछ । भटाभट त्यसैका लागि काम अगाडि बढिरहेको भाषण चलिरहेछ । जनताले बामगठबन्धनको बोलीलाई पत्याए पनि । त्यही भनाइको विश्वासमा परेर जनताले अमूल्य भनिने मत पनि दिए बामपन्थीलाई ।

 

 

त्यही गठबन्धनबाट के पी ओली देशका प्रधानमन्त्री बनेका हुन् । निकट बिगतमा के पी ओलीको नेतृत्वमा बाम सरकार पनि अस्तित्वमा आएको छ । भनिदैछ, अब जनताको काम बीना घुष हुन्छ हुन्छ रे ! “अब काम पनि हुन्छ, बिकास पनि हुन्छ” भन्ने सुनेर जनता टाठो नजरले आशाको घाँटी तन्काउदै छन् ।
ओली टिम बनिनसक्दै नेपाल विकासको पाठ पढाउनेहरु भने आत्तिन थालेको देखिदैछ । ओली सायद सफल भइहाल्छन् कि भनेर नै होला । हुन पनि तेश्रो विश्वका देशमा साँच्चै विकास भयो भने उपनिवेशवादीको फुटाउ र शासन गर नीतिको पाठ कहाँ पढाउने ? कसलाई पढाउने ? त्यसैले उनीहरुलाई पिरैपिर छ ।

 

 

चीनलाई कसरी घेर्ने ? कसरी गिजोल्ने ? त्यसैले पनि उनीहरुको बिचारमा नेपालमा विकास हुनु हुँदैन । जस्तो छ त्यस्तै रहनु पर्छ । तव न अस्थिरतामा खेल्न पाइन्छ । इयू नामको संस्थाले खसआर्यलाई तारो बनाएर ताकेको त्यसैले पनि होला । उनीहरु अत्तालिएका छन् र छटपटी बढ्दो छ ।

 

 

लेखको शुरु मै भनियो, लेक बेशीको मकै खेतीमा बाँदर र भालुको आतंक । मकै भालु र बाँदर दुबैको प्यारो खाद्यान्न हो । साँच्चै मकै जोगाउने हो भने भालु र बाँदर दुबैलाई बसिभूत गर्नै पर्दछ । त्यसको लागि जाल थाप्ने ढंग चाहिन्छ । जालमा परेका भालु र बाँदरलाई तालिमको दिने अक्किल पनि आवश्यकता पर्छ । अनि बाँदर र भालुलाई कुन काम दिने त्यो कुटनीतिक सीप÷ज्ञान पनि चाहिन्छ ।

 

 

नत्र उल्टो हुन्छ र मकै रहँदैन अनि बाँदर भालु पनि तह लाग्दैनन् । उनीहरुकै रगरगी चलिरहन्छ । घट्टमा न बाँदरले नओइरो हाल्न जान्दछ न त भालुले जाँतो नै घुमाउन सक्छ । भालु र बाँदर नचाउने खेल खेलाएर अतिरिक्त कमाउनु त धेरै टाढाको कुरो भैहाल्यो !

 

 

त्यसैले मकै पिसाउन र खान, भालु र बाँदरलाई बशिभूत गर्न ढंग चाहिन्छ त्यसैगरि ओली सरकारलाई पनि प्रोजेक्टवाला नेता र सदियौँदेखि खाइपल्केका राष्ट्र्र सेवक भनिने कर्मचारीतन्त्रलाई इच्छित र लक्षित काम लगाउन छुट्टै खालको ज्ञान, सिप र ढंगको खाँचो पर्छ । परिसकेको छ ।

 

 

हो, ओली सरकारको लागि जनताको भोट र संसदमा सांसदको मत काफी छ । आफ्नै दलभित्रका बिपक्षी पनि हाल बसिभूत नै छन । पार्टी एकतापछि हुने भनिएका दलका नेताका अभिब्यक्ति पनि राम्रै आउँदैछन् । दक्षिणी छिमेकीलाई पनि संन्तुलन मिलाएर लाने प्रयास पनि हुँदैछ । तर यतिले मात्र ओली सरकार सुरक्षित नहुन सक्छ । उसलाई अपठ्यारो पार्ने तत्व अरुपनि छन् ।
बिगतमा नेपालका बामलाई प्रोजेक्टरुपी हरियो घाँस ख्वाएर पल्काउने, प्रोजेक्ट मार्फत नै नेपाली बामलाई चलाउन सफल भएका शक्ति भने गज्जबले यतिखेर चलमलाउन थालेकाछन् । संबिधानसभाले सम्बिधान घोषणा गरेपछि, संम्बिधान अनुरुप तीनै तहको चुनाव सम्पन्न भै बामगठबन्धनको सरकार बनेपछि अत्तालिएकाहरुले पैसा खन्याएर होस कि कुनै जात वर्गलाई उचालेर होस् उनीहरु नेपालमा अस्थिरताको बिउ छर्न उद्यत छन् । तिनबाट बामगठबन्धन जोगिन सक्नु पर्दछ तर कसरी ? ओलीले आफू र आफ्नो टिमलाई यसबाट कसरी जोगाउन सक्छन् ?

 

 

विदेशी वितण्डाबादीबाट जोगिँदै आफ्नै भोका नेता र कर्मचारीलाई प्राकृतिक भोकमा मात्र अड्याउने, सिमित राख्ने काममा ओली नेतृत्वको बामगठबन्धन खरो उत्रिन सक्नु पर्दछ ।

 

 

भनिन्छ, एमालेको ठूलो पङ्गति धेरै पहिलेदेखि प्रोजेक्टमा पालिएको छ । उनीहरुको काम नै प्रोजेक्ट संचालन गर्नु हो । प्रोजेक्ट संचालन गर्नेको भोक अरुको भन्दा ज्यादै तीब्र हुन्छ । प्रोजक्टको बाक्लो तर चाखेका नेतालाई प्रोजक्टको स्वाद लागु पदार्थ दूब्र्यसनीलाई जस्तै गढेको हुन्छ । अर्कातर्फ नेपालका राष्ट्र सेवक भनिनेको बानी नजरानामा लिप्त छ । तिनबाट भ्रष्टाचारको कुलत छुटाउन पनि सुधारकेन्द्रमा लगेर तालिम दिनु आवश्यक छ । पहिलेदेखि लागेको बानी छुटाएर तिनलाई जनसेवी बन्ने नयाँ बाटोमा हिडाउन अलिक दह्रै तालिमको आवश्यकता पर्छ ।

 

 

तालिम दिनेहरुमा पनि सीप र ज्ञान दुबैमा प्रचुरता चाहिन्छ । तिनलाई ओलीले नै तालिम दिन जरुरी छ ’cause उनी नै यो मोडलका ‘आर्किट्क्ट’ हुन् । यस अघि ओली आफैँले तालिम दिएका उनका खास मान्छेलाई काम लगाउन स्थान विशेषको अभावका कारण हो वा किन हो, ओली केही हच्केका देखिन्छन् । त्यसैले यसपाला उनले धेरैकाम नयाँ मान्छेबाट गराउनु पर्ने बाध्यता छ ।

 

 

नयाँ मान्छेमा कति सिप छ, तिनको परख ओलीले गरिसकेका छैनन् । त्यसमा पनि नयाँहरुबाट काम गराउँदा बिश्वासको आशंका बाँकि नै रहन्छ । त्यसैले उनको अभियानको डोरी समाउन उनको साथमा रहने ब्यक्तिहरुको भूमिका अहम् रहने छ ।

 

 

यद्यपि, यसपाला र यो बेला ओलीलाई शंकाको सुविधा प्राप्त छ । उनीसँग जनताले आशा गरेका छन् । उनको अभियान सफल होस भन्ने कामना आम जनता गरिरहेका छन् । त्यसैले अहिले उनले जे बोले पनि जनताले त्यसमा सकारात्मकता मात्र देखिरहेका छन् । तर उनको बोलीमा जनताको विश्वास कायम राखिरहन उनले भनेका कामहरु एकपछि अर्को सम्पन्न नै हुनुपर्छ ।

 

 

ओलीले देशको विकास सर्वसाधारणले अनुभूत हुने गरी शूरु गर्नसके मात्र पनि सदियौँदेखिको नेपालीको निरास अनुहारमा आशा पलाउने छ । साबधान ओली, अप्राकृतिक भोक भएका देशी÷विदेशीले नेपाललाई फेरि गंजागोल पार्लान ।

 

 

ओलीले पनि आफू अगाडिका चुनौतिहरुलाई पन्छाएर नेपालको विकास गर्न ‘भालुलाई मकै पिसाउन र बाँदरलाई भालु रुग्ने’ जस्तै गरी जिम्मेवार व्यक्तिलाई काममा खटाउन सक्नु पर्छ । ह्रिँसक जनावर बाँधेको दाम्लो ओलीले पनि राम्ररी समाउन सक्नुपर्छ, होइन भने उनैलाई हिंसकहरुले नारायणहरि बनाइदिन सक्छन् । सरोकारवालाहरुलाई बेलैमा चेतना होस् !