भीरको चिचिन्डो
पुलपुल्याएका सुगाले भने – छाडाहरु आफ्नो वुद्धिले चल्दैनन । कसैले दाम्लो फुकाएका डाम्नाहरुसङ्ग न हामी डराउछौ , न हाम्रा बा । तर केही सुगा बागी निस्के । उनीहरु यसरी फुरे- “घरको बाघ बाहिरको स्याल , तित्राको मुखै बैरी , भुस कुटेर चामलको आस , घिउ न तेल पका बूढी सेल , काम न साम डुव्न थाले घाम , एक पाइला अगाडि दुई पाइला पछाडि । लाटो खान्छ एक बल्ड्याङ्ग बाठो खान्छ बाह्र बल्ड्याङ्ग ।” खुव ताली बज्यो ।
-भागवत खनाल
सव्यबाराहीमा एउटा “सभ्य परिवार” वस्थ्यो । घरमा एकजना मूली बूढा , बूढाका पुराना मीत र सेवकहरु थिए । उनीहरु शिकारको बेला एक हुन्थे , अरु बखतमा कहिले मिल्थे , कहिले बक्र हुन्थे । तर बाहिरबाट हेर्दा मिलेजस्तो देखिन्थ्यो । पछि ठूलो शिकारको समयमा अर्का नया मीत पनि थपिए । सव्यबाराही परिवार चतुरो , धनी र बलियो थियो । शिकारमा भव्य सफलतापछि सवैले यो परिवारले पक्कै केही गर्छ भन्ने विश्वास गरेका थिए ।
घरबूढाका ठूलाठूला इच्छाहरु थिए । केही गरेर देखाउने जोस थियो । बूढा बोल्नमा पनि माहिर थिए । जे बोले पनि हसाउने । अलिपछि त बूढा बोल्नै नपर्ने , उनलाई देख्नासाथ मानिसहरु हाँस्न थाले । बूढा मक्ख पर्थे । सेवकहरु उनलाई “बा ” भन्थे ।
एकदिन बूढा “तल्लाघरे बडघर” छिमेकीको घरमा गए। छिमेकी झन “सभ्य” थिए , बोल्यो कि तारा झार्ने ! छिमेकीले कुकुर , बिरालो र सुगा पालेका रहेछन । कुकुरको काम थियो उनको रक्षा गर्ने , बिरालाको काम थियो कुरा काट्नेलाई चिथर्ने र सुगाको काम थियो घर धनीको प्रशंसा गर्ने र आलोचकलाई देख्नासाथ खिसी गर्ने । बूढालाई बडघरले कसिलो हात मिलाएर ढुक्क रहन आश्वासन दिएका थिए ।
बूढा त्यो परिवारको सभ्यता देखेर निकै प्रभावित भई घर फर्के । बूढाको सामुदायिक वनमा थुप्रै सुगा थिए । बूढाले केही सुगा समातेर पाल्न थाले । उनले सुगाहरुलाई चार वाक्य बोल्न सिकाएका थिए । ती थिए – हाम्रा बा वुद्धिमान , हाम्रा बा दाताराम , हाम्रा बाबा ठूला छन, हाम्रै बाबा विशाल ।
सुगाहरुले केही समय चार वाक्य बोलेरै बिताए । तर बूढाको घरको दानाले दिमाग पुष्ट भएछ । उनीहरुको वाकशक्तिमा वृद्धि भयो । एकदिन सुगाहरुले पत्रकार सम्मेलन गर्ने निधो गरे । सुगाहरु स्वीकृति माग्न बूढाकहाँ गए । बूढाले विचार गरे , यी त्यही चारवाक त हुन । “जोगीको घरमा हिप्पी पाहुना ।” यी खानाका काल “तोरी”हरुको पनि रहर पुगोस भनेर स्वीकृति दिए ।
“पट्टु पत्रकार सम्मेलन” सुरु भयो । सुगाहरुले बोल्न थाले , तर कसैले ताली बजाएन । पत्रकारहरुले उक्साए – “अलि चम्किनु पर्यो पट्टुजी , यस्ता घोकन्ते कुराले कहिँ ताली पाइन्छ ?” बूढाको घरका मीठा मीठा खुर्सानी खाएर मस्त भएका सुगाहरुलाई पत्रकारको कुरा सुन्दा रिस उठ्यो । रिसको झोकमा एउटा बाले साह्रै पुलपुल्याएका सुगाले भने – छाडाहरु आफ्नो वुद्धिले चल्दैनन । कसैले दाम्लो फुकाएका डाम्नाहरुसङ्ग न हामी डराउछौ , न हाम्रा बा । तर केही सुगा बागी निस्के । उनीहरु यसरी फुरे- “घरको बाघ बाहिरको स्याल , तित्राको मुखै बैरी , भुस कुटेर चामलको आस , घिउ न तेल पका बूढी सेल , काम न साम डुव्न थाले घाम , एक पाइला अगाडि दुई पाइला पछाडि । लाटो खान्छ एक बल्ड्याङ्ग बाठो खान्छ बाह्र बल्ड्याङ्ग ।” खुव ताली बज्यो ।
बूढाले सुगाहरु छाडा भएको र कुनैले त हेप्नैसम्म थालेको थाहा पाए । उनले मनमनै सोचे – हरिप देखि दैव डराउछ भन्थे , हो रहेछ । मितको चिलिम फर्काउँला भनेको त झन गलाउलान जस्तो पो गर्न थाले त । नारान्टारे हुस्सुले पनि मितको पैताला कन्याउन थालेछ । तल्लाघरे बडघरले झन के के बिताउने हो । केही गर्छु भन्ने अभिलाशा थियो , एक सुन्दर सपना ! तर मेरा आफ्ना भनेका पनि लफङ्गा निस्के । जेमा हात हाल्यो त्यही बिग्रन थाल्यो । बोल्यो कि पोल्यो हुन थाल्यो । यसरी भिरको चिचिन्डो बन्नुपर्ला भन्ने सोचिएको थिएन ।