इन्द्रजात्रामा छैन जात्रा
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइयो। कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाइएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले बताए ।
इन्द्रजात्रा मनाउने चलन २००० वर्ष देखि चलिआएको मान्यता छ । वैदिक वाङ्मय यसको प्रमाण हो। झण्डै ४००० वर्ष अगाडि देखि नै इन्द्र भगवानको स्तुति गर्ने चलन रहिआएको थियो। चार वेद मध्ये एक ‘ऋगवेद’ मा इन्द्र भगवानको सर्वत्र स्तुति पाइन्छ ।
इशापूर्व ८०० को अथर्व परिशिष्टमा इन्द्रध्वज बनाएर पूजा गर्ने चलन चलिसकेको कुरा उल्लेख छ। वृहत संहिता जो पाँचौ इश्वी संवतमा लेखिएको हो, त्यसमा पनि इन्द्र ध्वजा खडा गर्ने विधि विधान उल्लेख छ। इन्द्रध्वजा खडा गरेर यज्ञ गरी जात्रा गर्ने चलन वैदिक कालमा भइरहको प्रमाणित हुन्छ। यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भाद्र शुक्ल पूर्णिमाका दिन भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ ।
यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपतन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका थिए ।
शत्रु पराजय भएपछि विजय उत्सवका रुपमा मनाउने किंवदन्दीअनुसार विशेष गरी काठमाडौँ उपत्यका र उपत्यका बाहिरका केही स्थानमा धुमधामका साथ इन्द्रजात्रा पर्व मनाउने गरिन्छ ।
आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने चलन छ ।
इन्द्रजात्रालाई नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन गत वर्ष पहिलोपटक विश्वका विभिन्न मुलुकका मेयरलाई निमन्त्रणा गरी यो पर्वको प्रत्यक्ष अवलोकनसमेत गराइएको थियो ।
यो पटक विश्व महामारीको रुप लिएको कोभिड–१९ का कारण अन्य क्षेत्रजस्तै यस्ता मौलिक सांस्कृतिक पर्व पनि प्रभावित भएका छन् ।