सन्दर्भ: बाह्रौं लोकतन्त्र दिवस । निर्वाचन नै लोकतन्त्रको मेरुदण्ड । —कृष्ण पहाडी

निर्वाचन नै लोकतन्त्रको मेरुदण्ड

बैशाख १२ गतेको खुलामन्चको सभामा अधिकारकर्मी कृष्ण पहाडी ।

—कृष्ण पहाडी
२०६२-६३ को ऐतिहासिक जनआन्दोलनको सफलता पछि नेपालको इतिहासमा अर्को अध्याय प्रारम्भ भयो त्यही अभुतपूर्व जनआन्दोलनको बल र जगमा २०६५ जेठ १५ गते नेपालबाट विधिवत् रुपमा राजतन्त्रको उन्मुलन भयो ।

त्यो असाधारण जनआन्दोलनले सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको १२ बुँदे समझदारीलाई अनुमोदन ग¥यो र शुरु भयो शान्ति प्रक्रिया ।
त्यही अदभुत जनआन्दोलनको बलमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । बहुमतीय अभ्यासबाट सहमतीय अभ्यासको अर्को चरण पनि प्रारम्भ भयो ।
राज्य पुर्नसंरचनाको पछाडिको जनादेश पनि त्यही जनआन्दोलनको सफलता थियो ।

त्यो जनआन्दोलनले नेपालमा निरंकुश वा एकदलीय वा अधिनायकवादी शासन व्यवस्थाको कुनै भविष्य छैन भन्ने मान्यता स्थापित ग¥यो । त्यही जनआन्दोलनले आधारभूत स्वतन्त्रता र मानव अधिकार जहिले पनि केन्द्रविन्दुमा रहनुपर्छ भन्ने मान्यतालाई पुन स्थापित ग¥यो । यस अर्थमा जनआन्दोलन असाधारण र अदभुत थियो ।

जनआन्दोलनमा लाखौँ नागरिक सामेल थिए । झण्डै २ दर्जन शहिदहरु र हजारौँ घाइतेहरुको वलिदान, त्याग अनि लाखौँ नागरिकहरुको समर्पण, सद्भाव अतुल्य र अविष्मरणीय रहेको छ ।
१२ औँ लोकतन्त्र दिवसको अवसरमा म ती महान शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । लोकतन्त्र र शान्तिको लागि आन्दोलनमा उत्रिएका ती महान जनताप्रति पुन नमन गर्दछु ।

प्रमुख राजनीतिक शक्तिहरुबीच एकता भयो भने देश, जनताको हित र उत्थानका लागि जस्तोसुकै परिवर्तन पनि संभव छ भन्ने सन्देश २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनले दिएको छ ।
विपरित धु्रवमा उभिएका संवैधानिक राजतन्त्र स्वीकार गरेका सात राजनीतिक दलहरु र हिंसाको राजनीति थालेको नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी भएपछिको समीकरण पश्चात शान्तिको पक्षमा नयाँ किरण देखा परेको थियो । त्यसका लागि वातावरण सिर्जना गर्न र आन्दोलनको विउ रोप्न लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले निर्वाह गरेको भूमिका विदितै छ ।

२०६१ माघ १९ को शाही घोषणापछि त्यसको विरुद्धमा उत्रिएका नागरिक समाज आवद्ध संस्थाहरुले खेलेको भूमिका स्मरणीय छ । समग्रमा भन्नु पर्दा निरकुंशता र हिंसाको अन्त्य एवं शान्ति र लोकतान्त्रिक मार्गको सुनिश्चितताको जनादेश सहित २०६२÷६३ को जनआन्दोलनले नयाँ अध्याय प्रारम्भ गरेको थियो ।
२०६३ वैशाख १२ पछि अवसर र उत्साहका साथसाथै चुनौति पनि भित्रिएको थियो । हिंसा प्रतिहिंसा र प्रतिशोधको दुश्चक्रमा मुलुक फस्न सक्ने सम्भावना पनि थियो । तर त्यसो हुन पाएन कारण त्यसबेला परिवर्तनका पक्षमा योगदान गरेको बलियो नागरिक आन्दोलन अस्तित्वमा थियो ।

२०६३ पछिका दिनहरु सहज थिएनन् । अप्ठ्याराहरुलाई चिर्दै संविधानसभाको निर्वाचन २०६४ चैतमा सम्पन्न भयो । त्यसबाट लोकतान्त्रिक गणतन्त्रको विधिवत स्थापना भयो ।
त्यो संविधानसभा तुहियो, तर पनि प्रक्रिया रोकिएन र अर्को चुनाव भयो किनकी निर्वाचन नै जनआन्दोलनको आदेश थियो । यद्यपि, २०६३ पछि जनआन्दोलन दमन गर्ने दोषिहरु पुरस्कृत हुदैँ गए । त्यो दुर्भाग्य थियो र जन आन्दोलनको मर्म विपरित पनि । साथै शहिदहरुको अपमान पनि ।

२०६३ पछि थुप्रै पटक राजनीतिक शक्तिहरु लिक बाहिर जान खोजे तर फेरि लिकमा आउन वाध्य बनाउने कारण २०६२÷६३ को त्यही जनआन्दोलनको राप, ताप एवं म्यान्डेट थियो । तसथर्, नेपालको लोकतन्त्र कमजोर छैन । केही सकिर्णतावादी र जडसुत्रवादीहरुले चाहदैमा र षडयन्त्र गर्दैमा लोकतन्त्र समाप्त हुदैँन तर लोकतन्त्रप्रति प्रतिवद्ध भनिने दल र नेताहरुले नै विकृतिको खेती गर्दै गए भने जनतामा वितृष्णा उत्पन्न हुन सक्छ ।

लोकतन्त्रलाई संस्थागत गर्न र अझ बलियो बनाउन सुशासन र पारदर्शिता आवश्यक छ । लोकतन्त्र र निर्वाचन एउटै सिक्काका दुईटा पाटा हुन । अर्थात निर्वाचन नै लोकतन्त्रको मेरुदण्ड हो ।
कुनै पनि निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न हुनुपर्छ । निर्वाचनले नै नागरिकलाई बलियो बनाउँछ । जनता बलियो भए देश बलियो हुन्छ । देश बलियो भए सबैको स्वाभिमान उचो हुन्छ ।
प्रसंग स्थानीय निकाय निर्वाचनको । यो अभ्यास जनता बलियो बनाउने अभ्यास हो । अधिकार स्थानीय

निकायमा पु¥याउने अभ्यास हो ।
तसर्थ, जति चरणमा होस स्थानीय निकायको निर्वाचन हुनुपर्छ ।
घरभित्रको झगडा घरभित्रै मिलाउनुपर्छ ।
हिंसा र घृणाको होइन, सद्भाव र सहिष्णुताको संस्कृति बलियो बनाउनुपर्छ । लोकतन्त्रको जरालाई अझ फिँजाउनु पर्छ । तबमात्र यसले उर्जा दिन सक्छ । यसैवाट आमनेपालीले आफूलाई क्रियाशील बनाउदै निर्धक्क र निर्भयसाथ स्वाभीमान ऊँचो राख्न सक्छन् ।

सबैले भन्ने गरेको आर्थिक समृद्धि र आर्थिक उन्नतिको पहिलो आधार पनि लोकतन्त्र नै हो । लोकतन्त्रको संस्थागत विकास, यसको अभ्यास, संस्कृति र संस्कारबाट मात्रै दिगो आर्थिक विकास संभव हुन्छ । समाजका अवयवहरु गतिशील भइ समाज समुन्नतितर्फ जब अगाडि बढ्न थाल्छ तब लोकतन्त्रले दिशा निर्देश गर्छ ।

लोकतान्त्रिक मूल्य मान्यता र संस्कृति संस्कारलाई आत्मसात गर्दै जब लोकतन्त्र अगाडि बढ्छ तब समाजका प्रत्यक नागरिकले जीवनको मूल्य, अर्थ र महत्व पहिचान गर्न सक्छ । जुन दिन जीवनको मूल्य, अर्थ र महत्व जनताले अनुभूत गर्छन् त्यसैदिन लोकतन्त्र सर्वब्यापकता पाइ पूर्णरुपमा संस्थागत भैसकेको हुनेछ । त्यसपछि लोकतन्त्रमाथि न कसैले धावा बोल्न सक्छ नत षडयन्त्र नै रच्न सक्छ ।

(पहाडीसंगको वार्तामा आधारित)