कति हजार वर्ष पछि इश्वरको मृत्यू हुनेछ ? | विप्लव प्रतिक | मेरो खुलदुली |

मेरो खुलदुली

कति हजार वर्ष पछि दास मालिक बन्छ ? कति हजार वर्ष पछि ?

जातहरु कहिले पखालिएलान् मगजको फोहोरबाट ?
धर्म कहिले बन्ला दर्शन अनि लामा, पुरेत र पादरीहरुले फसाद रच्नबाट फुर्सद् पाउलान ?

सेतो सेतो नै रहला कालो कालो नै ,
तर के रङ्गभेद नासिनेछ ?
कति हजार वर्षपछि पददलितहरुको हृदयबाट हराउनेछ हीन भावना ? कति हजार वर्षपछि सामन्तहरुको अहङ्कार मासिनेछ ?

भन्छन्, इश्वरले भलो गर्छ ।
तर उसले कहिलेसम्म नयाँ तरिकाले
युद्ध गराइरहनेछ यस सुन्दर धरतीमा ?
कहिलेसम्म बेश्यालय हुनेछ
र त्यहाँ किशोरीहरु बेचिएको

र युवतीहरु बन्दी भएको सहिरहनेछ इश्वरले ? गरिबहरु कहिलेसम्म गरिबै हुनेछन् उसको साम्राज्यमा ? देशहीनले कहिले फर्किन पाउनेछन् घर ?

कहिले गर्नेछ मान्छेले मान्छेको सम्मान, कति हजार वर्षपछि ? र, कति हजार वर्ष पछि इश्वरको मृत्यू हुनेछ ?

कहिले पुछिन्छ आँसु रुनेहरुको ?
कहिले भरिन्छ घाउ दुःखीहरुको ?
कसले मेट्नेछ त्रासदीलाई ?

कति हजार वर्षपछि छाउनेछ सद्भावको इन्द्रेणी ?

समाजसेवाको कारोवार कहिले समाप्त हुन्छ ? जनताको वैभवको ‘जिम्मा’ लिएका
संसारभरिका नेताहरुको सरकार कहिले ढल्नेछ ?

र, जनतामाथि कसैले पनि राज गर्न नपाउने कहिले ? कति हजार वर्षपछि ?

कति हजार वर्षपछि दास मालिक बन्छ ? कति हजार वर्षपछि ?

ए, पृथ्वीका बासिन्दाहरु भन,
मेरो प्रश्नको उत्तर कहिले दिन्छौ ? कति हजार वर्षपछि ?