पर्यटन बोर्डसँग बजेट नै छैन, बोर्ड नै बन्द हुन सक्छ

काठमाडौंः पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले नेपालको पर्यटन क्षेत्र सँगसँगै पर्यटन बोर्ड पनि आर्थिक संकटमा परेको बताएका छन्। यसवर्ष बोर्डसँग बजेट नै नभएकाले बोर्ड नै बन्द हुन सक्ने उनले बताए।

उनी भन्छन्– ‘अघिल्लो वर्ष ८० करोड बजेट आयो, तर सम्पूर्ण प्रशासनिक खर्च कटाउँदा जम्मा १४ करोड रूपैयाँले कार्यक्रम गर्नुपर्ने भयो। यस वर्ष त जम्मा २ करोड आम्दानी भएको छ। सरकारले अनुदान नदिएमा बोर्ड नै बन्द हुन सक्छ।’

उनले नेपालको पर्यटन उद्योग लकडाउन पश्चात १० प्रतिशतमात्र तङ्ग्रिन सकेकोसमेत बताएका छन्। कोरोना महामारीका कारण ९० प्रतिशत पर्यटन गतिबिधि ठप्प भएको उनले जिकिर गरे।

उनी भन्छन्, ‘लकडाउन भरी त मासिकै सात अर्ब घाटा भइरहेको थियो। अहिले आन्तरिक पर्यटन प्रवद्र्धन भएपछि भने धेरै राहत भएको छ। अझै ३० करोड मासिक घाटा व्यहोर्नु परिरहेको छ।’

यस्तै बोर्ड अब परम्परागत पर्यटकीय गन्तव्यभन्दा बाहिर अन्य नयाँ गन्तव्यको खोजिमा लागेकोसमेत उनले प्रष्ट पारे। ‘काठमाडौं, पोखरा, चितवन र लुम्बिनीभन्दा बाहिरका नयाँ गन्तव्य खोज्न लागेका छौं। बडिमालिका, खप्तड, बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा लगायतका स्थानमा हाम्रो ध्यान केन्द्रित छ।’

युरोपियन र अमेरिकी पर्यटकभन्दा पनि भारत र चीनका पर्यटकलाई मध्यनजर गर्दै सोही अनुसारका कार्यक्रम अघि सार्ने पनि उनले बताए। विशेषगरी भारतका पर्यटक खर्च गर्न नडराउने र हाल महामारीका कारण अन्य गन्तव्य सहजै जान नपाइरहेको अवस्थामा नेपाल भारतीय पर्यटकका लागि निकै उत्कृष्ट गन्तव्य बन्न सक्ने उनले बताएका छन्।