पटुकामा बिँडीजस्ता नोट
आमाले एक साँझ भन्नुभो, मामाघर जानी हो भोलि ? दंग थिएँ म । २०४६ सालको त्यो दिन घर छाडेर मामाघर हिँडेका हामी त्यसपछि कहिल्यै घर फर्केनौं ।
पर्वत जिल्लाको दक्षिणी भेगको गाउँ होस्रांग्दीबाट टोड्केको उकालो काटेर भीरपानीको ओरालो झर्यौं । त्यो रिंगटा लाग्ने भीर काटेपछि अलि समथर गाउँ आउँछ, त्यसैको नाम हो बेउलीबास । आमा भने बेउलीबासबाट बेहुली भएर लेकको गाउँ होस्रांग्दी पुग्नुभएको थियो ।
कालीगण्डकीमा हेलिएका बाको लास पाइएको थिएन । शिक्षक श्रीमान् एक्कासि मरे । बा गाउँटोलमै असल, भेगमै असल हुनुहुन्थ्यो भन्छन् चिन्नेहरू । सदरमुकाम कुस्मा हिँडेका बालाई २०३९ साल असार ७ गतेको भेलले लग्यो । उहाँले आत्महत्या गर्नुभो । प्रजातान्त्रिक आान्दोलनले उग्ररूप लिँदै थियो । निकै मिल्ने साथीलाई कसैले पिटेर मार्यो । राति कालीगण्डकीमा फालिदिए रे ! अब तँलाई पनि मार्छन् भनेर कसैले सुनाइदिएछ । कुस्मा बजारमा कतै साथी भेटिएनन् सायद । फोन–मोबाइल हुने कुरा भएन । बा अरूले पिटेर मर्नभन्दा आफैं मर्छु भनेर हामफाल्नुभो भन्छन् देख्नेहरू । मनमा के थियो कसले जान्यो र ? मरे भनेका साथीलाई राति नै पोखरा लगेर बचाएछन् । उनी दुई हप्तापछि जिउँदै फर्के । बा फर्किनुभएन ।
बेहुली भएको डेढ वर्षमै विधवा हुनुभो आमा । बा असारमा बित्नुभो, म कात्तिकमा जन्में । बा मरेको ७ वर्ष त पुग्दै थियो । १७ वर्षमा विधवा अनि गर्भे टुहुराकी आमा, त्यसैमाथि असहयोगी परिवार । सहिनसक्नु भएहोला । टुहुरो भनेर होला घरमा आउने पाहुनले मलाई दुई–पाँच रुपैयाँ दिन्थे । आमाले दुई वर्षअघि काठमान्डुमा आफ्नी दिदीलाई भेट्न आउँदा माटाको खुत्रुकी लगिदिनुभएको थियो । त्यसैमा मैले पैसा जम्मा गर्थें । खुत्रुकी झराम्म फुटायौं हामीले । त्यही रकम बोकेर आमा र म बेउलीबास लाग्यौं, मामाघर ।
देश बलिरहेको थियो रे । २०४६ साल अन्तिम–अन्तिमतिरको समय थियो त्यो । प्रजातन्त्र ल्याउने भनेर देशैभरि नजाने कति मान्छेहरूले रातभरि रणनीति बनाउँदै थिए होलान् । हामी भने रातभरि काठमान्डु जाने तयारीमा रहेछौं । ‘उठ बाबु जानी बेला भो,’ आमाले झिसमिसेमै झक्झक्याउनुभयो ।‘कहाँ ?’ मैले सोधें ।
‘काठमान्डु,’ आमाले उत्तर फर्काउनुभयो । ‘घर नजानी अब काठमान्डु जानी ।’
कहाँ हो त्यो काठमान्डु मलाई थाहा थिएन । त्योभन्दा अघि गाडी चढेको पनि सम्झना छैन । सबेरै ढ्याउरी (मट्टीतेल हालेर बाल्ने बत्ती) को उज्यालोमा हजुरआमा यता र उता गर्दै हुनुहुन्थ्यो । म उठेँ । अँगेनामा पाकिरहेको घिउ हालेको भात (खाजा) को बास्ना मगमग आइरहेको थियो । हजुरआमाको अनुहार मलिन थियो । घरबाट आफ्ना लगाउने कपडाबाहेक केही बोकेका थिएनौं हामीले । अरू हाम्रो के नै पो थियो र । गोठका भैंसीबाख्रा बोकेर हिँड्ने कुरा भएन, आम्दानी केही थिएन ।
पेटभरि खाजा खायौं । जब हिँड्ने बेला भयो हजुरआमाका आँखाबाट एक्कासि आँसुका ढिक्का झरे । आमा पनि रुनुभो । मलाई थाहा भएन किन रुनुपरेको हो । मलाई कहाँ थाहा थियो र यो काठमान्डु सहरमा कति सकस हुन्छ बाँच्न भनेर । काठमान्डुमा आएपछि वर्षौं झरेका आफ्ना आँसुको अहिले हिसाबकिताब गर्न मन लाग्दैन । सोल्टिमोड, कालीमाटी र टंकेश्वरका होटलमा हजारौं थाल र गिलास माझेको हिजैजस्तो लाग्छ ।
केही वर्षपछि हजुरआमा हामीलाई भेट्न काठमान्डु आउनुभयो । यहाँ सुख थिएन उहाँले देख्नुभो । ‘मेरो बाबु, कुँडेभरि दूध हेर्दै तँलाई सम्झिन्छु । मोही पारेर घिउ निकाल्दा पनि अलिकति तँलाई दिन पाएहुन्थ्योजस्तो हुन्छ । तर तिमीहरू यहाँ छौ । क्यारम !’ हजुरआमाले हरेक भेटमा भन्ने गरेका वाक्य थिए ती । मान्छेहरू सधैं भन्थे टुहुराको दिन आउँछ । हामी त्यो दिन पर्खेर बसेका थियौं । ढिलोचाँडो हामीले जुठा, थाल गिलासबाट मुक्ति पायौं । सायद यही नै होला दिन आएको ।
मामा पल्टनिया लाहुरे । हरेक पटक छुट्टीमा आउँदा ढोगेर दिने रकम नै हजुरआमाको मुख्य आयस्रोत थियो । कान्छी छोरीलाई बज्रपात पर्यो । आँखा कहिल्यै ओभाना भएनन् । ‘के गरम् र छोरी तिमीलाई त्यस्तो पर्यो,’ भन्दै हजुरआमा कति रुनुभो, त्यसको हिसाबकिताब छैन । नीलो पटुकाभित्र बेरिएर बिँडीजस्ता भएका सय र ५ सयका केही आईसी नोट फुकाउँदै आमालाई दिनुभयो, ‘यही लिएर जाऊ छोरी अरू के भनम् र ! यो छोराको ख्याल राखे ।’ हजुरआमा झन् भक्कानिएर रुनुभो । हामी झोला बोकेर हिँड्यौं । हजुरआमा पछिपछि गोठ पल्तिरसम्म आउनुभो । आँसु निरन्तर झरेकै थियो । हामीले डाँडो काट्यौं ।
दिनभरि हिँडेपछि स्याङ्जाको वालिङ बजार पुगिन्थ्यो । त्यहाँबाट नाइटबस चढेर रातभरिमा काठमान्डु । अमेरिकाभन्दा पनि टाढा थियो काठमान्डु । अलि ढिलो भयो भने बस छुट्छ । एक रात वालिङमै काट्नुपर्छ । आफ्ना कोही छैनन्, होटलमा बसे पैसा लाग्छ । खुत्रुके र हजुरआमाका पटुकाबाट निस्केका केही रकमले काठमान्डु पुगेर मात्रै भएन, अरू केही समय पालिनु पनि त पर्थ्यो । बाएँ खोलो २२ पटक तरेर छेडुवा कुलो काट्ने बेला पारिपट्टि एउटा ट्यांकर देखियो । बुटवलबाट स्याङ्जा आउँदै गरेको । मैले सोधें, ‘के हो आमा ?’
आमाले उत्तर दिनुभो, ‘गाडी हो । त्यसैमा चढेर जानी हो काठमान्डु, चाँडै हिँड् ।’
अहो, गाडी त्यस्तो पो हुँदोरैछ । मेरो मानसपटलमा बसेको पहिलो गाडी त्यही ट्यांकर हो । अरू धेरै सम्झना छैन तर बिहानको झिसमिसेमा थानकोटबाट देखिएको झिलिमिली सहर आज पनि आँखामा झलझली आउँछ । घामको उज्यालो झरिनसकेको अनि रातको अँध्यारो फाटिनसकेको त्यो बिहान काठमान्डु बिस्तारै उठ्दै थियो । अँध्यारो गाउँबाट आएको मलाई अलिअलि बेलेका बत्ती पनि झिलिमिली हुने नै भए । हामी सोल्टीमोडमा झर्यौं । आमाका दिदीभिनाजुको होटलमा पस्यौं । धन्न कोही त थियो यो सहरमा । नभए कसरी पो आउँथ्यौं र ! संघर्ष गर्दै गरेका ठूलाबा ठूलीआमाले चरम अभावका बीच आफ्नै छोराजस्तै गरी मलाई सहयोग नगरेको भए हामी कहाँ बाँच्थ्यौं होला ? मैले स्कुल कसरी पढ्थें होला ?
काठमान्डु बलेको थियो । हरेक दिनजसो कर्फ्यु लाग्थ्यो । मानिसहरूले ठाउँठाउँमा आगो लगाउँथे । सोल्टीमोडमा रहेको प्रहरी चौकीमा गोली हाने रे भन्थे । आवाज हामीले पनि सुनेको हो । को हो मर्यो रे भन्थे । स्कुल पुग्दा नपुग्दै कर्फ्यु लाग्ने घोषणा हुन्थ्यो । हतारहतार आमा लिन आउनुहुन्थ्यो । कहिलेकाही घण्टौं स्कुलमा थुनिनु पनि पर्थ्यो । हजुरआमाको मन झन्झन् पोल्थ्यो होला । अहिलेजस्तो फोन थिएन । इन्टरनेटको कुरै भएन । भएकै भए पनि हामीसँग पैसा पनि त थिएन । आज इन्टरनेट भए पनि पैसा नहुनेहरूका लागि त वाईफाई टाढैको कुरा हो नी ।
देशमा प्रजातन्त्र आयो । खुसियाली छायो । तर हाम्रा सुख दिन आएनन् । किराना पसल चलेन । चिया होटल पनि चलाउन सकिएन । आमाले एक दिन भन्नुभो— म अब विदेश जान्छु, बाबु । २०५२ सालतिरको कुरा हो । त्यही खुसी ल्याएको प्रजातन्त्रले केही गरेन भनेर माओवादीहरूले त्योभन्दा धेरै खुसी ल्याउने संघर्षको तयारी गर्दै रहेछन् । म त्यति बुझ्दैनथें । हामी भने बाँच्नेमै संघर्षरत थियौं । ‘मेरी साथी कुबेतमा छन्, राम्रो जागिर पाइन्छ अरे, म दुई वर्षमा फर्कन्छु, पैसा कमाएर आएपछि सजिलो होला नि,’ भनेर आमा कुबेत जानुभो । मैले एयरपोर्टमा जहाज चढ्नेका आफन्तहरूले हेर्न पाउने छतमा बसेर आमा चढेको जहाज नउडेसम्म हेरिरहें । त्यो पूर्व गयो कि पश्चिम मैले थाहा पाइनँ । जहाज उड्यो । आकाशमा हरायो । म भक्कानिएर रोएँ । अब मेरो कोही छैन । भएकी तिनै एउटी आमा थिइन् भन्दै मेरो मन कति रोयो मलाई मात्रै थाहा छ । ठूलाबाले भन्नुभो, ‘चिन्ता नगर बाबु, हामी छम् ।’ उहाँहरूसँगै बसेर मैले ३ वर्ष बिताएँ ।
हरेक वर्ष जाडो बिदामा म पर्वत जान्थें तर एकतर्फी बाटो खर्च लिएर । फर्कने बेला कसैले मलाई बस चढ्ने भाडा छ कि छैन भनेर सोध्दैनथ्यो । पढे–लेखेका काका, ठूलाबाहरू थिए । सबै स्कुले मास्टर थिए । तर पढेर मात्रै मान्छे ज्ञानी हुने कहाँ हो रैछ र ! अक्षर पढ्न जान्नेहरू शिक्षित मात्रै हुँदारहेछन् । ती मान्छे पो ज्ञानी हुने जसले अक्षरले बनेका शब्दको अर्थ बुझ्छन् । वाक्यका भाव बुझ्छन् र जीवनमा त्यसैलाई प्रयोग गर्छन् । दयामाया देखाउँछन् । मेरा बाहरू अक्षर पढ्न जानेका तर बुझ्न नजानेका शिक्षित मात्र थिए । कहिल्यै मेरो एक महिनाको स्कुल फिस तिरिदिन दया जागेन । परका भए पनि, नपढेका भए पनि आमाका भिनाजुले मलाई कहिल्यै अर्को भन्नुभएन । असल हुन पढ्नैपर्ने होइन रैछ ! पढेर ज्ञानी भइँदो रैनछ भनेर त्यसै बेलादेखि थाहा पाएको हुँ ।
हरेक छुट्टीमा साथीभाइसँग खेल्न पाउने भएकाले म मामाघर एक रात बसेर लेकतिर लागिहाल्थें । उस्तै उमेरका दाइभाइ थिए । खेल्न रमाइलो हुन्थ्यो । आज एक दिन त बस् न बाबुभन्दा पनि पनि नाइनास्ती गरेर फर्किंदा बस्छु है हजुरआमा भन्थें । अहिले थकथक लाग्छ । बेउलीबासको गाउँ मास्तिर घोप्टे भीरपानीको भीर नकटाई हजुरआमाको मन शान्त हुँदैनथ्यो । दम बढे पनि हजुरआमा सँगै आउनुहुन्थ्यो । पहिलो चौपारीबाट भीर नकाटेसम्मको दृश्य देखिन्थ्यो, त्यसैले हजुरआमा चौपारीमा बसेर हेर्नुहुन्थ्यो र म भीर काटेर डाँडामा पुगेपछि ‘हजुरआमा पुगें है जानुस्’ भनेर चिच्याउँथे । डाँडै थर्किन्थ्यो । हजुरआमा रुँदै झर्नुहुन्थ्यो ।
हरेक वर्ष काठमान्डु फर्किने बेला हजुरआमाले आफ्नो पटुकाभित्रबाट केही आईसी नोट निकाल्नुहुन्थ्यो । त्यो नै मेरो काठमान्डु फर्कने बाटो खर्च हुन्थ्यो । सधैं रेडियो नेपालमा बालक हराएको सूचना आउँथ्यो । ‘सधैं कान ठाडो पारेर रेडियोमा केटाकेटी हराए भन्ने सम्चार सुन्छु । तँ हो कि भनेर कति चिन्ता लाउँछ । जहाँ पायो त्यहीं नगए है बाबु,’ हजुरआमाले सधैं भन्नुहुन्थ्यो । काठमान्डुमा हजुरआमा पो हराउनुहुन्थ्यो, म त जान्ने भइसकेको थिएँ । गल्लीगल्ली चहार्न सक्ने भइसकेको थिएँ । पछि त्यही रेडियोमा मेरो आवाज बज्न थाल्यो । रेडियोमा जागिरे भएँ म । ‘अचाल त तँ बोलेको सुन्छु रेडियामा,’ हजुरआमाले एक पटक हाँस्दै भनेको पनि एक दशक कट्यो ।
म संसार चहार्न हिँडें । अवसर खोज्न हिँडें । घरजम गर्नतिर लागें । तर हजुरआमाले बिस्तारै बिर्सन थाल्नुभो । उमेर बढ्दै जाँदा बिर्सने रोग लाग्यो । केही वर्षअघि मामा मधेस झर्नुभो, हजुरआमालाई पनि बोकेर । रोगले च्याप्दै लग्यो तर प्राण गएन । केही महिनाअघि तीन वर्षकी छोरीलाई बोकेर हामी भेट्न गएका थियौं । तर न मलाई चिन्नुभो न त छोरीलाई । एक मन त लाग्यो अब देहत्याग गरे पनि हुने । बिर्सने, केही नखाइदिने, दिसापिसाब ओछ्यानमै । ९ दशक काट्नै लागेको बूढो शरीर, आफैंलाई बोझ भएजस्तो । अघिल्लो हप्ता मामाले फोन गर्नुभो आमालाई अब पठाउनुस् भान्जा । आमा हानिएर जानुभो । आमालाई नै पर्खेजसरी भेटेको केही घण्टामै त्यसै रात हजुरआमाले देहत्याग गर्नुभो । अन्ततः ४ वर्षको खाटको बसाइको अन्त भयो । नारायणीमा बिलाउनुभो हजुरआमा ।
त्यो रात, धन्न हामी काठमान्डु आयौं । नभए आज म के हुँदो हुँ ? संसार कहाँ देख्दो हुँ ? ती केही आईसी नोटले हामीलाई संसार देखाए । त्यसैको आँटले हामीलाई बस चढायो । यो पापी खाल्टोमा कहिले भोकै पेट त कहिले आधा पेट । कहिले किराना पसल त कहिले चिया दोकान । कहिले तरकारी पसल त कहिले भात होटल गर्दै वर्षौं बिते । हजुरआमा, म आफैं भीर काट्न सक्ने भएको छु । आफैंले कमाएर खान सक्ने भएको छु । बिहे गरेर छोरी पाल्न सक्ने भइसकेको छु । त्यो पटुकाको आईसी नोट नभए पनि बस चढ्न सक्ने भएको छु । जाने त सबै उतै हो तर तपाईंका सम्झनाले सताइरहेनछन् । धन्यवाद, हजुरआमा । तपाईंको स्वर्गमा बास होस् ।
-रमेश भुसाल ,कान्तिपुर कोसेली बाट