सानो समाचारको ठूलो प्रभाव ! ‘क्याबात् हवल्दार साप’ भन्न सक्ने मन्त्रीलाई पनि भनौं–क्याबात् गृहमन्त्री !

 

–कृष्णमुरारी भण्डारी

 

दोस्रो चरणको स्थानीय चुनावका दिन असार १४ गते तुल्सीपुर उपमहानगरपालिका–३ स्थित श्री माबि प्रतापकोट अम्बास मतदान केन्द्रलाई लक्षीत गर्दै माओवादी विप्लव समूहले गरेको बम आक्रमणबाट एक प्रहरी हवल्दारको सुझबुझ, होसियारी, चातुर्य र बहादुरीले मतदान भैरहेको ठाउलाई ध्वश्त हुनबाट जोगायो ।
यो खबरलाई सदृश्य डट कमले महत्वका साथ प्रकाशित गरेर नेपाल प्रहरीका तल्लो तहमा रहेका जवान आफ्नो कामप्रति कति कटिबद्ध छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

 

प्रहरी हवल्दारको यो बहादुरीले तीन जना पूर्व प्रहरी आइजीपीहरु मध्ये दुईजना करोडौंको घुष प्रकरणमा जेलमा चक्की पिसिरहँदा र अर्का एकजना आइजीपी अझै फरार रहेर सकल प्रहरीको बर्दीलाई लाज लागिरहेको छ । सार्वजनिक रुपमा मुख देखाउन गाह्रो परिरहेको छ ।

 

यस्तो समयमा एउटा हवल्दारले प्रदर्शन गरेको कर्तब्यनिष्ठ कार्यले भ्रष्टाचार मण्डलीमा सामेल नभएका प्रहरीहरुको शिरलाई उचो बनाइदिएको मात्रै छैन, आमजनताबीच सामाजिक संजाल र आमसंचार माध्यममार्फत वाहवाह पाइरहेको छ । प्रहरी संगठनभित्र यस्ता बहादुर जवान पनि रहेछन्, जो आफ्नो जीवनको पर्वाह नगरी कर्तब्यप्रति हदैसम्म निष्ठावान हुने रहेछन् भन्ने खबरले चर्चा पाइरहेको छ ।

 

 

मतदान भैरहेको समयमा गरिएको सुतरी बम प्रहारलाई प्रहरीका हवल्दार दुर्गाबहादुर रानाले सिनेमाको हिरोले झैं च्याप्प समातेर मतदान केन्द्र बाहिर फ्याँक्न नसकेको भए उनी त यो संसारबाट जान्थे जान्थे, मतदान गर्न लाइन लागिरहेका नागरिकहरुको लाशको चाँग पनि लाग्न सक्थ्यो ।

 

तर एकजना प्रहरी जवानको चनाखो साहसले भयानक विष्फोटनबाट मतदान केन्द्रलाई नै जोगाइ दियो । हवल्दार दुर्गाबहादुरले बिजुलीको गतिमा बमलाई विपरित दिशामा नफालेका भए मतदान केन्द्रमा भौतिक र मानवीय क्षति अबश्यमभावी थियो । बीस वर्षपछि जवर्जस्त गरिएको स्थानीय निर्वाचन पनि विथोलिने थियो ।

 

घटना घटेको खबर सार्वजनिक भएसंगै गृहमन्त्री जनार्दन शर्माले विप्लब समूहको आक्रमणलाई बहादुरीकासाथ असफल बनाउने प्रहरी हवल्दार दुर्गाबहादुरलाई प्रत्यक्ष संपर्क गरी क्याबात् हवल्दार साप भने । उनले सार्वजनिक प्रतिबद्धता गर्दै भने, यस्ता बहादुर प्रहरीलाई गृहमन्त्रालयले उचित पुरस्कार र प्रोत्साहन गर्ने छ ।

 

 

 

तत्काल कर्मवीरलाई, उ जति सानो पदको किन नहोस् मन्त्री शर्माले आफैं फोन गरेर गृहमन्त्रालयको भृत्ततन्त्रलाई सचेत हुन झकझक्याएका मात्र छैनन्, उनले पूर्व जनसेनाले जनयुद्ध शुरु गरेको छोटो अवधिमै के कारणले विदेशमा समेत उच्चस्तरको तालिम पाइ अत्याधुनिक हतियारले लैस सेना र प्रहरीलाई उनीहरुकै हतियार खोसेर आच्छु आच्छु पारेको थिए भन्ने सानो उदाहरणको पनि यो दृष्टान्त आएको हो ।

 

तत्काल उचित दण्ड तथा पुरस्कारको ब्यवस्था नै जनसेनाका यी पूर्व डेपुटी कमाण्डरको सफलताको ‘रहस्य’ हो । जनसेनालाई बिघटन गरेर नेपाली सेनामा बिलय गराई देशको गृहमन्त्रीको बागडोर सम्हाल्न पाएका यी पूर्व डेपुटी कमाण्डरका लागि यो भन्दा अर्को बिरलै अवसर प्राप्त हुन्छ । यिनले जुन जिम्मेवारी पाएका छन्, आफ्नो कला कौशलता, सपना र मुलुकमा शान्ति सुरक्षा र अमनचैन कायम राख्न दोस्रो ब्यक्ति खोज्न नपर्ने गरी जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ ।

 

अहिले टोले डन, दादा, विचौलीया, अपराधीहरु सुसुप्त भएजस्तो लागे पनि ती सलवलाइरहेका छन् । यिनलाई विन्स्टन चर्चिलको भनाई उद्धृत गर्दै सुरक्षा निकायका एक वरिष्ट अधिकृतले भने, छाना, खाना र नाना नभएको ठाउमा पनि मानिस बाँच्न सक्छ तर सुरक्षाको प्रत्याभूति नभएको ठाउमा एक मिनेट पनि अडिन सक्दैन । यति भन्दै उनले अगाडि सुझाए, यो भनाई गृहमन्त्रीको कार्यकक्षमा जनार्दन शर्माले महाबाणीको रुपमा टाँस्न सक्लान् ?

 

तर हाम्रो प्रहरी प्रशासन पहिल्यैदेखि भ्रष्टाचारको कुन दलदलमा गाडिइरहेको छ ? सत्य सेवा सुरक्षाको बर्को ओढेका प्रहरीका तीनतीन जना आइजीपी र अरु उच्च पदस्त अधिकृतहरुको लस्कर भ्रष्टाचार काण्डमा परेर जेल बसिरहेको देख्दा यही प्रहरी संगठन भित्र रहेका केही दुर्गाबहादुर राना जस्ता हवल्दार र ब्यवशायिक क्षमता प्रदर्शन गरेका अधिकृतहरु कुन मनोवलका साथ काम गरिरहेका होलान् ?

 

सांगठनिक ब्यवस्थापनको ज्ञाता रहेका ती पूर्व प्रहरीले भने, सबै संयन्त्रलाई थाहा छ, कहाँ अपराधी छन्, कहाँ डन छन् र तिनलाई ककस्को संरक्षण छ ? यदि ब्यवशायिक सुरक्षाकर्मीको रुपमा जनार्दन शर्माले प्रहरी संगठनलाई धेरै समय पर्दैन ७२ घण्टा मात्रै परिचालन गर्ने हो भने अपराधीतन्त्रलाई नारायण हरि बनाइदिन सक्छन् ।

 

त्यत्रो क्षमता भएको प्रहरीतन्त्र यति धेरै ब्यवशायिक कुशलता र नैतिकवल भएका प्रहरी संगठनको नेतृत्वगर्न पाउदा पनि समाजमा बढिरहेको अपराध निर्मूल गरेनन् भने यिनले हिन्दी सिनेमाको ‘फिर ना मिले दोबारा’ भने झैं जनार्दन शर्मालाई जिन्दगीमै फेरि यस्तो मौका प्राप्त नहुने ती अधिकृतले बताए ।

 

‘क्याबात हवल्दार साप !’ भनेर गृहमन्त्री शर्माले प्रहरीका सकल जवानमा जुन रक्त संचार गराएका छन्, यसले समाजको शान्ति सुरक्षामा त्यसैगरी जादुगरी प्रभाव देखाउने अपेक्षा प्रहरी संगठनभित्रै ‘ज्यान जाएगा तर घुष कदापी नही खाएगा भनेर प्रहरी आदर्शलाई शिरोधार्य गरिरहेका प्रहरीहरुले नै गरेका छन् । उनीहरु मध्ये एकले भने, उर्जा मन्त्री हुँदा पन्ध्रसोह्र घण्टा लोडसेडिंगले आक्रान्त मुलुक यी मन्त्रीले जसरी उज्यालो बनाएर चमत्कार प्रदर्शन गरेका थिए अब शान्ति सुरक्षामा त्यस्तै चमत्कार फेरि गर्न सक्लान् कि नसक्लान सुरक्षा निकाय समेत हेरिरहेको छ !

 

नेपाल प्रहरीका सकल जवानहरु केही भ्रष्ट हाकिम र चुत्थो नेतृत्वबाट थिचिएर, मिचिएर निसासिइरहे पनि उनीहरुमा रहेको उर्जा, आफ्नो काम, कर्तब्य र जनसेवाप्रतिको निष्ठालाई हवल्दार दुर्गाबहादुर रानाले बिजुलीको गतिमा जुन प्रदर्शन गरे, एउटा काविल फोटोग्राफरले फ्ल्यास्कको झिलिक्क उज्यालोमा खिचेको उज्यालो तस्वीर जस्तै मन्त्री शर्माले गृहमन्त्री बनेको दुई साताभित्रै नेपाल प्रहरीको छविलाई झलझलाकार तस्वीर जस्तै गरी जसरी औल्याइ दिएका छन्, यसले प्रहरी संरचनाभित्र पदओगटेर बसिरहेका भ्रष्ट, नालायक र गतिछाडाहरुलाई नारायण हरि पारिदिने आशा र विश्वास गर्न सकिन्छ । क्याबात हवल्दार साप भन्न सक्ने मन्त्रीलाई क्याबात गृहमन्त्री भन्न पाइन्छ कि पाइदैन भनेर सर्वसाधारणहरु पनि बाटो हेरिरहेका छन् !