सत्ताको खेलमा काँग्रेस-माओवादीको सैद्धान्तिक झेल !

कृष्ण मुरारी भण्डारी
काठमाण्डौं, २५ जेठ ।
मूल्य, मान्यता, आदर्श र सिद्धान्तका खेतीवालहरुको ब्याकरणमा काँग्रेस र माओवादी एकता असंभव कुरा हो । तर यथार्थमा यही कुरा सत्य सावित भैरहेको छ । त्यतीमात्र होइन, अहिले यो एकताले पहिलो दश महिनाको हनिमुनको चरण सकेर दोस्रो हनिमुनको चरणमा फड्को मारेको छ ।
यतिखेर पुष्पकमल दाहाल प्रचण्डले कोल्टो फेरेर शेरबहादुर देउवालाई सत्तामा आसिन गराएका छन् । दन्त्यकथाका सम्धीहरुले जस्तो ‘पहले आप, पहले आप’ मात्रै होइन, उनीहरु त पालैपालो सत्ताको रेल चढिरहेका छन् ।
यतिखेर काँग्रेसलाई माओवादीको आड छ र माओवादीलाई काँग्रेसमाथि भर रहेको छ ! पुष्पकमल दाहाल दश महिना रेलगाडी चढेर उत्रिएपछि शेरबहादुरले यो वर्षभरका लागि रेलको यात्रा भर्खरै पक्का गराए । उनले जेठ २४ गतेदेखि शेरबहादुर एक्सप्रेस रेलयात्रा शुरु पनि गरेका छन् । सिद्धान्तकारहरु भन्छन्, उग्र दक्षिणपन्थी र उग्रबामपन्थीहरु विपरित धु्रबका जिनिस हुन् तर नेपालमा केही समयदेखि उनीहरु एकछत्र राज गरिरहेछन् । यो कसरी संभव भयो ?
संभव नहुँदो हो त काँग्रेस माओवादी एकता के आधारमा सफल र विश्वसनीय हुन पुगेको हो ? असंभव भनिने एकता यथार्थमा कसरी परिणत भयो र दिन परिदिन कसरी सत्य सावित भैरहेको छ ? यसका कारण के के हुन् र कारक को को हुन् ? माओवादी काँग्रेस गठबन्धन अबिश्वसनीय रुपमा सफल हुनुको राष्ट्रिय—अन्तर्राष्ट्रिय आधार, त्यसका गुह्य कारण र त्यसभित्रको रहस्य केलाउन सकिएला ?
एक दक्षिणपन्थी, अर्को उग्रबामपन्थी !
नेपाली काँग्रेस र माओवादी दुबैका दस्तावेजहरु हेर्ने हो भने काँग्रेसले माओवादीलाई उग्रबामपन्थी र माओवादीले काँग्रेसलाई घोर दक्षिणपन्थीको आरोप लगाउदै आएका छन् । उनीहरुका पार्टीको बिधान होस् वा चुनाव घोषणापत्र अथवा नेताहरुका लेख, भाषण र अन्तर्वार्ता, सबैतिर एकअर्कालाई उनीहरु यही रुपमा चित्रण गर्ने गरिरहेका छन् ।
यो घोर दक्षिणपन्थी र उग्रबामपन्थी नामाकरण काँग्रेस माओवादीहरुमाथि अरुले थोपरिदिएको विशेषण होइनन् । उनीहरुले एक अर्कालाई सिद्धान्तको कसीमा घोटेर निकालेको निष्कर्षको चुरो नै हो यो ।
गिरिजाप्रसाद कोइरालाले सधैं भनिरहे–माले, मशाले र मण्डले एकै हुन् ! माओवादीहरुले पनि पार्टी स्थापनादेखि नै भनिरहेका छन्–भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र स्वदेशी शोषक सामन्तको नोकर हो, नेपाली काँग्रेस । काँग्रेसमाथिको प्रहार नै करोडौं नेपाली श्रमजीवी जनतालाई शोषण, अन्याय, अत्याचार गर्ने सामन्त, नोकरशाह र दलाल पूँजीपति वर्गमाथिको आक्रमण हो !
हामी सब एकै हौं !
विपरित सिद्धान्त, आदर्श, मूल्य र मान्यता भएका काँग्रेस र माओवादीबीचको अहिलेको सहकार्य कसरी संभव भएको हो ? एकले अर्कालाई गद्धार भन्नेहरुको एकताको आधार के हो ? दिनपरदिन यो एकता के कारणले झनझन सुदृढ बन्न पुगेको होला ? यसको सैद्धान्तिक, ब्यवहारिक अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के होलान् ?
राजनीतिशास्त्रका एक प्राध्यापकले भने, यसमा धेरै गंभीर बन्नु आवश्यक छैन । यो ठूलो विषय नै होइन । सत्ताको खेलमा यो सामान्य झेल मात्र हो । विश्वका राजनीतिक चिन्तकहरु र तिनको चिन्तनलाई धेरै वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा पढाइरहेका र स्वदेश तथा विदेशमा भएका सेमिनार गोष्ठीहरुमा धेरै कार्यपत्र प्रस्तुत गरिसकेका ती विद्वानले सहज रुपमा वताए, उग्रबामपन्थी र उग्रदक्षिणपन्थीहरु उभिएको जमीन एउटै हो । धरातल पनि उस्तै हो । यी दुई पन्थीहरु फर्केको दिशा मात्र भिन्न हो !
उनी मुस्कुराउदै शान्त रुपमा भन्दै गए, यो मेरो अध्ययनको निश्कर्ष होइन । नत मैले गरेको आविष्कार नै हो । यो त राजनीतिशास्त्रको एउटा सर्वमान्य भनाइ मात्र हो । त्यसैले यो कुरा उद्धृत गर्दा तपाईले मेरो नाम पनि उल्लेख गर्नु पर्दैन । यो भनाईका खास अनुयायी नेपालमा बीपी हुन्, मदन भण्डारी हुन् । गिरिजाप्रसाद र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि हुन् । यिनीहरु सबैले यो अथवा त्यो रुपमा एउटै कुरा भनिरहे—राजनीतिमा कोही कसैको स्थायी मित्र र शत्रु हुँदैन ! त्यसैले दुइदुइ पटक हतियार उठाएर राजालाई सत्ताच्युत गर्न खोजेका बीपीले राष्ट्रिय मेलमिलाप भनेर तिनै राजासंग घाँटी जोड्न जीवनको अन्तिम समय ब्यतित गरे ।
मदन भण्डारीले कम्युनिष्ट भएर संबैधानिक राजतन्त्रको वकालत गरे । हिजो ज्ञानेन्द्रको शासनकालमा गृहमन्त्री रहेका कमल थापासँग एमालेको गठबन्धन पनि नदेखिएको होइन । तत्कालिन समयमा पिस्कर काण्डका नाइकेको रुपमा चित्रण गर्ने एमाले नेताहरुले लोकेन्द्रबहादुर चन्दलाई बहुदलमा प्रधानमन्त्री बनाउनसमेत भ्याए ।
गिरिजाप्रसादले आफ्ना हजारौं नेता कार्यकर्ताको आततायी किसिमले हत्यागर्ने प्रचण्डसंग सहकार्य गरे । माओवादी प्रचण्डले पनि प्रतिक्रियावादी, प्रतिगामी, षडयन्त्रकारी काँग्रेस र त्यसका नेता गिरिजाप्रसादसंग सहमती, सहकार्य र सहयात्रा गरे ।
अहिले काँग्रेस सभापति शेरबहादुर र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच त्यसभन्दा पनि माथिल्लोस्तरको सहकार्य र सहयात्रा भैरहेछ ।
युद्ध र प्रेममा सबै जायज हुन्छ भन्ने कुरा नेपाली राजनीतिमा पनि लागु भएकै हो त ?