प्रचण्डको चाहना बामदेव, बादललाई काखी च्याप्दै ओली

भागबण्डामा आफूले चाहेको अंश नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु एकतालाई पूर्णता दिन असफल हुँदै आएका छन् ।

अध्यक्षहरु केपीशर्मा ओली र पुष्पकमल दाहाल नै एकता टुंगोमा पुग्नबाट रोक्ने मुख्य पात्र रहेको बुझिएको छ । यी दुइजना अध्यक्षले पार्टी संगठनभित्र तुलनात्मक रुपमा बलियो पकड रहेका भनिएका एक/एकजना नेतालाई काखी च्यापेपछि एकता प्रक्रिया अवरुध्द भएको बताईएको छ ।

अध्यक्ष ओलीले तत्कालिन माओवादी केन्द्रका नेता राम बहादुर थापा ‘बादल’लाई पार्टीको संगठन विभाग प्रमुख बनाउन चाहेको नेकपाका एक नेताले बताएका छन् । त्यसैगरी अर्का अध्यक्ष दाहालले पनि तत्कालिन एमालेका नेता बामदेव गौतमलाई संगठन विभागको जिम्मेवादी दिन सक्दो प्रयाश गरिरहेका छन् । संगठन विभागको नेतृत्व आफ्नो मान्छेले पाएमा पार्टीको आन्तरिक राजनीतिमा आफ्नो पकड बलियो हुने लोभले ओली र दाहालवीच यसमा कडा प्रतिष्पर्धा भैरहेको बुझिएको छ ।

गत निर्वाचनपछि गौतम अध्यक्ष ओलीसँग रिसाएका छन् । प्रधानमन्त्रीको दावेदार मानिएका गौतमलाई अध्यक्ष ओलीकै इशारामा बर्दियामा निर्वाचन हराएर ठेगान लगाईएको गौतमको आरोप छ । त्यसपछि गौतम अर्का अध्यक्ष दाहालसँग नजिकिएका बताईन्छ ।

त्यसैगरी नेकपाको एकतापछि बनेको सरकारमा गृह जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका बादल अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग निकै नजिकिएको बताईन्छ । यिनै कारणले गर्दा ओली र दाहाल संगठन विभागमा आफ्नो विश्वासपात्रलाई स्थापित गरेर आगामी एकता महाधिवेशनमा पार्टीको नेतृत्वमा आउने सपना देखिरहेको जानकार सूत्रहरुले बताएका छन् ।

पार्टी एकतामा अरु सबै काम सम्पन्न भैसके पनि संगठन विभाग प्रमुख कसलाई बनाउने भन्ने मूल प्रश्नले नै बाँकी काम अड्किएको हो र यसले महाधिवेशन अघि पनि सरकारको नेतृत्वमा हुने भनिएको आलोपालो समेत प्रभावित हुने एक केन्द्रीय सदस्यले सरल पत्रिकासँग बताए ।

नेपाली राजनीतिक वृत्तमा तरंग ल्याउँदै ‘अपत्यारिलो’ एकता गरेको नेकपा मा नेतृत्व हत्याउने दाउपेच सतहमै छरपष्ट भएपछि सरकारमा समेत यसको प्रभाव पर्नसक्ने बताईएको छ ।

संसदीय चुनावको केहि अघि दुई अध्यक्ष राख्ने प्रणाली सहित एकता गरेर तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा ९एमाले० ले कम्युनिष्ट धुव्रिकरण गर्दै ठूलै जोखिम मोलेको विश्लेषण गरिएको थियो । त्यसपछि स्पष्ट बहुमत हासिल गरेको नेकपा अहिले अन्तर पार्टी राजनीतिले गल्दै गएको देखिन्छ ।

आलोपालो नेतृत्व गर्ने सहमति गरिएको ’bout पछिल्लो समय निकै चर्चा चलेपनि भित्रभित्रै शक्ति हत्याउने खेलमा दुबै अध्यक्षवीच तानातान चलिरहेको देखिएको छ ।

करिब एकवर्ष अघि पार्टीको एकता प्रक्रियालाई वर्षदिन भित्र टुंग्याउने घोषणा गरेका दुई अध्यक्षले पछिल्ला कार्यसमितिको बैठकबाट यसलाई निष्कर्ष दिन नसकेपछि पार्टीभित्रको शक्ति द्वन्द चर्किएको बताइन्छ ।

विशेषगरी संगठन प्रमुखको नियुक्ति, जिल्लाहरुको प्रमुख तथा उप प्रमुख छनौट, पोलिटब्यूरो गठन र पार्टी सदस्यहरुलाई कार्य विभाजनको विषयमा ठूलै मतान्तर रहेको खबर बाहिरिएको छ । यसरी पार्टी सदस्यलाई दिइने भूमिकामा ठूलो विवाद हुनुको पछाडि दुबै अध्यक्षको रणनीतिक चाल रहेको बुझिएको छ ।

त्यस्तै प्रचण्डलाई पार्टीभित्र कमजोर बनाउन ईश्वर पोखरेल लगायतका नेताहरु पनि लागिपरेको प्रष्टै देखिने गरेको छ । विभिन्न अन्तर्वार्ताहरुको क्रममा उनले प्रचण्डले नेकपाको नेतृत्व गर्ने सम्भावना नरहेको बताउँदै आएका छन् ।

ईश्वर पोखरेलका लाइनका नेता मानिने सूर्य थापाले फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले तत्कालिन माओवादीको हितमा मात्र काम गरेको तर नेकपाका सह अध्यक्ष जस्तो काम नगरेको आरोप पनि लगाएका छन् ।

शक्ति हत्याउँदै नेतृत्वमा हाली मुहाली गर्नको लागि ओलीले सत्य निरुपण तथा मेल मिलाप आयोग तथा बेपत्ता पारिएको व्यक्तिको छानविनको कामलाई थाँतीमा राखेको आरोप प्रचण्ड लाइनका नेताहरुले लगाउने गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा रहेका बेला आलोपालो प्रधानमन्त्री बन्ने सहमति रहेको भन्दै प्रचण्डले पनि आफ्नो लामो समय देखिको शक्ति हत्याउने दाउलाई सतहमै ल्याएको बुझिएको छ । पाँच बुँदे सहमति रहेको भन्दै उनले आफूले छिट्टै सरकारको नेतृत्व गर्ने बताएपछि नेकपाभित्र यसले ठूलै हलचल ल्याएको बताइन्छ ।

शनिबार युरोप भ्रमणमा गएका प्रधानमन्त्री ओली फर्केर नआउन्जेलसम्मको लागि एकता प्रक्रिया थाँतीमै रहने भएको छ । पछिल्लो दुईपटक प्रधानमन्त्री ओली विदेशमा रहँदा भेनेजुएला वक्तव्य र पाँच बुँदे वक्तव्यले राजनैतिक तरंग ल्याएका प्रचण्डले यसपाली कस्तो वक्तव्य जारी गर्ने हुन् नेकपाभित्रै चर्चा चलिरहेको स्रोतले बताएको छ ।
-सरल पत्रिका बाट