कार्यकारी प्रधानमन्त्रीको बिध्वंशकारी अन्तर्वार्ता

-चन्द्रशेखर कार्की

“कुनै पनि कुरा सहि नभएको बेला गलत प्रश्नहरुको जवाफ दिन सबैभन्दा कठिन हुन्छ ।”

यो कथन चौथो पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई नराम्रोसंग खुइल्याउने गरी अहिले चरितार्थ भएको छ ।

प्रसंग हो, तीन दिन अघि बिबिसी मिडिया एक्सन नामक बेलायती आइएनजीओले चलाएको टेलिभिजन कार्यक्रम ‘साझा सवाल’ कार्यक्रममा प्रसारित शेरबहादुर देउवासंगको ‘टक शो’ । कार्यक्रम अबधिभर देखिएको नौटकीं र त्यस’bout सामाजिक सञ्जालमा उत्पन्न प्रतिक्रियाको बाढीले केही अहम् प्रश्नहरु जन्माएको छ ।

१. अतिबिशिष्ट र बिशिष्ट ब्यक्तिहरुको सुरक्षाको विषय कति संवेदनशील हुन्छ दोहोर्याई रहनै पर्दैन । हाम्रै देशमा अतिबिशिष्ट र बिशिष्टहरुलाई सार्वजनिक स्थलमा झापड हानिएका उदाहरण पनि नभएका होइनन् ।

औपचारिक कार्यक्रमहरुमा म र म जस्ता फोटोपत्रकारहरुलाई घोक्र्याउने सुरक्षाकर्मीहरुले यो कार्यक्रमको छायाङ्कन प्रधानमन्त्री निवास जस्तो संवेदनशील ठाउँमा (सुरक्षाका हिसाबले त्यत्रो भिड जम्मा गरेर) गर्नुले सुरक्षाप्रति पटक्कै चासो नदिएको प्रष्टै देखिन्छ । यसरी कार्यक्रम छायाङ्कन गर्न पाइन्छ कि पाइदैन ? बीबीसीलाई हुल जम्मा गरेर त्यो कार्यक्रम गराउन कसले अनुमति दियो ?

२. राज्य कोषबाट प्रधानमन्त्रीका सहयोगी र सल्लाहकारका नाममा तलव खानेहरुको काम यस्ता विषयमा के हो ? बिबिसी समाचार संस्था र त्यसैको आडमा चलाइएको आइएनजीओ बीच फरक छुट्याउन नसक्ने प्रधानमन्त्रीको निजी सचिवालयको कमजोरीको जिम्मेवारी अब कसले लिने ?

३. सामान्यतया भीआइपीहरुको अन्तर्वार्ता र यस्ता कार्यक्रमहरुमा पहिले नै विषयसूचि निर्धारण गरी प्रश्नहरुको एक निश्चित खाका तयार पारी कार्यक्रम संचालन गरिन्छ । प्रधानमन्त्रीसंग प्रत्यक्ष अन्तरक्रिया हुने कार्यक्रममा के कस्ता प्रश्नहरु ग्राह्य हुन्छन् र कस्ता प्रश्न लिइन्छ भनेर प्रस्तोतासंग प्रधानमन्त्रीको सचिवालयले पहिले नै छलफल नगरेको देखिन्छ । प्रधानमन्त्रीको नीजि सचिवालयले यति सामान्य कुरामा पनि ध्यान नदिनुलाई के भन्ने ?

४. शेरबहादुर देउवालाई एउटा राजनीति दलको सभापति वा शेरबहादुर नामको एक व्यक्ति मात्र नभएर देशको प्रमुख कार्यकारी पनि हो भन्ने कार्यक्रम प्रस्तोताले बिर्सेको प्रतीत हुन्छ । प्रधानमन्त्री पदको गरिमाका लागि भएपनि छायाङ्कनको क्रममा खिचिएका सवै सवालहरुमाथि एक पटक पुनरावलोकन गर्नु पर्दथ्यो । अहिले जे बिषयले चर्चा पाएका छन ती पक्कै पनि सम्पादन गर्न सकिन्थ्यो । यसरी सम्पादन गर्नुपर्नेमा उल्टो कार्यक्रम हेर्दा लाग्थ्यो सम्पादन साझा सवालमा हुँदैन । हुन्छ भने यो कार्यक्रम प्रधानमन्त्री पदकै मानमर्दनको लागि हो भन्ने तर्कलाई बल दिन्छ ।

लोकतन्त्रमा प्रेसको भूमिका साह्रै महत्वपूर्ण र अपरिहार्य छ । तर आफ्नो कार्यक्रमले सस्तो लोकप्रियता कमाउछ भन्ने लोभमा जे पायो त्यही प्रसारण गर्नुलाई  कस्तो पत्रकारिता भन्ने  ?

५. अहिले सामाजिक सञ्जालहरुमा खिल्ली उडाउँने र गाली गर्ने पात्र प्रधानमन्त्री शेरबहादुर देउवालाई मात्र बनाइएको छ । तर यस प्रकरणमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न भएकाहरु, सामाजिक सञ्जालमा पहुँच भएकाहरुले चाँहि आफ्नै प्रधानमन्त्रीको फतुर झारेर जथाभावी गरेका गाली र प्रतिक्रियाहरुमा रमाइरहेका छन् । अनि कमिकमजोरीहरु जति देउवाको टाउकोमा मात्रै थोपरेर अरु सम्बन्धित पक्षहरुले उन्मुक्ति पाउँछन र ?

६. यतिका वर्ष राजनीति गरेर, चौथो पटक प्रधानमन्त्री बनिसकेका, देशको सवैभन्दा ठुलो राजनीतिक दलको सभापति, देश विदेशका सवै खालका मिडियाहरुमा साक्षात्कार भइसकेका शेरबहादुर देउवालाई यो कार्यक्रममा सहभागी भएर चर्चा बटुल्ने लोभ देखाउन उक्साउनेहरु धेरै दोषी छन् । देउवाले यस्तो लालचा नराख्दा नै राम्रो हुने थियो । मिडियामा आएपछि चर्चित हुने लोभले कार्यक्रममा सहभागी हुन सहमति जनाई हाल्ने प्रधानमन्त्री देउवाको ‘जजमेण्ट’ क्षमतालाई के भन्ने ?

जुन पायो त्यहि कार्यक्रममा वक्ता बनेर बोल्दैमा चर्चित भइदैन भन्ने कुरा हाम्रा प्रधानमन्त्रीलाई कसले बुझाइदिने होला ? यस्ता कार्यक्रममा सहभागी भएर नाम कमाउने कि बदनामी कमाउने ? अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री देउवा कै हो ।

७. प्रधानमन्त्री पत्नी डा. आरजु राणाको स्तरको शैक्षिक योग्यता हासिल गरेका महिला नेपालमा पक्कै पनि धेरै छैनन् । उनी चिनाइ राख्नु पर्ने नाम पनि होइन । उनको विद्वतामा शंका गर्ने ठाउँ नै छैन । उनी पनि प्रधानमन्त्रीसंगै बस्छिन होला !

प्रथम महिला भएका नाताले प्रधानमन्त्रीका कार्यक्रमहरुवारे पक्कै पनि उनलाई जानकारी हुनुपर्छ । जस्तो कि भनिन्छ, अमेरिकाको राष्ट्रपति भवनको पश्चिमपट्टीको भाग अर्थात ‘वेष्टविङ्ग’मा राष्ट्रपतिको भूमिका हुन्छ भने पूर्वपट्टी अर्थात ‘इष्टविङ्ग’मा प्रथम महिलाको भूमिका हुन्छ । अहिले मेलानिया ट्रम्पको यो भूमिका कमजोर भएको भनेर सार्वजनिक रुपमा आलोचना पनि भएको छ ।

डा. आरजु देउवाको पनि अहिले त्यस्तै कमजोरी देखिएको छ । उनलाई एनजीओ र आइएनजीओका विषयमा राम्रै जानकारी पनि छ । साझा सवाल बीबीसी समाचार संस्थाले चलाएको नभएर त्यस अन्र्तगतको एउटा आइएनजीओले चलाएको हो । यस कार्यक्रममा सहभागी नहुँदा राम्रो भन्ने सामान्य सल्लाह दिने भूमिकामा समेत उनी नराम्ररी चुकेकी छन् ।

सामाजिक संजालहरुमा व्यापक रुपमा फैलिसकेपछि नहेरिकन बस्न सकिन । भिडियो हेरिसकेपछि भन्नै पर्यो , यो कार्यक्रम टेलिभिजनको सम्वाद कार्यक्रमभन्दा पनि हलुकाखालको हास्यव्यङ्ग्य कार्यक्रमको छायाँङ्कन जस्तो मात्रै थियो ।

यी सवै प्रश्न म जस्तो सर्वसाधारण र निमुखो मनुवाको भँडास न हो । बाँकी त ठुलाबडा नै जानुन् !