प्रचण्डको अर्को फण्डा…

काठमाडौं । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल राजनीतिमा तरंग ल्याउन खप्पिस मानिन्छन् । राजनीतिको मूल प्रवाहबाट आफू कुनै पनि अवस्थामा ओझेल नपरौं भन्ने खुबै हेक्का रहन्छ दाहाललाई । त्यसैले उनी समय समयमा विवादबाट आफूलाई बाहिर निकाल्न बिषयान्तर गर्नुपरेमा वा राजनीतिको शान्त तलाउ देखेर मन बिचलित हुनपुगेमा बाँकी मानिसको ध्यान खिच्ने हरदम प्रयत्न गरिरहन्छन् । यो उनको राजनीतिक सोख भनिन्छ । चञ्चलचित्त प्रचण्डबाट केही न केही नयाँ चर्चाको आशा गरिरहने बानी समेत परिसकेको छ नेपाली समाजलाई पनि ।

दाहालको इतिहासको एकदुइ पाना मात्र पल्टाउने हो भने पनि यस्ता कैयौं उदाहरण पढ्न सकिने छ । 

राजा महाराजको चर्चा

आफूलाई पुष्पकमल भन्दा पनि प्रचण्ड भनिदिँदा बढी पुलकित हुन्छन् रे दाहाल । प्रचण्ड भर्खरै मध्य एशियाली मुलुक युनाईटेड अरब इमिरेट्स अर्थात् युएईबाट फर्किएका छन् । कुनै एजेण्डा नखुलिसकेको उनको भ्रमण दलमा दाहाल परिवार बाहेक अरु कोही पनि देखिएन । भन्नेहरुले दाहाल परिवारको भ्रमणलाई आफ्ना मनमा उब्जिएका तर्कना अनुसारको अर्थ लगाएर अनेकथोक भने खासगरी सामाजिक सञ्जालमा । तर सत्य जे हो,त्यो त प्रचण्ड र परिवार बाहेक अरुलाई थाहा हुने कुरै भएन ।

प्रचण्डको तरंगमा रमाउने प्रसंग जो छ यहाँ । उनले युएईबाट स्वदेश फर्कनासाथ सदा झैं विमानस्थलमा पत्रकार सम्मेलन त गरेनन् । किन हो कारण उनैलाई थाहा होला । तर आईतबार पूर्वको जिल्ला रामेछाप पुगेर प्रचण्डले राजधानीमा कतै चर्चा पनि नभएको बिषयलाई केन्द्रमा राखेर निकै आक्रोश पोखे ।

सरकार फेर्ने भन्दा पनि  व्यवस्था नै फेर्ने षड्यन्त्र भैरहेको नयाँ बिषयमा बोलेर प्रचण्डले कथित षड्यन्त्रकारीको भण्डाफोर पनि गरिछोडे  प्रचण्डको जोडदार भनाई थियो– ‘राजा महाराजाको गुलामी गर्ने दलालहरुले अहिले सरकार हैन सिस्टम नै फेर्नु पर्छ भनेर जनता माझ गलत कुराको प्रचार गर्दै हिँड्न थालेका छन् ।’ तर कसले कहाँ यस्तो प्रचार गर्यो उनी यो कुरा खुलाउन तयार भएनन् ।

 प्रचण्डले अझ जोड दिएर भने– ‘निर्वाचन भएको दुई वर्ष नपुग्दै जिन्दगीभरी तानाशाही र दलालीको चाकडी गर्नेहरु संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खतरामा पार्ने गरी अहिले गलत प्रचारमा लागेका छन् ।’

तर प्रचण्डले दावी गरे झैं सिस्टम नै फेर्न को को सक्रिय छन् भन्ने कुरा चैं संकेत सम्म पनि गरेनन् । 

अनुमान गर्नेहरुका अनुसार, केही साता अघि भारतीय गुप्तचर निकायका प्रमुखसँग लामै गोप्य वार्ता गरेका प्रचण्डले सर्वसाधारदेखि वौध्दिक सर्कलको निकै चोटिलो आलोचना खेप्नु परेको थियो । 

त्यसैगरी अन्तर्राष्ट्रिय अदालत ‘दि हेग’ लगे आफू संसारकै हिरो हुने भनेर आफूलाई विवादको भूँमरीमा होमेका थिए प्रचण्ड स्वयंले । अनि उनको पछिल्लो अभिव्यक्तिले राजनीति र समाज तातेकै बेला उनी सपरिवार युएईतिर लुसुक्क गए । फर्किँदासम्म पनि आफू विवादको तारो बनिरहेको पाएपछि प्रचण्डले जनतालाई नयाँ खुराक पस्किन राजा महाराजा र सिस्टम परिवर्तनको नयाँ (कू) तर्क गरेको ठान्छन् धेरैजसो मानिसहरु ।

गाउँको विकास नचाहानेहरुले त्यस्तो बकपास बोलेर हिडे पनि सात दशक लगाएर हजारांै जनताको बलीदानीबाट आएको परिवर्तन कुनै पनि हालतमा परिवर्त नहुने भन्दै प्रचण्डले कथित षड्यन्त्रकारीलाई ललकार्ने प्रयाश चैं गरे ।

जनताको भावना अनुसार आएको संविधानको मूल मर्म नै परिवर्तन गरेर सिस्टम नै परिवर्तन गर्नु पर्छ भनेर दिवा सपना देख्नेहरुको सपना कुनै पनि हालतमा पुरा नहुने दावी गर्दै उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई खतरामा पार्न केही दलालहरुलाई तीन करोड जनताले तह लगाउने चेतावनी दिईछाडे प्रचण्डले ।सरल पत्रिकाबाट साभार।