चिसो पानीले नुहाउँदै राजपा !

–भीम भुर्तेल

आफूलाई मधेसी पहिचानको राजनीतिको केन्द्र दावी गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) स्थापनाको पहिलो महिनामै ठूलो संकटमा परेको छ ।
राजपामा संलग्न तत्कालीन मधेसीवादी दलहरुले संविधान निर्माणको प्रक्रिया बहिस्कार गरे । भारतीय कुटनीतिक दवावको नेपाली अभिकर्ता भएर नेपाल–भारत सिमामा बसेर नेपाललाई नाकाबन्दी समेत गरे । अनाहकमा सर्वसाधारण जनतालाई दुःख मात्रै दिए ।

तर, मधेसको प्रतिनिधि भएर तत्कालीन मधेसी मोर्चा संविधान निर्माणको क्रममा संविधानसभामा मधेसीको माग दर्ज नै नगरेर कर्तव्य च्युत भएको थियो ।
संविधानसभाको संस्थागत स्मृतिमा मधेसको माग के थियो भन्ने कहींकतै केहि पनि भेटिदैन !
सबै बिषयलाई प्रक्रियामा प्रवेशै नगराई हामीले भनेको हुनुपर्छ र भारत हाम्रो पछाडि भएपछि हामीले मागेका सवै माग पुरा हुन्छन् भन्ने ठानेर बैधानिक प्रकृया बहिस्कार गरेका दलहरुको समुह राजपा अहिले स्थानीय निर्वाचनमा भाग नलिए समाप्त हुने अवस्थामा पुगेको छ ।
यस पछाडि खास केही कारण रहेका छन् ।

पहिलो

राजपाले राखेको संविधान संसोधनको माग पुरा गरेर निर्वाचनमा जान कांग्रेस र माओवादी केन्द्र नै भित्रबाट तयार पहिले पनि थिएनन् र अहिले पनि छैनन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संविधान संशोधनको विरोध प्रमुख चुनावी राजनीतिक मुद्धा नै हो । मधेसी दलको संविधान संशोधनको माग पुरा भएमा खासगरी दुई नम्वर प्रदेशमा मधेसी दलहरु मतदातासमक्ष मत माग्न सक्ने हैसियत लिएर जाने अवस्था सिर्जना हुने थियो ।

तर, यसको प्रत्युत्पादक परिणाम, पहिलो चरणको निर्वाचनमा एमालेले पाएको सफलताले के देखाउँछ भने, त्यसै प्रदेशका मात्र होइन बाँकी तीनवटा प्रदेशका पहाडे समुदायवीच कांगे्रस र माओवादी केन्द्र आफै थप पत्तासाफ हुनेछन् ।
त्यसकारण, संविधान संशोधन स्थानीय निर्वाचन अगाडि मात्र होइन अहिलेको संसदको गणितीय समीकरण कायम रहुञ्जेल वा त्यसपछि पनि हुने सम्भावना दुर तक नै छैन ।
आफैले आफैलाई समाप्त पार्ने आत्मघाती कदम न कांगे्रसले उठाउँछ नत माओवादीले नै । यो तथ्य राजपाले मनन गर्न जरुरी छ ।

 

 

दोस्रो

दोस्रो महत्वपुर्ण पक्ष भनेको निर्वाचनको बैधताको प्रश्न हो । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक सरकारमा सामेल रहेको र पहिलो चरणको निर्वाचनमा सहभागि भएको मधेसवादी दल हो ।
त्यस्तै संविधान संशोधन अगाडि कुनै पनि हालतमा निर्वाचन प्रक्रियामा सहभागीता नजनाउने भनिरहेका मधेसवादी दलमध्येको सवैभन्दा ठुलो एक दल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणमा निर्वाचनमा सहभागिता जनाएको र दोस्रो चरणमा पनि सहभागिता जनाउँने भएकाले राजपाले यो निर्वाचनको बैधतामाथि प्रश्न उठाउँने ठाउँ पाउँदैन र छैन ।
राजपाले बहिष्कार गदैमा निर्वाचन रोकिने अवस्था पनि रहदैन ।

निर्वाचनमा बाधा व्यवधान खडा गर्न खोजे त्यो सामान्य ‘ल एण्ड अर्डर’को समस्या हुन्छ र त्यसलाई प्रहरी, प्रशासन वा सेनासम्मको सहायताले निप्टारा राज्यले गर्ने नै छ ।
यसबाट राजपालाई दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा विनाशर्त सहभागी बन्नै पर्ने बाध्यात्मक अवस्था सिर्जित छ । ’cause राजपाले अहिलेको निर्वाचन बहिस्कार गरे चार बर्ष अगाडी नेकपा माओवादी बैद्य समुहले भोगेको नियती भोग्ने निश्चित छ ।

दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार गरेको कारण मोहन बैद्यको दल छिन्नभिन्न मात्र भएन कि बैद्य राजनीतिक दृष्यबाटै गायव भएका छन् । एक हिस्सा नेत्रविक्रम चन्दको नेतृत्वमा लाग्यो भने अर्को ठुलो समुह माओवादी केन्द्रतर्फ नै फर्किए ।

यो कुरो राजपाको हकमा पनि लागु हुन्छ । राजपाले निर्वाचन बहिस्कार गरे त्यसका कार्यकर्ताहरु कि उपेन्द्र यादवको संघीय समाजवादी फोरम, कि बिजयकुमार गच्छदारको फोरम लोकतान्त्रिक पार्टीतर्फ लाग्ने छन् ।
साथै स्थानीय निर्वाचनले स्थानीय नेतृत्व र स्थानीय अर्थराजनीतिमा महत्व राख्ने हुँदा केही कार्यकर्ता कांगे्रस, एमाले र माओवादी केन्द्रतर्फ पनि फर्किने छन् । यस्तो अवस्थामा राजपाले निर्वाचन बहिस्कार गरे बैद्यको जस्तो नेता मात्रको पार्टी हुने छ ।

 

 

तेस्रो

राजपाको थोरै हैसियत रहोस भन्ने हेतुले मधेसमा २२ स्थानीय निकाय थप्ने र केहि गाउँपालिकालाई नगरपालिका तथा विराटनगर र वीरगञ्जलगायतका उपमहानगरपालिकालाई महानगरपालिका बनाउने सरकारको निर्णय पनि सर्वोच्च अदालतको अन्तरिम आदेशले अहिले स्थगित भएको छ ।

चौथो

राजपाको सवैभन्दा भरोसामन्द मित्र भारतले पनि स्थानीय निर्वाचन घोषणा हुने वित्तिकै उत्तरी छिमेकी देश चीनले करिब २ अर्ब नेपाली रुपैया बराबरको बन्दोबस्तीको सहायता दिएको कारण पनि ८० वटा गाडी लगायतको सहायता दिन बाध्य भयो ।

संविधान संसोधनको लागि राजपाको लाइनमा निरन्तर कुटनीतिक दवाव दिइरहेको भारत पहिलो चरणको निर्वाचनको मत गणना प्रारम्भ भए लगत्तै आफ्नो पुरानो अडानबाट पछि हटेको अवस्था छ ।
भारतीय राजदुत मञ्जिवसिंह पुरीले संविधान संशोधन नभए स्थानीय निर्वाचनमा भाग नलिने अडानमा रहेका राजपाका नेतालाई संविधान संशोधनको अजेण्डा त्याग्न दवाव दिएको अवस्था छ ।

पाँचौं

पाँचौं विकल्प भनेको विद्रोहमा जाने हो । राजपाले खोजको जस्तो संविधान संशोधनको सम्भावना विधायिकामा दुइ तिहाई अंकगणीत जुटाउने अवस्थाको सिर्जना २०६२÷६३ को जनआन्दोलनभन्दा अझ बढि शक्तिशाली जनविद्रोहले मात्र गर्न सक्छ ।
सवै मधेसवादी एक ठाउँमा भएको आन्तरिक अवस्था र दक्षिणतर्फको वाह्य अवस्था दुवै रुपमा अनुकुल भएको बेलासमेत त्यस्तो विद्रोहको सिर्जना गर्न सकेनन् भने सवै हिसावले प्रतिकुल भएको हालको अवस्थामा त्यस्तो विद्रोह हुने सम्भावना नै छैन ।
यसरी प्रभाव र परिणामविहिन आन्दोलनलाई निरन्तरता दिइ राखे आफै समाप्त हुने छन् ।

 

 

अन्तिम विकल्प
राजपाको अन्तिम विकल्प भनेको नेत्रविक्रम चन्द जस्तो जंगल पस्ने र शसस्त्र विद्रोह गर्ने हो ।
राजनीतिमा लागेर काठमाण्डौमा जोडेका आलिसान घर तथा सुविधा छोडेर कुनै पनि मधेसी नेता शसस्त्र विद्रोहको बाटो समात्ने आँट गर्ने छैनन् । गरे नै भने पनि त्यो आत्मघाती विकल्प मात्र हुने छ ।
यी कारणले राजपा अहिले बढो बिलखबन्दमा छ ।
स्थानीय निर्वाचनमा भाग लिउँ भने के भनेर भोट माग्न जानु ? नलिउँ भने राजनीतिक अस्तित्व नै समाप्त भएर जाने अवस्था छ ।

‘नखाउँ भने दिनभरीको शिकार, खाउँभने कान्छा बाउँको अनुहार’ भन्ने उखान चरितार्थ भएको अवस्थामा छन्, मधेसी दलहरु ।
यो उनीहरुले परिस्थिति र आफैलाई आंकलन गर्न नसकेको कारण हो ।
आफ्नै तागतमा खडा हुनु एक फरक अवस्था हो भने अर्कोले बोकेको वेला उच्छिलिनु अर्को कुरो हो ।
बिगत २० महिनाको अवधी, मधेसी दल बिषेश गरी हालको राजपाको ‘चिसै पानीले नुहाउँने’ अवस्था हो ।
‘चिसैले नुहाउँने’ सन्र्दभ बढो रोचक छ ।

एक व्यक्तिले भर्खरै बिहे गरेको रहेछ । उ हरेक दिन बिहानै उठेर श्रीमतीलाई ‘अइ केटी पानी तताईस’ भनेर सोध्ने गर्दो रहेछ । श्रीमतीले पनि ‘तताएँ हजुर’ भन्दिरहिछिन ।
त्यसपछि श्रीमान ठुलो स्वरले ‘नत्र’ भन्दो रहेछ ।
यो क्रम चलेको तीन चार महिनापछि श्रीमतीले एक दिन पँधेरोमा पानी भर्न जाँदा एक जना साथीलाई आफ्नो पतिको बानी’bout बताइछन् ।

मेरो श्रीमान प्रत्येक दिन उठ्ने वित्तिकै ‘अइ केटी पानी तताईस’ भनेर सोध्ने गर्नुहुन्छ । म ‘तताए हजुर’ भन्छु तर श्रीमान झन् ठुलो स्वरले ‘नत्र’ भन्नुहुन्छ । किन होला साथी भनेर सोधिछन् ।
सबैकुरा सुनिसकेपछि पधेर्नी साथीले भनिन्, भोली पानी चै तताउँनु तर श्रीमानले पानी तताइस भन्दाखेरी तताए हजुर भन्नु । अनि जब उनले सधैंझैं ‘नत्र’ भन्लान् त्यसपछि तिमीले पनि ‘नत्र’ के भनेर ठुलै स्वरले जवाफ फर्काउँनु !
घर फर्किएर सदाझैं श्रीमतीले पानी तताएर बसिछन् ।
श्रीमानले सोधेछन्, ‘अइ केटी पानी तताईस’ ?
श्रीमतीले जवाफ दिइन् ‘तताए हजुर’ ।
त्यसपछि श्रीमानले ठुलो स्वरले ‘नत्र’ भनेछन । तत्कालै श्रीमतीले पनि ‘नत्र’ के ‘नत्र’ भनेर ठुलै स्वरले सोधिछन ।
त्यसपछि श्रीमानले मधुरो आवाजमा भनेछन् ‘नत्र चिसै पानीले भए पनि नुहाउँला नि’ ।
अहिले राजपा पनि त्यसैगरी चिसो पानीले नुहाउने अवस्थामा पुगेको छ ।