देउवाको जोखिमपूर्ण कार्यकाल – हरि अधिकारी

नेताको उन्नति होस् वा अवनति, कुनै पनि स्थितिप्रति  जनता निरपेक्ष बस्न थाल्यो भने बुझे हुन्छ त्यस अमुक नेताले बिस्तारै बिस्तारै आफ्नो महत्व गुमाउँदै जान थालेको छ ।

 

– हरि अधिकारी

कामरेड प्रचण्डले पत्याउनै गार्‍होलाग्ने किसिमको इमान्दारी प्रदर्शन गर्दै सुम्पिदिएको प्रधानमन्त्रीको पदमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा विराजमान भएको दुई हप्ता हुन लागेको छ । देउवा प्रम नियुक्त भएको त्यस घटनाले नेपाली काङ्ग्रेस पार्टीका क्रियाशील कार्यकर्ताहरूमा मात्र होइन लोकतन्त्रमा विश्वास राख्ने सम्पूर्ण नेपाली जनतामा उत्साह र जाँगरको संचार गराउनु पर्ने हो । तर यथार्थमा त्यस्तो हुन सकेको छैन । झण्डै दुई-तिहाई सांसदको समर्थनमा भएको उनको यो सत्तारोहणलाई लिएर सर्वसाधारण नेपाली जनताले प्रदर्शन गरेको यो उदाशीनता नेपाली काङ्ग्रेस र प्रम देउवा स्वयंकालागि समेत गम्भीर खतराको संकेत हो । नेताको उन्नति होस् वा अवनति, कुनै पनि स्थितिप्रति  जनता निरपेक्ष बस्न थाल्यो भने बुझे हुन्छ त्यस अमुक नेताले बिस्तारै बिस्तारै आफ्नो महत्व गुमाउँदै जान थालेको छ ।

पार्टी संगठन र सरकार दुबै ठाउँमा बलियो पकड राख्न सफल भएका देखिन्छ्न् शेरबहादुर देउवा । झट्ट हेर्दा नेपाली राष्ट्रिय राजनीतिको अखाडामा  उनको भूमिका कमजोर बन्दै गएको छ भनिहाल्न नमिल्ला । तर किन हो कुन्नि, उनी आम र खास दुबै थरी नेपाली जनताको भरोसाको आधार हुन छोडेका छन् । त्यसैले उनले देशको राजनीतिक परिदृष्यमा ढिलो गरी नै किन नहोस्, प्रासंगिकता गुमाउँदै गए भने त्यो बिलकुलै अस्वाभाविक हुनेछैन । देउवाले नेपाली काङ्ग्रेसको भलो चाहने तर नेताहरूको रचनात्मक आलोचना पनि गर्ने आँट भएका सचेत नेपाली नागरिकहरूलाई आफूतिर आकर्षित गर्न छोडेको धेरै समय भइसकेको छ जस्तो बुझिन्छ । स्वाधीन र योग्य मानिसहरू किनारा लागेका र जहिले पनि सत्ताको वरिपरी झुम्मिइरहन चाहने थोरै परजीवीहरू भने उनीसँग टाँसिएको टाँसियै छन् । त्यस्ता अवसरवादीहरूको ओठेभक्तिले अत्यन्तै असजिलो समयमा सिंहदरबार पुगेका देउवालाई रत्तिभर पनि मद्दत गर्न सक्दैन भन्ने  सामान्य व्यबहार गणितको समेत हेक्का राखेको देखिंदैन देउवा निवासले ।

आफ्नो सत्तारोहणप्रति जनताले व्यक्त गरेको यो उपेक्षा- भावलाई उनीहरूको अपेक्षा र अभिरूचिमा बदल्न नवनियुक्त प्रधानमन्त्रीले केही त्यस्ता तात्कालिक र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न सक्नुपर्दथ्यो जसले जनताको मनमा यसपटक देउवाले केही गर्न खोजेका छन् भन्ने अनुभूति जगाउन सक्दथ्यो । खेदको कुरो, देउवाले त्यस्तो आशलाग्दो सुरुवात गर्ने जमर्को सम्म पनि गरेका छैनन् । उनले यसपटकको पदबहाली पछि गरेको गतिविधिबाट उनको कार्यशैलीको  जुन छनक देखिएको छ त्यो चरम् निराशाजनक छ भन्दा अत्युक्ति हुनेछैन । त्यसका आलोकमा हेर्ने हो भने देउवामा समयका चुनौतीहरूको सामना गर्ने कुनै नयाँ योजना छैन, उही परम्परागत शैलीमा धानेर जसोतसो प्रमका रूपमा चौथो पटकको कार्यकाल पूरा गर्ने ध्याउन्ना मात्र छ भन्ने पुष्टि हुन्छ । आज देशका सामुन्ने जे- जस्ता अप्ठ्याराहरू छन् तिनको व्यवस्थापन उही चीरस्थापित पुरानो शैलीबाट हुन सक्दैन ।

मन्त्रीहरूको चयनदेखि लिएर आफ्नो सरकारका प्राथमिकताहरूको उदघोष गर्दासम्म कतै पनि नयाँ प्रधानमन्त्रीमा नयाँ सोच र आँट प्रतिविम्बित भएको नदेखिनु चिन्ताको विषय हो । मन्त्रीहरूबाट परिणाम दिनसक्ने ढंगले काम गराउनका लागि  आवश्यक देखिएका खण्डमा यस अघि उदाहरणीय काम गर्न सफल भएकाहरूलाई फेरि एक पटक मौका दिने छाँटकाँट पनि प्रम देउवाले देखाएका छैनन् । उनले पहिलो चरणमा मन्त्री बनाएकाहरूको योग्यता र क्षमताका ’boutमा नकारात्मक टिप्पणी गर्ने मनसाय यस लेखकको छैन । पार्टीबाट उनले टिपेका तीनै जना वरिष्ट र योग्य छन् तर तिनलाई के आधारमा मौका दिइएको हो त्यो भने प्रष्ट छैन । पुरानालाई नदोहोर्‍याउन खोजेको  हो भने ती नेताहरू पटक पटक मन्त्री भएकै  हुन् । नयाँलाई मौका दिन चाहेको हो भने त  एकदमै नयाँ अनुहारहरूलाई साथ लिएर नयाँ ढंगले प्रशासन चलाउने प्रयास गरेको भए राम्रो हुने थियो । पार्टी सभापति पनि आफैँ भएकोले देउवालाई बिना कसैको दवाव आफूले सोचे अनुसार अगाडि बढ्न पाउने सुविधा छ । तर यस्तो लाग्छ उनीबाट त्यो सुविधाको सदुपयोग हुन सकिरहेको छैन ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाद्वारा पार्टी र सरकार दुबैको नेतृत्व सम्हालिरहँदा उनले पार्टीका सहकर्मी साथीहरू, विशेष गरी वरिष्ट नेता रामचन्द्र पौडेलबाट सहयोग वा असहयोग के पाएका छन् त्यसको पनि सँगसँगै चर्चा हुनु स्वाभाविक नै हो । खेदको विषय, वरिष्ट नेता पौडेलले आफूलाई ‘प्रतीक्षारत पार्टी सभापति’ को रूपमा उभ्याएर वर्तमान सभापतिलाई आफ्नो सोच र शैलीका साथ संगठन र सरकार दुबै मोर्चामा अगाडि बढ्न दिनुको सट्टा पाइला पाइलामा भागबण्डा गर्नुपर्ने दवाव दिएर अत्यन्तै संकीर्ण मानसिकताको प्रदर्शन गरेका छन् । सभापति र संसदीय दलको नेता दुबै पदको चुनावमा देउवासंग पराजित पौडेलले निर्वाचित सभापतिले सबै काम पराजित सभापतिले चाहे अनुसार गर्नु पर्दछ भन्ने ठान्नु भन्दा ठूलो मूर्खता अर्को केही हुन सक्दैन । सुनिएको छ पौडेल आफ्नो गुटका चार जनालाई रोजेको मन्त्रालय पाउने गरी देउवा क्याबिनेटमा सामेल गर्नु पर्दछ भन्दै दवाब दिइरहेका छन् रे! अनुभवी नेता रामचन्द्र पौडेलले वीपी, केपी र जीएम्को पार्टी नेपाली काङ्ग्रेसमा कस्तो सांगठनिक संस्कृति भित्र्याउँन खोजेको हो,  बुझी नसक्नु भएको छ ।

यी सबै परिसूचकहरू र अरू सतहमा नदेखिएका कतिपय नकारात्मक विषयहरूका प्रकाशमा हेर्दा नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाको प्रमका रूपमा चौथो पटकको यो कार्यकाल अत्यन्तै जोखिमपूर्ण देखिन्छ । जोडजाड, परितोषण, छलछाम र सल्लाह- साउतीबाट मात्र विद्यमान भीमकाय समस्याहरूबाट न देउवाले पार पाउनेछन् न त देशले नै । अहिले त अत्यन्तै ठूलो आँटका साथ बढी भन्दा बढी जनताको विश्वास जित्ने गरी ठोस निर्णय गरेर माघ ७, २०७४ को समयसीमाभित्र चुनावहरू सम्पन्न गरी संविधानको प्राणप्रतिष्ठा गर्नु छ । त्यसको सुरुवात देउवाले मधेसका सत्ताखोर केही नेताको नाजायज मागलाई अस्वीकार गर्दै स्थानीय तहको दोस्रो चरणको चुनाव तोकेकै मितिमा गराएर गर्न सक्दछन् । त्यसो हुनसकेको खण्डमा मात्र अरू दुइटा चुनावप्रति जनताको भरोसा जागृत हुनेछ । सबै थरीका सबै माग त भगवानले पनि पूरा गर्न नसक्ने हुनाले महतो र ठाकुरहरूलाई प्रष्ट शब्दमा भनिदिनु जरूरी छ उनीहरूका कुन माग पूरा गर्न सकिन्छ कुन सकिंदैन । निहित स्वार्थी वर्गको भयादोहनबाट यस देशलाई मुक्त गर्नै पर्दछ । त्यसो गर्ने जिम्मेवारी शेरबहादुर देउवाको काँधमा आएको छ ।

(हरि अधिकारीका लेख रचनाहरु अब सदृश्यमा नियमित पढ्न पाइनेछ – सम्पादक )