ओली उदाउँदै ? प्रचण्ड अस्ताउँदै ?
श्रीकृष्ण अनिरुद्ध गौतम
पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले अग्रता हासिल गर्नु त्यति अनपेक्षित थिएन । तर दोस्रो चरणमा पनि त्यही क्रम कायम रहनुचाहिँ आफैंमा आश्चर्यप्रद छ । आश्चर्यप्रद ’cause यस एक महिना १३ दिनको अन्तरालमा नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्नो चुनावी रणनीतिमा निकै फेर बदल गरेको बताइँदै थियो ।
यसैबीच सरकारको नेतृत्व कांग्रेसले लिएको प्रसंग त छँदैछ, यसका साथै प्रदेश ७ स्वयं शेरबहादुर देउवाकै क्षेत्र भएका कारण त्यहाँ कांग्रेसलाई बढी नै चुनावी लाभ हुने अनुमान गरिएको थियो । तर एमालेले डडेल्धुराको मुकाम अमरगढी नगरपालिकामै आफ्नो झण्डा गाड्यो । शेरे सुदूरपश्चिम भनिए पनि त्यहाँ देउवाभन्दा सुदूर पूर्वको तेह«थुममा जन्मेका केपी शर्मा ओलीको जादू बढी प्रभावकारी भयो ।
पहिलो संविधानसभा निर्वाचनमा तेस्रो हुन पुगेको एमाले दोस्रो संविधानसभामा दोस्रो ठूलो दल बन्न पुग्यो र अहिले आएर पहिलो स्थानीय तहको निर्वाचनमा पहिलो दलका रुपमा स्थापित हुन गइरहेको देखिन्छ ।
एमालेले यसबीच यतिका प्रगति कसरी ग¥यो, यस विषयमा सतही टीकाटिप्पणी प्रशस्तै भएका छन् तर गम्भीर समीक्षा भएकै छैन ।
एमाले जो क्रमशः पाखा पर्दै गएर यसको स्थान माओवादीले लिने पूर्वानुमान र आकलन एकाएक गलत सावित हुँदै आएको देखिए पनि वास्तवमा यो एकाएक भएको भने होइन ।
माधवकुमार नेपालको नेतृत्व कालमा भन्दा झलनाथ खनालको नेतृत्वमा एमाले झनै खस्किन पुगेको थियो । ओली कहिले नेपालका त कहिले भने खनालका सहयोगीका रुपमा देखिन्थे । उनको गन्ती पहिलो पंक्तिमा बिरलै गरिन्थ्यो, बरु वामदेव गौतमलाई अलिक गम्भीरतापूर्वक लिइन्थ्यो । ओली त्यतिखेर माधव नेपालका कित्तामा थिए ।
ओली पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका थिए । तर संविधानलाई, त्यसमा पनि विशेष गरेर संघीयतालाई लिएर उनका मतहरु फरक थिए । ती मतलाई बिरलैले गम्भीरतापूर्वक लिने गर्थे । त्यो माओवादी नेता पुष्पकमल दाहाल अर्थात् प्रचण्डका राप, ताप र प्रतापको समय थियो । ओलीलगायत यावत् नेता प्रचण्डका सामु फिक्का देखिन्थे ।
प्रचण्ड लोकप्रिय त थिए तर उनले संघीयताको मामिलामा उल्टो अजेण्डा बोकेका थिए । उनी जातजातिपिच्छे पृथक प्रदेशको नक्सामा देश बाँड्न चाहन्थे ।
ओली प्रचण्डको त्यस योजनाका ठीक विपरीत थिए । नेपालका खसआर्यलगायत बृहत्तर पहाडी समुदाय माओवादी योजनाका पक्षमा थिएन । यसले माओवादी प्रस्तावित संघीय प्रबन्धलाई रुचाएको थिएन र यो समुदाय आफ्नो आकांक्षाको पक्षमा प्रकट हुने एउटा सशक्त वाणीको प्रतीक्षा गरिरहेको थियो । ओली त्यतिखेर झिनो स्वरमा उनीहरुकै वाणी मुखरित गरिरहेका थिए ।
प्रचण्डको नेतृत्वमा देशलाई जातजातिमा विभाजन गर्ने बहसले मुलुकलाई गाँजेका बेला झिनो प्रतिरोधका रुपमा देखा परेका ओली दोस्रो संविधानसभाको प्रतिनिधिका रुपमा निर्वाचित भए ।
उनी निर्वाचित हुँदा नहुँदै देशमा अर्को संकथनले आकार लिइरहेको थियो । मुलुकलाई त्यही साझा र बृहत्तर परिवारका अंगीय एकाइहरुको संघका रुपमा हेर्ने दृष्टिकोण । एमाले जो पहिलो संविधानसभामा नराम्ररी बरालिएको थियो, दोस्रो संविधानसभामा आइपुग्दा त्यसको नेतृत्वमा परिवर्तनमात्र भएन, माओवादीको अजेण्डा बोक्ने सदस्यहरु त्यसबाट पाखा लाग्ने स्थितिमा पुगे । वास्तवमा देशलाई साझा र बृहत्तर परिवारका रुपमा हेर्नुपर्ने दृष्टिकोण जो राष्ट्र र लोकतन्त्रसापेक्ष थियो, प्रकारान्तरमा जानी नजानी त्यसको संवाहक एमाले बन्न पुग्यो ।
असोज २०७२ मा संविधान जारी हुँदासम्ममा देश साझा र अटूट बृहत्तर परिवारका रुपमा परिभाषित हुनुपर्छ भन्ने संकथनले देशलाई टुक्रा टुक्रामा हेर्नुपर्छ भन्ने दृष्टिकोणलाई उछिनी सकेको थियो । त्यसैबखत मध्यपूर्वी तराई अर्थात् सप्तरी–पर्सा क्षेत्रमा संघीय नक्साप्रति असन्तोष देखा प¥यो, त्यो असन्तोषलाई आन्दोलनमा परिणत गराइयो र हुन पनि पुग्यो ।
त्यही आन्दोलनको निहूँमा भारतले नेपालमाथि नाकाबन्दी ग¥यो । त्यसै ताका ओली प्रधानमन्त्री बने ।
साथै यहाँ स्मरणीय के पनि छ भने संविधान जारी हुनु तीन दिनपूर्व भारतीय प्रधानमन्त्रीका दूतका रुपमा त्यहाँका विदेश सचिव संविधान जारी गर्ने मिति सार्नुपर्ने रायसहित काठमाडौं आए । भारतीय दूत र ओलीबीच मतभेद त भयो नै, मतभेदले अरु अप्रिय स्थिति उत्पन्न भयो ।
भारतको असहमतिका बावजुद असोज ३, २०७२ मा संविधान जारी भयो । त्यसको केही समयपछि ओली प्रधानमन्त्री बने ।
प्रधानमन्त्रीका रुपमा उनको प्रस्तुति तथा उनले लिएका प्रतीत हुने अडानहरुले नेपालीहरुमाझ भारतीय रवैयाप्रति प्रकट र सुषुप्त अवस्थामा रहेका असन्तोषलाई वाणी दिए ।
उनका प्रस्तुति र अडानहरुलाई एमालेको सांगठनिक संरचना र देशभित्र एवं बाहिर फैलिएको सञ्जालले आफ्नो प्रचारशैलीमार्फत् अरु व्यापक बनायो ।
त्यस्तै चीनसँग ओलीले गरेको यातायात पारवहन सम्झौता, नेपालमा चिनियाँ लगानीमा जलविद्युत र रेल्वे सञ्जाल निर्माण गर्नेजस्ता सम्झौता र समझदारीलाई भारतप्रतिको निर्भरताका विकल्पका रुपमा प्रस्तुत गरियो ।
फलस्वरुप ओली अखण्ड राष्ट्रियताका पक्षधर र समृद्धिका वाहक स्वप्नदर्शी व्यक्तिका रुपमा चिनिए, चिनाइए । उनको यो व्यक्तित्व नै वास्तवमा एमालेको सबैभन्दा ठूलो पूँजी बन्न पुग्यो । प्रचण्ड यस अर्थमा ओलीबाट निकै पछाडि धकेलिए ।
जहाँसम्म कांग्रेसको प्रसंग छ, यसले आफ्नो पक्षमा रहेको परम्परागत समर्थनलाई राष्ट्रियताका पक्षमा फितलो देखिएकाले यथावत कायम राख्न सकेन । त्यसैका फलस्वरुप एमाले समग्र राष्ट्रिय चिन्तन र अभिमत निर्माणमा अग्रभागमा देखा प¥यो ।
त्यही चिन्तन र अभिमत स्थानीय निर्वाचनको परिणामामा प्रतिबिम्बित भएकाले एमाले, माओवादी र कांग्रेसलाई उछिन्दै अग्रभागमा देखा परेको हो ।