‘जसले हिन्दु राष्ट्रको एजेन्डा बोक्छ, उही नै कांग्रेसको भावी सभापति’ कर्ण मल्ल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कर्ण मल्लले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन् । आफ्नो पार्टी कांग्रेसले हिन्दु धर्मलाई वेवास्ता गरेकाले संगठनभित्र बिकृति बढ्दै गएको नेता मल्लको बुझाई छ ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति मल्लले गएको महासमिति बैठकमा ठूलो समर्थन सहित हिन्दु धर्मको बिषयलाई औपचारिक रुपमा प्रस्ताल दर्ता गराएका थिए । ४६ जिल्ला सभापति, ७६३ महासमिति सदस्य र दर्जनौं केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित प्रस्तुत सो प्रस्तावलाई पार्टीले सम्पत्तिका रुपमा ग्रहण गरिसकेको मल्लको भनाई छ ।सुदूरपश्चिम प्रदेशका सदस्य मल्लले कांग्रेसको आगामी १४औं महाधिवेशनमा हिन्दु धर्मको बिषयमा प्रष्टसँग बोलेर त्यसलाई कार्यान्वयन गर्ने हिम्मत भएको नेताले सभापति पदमा जित्ने ठोकुवा पनि गरेका छन् ।

‘आराध्यदेव पशुपतिनाथलाई साक्षी राखेर नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न तयार हिम्मतिलो नेता नै हाम्रो पार्टीको भावी सभापति हुने पक्का छ ।’उनले भने– ‘नेपालमा रहेका सबै धर्म संस्कृतिको रक्षा गर्दै हिन्दु धर्मलाई प्रवध्र्दन गर्नु हामी सबैको कर्तव्य हो, म त यसमा दिलोज्यानले लागिपरेकै छु ।’सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा संगठनको नेतृत्व गरिरहेका मल्ल आक्रमणको निशाना बनिरहेका देखिन्छन् ।

खस्किसकेको कांग्रेस संगठनलाई सुधार गरेर पछिल्लो संसदीय निर्वाचनमा सभापति देउवालाई अत्यधिक मतले जिताएर पठाएका मल्ल अहिले देउवाकै कोपभाजनमा परेका छन् । हिन्दु धर्मको एजेन्डालाई बहसमा ल्याएर ठूलो समर्थन जुटाउन सफल भएका मल्लको लोकप्रियता नै उनीमाथि आक्रमणको मुख्य कारण भएको मान्छन् कांग्रेसकै नेताहरु ।हिन्दु धर्मको एजेन्डा, कांग्रेस राजनीति र अनुशासनको कार्बाहीमा परेका नेताहरु सहित युवा नेता मल्लले विविध बिषयमा चर्चा गरेका छन् ।