खाँचो
ध्रुव मधिकर्मी
पुनमायालाई एकाएक संसारै अँध्यारो भएजस्तो भयो । कति माया गरेर हुर्काएको छोरो । जे काम अ¥हाए पनि हस् भनेर काम गर्ने छोरो । उसको त संसारै डुबेजस्तो भयो । पुनमाया छाती नै फुट्ला जस्तो गरी रोएकी थिई । उसले आफूलाई थाम्नै सकेन । उसले जे भने पनि मान्ने, घर र खेतको सबै काम गर्ने त्यस्तो ज्ञानी छोरो बितेपछि कुन चाहिँ आमाको छाती नफुट्ला ! असारमा आकाश रोए झैं कति दिनसम्म पुनमायाको आँखा आँसुले भिजिरह्यो ।
छोरोलाई बाउ बिसलालले दागबत्ती दिएको थियो । जुन छोरोले दागबत्ती दिएर स्वर्गमा जानुपर्ने हो त्यही बाउले नै छोरोलाई दागबत्ती दिनुपर्दा के भयो होला ! बिसलालले आफूलाई थाम्नै सकेन ।
दागबत्ती दिने बेलामा कुनै बालक झैं बिसलाल क्वाँ क्वाँ रुन थाल्यो । कति बेरसम्म त बिसलालले दागबत्ती दिनै सकेन । आफ्नो प्यारो खेलौना गुम्दा कुनै बालक लडीबुडी गरेर रोए झैं बिसलालपनि त्यसैगरी रुन थाल्यो । अघिपछि उसलाई त्यतिविघ्न छोरोको चिन्ता वा वास्ता हुन्नथ्यो तर मृत्युपछि भने उसलाई छोरोको अगाध माया लाग्यो । दुईचार जना गुठीयारहरुले समातेर बल्लतल्ल दागबत्ती दिन लगाएका थिए ।
आजसम्म पनि कुरैकुरामा छिमेककाले त्यो ह्रदयविदारक दृश्य पुनमायालाई सुनाउँछन् । छोरो मरेको दुई महिना नबित्दै आज फेरि पुनमायाले यो के सुन्नुपरेको । हेर कत्रो आपत ! यता छोरो मरेको पीर कम भएको छैन, आँखा अझै ओभाएको छैन । उता बुहारीले अर्कै नाठो खेलाइसकिछ । इज्जतलाई माटोमा मिलाइदिइछ । जोरीपारीले के भन्ला ! अब कसरी मुख देखाउने होला ! लोग्ने मरेपछि बुहारी दिनभरि दिनभरिजसो रोएर बसिरहन्थी । बिचरीलाई ठूलै चोट परेको हो । दुःखको पहाडैले थिचिए जस्तो । कोठामा बसेर रोइरहन्थी । न राम्रेसँग खान्थी न काममै ध्यान दिन्थी । उसलाई आफ्नो जीउको लुगाफाटोको समेत होस हुन्नथ्यो ।
कोठोमा बसेर झोक्य्राइरहन्थी । हुन पनि खाउँखाउँ र लाउँलाउँको बैंस थियो विचरीको । पीर नपरोस पनि किन ? उमेरमै लोग्ने मर्नु भनेको सानोतिनो दुःख कहाँ हो र ! यो त भएन भन्दै पुनमायाले बुहारीलाई दुईचार दिन माइत बस्न पठाएकी थिई । माइतमा आमाबाबु दाजुभाइसित बस्दा अलिकति भए पनि दुःख बिसर्ला भनेर । माइतीमा बस्दा अलिकति भए पनि मन बहलाओस् भनेर । दुईचार दिन माइत बस्दा नियास्रो पनि मेटिन्छ । यस्तै सोचेर बुहारीलाई केही दिन माइत बसेर आइज भनेर पठाएकी थिई । तर हेर, बुहारीले यस्तो के बिजोग गरेकी !
बुहारी पोइल गएको कुरा उसलाई छिमेकको सुकचाकी स्वास्नीले सुनाएकी थिई ।
पुनमाय् तजू तिम्रो बुहारी त अर्को पोइ खोजेर गइछ नि , सुकुचाकी स्वास्नीले सबैको अगाडि बाटै
छेकेर सुनाएकी थिई ।
कस्तो लाजैमर्नु ! सुनेर पुनमाया एकछिन त अक्क न बक्क भई । बुढेसकालमा के सुन्नु परेको यो
कानले । लोग्ने मरेको कति नै दिन भयो र ! लत्याः सिध्याएर मन हल्का पार्न माइती गएकी बेश्ये
उतैबाट पोइल पो गइछ । कही नभाको नकच्चरी । दुईचार महिना पनि आफूलाई थाम्न नसक्ने कस्तो
मुतुनो त्यस्को ! लाजशरम पचेकी नकचरी ! सुरुमा उसले बुहारीलाई सरापेकी थिई । बेश्ये ! कसैको
नभाको तेरै मात्र भाको ! दालभात हो र बिहानबेलुका खाए झैं छिनछिनमा चाटिरहनलाई ! लोग्ने
मरेको महिनादिन भाछैन तँलाई पोइको कति हत्तारो भएको ! कम्तीमा दकिला, नभए खुला सक्याएर
गएकी भए तँलाई कसले के भन्थ्यो र ? तँलाई चाहिने नै भए दस जनासंगै हिंडोस् न कसले रोक्छ र
! हेर, त्यस्तो दस वर्षको बालकलाई अलपत्र पारेर ! हरे शिव ! शिव !
बिसलाल पनि अँध्यारो मुख लाएर घर पस्यो । उसले पनि बाहिर सुनेर आएछ क्यारे बुहारीको कर्तूत ।
घर पस्नासाथ अनाहकमा रिसाउन थालिहाल्यो । आउनासाथ स्वास्नीलाई रक्सी ले भनेर अह्रायो । पुनमायाले ख्वलाचामा ह्याउँथों हालिदिई । दुईचार ख्वला तन्काएपछि सुर चढिहाल्यो । अनि त त्यतिकै सामान्य निहुँमा कराउन थालिहाल्यो । यस्ता उस्ता भनेर सम्धी खलकको समेत खोइरो खन्न थालिहाल्यो । मैले भनेको थिइनँ र त्यस्ताकी छोरीलाई बुहारी बनाएर नल्याउँ, हामीलाई जात मिल्दैन भनेकै थिएँ
नि ! नाकमा फोहोर दलेर गई होइन !
के थाहा त त्यसो गर्ली भनेर !
म भोलि नै गएर हामीले बिहेमा दिएको सिक्री, औंठी र ढुङ्ग्री सबै फर्काएर ल्याउँछु
।, बिसलाल जंगिंदै थियो । छोरो मरेपछि त्यसै त एक्ली झैं भएकी पुनमायालाई अर्को
चोट प¥यो बुहारी पोइल हिंडी भनेपछि । उसको त अर्को हात पनि काटिए जस्तो भयो । घरखेतको काममाउसलाई सघाउने बुहारी त छे भन्ने थियो । अब त्यो भर पनि रहेन । छोरीले आएर सघाइदेली भन्ने
त्यति आश पनि छैन । कहिलेकाहीं त आउँछे । तर माइत बस्न पाउँदिन लोग्ने रिसाउँछ भन्दै साँझ
पर्नु अगावै फर्कन्छे । फुर्सदले कहाँ बस्न पाउनु ! बिचरीको घर टाढा भएकीले माइत आउन पनि
साइत जुर्नुपर्छ । सासुससुरा देवर जेठाजु भएको घरमा परिछ छोरी । घरधन्दामै दिन बित्छ । कसरी बुढी आमाभनेर माइती आइरहन सक्नु ? तैपनि आमा भनेर नखःचख(जात्रापर्व) को बेलामा भने मुख देखाउन आउँछे।
कराउँदा कराउँदै लोग्ने घुर्रर ….घुर्रर गरी निदाउन थाल्यो । तर पुनमाया त निदाउन
पनि सकिन । अनेक किसिमका भावनाहरु मथिङ्गलमा आउन थाल्यो । अचानक उसलाई बुहारीलाई परेको जस्तोदुःख आफ्नी एक्ली छोरीलाई परेको भए के होला भन्ने सोचले सतायो ।
धेरै वेरसम्म सोचिरही ।
पछि पुनमायालाई बेकारमा बुहारीलाई सरापेछु जस्तो लाग्यो । बैंशले कहाँ पर्खेर बस्छ ?
उमेर भएको बेला नखोजे कहिले खोज्ने ? तिर्खा लागेको बेला पिउन नपाएको पानी के काम ? मरेको
पोइ त अब फर्केर आउँदैन क्यारे । फेरि बूढी भएपछि कसले लान्छ ? त्यसैले बुहारीले जे गरी
ठीकै गरी जस्तो लाग्यो पुनमायालाई । भरिलो जोबनमा लोग्ने बितेपछि बुहारीले पनि के गरोस् !
पुनमायाले बुहारी पोइल गएकीमा ठीकै ठानी ।
तैंले ठीक गरिस् बुहारी, मर्ने त मरिहाल्यो । मर्नेको नाउँमा तँ कति रोएर बस्छेस् ।
नातिलाई उसको आमाको भन्दा तँलाई पोइको खाँचो ज्यादा छ, बुहारी ।