नयाँ मान्छे


ध्रुव मधिकर्मी
ऊ झसङ्ग भएर बिउँझ्यो ।
ऊ सरासर शिवसुन्दर दाइको घरतर्फ लाग्यो । धेरै दिन भयो उसले शिवसुन्दर दाइलाई एकान्तमा भेट्न खोजिरहेको । कामै त्यस्तो ।शिवसुन्दर दाइ अचेल सत्तासीन पार्टीको जिल्ला स्तरको नेता । जिल्लाकै नेता भए पनि उसको हैसियत राष्ट्रिय स्तरको नेता भन्दा कम छैन । देशमा प्रजातन्त्र ल्याउन धेरै पटक जेलजीवन बिताइसकेका । अरुका लागि शिवसुन्दर नेताजी भएपनि उसको निति त नेता भन्दा शिवसुन्दर दाइ हो । उससित सारै नजिकको सम्बन्ध छ । शिवसुन्दरसित उसको सम्पर्क अहिलेको मात्र होइन । देशमा प्रजातन्त्र आउनुभन्दा धेरै वर्षअघिदेखिको हो । एउटै टोलका नभए पनि बसाइ त्यति टाढा होइन । पहिला त बिहान बेलुका प्राय संधैजसो संगसंगै हुन्थ्यो । माकचाको चियापसलमा घण्टौ लगाएर चिया पिइरहन्थ्यो ।
देशमा प्रजातन्त्र आएपछि भने शिवसुन्दर दाइ त एक्कासि व्यस्त हुन थालिहाले । अचेल पनि उनी बिहानपख एकछिन भए पनि माकचाको चियापसलमा पस्छन् । तर अब उनलाई घेर्नेहरु निकै भइसके । घरमै भेट्न आउनेहरु टन्न हुन्छन् । पहिला उनीसित विभिन्न देशको प्रजातन्त्र राष्ट्रिय स्तरका नेता’bout, पार्टीका नेताहरुको विषयमा कुराकानी हुन्थ्यो । उनको निर्देशनमा प्रहरी प्रशासनको आँखा छलेर पोष्टर टाँस्ने, कहिलेकाही त पर्चा छर्ने काम गरिन्थ्यो । शिवसुन्र दाइले निर्देशन दिन्थे अनि उनीहरु केही साथी दत्तात्रयदेखि वंशगोपालसम्म टोलटोलमा पर्चा छर्ने, पोष्टर टाँस्ने काम गर्थे । त्यस बेला केही हुनासाथ उनलाई सिडियोले बोलाउन पठाइहाल्थे । आजभोलि भने सिडियोले बडो आदर गरेर फोन गर्छन् या आफै दौडेर भेट्न आउँछन् । हिजो उसलाई पक्रन आउने पुलिसले त देख्नासाथ सलाम गर्छ ।
ऊ शिवसुन्दर दाइको घरमा पुग्यो । मूलढोका अझै खुलेको छैन । उसले ढोका ढकढक्यायो । तल को भन्दै कोही भ¥याङ आर्लेको आवाज सुनियो । बाटोमा मान्छेहरु हिंड्न थालेको देखियो । तीमध्ये चिनेका एकदुई जनाले उससित बोलेर गयो । केही बेरपछि ढोका खुल्यो । ढोका खोल्न आउने शिवसुन्दर दाइकी जहान रहिछन् ।
ओहो भाउजू, खोइ दाइ उठ्नुभएको छैन ?
छैन, आउनुस् माथि ।
बाटो छोडिदिएपछि ऊ माथि गयो । सरासर कोठमा पस्यो नबोलाईकन । उसलाई यस घरमा पस्न कसैलाई बोलाइरहनु पर्दैन । संधै आइरहने घर हो । यता आएर मात्र अलिकति आवतजावत कम भएको हो । शिवसुन्दर दाइकी जहान छोराछोरी अनि भाइबहिनी सबैसित उसको राम्रै बोलचाल छ । कोहीसित कुरा गर्न कुनै किसिमको अप्ठेरो मान्नु पर्दैन ।
ऊ कोठामा पस्यो । बस्यो । शिवसुन्दर दाइ टाउको कन्याउँदै बिउँझ्यो । ओछ्यानमै बसेर आधा जीउ तन्कायो । खाटबाट ओर्लेपछि सोध्यो – आइपुग्यौ ?
आएँ ।
कति छिटो उठ्न सकेको तिमी हँ ?
दाइलाई आज त नभेटी भएन भनेर छिट्टै उठेर आएको । शिवसुन्दर दाइ, आज त नगइ भएन । नत्र हाम्रो मौका अरुले फुत्काइदेला ।
शिवसुन्दर दाइ रुमाल लिएर कोठाबाट बाहिर निस्के ।
धेरै दिन भयो उसले शिवसुन्दर दाइलाई भेट्न आइरहेको । उनीमार्फत मन्त्रीलाई भनाएर एउटा काम गराउनु छ । शिवसुन्दर दाइकै समकालीन हो मन्त्री, पहिला कलेजमा पढ्दा विद्यार्थी युनियनमा सँंगसंगै काम गरेका मिल्ने साथी पनि । त्यति मात्र होइन जेलमै पनि तीनचार वर्ष संगै बसिसकेका । शिवसुन्दर दाइले एकचोटि भेटेर भन्ने हो भने काम नहुने कुरै छैन । त्यति ग्यारेण्टी छ । त्यही भएर ऊ शिवसुन्दर दाइलाई भेट्न तारन्तार आइरहेको हो । प्रजातन्त्र नआउँदासम्म दिनरात घण्टौ भेटिरहने मान्छेलाई अहिले भेट्न प्रलय । शिवसुन्दर दाइले काम हुन्छ भेटेर भनिदिउँला भनेका पनि थिए । तर कहिले उसकै समय नमिल्ने, किहिले शिवसुन्दर दाइले बिर्सने कहिले त मन्त्री नै जिल्लामा गएको बेला पर्ने ।
शिवसुन्दर दाइलाई कति दिनसम्म त उसैले भेट्न पाएन । कहिले सिडियोले बोलाउन पठाएको छ भनेर भेट्न गएको बेला पर्ने, कहिले मन्त्रीसित मिटिङ्गमा गएको हुन्छ त कहिले जिल्लाको समस्यालाई लिएर प्रधानमन्त्रीकहाँ डेलिगेशन गएको बेला पर्ने । उसलाई त शिवसुन्दर दाइ नभएर अरु नै कोही अपरिचित व्यक्तिलाई भेट्न आइरहेजस्तो अनुभूति हुन थालिसक्यो ।
तै आज बल्ल ठाउँमै भेट भयो र काम हुने पक्का भयो ।
यसै बेला कोठाको फोनमा घण्टी आयो । दुईतीन पटकसम्म रिङ्ग बज्दा पनि कोठामा कोही नपसेको हुनाले उसले रिसिवर उठाएर भन्यो – हेलो ?
उताबाट आवाज आयो – नेताजीलाई पाऊँ न ।
उसले बोलायो । दाँत माझ्दै शिवसुन्दर दाइले फोन उठायो ।
फोन राखेको लगत्तै पछि अर्को फोन आयो । एउटा फोन राख्न पाएको होइन अर्को फोन आइहाल्ने । बल्लतल्ल फोनबाट निवृत्त भइ दाँत माझ्दै मुख धुन गए ।
शिवसुन्दरजी, शिवसुन्दर दाइ र नेताजी भनेर सम्बोधन गर्दै पालैपालो केही व्यक्तिहरु कोठामा पस्न थाले । उनीहरुलाई देखेर उसलाई उकुसमुकुस र चिन्ता लाग्न थाल्यो । कतै आज पनि यिनीहरुका कारण ढिलाइ भएर काम नहुने त होइन । मन्त्रीकहाँ जान ढिला पो हुने हो कि ? यहीँ यतिका मान्छेहरु भेट्न आउँछन् । मन्त्री कहाँ झन कति आउने होलान् ! धेरै मान्छे भएको बेला कुरा गर्न पनि अप्ठेरो हुन्छ ।
रुमालले मुख पुछ्दै शिवसुन्दर दाइ कोठामा पसे । कसैले नमस्ते ग¥यो , कसैले उठेर हात मिलायो कसैले जयनेपाल दाइ भने । उनीहरुले आआफ्नो कुरा राखे । खोइ तपाईले भनिसकें भन्नुभए पनि इन्सपेक्टरले कामै गरिदिएनन् । तपाईँले नै गएर सिडियोलाई नभनी काम होला जस्तो लागेन .. ।
शिवसुन्दर दाइले उनीहरुको कुराको जवाफ दिइरहे । आफूले राम्रैसंग भनिदिएको हो । के गर्ने अचेल भन्नासाथ काम गर्न गाहारो मान्छन् । म आज फेरि पार्टीअफिसमा गएर भनिदिउँला । उनीहरुको कुरागराइले उसलाई आफ्नो काम नहोला कि भनेर छटपटी हुन थाल्यो ।
उसले पनि अगाडि बढेर भन्यो, शिवसुन्दर दाइ, आज त बेलैमा पुग्नुपर्ला कि ।
हुन्छ, शिवसुन्दर दाइले भने ।
यसै बेला तल कसैको गाडीको हर्न बजेको र घ्याच्च गरेर रोकिएको आवाज सुनियो । लगत्तै भ¥याङमा टकटक आवाज आउने गरी कोही आयो । कोठाको ढोकामा एकजना सुटेडबुटेड व्यक्ति देखियो । आगन्तुकलाई देख्नासाथ त्यसले बोल्नुभन्दा पहिले शिवसुन्दर दाइले भने, ओहो, आइपुग्नुभयो । एकछिन है, म लुगा लगाइहाल्छु ।
लुगा लगाएर कोठामा आएर शिवसुन्दर दाइले भने, तपार्इँहरु भोलि आउनुस् है, आज म उहाँसित एउटा अप्वाइन्टमेन्टमा नगई नहुने छ । चिया आउन लाग्यो, चिया खाएर मात्र जानुहोला है ।
यति भन्दै शिवसुन्दर दाइ त्यस सुटेडबुटेड आगन्तुकसित गाडीमा बसेर सररर गइहाले ।