काङ्ग्रेस किन भयो कमजोर ? -हरि अधिकारी
हरि अधिकारी
“अहिले काङ्ग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको एउटा गुट छ कृष्ण्प्रसाद सिटौलाको अर्को । गणेशमान सिंहको सुपुत्र भएका कारण पार्टीको राजनीतिमा सिंहांश ( लायन्स् शेयर ) दावी गर्दै र पाउँदै आएका प्रकाशमान सिंहले पनि आफू वरिपरी झुम्मिइरहने अधिकांश बेकम्मा परजीवीहरूको झुण्ड पालेका छन् । एक समयका शक्तिशाली केन्द्रीय नेता खुमबहादुर खड्का पनि के कम ? उनले पनि आफ्ना वफादारहरूको बलियो मण्डली बनाएका छन् । सभापति शेरबहादुर देउवाको आधारभूमि सुदूर पश्चिमको स्थिति त झनै विचित्रको छ । त्यहाँका अधिकांश जिल्लामा उनकै आशिर्वाद पाएको दावी गर्दै दुई दुई गुट अस्तित्वमा आएका छन् र अवसरहरू आफू र आफ्नाहरूका पोल्टामा पार्नका लागि मारामार गरिरहन्छ्न् ।”
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली काङ्ग्रेसले आफ्नो स्थितिमा उल्लेख्य सुधार गर्नेछ भन्ने त्यस दलका सभापति लगायत नेतागणको दावी खोक्रो साबित हुने संभावना प्रवल भएको छ । गत १४ गते सम्पन्न भएको चुनावको परिणाम धमाधम आउदै गर्दा काङ्ग्रेसको स्थितिमा खासै सुधार हुनेछैन भन्ने प्रष्ट हुँदै गएको हो । यस्तो देखिँदैछ, यसपटक पनि पहिलो चरणको चुनावमा जस्तै त्यो पुरानो प्रजातान्त्रिक पार्टी विपक्षी वामपन्थी दल नेकपा- एमालेभन्दा पछाडि नै पर्नेछ । त्यस संभावित अन्तिम परिणामले गरेको संकेतले जहाँ नेकाको नेतृवर्गलाई गहन आत्मसमीक्षा गर्नुपर्ने स्थितिमा पुर्याएको छ त्यहीँ, त्यो पुरानो र मध्यममार्गी राजनीतिक संगठनका लाखौँ समर्थक मतदाताहरूलाई निराशाको गर्तमा धकेलिदिएको छ । यो निराशा काङ्ग्रेसले हार्यो भनेर मात्र फैलिएको भने होइन । स्थानीय तहको चुनावमा एक नम्बर बन्न सफल नेकपा- एमालेले लिएको सस्तो लोकप्रियतावादी नीति र बाँडेका अनर्गल आश्वासनले देशमा उत्पन्न गर्नसक्ने नैतिक संकट र वित्तीय अराजकताको भय पनि मिसिएको छ विवेकी नेपालीहरूको मनमा फैलिएको निराशाको त्यस भावमा ।
काङ्ग्रेसका शीर्ष नेताहरूले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको कमजोर प्रदर्शनका कारणहरू खोज्ने प्रयत्न गर्लान् नै । त्यसका लागि केही समय पर्खनु पर्ला । अहिले भने लोकवाणी के छ बुझ्नु रमाइलो कुरो हुनेछ । आजको नेपाली समाजमा लोकप्रिय रहेका फेसबूक जस्ता सामाजिक सञ्जालहरूमा आम नेपालीहरूले गरेका वहुधा टिप्पणीहरूलाई केलाएर हेर्ने हो भने अधिकांशको एउटै निचोड देखिन्छ- काङ्ग्रेसलाई एमालेले होइन, काङ्ग्रेसीहरूले नै हराइदिएका हुन् । ती टिप्पणीकारहरूले भन्न खोजेका हुन्-सधैँझैं यसपटक पनि काङ्ग्रेसहरूबाटै आफ्ना उमेदवारहरू विरुद्ध व्यापक अन्तर्घात भएको छ । फेसबूकमा टिप्पणी गर्नेले कुनै आधार दिइरहनु नपर्ने र पछि आफ्नो भनाइ गलत ठहरिए पनि उत्तरदायित्व लिनु नपर्ने हुनाले यो अन्तर्घातवाला निष्कर्ष कति सही छ वा कति गलत कसैले पनि भन्न सक्दैन । आम जनमानसमा भने फेसबूके टिप्पणीहरूको राम्रै प्रभाव परेको देखिन्छ ।
नेपाली काङ्ग्रेसको राजनीति, त्यसका नेताहरूको सोच र कार्यशैलीलाई एकदमै नजिकबाट नियालिरहेको यस लेखकका विचारमा भने नेकाले जसरी आफ्नो शाख गुमाउँदै गएको छ त्यसका पछाडि कार्यकर्ता तहमा
रहेको वैमनष्य भन्दा नेताहरूले निर्माण गरेको आ- आफ्ना हनुमानहरूको मण्डली र टिकट वितरणका बेलामा ती मण्डलीहरूले पार्ने अनुचित प्रभावको ठूलो हात छ । केही ठाउँमा काङ्ग्रेसले काङ्ग्रेसलाई हराउन लुकिछिपी प्रयास पनि गरे होलान् तर नेका त्यसले गर्दा एमालेको हातबाट पछारिएको हुँदै होइन । त्यो ऎतिहासिक दल कमजोर बन्दै गएको त्यसमा व्याप्त गुटबन्दीले पो हो ।
आजको नेपाली काङ्ग्रेसमा सभापतिदेखि लिएर पदाधिकारीहरू र अलि बलिया केन्द्रीय सदस्यसम्मले वफादार सहयोगी ठानिएका कथित कार्यकर्ताहरूको एक एक वटा वृत्त बनाएका छन् । विडम्बनाको विषय त के छ भने त्यस्ता वफादार ठानिएका हनुमानहरू प्राय: पैसावाल र काङ्ग्रेस राजनीतिमा नयाँ आएकाहरू नै हुने गर्छन् । नेतासँग नजिक भएका तिनीहरूले जिल्ला र क्षेत्र तहमा आ-आफ्ना समर्थक – सहयोगीहरूको अर्को वृत्त बनाएका छन् । अब चुनावमा टिकट बाँड्दा होस् वा पार्टीले दिनसक्ने लाभका अवसरहरू वितरण गर्दा होस् तिनै मण्डली सदस्यहरूले प्राथमिकता पाउने गर्छन् । त्यस्ता मण्डली बाहिर रहेका काङ्ग्रेसहरूले ती जतिसुकै योग्य र उपयुक्त किन नहुन् कुनै अवसर पाउँदैनन् ।
अहिले काङ्ग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको एउटा गुट छ कृष्ण्प्रसाद सिटौलाको अर्को । गणेशमान सिंहको सुपुत्र भएका कारण पार्टीको राजनीतिमा सिंहांश ( लायन्स् शेयर ) दावी गर्दै र पाउँदै आएका प्रकाशमान सिंहले पनि आफू वरिपरी झुम्मिइरहने अधिकांश बेकम्मा परजीवीहरूको झुण्ड पालेका छन् । एक समयका शक्तिशाली केन्द्रीय नेता खुमबहादुर खड्का पनि के कम ? उनले पनि आफ्ना वफादारहरूको बलियो मण्डली बनाएका छन् । सभापति शेरबहादुर देउवाको आधारभूमि सुदूर पश्चिमको स्थिति त झनै विचित्रको छ । त्यहाँका अधिकांश जिल्लामा उनकै आशिर्वाद पाएको दावी गर्दै दुई दुई गुट अस्तित्वमा आएका छन् र अवसरहरू आफू र आफ्नाहरूका पोल्टामा पार्नका लागि मारामार गरिरहन्छ्न् । थोरै सन्तोषको विषय के छ भने पार्टीका प्रभावशाली मध्ये नै पर्ने नेताहरू शशांक कोइराला, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, शेखर कोइराला, चिरञ्जीवी वाग्ले आदिले भने आफ्ना पक्षमा केही समर्थकहरू बनाए पनि पार्टीलाई समस्या पर्ने हदसम्म कसैको पक्षपोषण गरेको देखिएको छैन । पार्टीका अर्का ठूला नेता विमलेन्द्र निधिको प्रदेशमा चुनाव पछि सरेकोले चुनावका सन्दर्भमा उनको गुटगत व्यबहार कस्तो हुन्छ पछि मात्र प्रष्ट हुनेछ ।
स्थानीय तहको पहिलो चरणको चुनावमा पार्टी भित्र हुर्केको गुटवन्दीले काङ्ग्रेस प्रत्याशीहरूको चयन प्रक्रियामा जुन नकारात्मक प्रभाव पारेको थियो दोस्रो चरणको चुनावमा त्यो नकारात्मकता झनै झाङ्गिएको पाइयो । गुटगत विभाजनको सबैभन्दा नराम्रो प्रभाव पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाको आधारभूमि सुदूर पश्चिमाञ्चल त्यसमा पनि मुख्यत: उनकै जिल्ला डडेलधुरामा परेको देखियो । देउवाको राजनीतिक जीवनमा डडेलधुरालाई लिएर यस्तो अन्यौल, अनिश्चितता, अन्त्यमा गलत निर्णय र पराजय कहिल्यै पनि देखिएको थिएन । उनकै नाम लिएर जिल्लामा गुटगत राजनीति गर्दै आएका कर्ण मल्ल र रघुवर भट्टको स्वार्थान्ध गुटवाजीलाई बेलैमा कठोरतापूर्वक व्यवस्थापन गर्न नसकेर जिल्लाको केन्द्रस्थ नगरपालिका नै एमालेको पोल्टामा गएको टुलुटुलु हेर्न वाध्य भए सुदूर पश्चिमाञ्चलकै एकछत्र नेता देउवा ।
नेपाली काङ्ग्रेसको गढ दाङमा प्रत्याशीहरूको चयनका समयमा नेता खुमबहादुर खड्काले गरेको हस्तक्षेप, पूर्वमा कृष्णप्रसाद सिटौलाले प्रदर्शन गरेको हैकमवाद र कुलबहादुर गुरुङले देखाउन नसकेको उदारता पनि नेकाको पराजयका कारण मध्ये पर्दछन् । वास्तवमा नेपाली काङ्ग्रेसका माथिल्लो तहका सबैजसो नेताले आज समग्र पार्टीको हितलाई सर्वोपरी राखी सोही अनुसार प्रस्तुत हुनुपर्नेमा त्यसको ठीक विपरीत आ-आफ्नो प्रभावको सानो कन्स्टिच्युसनलाई बलियो बनाउनमा मात्र ध्यान केन्द्रित गरेको देखिनु प्रजातन्त्र र पार्टी प्रणालीको सुदृढीकरणका दृष्टिले हेर्दा चरम् दुर्भाग्यको कुरो हो । यसो हुनुमा मुख्यत: यी नेताहरूमा आत्मविश्वासको कमी, सभापतिप्रति यिनको भरोसाको न्युनता र चरम् पदलोलुपता नै कारक छन् । सभापतिले पनि केही नेतालाई खास खास ठाउँको सुबेदार जस्तो बनाएर पूरै जिम्मा दिने, गलत नै गरेपनि वास्त्ता नगर्ने नीति अख्तियार गरेर यिनीहरूको सुबेदारीलाई बढावा दिने गल्ती गरेको देखिन्छ । यसले गर्दा पार्टीका केही नेता क्षेत्रीय बडाहाकिम जस्तो बनेका छन् । यो सभापतिको नेतृत्व शैलीको कमजोर पक्षका रूपमा सतहमा आएको छ ।