हजुरबाको सिसिटिभी

–अश्विनकुमार पुडासैनी

हेर लठुवाहरु हो, संसारमा कसैले देख्दैन भनेर जे मन लाग्यो त्यो काम गर्नु हुँदैन । स्वअनुशासनमा बस्नु पर्छ । कसैले देख्दैन भनेको होइन ? तिमीहरुले डाँगा कुकुरले जसरी घरको भित्तोमा मुतेको मैले कसरी देखें त ?

 

हजुरबा दशरथ पुडासैनी मेरो बाल सखा । मेरो पहिलो गुरु । मेरो बाल मस्तीष्कमा रङ्गीचङ्गी सपना, कर्तब्य र महत्वकांक्षा भरिदिने व्यक्ति । स्वगीय हजुर बासँगका थुप्रै यस्ता प्रसंङ्ग छन्, जुन विश्वविद्यालयमा पढिरहेका दर्शन, सिद्धान्त, विधि र प्रक्रियाहरुसँग ठ्याक्कै मिल्दाजुल्दा छन् । व्यवशायिक संगठनहरुमा कामगर्दा अचुक अस्त्र सावित भैरहेका छन् ।

 

अहिले एम.बी.ए.का कक्षाहरुमा पढाउँदा विद्यार्थीसँग व्यक्ति, समूह, परिवार र समाजका व्यवहारका ’boutमा हजुरबाका भनाईहरुलाई उदाहरणका रुपमा बताउछु । ठ्याक्कै सूचना प्रवाहित हुन्छ र आफैं छक्क पर्छु ।
मैले सञ्चालन गर्ने प्रशिक्षण वा तालिमका सेसनहरुमा समेत बेलाबेला हजुरबाका भनाई, उक्ति, किस्सा र प्रसंगहरु ‘प्रोब्लेम क्रिएटर होइनन्, प्रोब्लेम सुटर’ का रुपमा आइरहन्छन् । परराष्ट्रमन्त्री प्राध्यापक महेन्द्रबहादुर पाण्डेको सल्लाहकारको भूमिकामा रहँदा समेत हजुरबाका उदाहरण र प्रसंगहरुमा अभिब्यक्त भैरहन्थे । मन्त्रीका नीजि सचिव (उप–सचिव लोकबहादुर पौडेलक्षेत्री, हाल न्यूयोर्कस्थित संयूक्त राष्ट्र संघ स्थायी नियोगमा नेपालको तर्फबाट कार्यरत) केही कुराको दुविधा वा अप्ठ्यारो पर्यो भने सोध्नु हुन्थ्यो, “सर यो विषयमा तपाईको हजुरबा” के भन्नु हुन्थ्यो ?

 

यसको एउटै कारण थियो आफ्ना धारणाहरु हजुरबाको भनाईसँग जोडेर भन्ने मेरो शैली जो आफैंले विकसित गरेको थिए । हजुरबाका भनाईहरु धेरै पटक कार्यालय व्यवस्थापन तथा अन्य समस्या समाधानका सुत्र बनेका छन् ।

 

मलाई लाग्थ्यो, हजुरबा पुस्ताको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । अन्तर पुस्ता सम्बाद ज्यादै प्रभावकारी र महत्वपूर्ण पनि हुँदो रहेछ । अघिल्लो पुस्ताको सिकाई र भोगाईलाई नयाँ पुस्ताले रिफरेन्सको रुपमा लिंदा त्यसले लाभ नै पुर्याउने रहेछ । मात्र रुढी, अन्धविश्वास, कुसंस्कृति र संस्कारबाट मुक्त राखे पुग्ने । हजुरबा पुस्ता र बा पुस्ताका अनुकरणीय कुराहरुलाई अनुसरण गर्दै आधुनिक, बैज्ञानिक र समकालिन ज्ञान, सीप र अनुभवको कसी लगाएर मौलीक रुपमा अभ्यास गर्दै जानसक्यो भने त्यसले सकारात्मक मात्र होइन, गुणात्मक फड्को मारेर आमजनका बीचमा उदाहरणीय बिचार ब्यक्त गर्नेको रुपमा उभ्याउदो रहेछ ।

 

आज उल्लेख गर्न खोजिएको हजुरबाको प्रसंग चाहि अली फरक छ । पैंतिस वर्ष अघिको प्रसंग हो । रुद्र, बासुदेव, नवराज र म घर पछाडि खलोमा खेल्दै थियौं । यत्तिकैमा पिसावले च्याप्यो, हामी चारै जनाले कोल्टे परेर घरको भित्तोमा घुमाउदै पिसाव गर्यौ ।

 

हजुर बा कतै जाँदै हुनुहुन्थ्यो । भित्तो भरि तुक्र्याएको देख्नु भएछ । अली हकार्दै बोलाउनु भयो । हामी डराउँदै गयौं । हजुरबाले देखाउदै सोध्नुभयो, यो तिमीहरुले गरेको हो ? हामी कायल भयौं । घरपछाडि कसैले देख्दैन भनेर गरेको हजुर बा भन्यौं ।

 

हाम्रो जवाफ सुने पछि हजुरबाले हामी चारै जनालाई भन्नुभयो, हेर लठुवाहरु हो, संसारमा कसैले देख्दैन भनेर जे मन लाग्यो त्यो काम गर्नु हुँदैन । स्वअनुशासनमा बस्नु पर्छ । कसैले देख्दैन भनेको होइन ? तिमीहरुले डाँगा कुकुरले जसरी घरको भित्तोमा मुतेको मैले कसरी देखें त ? त्यसैले अबदेखि तिमीहरुले कुनै ठाउँमा बस्दा, केहि काम गर्दा सम्झिरहनु पर्छ, मैले यो काम गरिरहँदा पनि कसैले हेरिरहेछ । हामी सबैका पछाडि अरुका आँखा परिरहेका हुन्छन् । मेरा क्रियाकलाप अरुले देखिरहेको छ । यी कुरा सम्झिरहनु । त्यसपछि तिमीहरुले कमै गल्ती गर्नेछौ । थुतुनो र मुतुनो जोगाउनु पर्छ भनेको यही हो । यति भनेपछि हजुरबा जानुभयो । हामीले मुखामुख गर्यौ । त्यस पछि हामी एकअर्कालाई भेट्यो कि अहिले पनि सोधिहाल्छौं, त्यसपछि डाँगो भइएको छ कि छैन ?

 

यही कुरो अहिले एसईईको नतिजा प्रकाशित भई विभिन्न प्लसटु कलेजको अबलोकन गर्ने क्रममा नामचलेका कलेजहरुले कक्षा कोठा र ल्याबहरुमा समेत “तपाई सिसिटिभिको निगरानीमा हुनुहुन्छ” भन्ने लेखेको पाईयो । हिजो आज, ट्राफिक प्रहरी, सुरक्षा निकाय, सिंहदरबार, बैंक तथा वीत्तीय संस्थाहरु, नीजि पसल, घर कम्पाउण्डहरुमा समेत सिसिटिभि जडान गरेर तपाईहरु क्यामराको निगरानीमा हुनुहुन्छ भनेर लेखेको देखिन्छ ।

 

हाम्रो हजुरबाको समयमा सिसिटिभि थिएन । तर त्यस बेलामा पनि उहाँको सोच सिसिटिभि भन्दा कम प्रभावकारी रहेनछ । उतिबेला हामीलाई हजुर बाले तिमीहरु “सिसिटिभिको निगरानीमा” छौ है केटा हो पो भन्नु भएको रहेछ ।

 

यसै कुरोलाई फरक किसिमले बुझ्ने प्रसंग ल्याउन खोज्दैछु । गतवर्ष पत्रकार कृष्णमुरारी भण्डारी (जो वीपीसंग्रहालय व्यवस्थापन समितिको सदस्य हुन्)ले चर्चित स्तम्भकार श्रीकृष्णअनिरुद्ध गौतम र मलाई भुकम्पले क्षतिग्रस्त संग्रहालय अबलोकन गरेर मथिङ्गल मन्थन गरौं भनेर आमन्त्रण गर्नुभयो । संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोख्रेल समेतले हामीलाई संग्रहालय देखाउदै यो राष्ट्रिय धरोहरले भोग्नुपरेका चुनौतिवारे बताए । त्यसपछि पनि हामीले पटक पटक भेटघाट गर्यौ ।

 

सोहि क्रममा मैले हजुर बाको प्रसंङ्ग धेरै पटक उल्लेख गरेछु । अनि श्रीकृष्णअनिरुद्घले भनिहाले, “सधैं हजुरबा यसो भन्थे, उसो भन्थे भन्दा रहेछौ । तिम्रो बिचार चाँहि के नि ? नेपाली राजनीतिका पात्रहरुले झै सधैं माक्र्स, लेनिन, माओ, गान्धी, विपी, गणेशमान, पुष्पलाल, मदन भण्डारी आदि इत्यादिको भारी बोकेर आफ्नो मौलिकता नै नारायणहरि बनाउदा रहेछौ अश्विनजी भनिहाले । उनले मलाई पेल्दै भनिरहे, केहि कुरो गर्नु पर्यो कि फलानाले यसो भन्नु भएकोछ भनेर घण्टौं भाषण छाट्ने । आफुले सारा दर्शन साहित्य पढेको फूँई लगाउने र सारा श्रोता दर्शकलाई उल्लु बनाउनेहरुले आफ्नो श्रृजना, मौलिकता, योजना नीति तथा कार्यक्रम बताउनै नपर्ने ?

 

तिनमा अरुको कुरा भट्याउनु बाहेक आफैंसंग केही भएको भए हामीले थुप्रै पथ प्रदर्शक पाई सक्ने थियौं । यो मुलुकको छिट्टै रुपान्तरण पनि हुने थियो होला । विश्व विद्यालयका प्राध्यापक, स्कूलका सिर्जनाविहिन माष्टर र परंपरागत राजनीतिज्ञहरुले भन्ने गरेको भारी किन बोकिरहेका छौ आश्विन ? अर्काको भारी नबोक, फाल । आफ्नै मौलिक र सिर्जशील विचार र आईडियाहरुलाई बढाउनुपर्छ । आफ्नोपन प्रदर्शन गर्दै आफैंलाई पो खार्नुुपर्छ होइन ?

 

श्रीकृष्णअनिरुद्धको सार्वजनिक दपेट खाएपछि मैले उनीसंगको भेटमा मात्र होइन, अरुसंग पनि हजुरबाको रिफरेन्समा बोल्न चटक्कै छोडिछु । मलाई उनले भित्रैदेखि बदलिदिए । हिजो आज कहिले काँहि सदृश्यको कार्यालय, अनामनगरमा गौतमसंग आक्कल झुक्कल भेट हुन्छ तर हजुर बाको प्रसंग आउदैन । अनि उनी छुट्टिने बेलामा व्याङ्गगर्दै भन्छन्, खै हजुर बा ? हजुर बा कता हराए ? शान्त भएर उनलाई जवाफ दिने गरेको छु, हजुर बा त मेरो जीनमार्फत सकारात्मक सोच बोकेर अभिब्यक्त भैरहेका छन्, नामै किन लिनु पर्यो र श्रीकृष्ण सर ?