दशौं गणतन्त्र दिवसको दिन देशभक्त घोत्त्लिएपछि………
म देशभक्त खनाल ।
मेरो त नाम नै यस्तो गजबको छ, कसैले पनि मलाई देशभक्त होइन भन्नै सक्दैन । मैले देशभक्तिपूर्ण काम गरे पनि र नगरे पनि म देशभक्त !
मैले अहिले सम्म देशभक्ति पूर्ण काम गर्नबाट बिचलित हुनु परेको छैन । मलाई गर्व छ, म देशभक्तिपूर्ण काम गर्नबाट यो उमेरसम्म पनि नचुकेकोमा ।
यद्यपि, यसको जस मेरो नाम गणेशप्रसाद उपाध्याय राख्ने बुबा आमालाई होइन, मेरो असली नाम राखिदिने बिराटनगरका मेरा साथीहरुलाई जान्छ । उनीहरुले यस्तो नाम नजुराई दिनुभएको भए हाम्रा कतिपय नेताहरु जस्तै म पनि गणेशप्रसादमै डल्लिन्थे र देशभक्त हुन्नथें कि ?
यही कुरामा म आज घोत्लिने मूडमा छु, दशौं गणतन्त्र दिवसको दिन अर्थात, जेठ १५ गते २०७४ साल ! तर म आज, आजको दिन ल्याउन जागेको त्यो दिनको ’boutमा घोत्लिंदै छु !
त्यो दिन थियो–
त्यो दिन थियो, ३० चैत ०६२ साल ।
त्यो दिन पुलिसबाट खाएको भैंसी चुटाइ संझनामा आइरहेको छ । अनायास हात लाठी छेक्न थाल्छन्, मुखबाट बोली निस्कन्न तर ओठ फरफराउन थाल्छन्…भित्रदेखि नै गाह्रो हुन थाल्यो…
पुलिसको त्यो दिनको पिटाइ यस्तो थियो, कुटाइ खाइरहँदा र त्यसपछि पनि मलाई पटक्कै दुखेन । दुख्दै दुखेन ! अग्रज र साथीहरुका अगाडि फिस्स हाँसेर मलाई कहींकतै पीडा नै नभएको भान पारिरहें ।
उनीहरुले पनि भनिरहे, देशभक्त तिमीलार्ई थारो भैंसीलाई जसरी पुलिसले पिट्यो तर तिमी त केही नै नभएको जसरी ब्यवहार गरिरहेका छौं ! जाँच्न अस्पताल जानु पर्छ है, एक्सरे गर्नुपर्छ । तिमीलाई भित्री चोट राम्रै परेको छ ।
मैले हाँसेर टारिदिएँ ।
खासमा म पिटाइ भन्दा मलाई पिट्ने पुलिसलाई पो दुखीरहेको होला भनेर सोचिरहेको थिएँ । तर साथीहरु ममाथिको पिटाइ र मलाई परेको सकसवारे चिन्तित थिए । खासमा त्यो दिन मैले पिटाइ खाएर शासकहरुको दम्भलाई भकुरेको थिएँ । शासक र तिनका भरौटेहरु आत्तिएका थिए, नहुँदा हुन् त देशका ख्यातीप्राप्त सर्जकहरुमाथि यसरी बर्सिने थिएनन् !
त्यसपछि लोकतन्त्र आयो । अनि, गणतन्त्र नेपाल भयो । संविधानसभाको निर्वाचन भयो । तर दुइ वर्ष कार्यकाल तोकिएको जनप्रतिनिधि संस्थाको पदाबधि सभासदहरु आफैंले बढाएर चार वर्ष पु¥याए तै पनि संबिधान बनेन ।
बरु संबिधानसभा नै भंग भयो । कर्मचारीको सरकार बन्यो । फेरि संविधानसभाको निर्वाचन भयो । बल्ल बल्ल संविधान त आयो तर त्यसले अझै पूर्णरुपमा कार्यान्वयन हुन पाएको छैन ।
आज दशौं गणतन्त्र दिवस ।
जनता भन्दा सत्तामा बसेर तर काट्नेहरुले यो दिवसको पूर्वसन्ध्यादेखि नै भोजभत्तेर खाने र ठूला गफ दिएर मनाउन थालिरहेको देख्दा मलाई उतिबेला खाएको पिटाइको पिडा बल्झिएर दुख्न थालेको छ ।
गणतन्त्र दिवसका वर्षहरु थपिंदै जाँदा मेरो पिडा पनि बढ्न थालेको छ ।
अब त तोरीको तेल तताएर दले पनि दुखाई कम हुन छाडेको छ । भित्रभित्रै भत्भती पोल्न थालेको छ, मलाई !
२०६२-०६३ को आन्दोलन
त्यतीखेर नेताहरुलाई उल्याइन्थ्यो । उनीहरु दालभात खाएर रत्नपार्कमा एकछिन बसेपछि राजाको निरंकुश शासन अन्त्य हुन्छ भन्ठान्थे ।
बेलाबेला विरोध गर्न उनीहरु रत्नपार्क जान्थे । बोल्न खोज्थे । पुलिसले घोक््रयाउथ्यो । अनि लुरुलुरु फर्केर आफ्नो कर्तव्य र जिम्मेवारी पूरा भएको ठान्दथे ।
उनका कार्यक्रममा जनताले न साथ दिन्थे, नत सहभागीता नै जनाउथें ।
जनता किनाराका साक्षी झैं थिए, नेताहरुकै कारण ।
प्रजातन्त्रकालमा उनीहरुले सत्ताको लागि मच्चाएको ताण्डव नृत्यबाट जनता वाक्क दिक्क बनेका जो थिए ।
जनताबाट एक्लिदै गएको महसूस नेताहरु गरिरहेका थिए । मिडियाले पनि नेताहरुलाई प्रहार गरिरहेका थिए । हिजो शासनमा बस्दा जनता देखेनौ । आज तिमीहरुलाई जनताले पनि बाल नगनिरहेका हुन् भनेर लेख्ने र बोल्ने गरिरहन्थे । नेताहरुलाई जनता छिछि दुरदुर गरिरहेका थिए ।
रत्नपार्के बिरोधसभामा बिरालो बाँध्न गिरिजाप्रसाद कोइराला जान्थे । अरु नेता कार्यकर्ताहरु पनि जान्थे ।
एकदिन बयोबृद्ध कोइरालाको टाउको पनि घोक्रयाउने निहुँमा पुलिसले फुटाइदियो, रामकुमारी झाँक्रीको मात्र होइन ।
त्यसमाथि निषेधित क्षेत्र तोकेर दिनपरदिन खिइरहेको विरोध प्रदर्शन गर्न पनि राजाको शासनले रोक लगायो । नेताहरु अलमलमा परे । हरेस नै खान थाले ।
त्यत्तीकैमा नागरिक आन्दोलनका अग्रज कृष्ण पहाडी, देवेन्द्रराज पाण्डेहरुको अगुवाइमा बानेश्वरमा सभा राखियो ।
नारायणहरि बनिरहेका नेताहरुलाई रत्नपार्कमा नअल्मलिन र बानेश्वरको सभामा आएर जनतासंग माफी माग्न नागरिक समाजले आह्वान ग¥यो ।
नेताहरु गए र जनता समक्ष माफी मागे । अब उप्रान्त जनतालाई नै केन्द्रविन्दु मान्ने कसम खाए नेताहरुले ।
हामी लेखक, कवि, कलाकार, संगीतकार, गीतकार, गायकहरुले पनि ‘लोकतान्त्रिक सिर्जना यात्रा’ भनेर राजाको निरंकुशताविरुद्ध आवाज उठाउन शुरु ग¥यौं ।
पुरानो बानेश्वर गुरुकुलमा हामी भेला भएर केही न केही गरिरहन्थ्यौं । चैत ३० गते हामीले निरंकुशताको विरुद्ध र लोकतन्त्रको पक्षमा कविता वाचन कार्यक्रम आयोजना गरेका थियौं ।
सत्यमोहन जोशी, डा दुर्गाप्रसाद भण्डारी र तुल्सी भट्टराईको अध्यक्षतामा कविता पाठ शुरु भयो ।
त्यहाँ भेला भएका सर्जकहरुले आवाज उठाए । हामीले पनि होमा हो लगायौं–कोठाभित्र विरोध गरेर के गर्नु ? कविता पाठ गरेर के गर्नु ? ’cause सरकार भने शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने, भेला हुने सर्वसाधारणको टाउको फुटाइरहेको थियो । गोली प्रहार गरिरहेको थियो । आमजनताको रगत बगिरहेको थियो, हामी भने कोठे कार्यक्रम गरेर झारा टारिरहेका थियौं ।
हामीले भन्यौं, यहाँ बसेर हुँदैन । कमसेकम बानेश्वर चौकमा बसेर खुला कार्यक्रम गरौं ! सर्वसाधारण जनताले देख्ने गरी र उनीहरुको सहभागीतामा कार्यक्रम संचालन गर्नुपर्छ ।
गुरुकुलमा भेला भएका सर्जकहरु पुरानो बानेश्वर चोकमा पुगे र कार्यक्रम गर्ने ब्यवस्था मिलाए । आमजनताले पनि राम्रै सहभागीता जनाए । कविता सुन्न धेरै नै मानिस भेला भए ।
कवियत्री बेन्जु शर्मा कविता पाठ गर्दै हुनुहुन्थ्यो । दिउसोको यस्तै बाह्र मात्र बजेको थियो कार्यक्रम शुरु गर्दा । तुरुन्तै प्रहरीले पुरानो बानेश्वर चोकमा भेला भएर स्रष्टाका कथा, कविता, गीत सुनिरहेका जनतालाई तीनतिरबाट घेराउ ग¥यो र एक्कासी निर्ममतापूर्वक लाठी चार्ज ग¥यो । जवकि त्यो दिन दिउसो एक बजे मात्र कर्फ्यु लाग्नेवाला थियो ।
प्रहरीको लाठी चार्जबाट धेरैजनाको टाउको फुटेर रगत बग्न थाल्यो । उनीहरुलाई जोगाउन नपिट भन्दै म लागें । मेरा हात, ढाड र तिघ्रा पिंडौलामा लौरो हानेर प्रहरीले चुट्नु चुटे । त्यो भैंसी चुटान नै थियो ।
चुटाइ यति निर्ममता पूर्वक थियो कि लाठीको प्रहार हातले छेक्दा मेरो घडी बलीयो स्टिलको ब्याण्डबाट चुँडिएर खसेछ । मलाई त्यसको होसै भएन ।
प्रहरीले कविता वाचन कार्यक्रम विथोलेर स्रोताहरुलाई भगाइसकेपछि नभाग्ने र कुटाइ खाएर ढलेकाहरुलाई पक्राउ गरेर गौशाला थाना पु¥याइयो । पक्राउ पर्नेहरु दश जना जति भएछौं ।
प्रहरीले कुटेको ठाउमा घडी, जुत्ताहरु छरिएको फोटो खिचेपछि घडी चाँहि कुन आन्दोलनकारीको हो भन्दै भुइको घडी टिपेर फोटो पत्रकार चन्द्रशेखर कार्कीले कलाकार किरण मानन्धरलाई लिनुुहोस् त कस्को घडी हो भनेर दिएछन् ।
प्रहरीले लाठी चार्ज गरेपछि फुटेको देशभक्तको घडी राखेर किरण मानन्धरले बनाउनुभएको चित्र
प्रहरीको लाठी प्रहारको कारणले घडी त्यही बेला बन्द भएको रहेछ । घडीमा १२ः२० बजेको रहेछ अर्थात त्यती नै बेला प्रहरीले लाठी प्रहार गरेको रहेछ !
किरण मानन्धरलाई मौलिक चित्र बनाउने बिचार फुरेछ । उनले त्यो घडी आफैंसंग राखेछन् ।
त्यो घडी राखेर किरणले क्यानभासमा चित्र बनाएछन् र लोकतान्त्रिक गणतन्त्र आएपछि त्यो चित्र नै मलाई उपहार स्वरुप दिए ।
त्यो चित्र देख्ने बित्तिकै मलाई त्यही दिन र कुटाइ खाएर घाइते भएपछि पक्राउ परेर गौशाला प्रहरी थानामा पु¥याइएको क्षणको संझना भयो र अहिले पनि भैहाल्छ ।
त्यो कुटाइ खाएको जत्ति भयो, देशमा लोकतन्त्र आएको पनि त्यत्ती नै वर्ष भयो । हिजो जस्तो लाग्छ तर १६ वर्ष वितिसकेछ । अहिले म ६२ वर्षको भएँ, त्यतीखेर म ४८-४९ वर्षको पट्ठो थिएँ ।
लोकतान्त्रिक सिर्जना यात्रा
त्यो यात्रा हामीले शुरु गर्दा मूल रुपमा लोकतन्त्र स्थापनाको लागि गरेका थियौं । हरेकका आआफ्ना एजेण्डा थिए होलान् म अभिनय गर्ने कलाकार भएकोले हाम्रो एजेण्डा अभिब्यक्ति स्वतन्त्रता थियो । हामी लेखक, कलाकारहरु आफूले चाहेको न बोल्न पाउथ्यौं नत लेख्न नै पाउथ्यौं ! लेखे बोलेका कुरामा सेन्सरसीप लाग्दथ्यो ।
हामी आफैं आफ्ना सिर्जनाहरुलाई सेन्सर गथ्र्यौं । यतिसम्म त सेन्सर गरिदैन होला भनेर अगाडि बढ्थ्यौं तर त्यसमाथि पनि प्रहरी, प्रशासनले सेन्सर लगाउथ्यो ।
हामी छक्क पथ्र्यौं, जबकि हामीले समाजमा विकृति विसंगति हटाउने काम गरिरहेका थियौं तर हामी माथि नै, हाम्रा सिर्जनात्मक क्रियाकलापमाथि नै प्रहार हुन थाल्यो । हाम्रा प्रसंसक र शुभचिन्तकलाई धम्क्याउने, पिट्ने र थुन्नेसम्म गर्न थालियो । यसलाई हामीले सिर्जनामाथिको प्रहार ठान्यौं र त्यसो नगर भनेर मात्र हामी उत्रिएका थियौं ।
अभिब्यक्ति स्वतन्त्रता नै हाम्रो प्रमुख माग थियो ।
चैत २९ गते मात्र राजतन्त्र मूर्दावादको नारा लागेको हो । २८ गतेसम्म पनि ज्ञानेन्द्र चोर देश छोडको नारा लागेको थिएन ।
लोकतान्त्रिक आन्दोलन चैत २४ गतेदेखि सशक्त रुपमा शुरु भएको थियो । राजधानी बाहिरका जनता जीवन आहुति दिइरहेका थिए तर काठमाण्डौंका जनता सडकमा पनि उत्रिएका सम्म थिएनन् ।
यो सबै देखेर र मनन–विश्लेषण गरेर हामी सर्जकहरुले अक्किल निकाल्यौं । राजधानीका जनतावारे नै नारा लगाउन थाल्यौं ः
काठमाण्डौंका जनता कति हेर्छौ रमिता ?
झ्यालबाट हेरेर लोकतन्त्र आउदैन !
त्यसपछि राजधानीका जनता पनि चलमलाउन थाले । राजधानीवासी उठेनन् मात्र, सडकमा आँधि बनेर उत्रिए । जनता जागे ! आन्दोलन दिन पर दिन सशक्त हुँदै गयो ।
लोकतान्त्रिक आन्दोलन सफल भयो ! गणतन्त्र आउने पक्का भयो ! गणतान्त्रिक नेपाल घोषणा भयो ।
गणतन्त्र अघि र पछि
मलाई जातीय, धार्मिक र क्षेत्रीयतावादी कुरा मन पर्दैन । तर माओवादी मित्रहरुले बढो नराम्रोसंग यिनै विष बृक्ष रोप्नु, गोडमेल गर्नु र हुर्काउनु भएको रहेछ । यसले साह्रै भ्रम फैलायो । एकअर्काप्रति अविश्वास जन्मायो । धेरैलाई ‘मिस गाइड’ गरायो । गराइरहेको छ ।
बंगलादेशमा जातीय राज्य भनेको राष्ट्रिय भन्ने अर्थ लाग्छ तर नेपालमा जातीय राज्य राष्ट्रिय राज्य हुन सक्दैन ! राष्ट्र बन्न सिमाना, जनता, भाषा चाहिन्छ । त्यसपछि मात्र जातीय कुरा आउछ भन्ने कुरा खै बुझेको ?
अहिले पनि समय छ, जातीय क्षेत्रीय र धार्मिक राज्य बनाउन लागेकाहरुले नेपाल बुझुन्, चिनुन् र जानुन् । यो यस्तो देश हो, जहाँ कुनै पनि ठाउमा कुनै एक जातीको मात्र बहुमत छैन ।
जातीयता तिर लैजान खोजीएकोले नै लोकतन्त्रिक गणतन्त्र नेपालमा देश अल्मलिएको हो । पहिलो संविधानसभा असफल भएको हो । दोस्रो संविधानसभा निर्वाचनमा जनताले माओवादीलाई दण्डित गरेका हुन् ।
संबिधान बने पनि कार्यान्वयन हुन नसक्नुको कारण पनि त्यही नै हो ।
सबै नेपाली जुन जाती, जुन धर्म र जुन क्षेत्रका भए पनि मिलेर बसेका थिए । यस्तो ठाउमा माओवादी जातीय, क्षेत्रीय र धार्मिक कुराले बिकृति र विसंगति ल्यायो । पछिल्लो समय त दुष्परिणाम नै ल्याएको छ । नेपाली नेता हुनुको बदला हिमाल, पहाड र मधेशको छुट्टा छुट्टै नेता बन्न खोज्दा संबिधानसभाले बनाएको संविधान पनि कार्यान्वयन हुन सकेको छैन । एकपछि अर्को बाधा अबरोध तेस्र्याइदैछन् ।
मैले पुलिसको लाठी खाएको, एक अर्कालाई मान्ने र सबैको सम्मान गर्ने शासन ब्यवस्थाको लागि हो । यहाँ हिन्दु, बौद्ध र मुस्लिम धर्म प्रचार गर्न हिंड्दैनन् तर क्रिश्चियनहरु भने किन धर्म प्रचारमा लिप्त भैरहेका होलान् ?
जातीय, क्षेत्रीय र धार्मिक बिभाजनले देश र जनतालाई नै ठूलो क्षति पु¥याउछ । भारतमै हेरौंन, रामजन्मभूमिको लागि भनेर बाबरी मस्जिद भत्काइयो । अहिले भारतीय जनता पार्टी शासन सत्तामा छ । तर त्यो मस्जिद भत्काउन नेतृत्व गरेका लालकृष्ण आडवानी भारतीय कानून अनुसार फसेका छन् । यसको सन्देश के भने, धार्मिक, जातीय र क्षेत्रीय कुरामा कुनै पनि पार्टी फस्नु हुदैन । दशौं गणतन्त्र दिवसमा सबैलाई चेतना भयो !
(देशभक्त खनाल, नाटक र चलचित्र कर्मी हुन् ।)