प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेण्डा –अश्विनकुमार पुडासैनी

यो भ्रमणमा भारतले विगतमा गरेका प्रतिवद्धताहको समयसीमा भित्रै कार्यान्वयन गर्ने प्रतिवद्धतासहित कार्यन्वयन प्रारम्भ हुन सक्यो भने मात्र विगतका परियोजना ‘होल्ड’ नभई त्यसको नतिजा र लाभको प्रभाव देखिने छ । भ्रमणको उपलब्धि पनि राजकीय भोजको ‘टोष्ट’ जस्तै तरंग ल्याउने होस् ।

 

आउदो साता (चैत्र २३–२५, ०७४) संघीय गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमण गर्दैछन् । यो खबर सार्वजनिक भएपछि सर्वत्र चर्चा र चासो शुरु भएको छ ।

 

हिजो नाकाबन्दी व्यहोरेका र नाकाबन्दी नहटाएसम्म आफूले भ्रमण गर्दिन भन्ने अडान लिने उनै प्रधानमन्त्री संघीय संसदबाट दुई तिहाई बहुमत प्राप्तगरि समृद्धिको मुल एजेण्डामा केन्द्रित रहेका आन्तरिक व्यवस्थापन क्रियाशील हुँदाहुँदै निकट छिमेकको भ्रमणमा निस्कन लाग्दा भ्रमणप्रति सर्वत्र चर्चा र चासो हुनु स्वभाविक पनि हो ।

 

नेपालमा फाट्ट फुट्ट केहि मानिसहरु कुनै पनि प्रधानमन्त्रीको भारत भ्रमणलाई सदैव संसयको रुपमा हेर्छन । चाहिनेभन्दा बढि टिका टिप्पणी गर्दछन् । त्यहि निहुमा आफ्नो पण्डित्याइँ छाँट्छन् । मिडियामा छाउँछन् । भ्रमणको विषयलाई आलोचनात्मक किसिमले टिकाटिप्पणीसमेत गर्छन् । त्यहि मेसोमा कोही भने आवश्यकभन्दा बढि नै हौसिएर बखान गर्छन् ।

 

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणवाट कसरी नेपाल–भारत संवन्धमा सौहार्दता अभिबृद्धि हुन्छ ? भ्रमणका एजेण्डामा के कस्ता विषयले प्रवेश पाउँछन् ? नेपालको समृद्धि र दुई पक्षीय सम्बधमा यो भ्रमण कोशेढुङ्गा सावित हुन सक्छ ? यही विषयमा आजको आलेख केन्द्रित छ ।

 

व्यग्रताको निम्तो संविधानको स्वागत

 

नयाँ संविधान जारीभएपछिको प्रथम निर्वाचित प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण नेपाल–भारत संबन्धको सौहार्दता अभिवृद्धि गर्नमा एक ऐतिहासिक भ्रमण हुनेछ भने सम्बन्ध सुधारका दृष्टिले कोशेढुङ्गा सावित हुन सक्छ ।

निकट छिमेकी राष्ट्रमा हुने प्रधानमन्त्रीको भ्रमणले स्वाभीमानी नेपालीको गौरवमा केही नविनता थप्ने आशा गरिएको छ । यो भ्रमण त्यस्तो क्षणमा हुँदैछ जतिखेर नेपाली जनताले आफैं जारी गरेको संविधानको स्वागत गर्न नसकी नाकाबन्दी गर्ने मित्र राष्ट्रले संविधान जारी भई तीनै चरणको निर्वाचन सम्पन्न भए पश्चात दुई तिहाई मत प्राप्त सरकार प्रमुखलाई व्यग्रताका साथ निमन्त्रणा गरी राजकीय सम्मानका साथ स्वागत गर्दै छ ।

 

नेपालका प्रधानमन्त्रीलाई भारतले व्यग्रताकासाथ स्वागत गर्न लागेको यो भ्रमण नेपालीले आफैं जारी गरेको संविधानप्रतिको भारतको हार्दिक स्वागत त हो नै, साथै भारतले नेपालसंग गरेका त्रुटीपूर्ण सम्बन्ध सुधारको एक आयाम पनि हो । यसअर्थमा नेपाली जनताको जनमतको सम्मानको रुपमा पनि हेरिएको छ ।

 

यो भ्रमण भारतले आफैंले गरेको हिजोको निर्णयको ‘कोर्ष करेक्सन’ हो । नेपाली जनताप्रतिको भारतको सम्मानको अभिव्यक्ति हो । यसभित्रको कुटनीतिको भित्री र बाहिरी कुरा प्रधानमन्त्रीले बुझेकै हुनुपर्छ । विगतका अन्य प्रधानमन्त्रीको भ्रमणमा शब्दमा खेलेर जहिले पनि राष्ट्रिय स्वार्थमा सम्झौता भएको महशुस गरिने गरेको कुरा पनि पूर्व परराष्ट्रमन्त्रीसमेतको अनुभव प्राप्त प्रधानमन्त्री ओलीलाई राम्रै थाहा छ ।

 

एजेण्डा सौहाद्रता र समृद्धि

 

नेपाल अहिले विकास र समृद्धिको सपनाको भोकमा छ । विगतका हाम्रा चार पुस्ताले गरेको संघर्ष, त्याग र बलिदानबाट अहिले जनताले सम्पूर्ण शक्ति प्राप्त गरेका छन् । देशको सबै क्षेत्रमा समृद्धि अभियानको नारा गुन्जिरहेको छ । समृद्धिको खाका हेर्न र सहभागी हुन जनता व्यग्रतासाथ पर्खिरहेका छन् । यहि व्यग्रताको समयमा समृद्धि हासिल गर्दै गरेको छिमेकीको भ्रमण गर्दै छन्, हाम्रा प्रधानमन्त्री केपी ओली ।

 

नेपालका दुबै छिमेकी भारत र चीनले आम मानिसले कल्पनै गर्न नसक्ने किसिमले विकासको फड्को मारिरहेका छन् । आर्थिक उन्नति गरेका छन् । भारत र चीन दुबैले विकासको फड्को यसरी मारेका छन् कि ती देशका नागरिकले आफ्नो मातृभूमिमा नै आफ्नो भविष्य उज्यालो छ भन्ने सन्देश विश्वभर प्रसार गरिरहेका छन् । दुबै मुलुक आर्थिक समृद्धिको अग्रपंक्तिमा उभिन लागेका छन् । उनीहरु संसारलाई बताउन चाहिरहेका छन्–हामी एशियाको समृद्धिका परिचय हौं ।

 

यस्तो समयमा नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमण भईरहेको छ । जसले नेपालमा अबको आधुनिक नेपाल “सुखी नेपाली, समृद्ध नेपाल”को महान अभियानको नेतृत्व गरिरहेका छन् । यो समृद्धि अभियानमा निकटका दुई छिमेकीसँग हातेमालो गर्न र सहयोग र सहकार्यको बाताबरण बनाउन भ्रमण उपयोगी हुने निश्चित छ । यो सम्बन्ध विस्तार, आपसी सद्भावमा अभिबृद्धि र निकट छिमेकसँगको सौहाद्रता अभिबृद्धि गर्ने एक ऐतिहासिक अबसर पनि हो ।

 

अबको कुटनीति धुत्र्याई, बठ्याई, आडम्बरबाट चल्दैन भन्ने कुरा ओलीले बताई पनि सकेका छन् । इमान्दारीपूर्वक आफ्ना विषय राख्ने, पारदर्शी किसिमले त्यसको व्यवस्थापन गर्ने र आपसी लाभमा लागि पर्ने नै हो । राष्ट्र र जनताको हितमा सम्बन्ध विस्तार गर्ने नै हो । त्यसैले यो भ्रमणको एजेण्डा नै “सम्बन्धको सुदृढिकरण, सौहाद्रताको अभिवृद्धि र नेपालको समृद्धिमा छिमेकीको सहयोग” भन्ने बन्नुपर्दछ ।

 

छिमेकको समृद्धि अनुभव

 

हाम्रा छिमेकीले समृद्धि हासिल गर्नमा चार वटा पक्षले काम गरेका छन् ।

पहिलोः भिजनरी अर्थात दुरदर्शी राजनीतिक नेतृत्व,

दोश्रोः आर्थिक सबलता,

तेश्रोः विज्ञान र प्रविधिको अधिकतम प्रयोग, र,

चौथोः निरन्तरको परिश्रमसहितको ‘डेलिभरी’ नै हो ।

 

यो कुरा हाम्रो नेतृत्वले बुझ्नु पर्छ । नेपालले दुई छिमेकीसँग अधिकतम लाभ लिने भनेको आर्थिक तथा प्राविधीक सहयोगबाट मात्र हो । भिजन हाम्रै हुनुपर्छ । हामीले हाम्रो भिजन प्रष्टसँग राख्नुपर्छ र सोही अनुरुपको ‘डेलिभरी’को सुनिश्चितता गर्नुपर्छ । तब मात्र भ्रमणबाट प्रचुर लाभ लिन सकिन्छ ।

 

सिकाई डेलिभरी, डेलिभरी र डेलिभरी

 

अहिलेको नेपालको अवस्था भनेको प्रत्येक दिन, प्रत्येक हप्ता, प्रत्येक महिनामा हुने गोष्ठी, छलफल, सेमिनार, चिया पसलदेखि भट्टिमा हुने तर्क, कुतर्क र बहसमा अल्मलिने समय होईन । यो समय भनेको ‘डेलिभरी’ दिने ‘टाइम’ नै हो ।

 

स्पष्ट कार्ययोजनासहित काम गर्ने समय हो । प्रधानमन्त्री र मन्त्री पनि यहि कुरा भनि रहेका छन् । यस्तो समयमा सबैको निधारवाट श्रमको पसिना तपतप चुहिनु पर्छ । प्रत्येक नेपालीको प्रतिभा र क्षमताको पुरापुर सदुपयोग हुने अबस्थामा मात्र समृद्धि सम्भब छ ।

 

हाम्रा छिमेकीहरुको मिहेनत संस्कृतिबाट मात्र समृद्धि सम्भब भएको हो । यो हामी सम्पुर्ण नेपालीले उनीहरुबाट सिक्नुपर्ने विषय यही नै हो । भ्रमणले त्यस किसिमको सिकाईसमेत मद्धत गर्ने छ ।

 

दुबै छिमेकीले यहि काम गरेका हुन र उनीहरुले समृद्धि हासिल गरि रहेका छन् । देशका मन्त्री सेलेव्रीटी होईनन् प्रधानमन्त्रीको टिमका व्यवस्थपक (म्यानेजर) मात्र हुन् । सबैलाई चेतना भया !

 

व्यवस्थापकबाट सर्भिस डेलिभरिको सुनिश्चितता गर्न नै प्रधानमन्त्री ओलीले आफ्नो टिममा मध्यपुस्ताका प्रतिनिधि समावेश गरेका हुन् । प्रधानमन्त्रीको विदेश भ्रमणको समयमा यो कुरा स्मरण गर्न सान्दर्भिक लागेर नै यहाँ समावेश गरिएको हो । किनकी भारतका मोदी र चीनका सि–जीन–फिन्ले लरतरो किसिमले आफ्नो देशमा समृद्धिको उभार ल्याउन सफल भएका होईनन् । त्यसैले नेपालको समृद्धिको सफलता र असफलताको श्रेय प्रधानमन्त्री ओलीकै हो । मन्त्री त सहयोगी टिम मात्रै हो र मन्त्री प्रधानमन्त्रीका मन्त्री नै हुन् । उनीहरुको काम समयमा ‘डेलिभरी’ गर्ने हो । ‘डेलिभरी’को सुनिश्चिता गर्ने हो । उनीहरुले ख्याल गरुन्–मात्र ‘डेलिभरी’ ।

 

छरितो टोली उल्लेख्य उपलब्धि

 

आफ्नो मन्त्रीमण्डलमा मध्यपुस्ताका प्रतिनिधिहरु समावेश गरेर प्रधानमन्त्रीले आफ्नो कार्यदिशा सबैका सामु प्रष्ट्याई सकेका छन् । यसले के कुराको संकेत गरेको छ भने प्रधानमन्त्री चुस्त र प्रभावकारी कार्यसम्पादनको पक्षमा छन् । साना मुलुकको प्रधानमन्त्री तगायत उच्चस्तरीय राजकीय भ्रमणको अध्ययन गर्र्दा के थाहा पाईन्छ भने “भ्रमण छरितो उल्लेख्य उपलब्धी” हुनुपर्छ । आधुनिक नेपालका प्रधानमन्त्री ओलीले पनि त्यहि किसिमको कार्यशैली अपनाएको छनक देखाएका छन्, काम हुन भने बाँकी छ ।

 

इन्ष्टीच्युसनल मेमोरी

 

 

अहिले हामी समृद्धी हासिल गर्दै गर्दाका छिमेकीको वीचमा छौं । हामीले उनीहरुबाट सिक्ने हो । छिमेकीको सिकोले पनि “देखासे गरिजा, आरिसे मरिजा” भने झै हुन्छ ।

 

हामीले छिमेकीसँग सिक्नुपर्ने अर्को पाटो यो पनि छ– प्रमको भ्रमण एजेण्डा तय गर्दा छिमेकीले देखाउने कौशलता उनीहरुको ‘ईन्ष्टिच्युसनल मेमोरी’को कारण राम्रो होमवर्क हुन सकेको हो र उनीहरुले झै हामीले पनि त्यसलाई अभ्यास गर्न नसक्दा एजेण्डा र प्रस्तुतिसमेतमा कमजोर अबस्था आउँदछन् ।

 

यो प्रक्रियागत विषय भएकोले प्रधानमन्त्रीको होइन, विभागीय मन्त्रीहरुको विशेष जिम्मेवारी हो । भ्रमणको एजेण्डा विकास र समृद्धिमा सहयोग हासिल गर्ने हुँदा हुदै पनि कहाँ ? केमा ? कसरी ? कस्तो ? सहयोग भन्ने कुरा नै हामीसँग पूर्व तयारी नहुने गरेको विगतको कटु अनुभव छ । त्यसैले अहिलेको भ्रमणमा त्यस्तो भूल नदोहोरियोस् भनि समयमा नै विभागीय मन्त्रीले विशेष सावधानी अपनाउनु पर्दछ । आवश्यक होमवर्क एकदमै जरुरी छ ।

 

व्युरोक्रेसी होईन, राजनीतिक नेतृत्वको सम्वाद

 

राजनीतिशास्त्रमा राज्यको चार दायित्व’bout उल्लेख छ । जसमा पहिलोः नागरिकको ‘माईग्रेशन’ नियन्त्रण गर्ने । दोश्रोः देशको सम्पुर्ण नीतिगत निर्णयहरु गर्ने । तेश्रोः नागरिकहरुको शान्ति सुरक्षा, सुख, शान्ति र हितका खातिर काम गर्ने । र, चौथोः ‘इमिग्रेशन’ नियन्त्रण गर्ने ।

 

यी कार्य गर्न आवश्यक सुरक्षाकर्मी तथा कर्मचारी व्यवस्था गरिएको हुन्छ । यो विषय किन यहाँ ल्याईएको हो भने हाम्रा प्रधानमन्त्रीले गर्ने भारत भ्रमणमा एजेण्डा प्रधानमन्त्री कै हुन्छ र भारतीय समकक्षी मोदीसँगको सम्वाद पनि प्रधानमन्त्रीले नै गर्ने हुँदा विशेष गरेर यो भ्रमणमा राजनीतिक नेतृत्व तहको मात्रै प्रभाव होस् भनि हाम्रो ‘व्युरोक्रेसी’ चनाखो हुनुपर्छ भन्ने हो ।

 

राजनीतिक नेतृत्वलाई पनि आफ्नो कुरा खुलस्त राखी भारतीय पक्षलाई आफ्नो विषयहरुमा राजी बनाउन सकियोस् भनि सम्वाद गर्न भनिएको हो । विभागीय मन्त्रालयबाट आउनुपर्ने विकासका परियोजना तथा आवश्यक विषयको सम्पूर्ण तयारी सम्बन्धित क्षेत्रको राजनीतिक नेतृत्वकै पहलकदमीमा हुनुपर्छ नत्र विषयवस्तु नै फितलो भई उपलब्धी नै नाराणहरि नहोला भन्न सकिदैन ।

 

राष्ट्रिय एजेण्डाको जीत

 

असल राजनीतिक विश्लेषकहरु भन्न थालेका छन्, आन्तरिक स्थायित्व तथा व्यवस्थापन र छिमेकीसँगको सौहाद्रताको सम्वन्ध नै साना राष्ट्रको समृद्धिको कडि हो । नेपालमा सर्बशक्तिमान पृथ्वीनारायण शाहले एकिकरण गरि नेपालको जग बसाए । राजा महेन्द्रले आफ्नो राजीखुसीमा केहि काम गर्न खोजे । वीपी कोईरालाले अबसर नै पाएनन् । मदन भण्डारीलाई अवसर नै जुरेन । संघीय गणतान्त्रिक देश नेपालमा अहिले केपी ओलीलाई भने ऐतिहासिक अवसर जुरेको छ ।

 

नेपालको समृद्धिको जग बसाल्ने र देशलाई अन्तर्राष्ट्रिय रुपमा विशिष्ट पहिचान दिलाउने । ओलीको राष्ट्रियताको एजेण्डाले नै हो गएको तीनवटै तहको निर्वाचनमा उनको पार्टीले जीत हासिल गरेको । उनी आफ्नो राष्ट्रियताको एजेण्डाले नै हुन् राजनेता भएका ।

 

त्यसैले ओलीको यो भारत भ्रमणबाट पनि नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिने र दुई पक्षीय सम्वध सुदिृढिकरणमा एक कदम अगाडि बढ्ने आशा गरिएको छ । त्यसैले यो अवसरको उपलब्धीको जस पनि राजनीतिक नेतृत्वको सफलतामा मापन हुनेछ ।

 

अर्को विषय सार्क

 

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष अहिले नेपाल रहेको छ । केहि हप्ता अगाडी पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणको सन्दर्भमा सार्कको प्रभावकारीता र सम्मेलनको समयसीमा भित्रै नियमितताको विषय उठेको छ ।

 

नेपाल अध्यक्षको हैसियतमा रहँदाको अबस्थामा प्रधानमन्त्री ओलीले सार्क सम्मेलनको नियमितता र यसको प्रभावकारीताका सम्बन्धमा सार्ककै एक प्रभावशाली सदस्य भारतका प्रधानमन्त्रीलाई कन्भिन्स गराउन सक्ने थप अबसर पनि यो भ्रमणले दिलाएको छ ।

 

स्टेट बैंकेटको जस्तै उपलब्धि

 

कुटनीतिमा एक कहावत छ– “दुई राष्ट्रका कार्यकारी प्रमुखको भ्रमणको आदान प्रदानमा आयोजना हुने दिवा तथा रात्रीभोजमा आ–आफ्नो देशको तर्फबाट ‘टोष्ट’ अफर गर्दा र त्यसको स्वीकार गर्दा उत्पन्न हुने सौम्यताले दिलाउने सन्तुष्टि र वातावरणको सौकातले मित्रताको गाँठोलाई कसिलो बनाई रहेको हुन्छ । एक आपसमा गरिएका वाचा कबोलहरु कार्यान्वयन गर्ने अभ्यास शुभारम्भ भै सकेको हुन्छ ।”

 

यो परम्पराले पनि दुई राष्ट्रवीचको सम्बन्धको समझदारी बढाउनमा मद्धत गरिरहेको हुन्छ । प्रधानमन्त्रीको भारत भ्रमणले त्यस्तै प्रभाव दिन सक्यो भने अन्तर्राष्ट्रिय जगतले जुन किसिमले नेपाल र भारतलाई गएको २०७२ बैशाख १२ को महाभुकम्प पश्चात जसरी हेरिरहेका छन् त्यसमा पनि सकारात्मक प्रभाव पर्ने निश्चित छ ।

 

यो भ्रमणमा भारतले विगतमा गरेका प्रतिवद्धताको समयसीमा भित्रै कार्यान्वयन गर्ने प्रतिवद्धतासहित कार्यन्वयन प्रारम्भ हुन सक्यो भने मात्र विगतका परियोजना होल्ड नभई त्यसको नतिजा र लाभको प्रभाव देखिने छ । भ्रमणको उपलब्धि पनि राजकीय भोजको टोष्ट जस्तै तरंग ल्याउने होस् । शुभकामना ।