रामचन्द्र पौडेल माथि अघोषित निषेध

नेपाली कांग्रेस पार्टी अन्तर पार्टी लोकतन्त्रमा विश्वास राख्छ यो यसको सुन्दर पक्ष हो । लोकतान्त्रिक बिधि र प्रणाली मार्फत आफ्ना नेता चुनेर आफूलाई लोकतन्त्रको असली पहरेदार र असली अभ्यासक देखाउँछ जसको पुष्टि १४औं अधिवेशनले गरिसकेको छ । आफूलाई नेता भन्नेहरुले चुनावी प्रतिस्पर्धामा आफूलाई उतारे । स्वस्थ अस्वस्थ हाम्रो जस्तो चुनावमा जे जस्तो अभ्यास हुन्छ त्यो गरे जसको परिणाम सभापतिमा प्राप्त भैसक्यो भने अरुको मतगणना प्रकृया चल्दैछ । रहर हुने जति सबैलाई प्रतिस्पर्धाको वातावरण प्रदान गरे पनि रामचन्द्र पौडेल आफ्नै समूह गुटबाट घेराबन्दीमा परे । एकपटक पार्टी सभापति बन्ने धोको अधुरो रह्यो । अघोषित प्रतिबन्ध जस्तै देखियो उनका लागि सभापतिमा प्रत्याशी बन्न ।

निर्वाचनको पूर्व सन्ध्यामा प्रकाशमान बाहेक सबैले उनका लागि छोड्न तयार भए । तर रामचन्द्रलाई सहयोग गर्न र आफू मिलेर लड्न सकेनन् प्रकाश र शेखर । कि आफू–आफू मिल कि मलाई छोड जसरी हुन्छ शेरबहादुर देउवालाई ससभापति बन्न रोक्नुपर्छ भन्ने रामचन्द्रको अनुरोधलाई आफ्नो लागि गरिएको अरण्यरोदन मात्रै सम्झे शेखर र प्रकाशले । अन्त्यमा जुन लोकतन्त्र र प्रजातन्त्रको लागि जेल बसे निर्वासन गए तर त्यही प्रणाली बहिस्कार गर्दै अश्रुपुरित भएर मतदान समेतमा भाग लिएनन यस्तो लेखेर बसे “अहिलेसम्म आफूले थुप्रै प्रपन्च भोगेको र १४औ महाधिवेशनसम्म आइपुग्दा पार्टी भित्र जुन परिस्थति निर्माण भइरहेको छ त्यो सन्दर्भमा मैले १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु । प्रजातन्त्रका मूल्यमान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा म पुगें ।’’ प्रजातन्त्रवादी नेताको ट्याग लागेको कारण यो निर्णय रामचन्द्रको लागि पक्कै पनि सुहाउँदो होइन । राजनीतिक सन्यास पनि होइन निस्क्रिय बनेको पनि होइन तर आफ्नो समुहमा आफू सर्वस्वीकार्य नबन्दा महाधिवेशनको चुनाव बहिस्कार प्रजातान्त्रिक आचरणको विरुध्द देखियो ।

शेखर रामचन्द्रको लागि छोड्न तयार हुँदा पनि प्रकाशमानले जुन घामड प्रदर्शन गरे त्यसको लागि गणेशमानजीको भेडो शब्दले उनी आलोचना र गाली खाइरहेका छन् । आफ्नो एकोहोरोपन र गणेशमानको त्याग नै आफ्नो लागिपुँजी मान्ने अहमले प्रकाशमान आफ्नो खास हैसितयमा देखिए । संसद सदस्य जित्नु माननीय हुनु र पार्टीको मन्त्री हुनु भन्दा ठूलो कुरा हो राष्ट्रिय नेता हुनु । कांग्रेसमा निर्वाचित महामन्त्री बनेर मन्त्री र उपप्रधानमन्त्री समेत बनेर प्रकाशमान परिक्षित भइ सकेका कारण उनको आकर्षण थिएन तर यो कुराको हेक्का राख्ने र उनलाई सम्झाइदिने शुभेच्छुकको अभाव देखियो । केवल उक्साउने मान्छे थिए तर वास्तविकता भनिदिने मान्छे भएनन् ।

काङ्ग्रेस सभापतिका आकांक्षी सबैले आ–आफ्नो हैसियत देखाए । रहर पुरा गरे । झन रहस्यमय र रोचक कुरा के भैदियो भने जसरी पनि शेरबहादुरलाई सभापति बन्न नदिने र त्यसको लागि बाटो छेक्न आफूमात्र एक सबल क्यान्डीडेट दावी गर्ने प्रकाशमान आफ्नो सर्मनाक मत पश्चात उनै शेरबहादुरको विजयको प्रमुख कारण बन्न पुगे । अडान र विश्वसनीयता गुमाएर उधारो सत्ताको सम्झौतामा फस्न गए । अडान भएको नेतालाई सत्ताको हरियो घाँसले अचम्मसँग लोभ्यायो जुन रहस्यमय र रिसर्च गर्न लायक विषय बनेको छ ।

सत्ता पनि आफैसँग हुनुको ल्याकत मात्रै देखियो देउवाको हैसियत । यदि हातमा सत्ता हुन्थेन भने शेखरले झन्डै पहिलो राउण्डमा नै किक आउट गर्ने सामथ्र्य राख्ने रहेछन् । जेहोस  भ्रम र वास्तविकता कस्तो हुन्छ सबै प्रतिस्पर्धीले थाहा पाए । चाटुकार र चाप्लुसी गर्ने कार्यकर्ताले यथार्थ भन्न र देख्न सक्तैनन् । केवल दाइ तपाईं सबैभन्दा बलियो उम्मेद्बार, तपाईंको दाँजोमा सबै फिक्का छन् । फलानो जिल्ला, अञ्चल र प्रदेशमा तपाईंको लागि यति मत उति मत । तपाईंको जीत सुनिश्चित फलानो उम्मेद्बार दुर्वल, ढिस्कानोको मत छैन आदि इत्यादि उमेद्वार अनुकूल र उसलाई प्रिय लाग्ने कुरा मात्रै भन्छन् । अप्रिय तर ओजनदार धरातलीय यथार्थ भन्दैनन् । ग्राउन्ड रियालिटी ’bout नजान्नु र नभन्नु अबौध्दिक र अविवेकी चाकरीबाज नेताकार्यकर्ताको धर्म, विशेषता, स्वभाव र गुण हो । प्रकाशमान र बिमिलेन्द्र निधिलाई उहाँहरुको स्वर्गीय पिताजीको नाम देखाए बेच्न खोज्ने लम्पट र विवेकहीन दास कार्यकर्ताले अर्धनग्न र अर्धबेहोसी बनाएर हिलो धुलोमा सुताइ दिए । अनावश्यक तवरले बोक्ने बोकाउनेको बुइ चढ्नु बोकिनेहरुको पनि चरम असफलता र अयोग्यता हो ।

 प्राय नेताहरूलाई परिस्थतिको ’boutमा निर्धक्क सच्चाई भनिदिने मान्छेको खाँचो छ । चाकरी गर्न र प्रशंसा गर्न जो पनि तयार हुन्छ तर विशुध्द समालोचना गरिदिने र तीतो लाग्ने सत्य भनिदिने मान्छे भेटिन्न ।

शेखरलाई नेता मान्न अस्वीकार गर्ने प्रकाशमानको मनसुवा देखिन्थ्यो भने प्रकाशमान कांग्रेस प्रतिनिधिले स्वीकार गर्ने फैलावटका नेता हुन् भन्नेकुरा कोइरालाले स्वीकार गर्न मानेनन् । फलतः संस्थापन बिरोधी खेमामा सर्वस्वीकार्य नेता कोही भएनन् रामचन्द्र साइलेन्ट बसे जसको कारण शेखर र प्रकाशमान कांग्रेस सभापतिको लागि एकले अर्कोलाई मैदानमा नै जवाफ दिन कस्सिएर लागे । काठमाडौंको संसदीय चुनावमा लोकप्रिय लाग्ने प्रकाशमान आफ्नो पार्टी भित्र कति कम्जोर रहेछन् पहिलो चरणको निर्वाचनले प्रमाणित गरिसक्यो । प्रकाशमानमा भएको भ्रम र आफू लोकप्रिय छु भन्ने विश्वासको तुवाँलो शायद हट्यो ? धरातलीय यथार्थ र चाकरी र चाप्लुसीको लागि सुनाइने यथार्थ कति फरक हुन्छ नेताहरूले यो लेसन लिनु र आफ्नो हैसियत बुझ्नु मान्छेहरूको मन र मष्तिस्कको मनोदशा नियाल्ने चेष्टा गर्नु वान्छनीय देखिन्छ ।

आफ्नो ल्याकत हेक्का नराखेर आफ्नो धुलिसात गर्नु र अर्को प्रतिस्पर्धीलाई अण्डरस्टमेट गर्नु जस्ता गलत मानासिकता र प्रवृति नेताले छोड्न सकेनन् भने भ्रमको पर्दा कसरी च्यातिन्छ त्यो कांग्रेस केन्द्रीयस्तरको निर्वाचनले सबैलाई सिकाउने पाठ हुनुपर्छ । एक जना कम विवादित र निष्ठा र सिध्दान्तको कुरा गर्ने सोझा रामचन्द्रलाई कांग्रेस सभापति बनाउने मौका चुकाएर कांग्रेसजनले एउटा गल्ती पक्कै गरेका छन् । यद्यपि रामचन्द्र नवीन काम गर्ने मान्छे भने होइनन् । कांग्रेसमा चामत्कारिक परिवर्तनको अपेक्षा पनि कसैले गरेको थिएन तर देउवाको होस्ल्यांगे दबदबाबाट कांग्रेस मुक्तिको अभिलाषा चैं रामचन्द्रको विजयले फरक देखिन्थ्यो ।

रामचन्द्र  पूर्व परिक्षित र राजकीय पदमा पटक पटक पुगेर थुप्रै अवसर प्राप्त गरेका नेता हुन् । रामचन्द्र पौडेलको प्रधानमन्त्री हुने र काङ्ग्रेस सभापति हुने धोको मात्रै नपुगेको हो अरु थुप्रै राजकीय महत्वपूर्ण अवसर प्राप्त गरिसक्नु भएको छ तसर्थ उहाँको विश्राम समयानुकूल छ भनेर बुझ्दाबुझ्दै पनि एउटा इमान्दार मान्छेको वैरागी र मन दुखाइले कांग्रेस राजनीति र समग्र देशको राजनीतिमा नैतिक क्षय अरु बढाउने छ । रामचन्द्र आफैंमा शेर बहादुर देउवाको खतरा विकल्प होइनन् तथापि स्वीकार्य नेता चै हुन् । कथं शेखर या प्रकाशमानले नै सभापतिमा बाजी मारेको भए यिनीहरु पार्टीको सभापति हुन्थे तर सर्वस्वीकार्य नेतृत्व बन्दैनथे । इगोको प्रश्न जन्मिरहन्थ्यो तसर्थ पनि रामचन्द्र पौडेलको आवश्यकता कांग्रेस केन्द्रीय सभापतिकै लागि हो । सर्वमान्य नेता र तटस्थ नेता बन्न होइन ।

अर्को कुरा के बिर्सनु हुँदैन भने गणेशमान र किसुनजीको पार्टी परित्याग आफ्नो लागि पद र प्रतिष्ठाको विषय  किमार्थ थिएन । कांग्रेस नीति र सिध्दान्तमा विचलनमा गएको उहाँहरुको आरोप र निष्कर्ष थियो । रामचन्द्रको चित्त दुखाइ अनावश्यक होइन तर चित्त दुखाइ हुनु र सानो मन बनाउनु एकै होइनन् । राम चन्द्र चित्त दुखाउने मात्र होइन सानोमन गर्छन् भन्ने कांग्रेसजनको गुनासो सुनिन्छ । यही सानो मन कै कारण कतै पछि छुटेका त होइनन् रामचन्द्र ? रामचन्द्रले मात्रै सानो मन गरेंनन् उनलाई सानो मन गरेर पार्टीको प्रतिस्पर्धामा नपुर्याउन चाहने संस्थापन इतरका नेताहरूको मन पनि साँघुरो देखियो ।

शेर बहादुरलाई विस्थापन गर्न सक्ने कोही समकक्षी नेता कांग्रेसमा छन् भने वर्तमानमा राम चन्द्र नै देखिए र सभापतिको स्वाभाविक हकदावी पनि उनकै हो । उनी अघिल्लोपटक जम्मा एक चोटी मात्र सभापतिमा प्रतिष्पर्धा गरेका मान्छे हुन् प्रधानमन्त्रीमा झैं सत्र पटक असफल नेता भन्न मिल्दैन । कांग्रेसको आगामी चुनौती र तीन तहको निर्वाचन फेस गर्न शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई पार्टी सभापतिमा आफैं प्रस्ताव गरेर सर्वसहमत गराउन सकेको भए राजनीतिमा एउटा छुटै विशेष मानक र अभ्यास संस्कार र संस्कृतिको जग बस्थ्यो । दुर्भाग्य यस्ता कुरा केवल कोरा कल्पना र आदर्शका गफ मात्रै हुनेरहेछन् । वास्तविकताको मुख नदेख्ने स्वैरकल्पना जस्तै जस्तै ।

आखिर जे भए पनि प्रजातान्त्रिक पध्दति अवलम्बन गरेर देउवाले कांग्रेसमा आफ्नो वर्चस्व कायम राखे । कांग्रेस पार्टीलाई पाँच वर्ष पुन देउवाकै शासनको कहर काट्ने सौभाग्य/दुर्भाग्य कांग्रेसहरु जसरी बुझ्छन् त्यो प्राप्त गरे । एउटा निष्ठामा बाँचेका रामचन्द्रको सपनालाई कुठाराघात गरेर बिबादास्पद देउवालाई स्थापित गर्न प्रकाशमानले जुन शिखण्डीको भूमिका खेले त्यसले उनको आगामी पार्टी राजनीतिमा कतै न कतै खोट र खत देखाइरहने छ । प्रकाशमान सिंहमा जुन जवाफदेहिता परिपक्वता र विश्वसनीय नेतृत्व क्षमता हुनुपथ्र्यो त्यसको अभावले उनले रामचन्द्र पौडेल शेखर कोइरालालाई मात्र रोकेनन् आफ्नो व्यक्तित्वमा समेत क्षय गराएर सत्ताको अघिल्तिर लाचारीपन देखाए । जसको मुल्यांकन इतिहासले गर्छ । रामचन्द्र पौडेललाई निषेध र अघोषित प्रतिबन्ध गर्न सबैलाई सफलता मिल्यो ।

साभार: drishyatv.com