प्रशंसाले मात्रै पुग्दैन –प्रा.भगवानरत्न तुलाधर

सन्दर्भ: नेपाल रुस मैत्रीको ६० वर्ष
नेपाल र रुसको दौत्य तथा मैत्री संवन्ध स्थापना भएको साठी वर्ष पूरा भएको छ । छ दशक पार गरेको यो कुटनीतिक सम्वन्धले रोचक, घोचक तथा महत्वपूर्ण उतार चढाउ पार गरेको कुरा आजको दिनमा जति स्मरणीय छ, उति नै सान्दर्भिक पनि छ ।
तत्कालीन राजतन्त्रात्मक नेपाल र विश्वको पहिलो समाजवादी मुलुक सोभियत संघ वीच २०१३ साल साउन ५ गते औपचारिक रुपमा दौत्य संबन्ध स्थापित भएको थियो । जो दौत्य तथा मैत्री सन्धिको दृष्टिकोणवाट अन्तर्राष्ट्रिय राजनीतिमा अध्ययन योग्य विषय वन्न पुगेको छ ।
दोस्रो विश्वयुद्ध पछि खास गरी तत्कालीन सोभियत संघ किन नेपालप्रति आकर्षित भयो ? उदारवादी राजनीतिक खेमासित घनिष्ठ संवन्ध भएको नेपालले समाजवादी खेमासंग किन संवन्ध राख्न चाह्यो ?
यस विषयमा राजनीतिशास्त्रका पण्डितहरु भिन्न–भिन्न प्रकारवाट राजनीतिक ÷कुटनीतिक विश्लेषण गर्ने गर्छन् । तथापि, शीतयुद्घको पछिल्लो चरणमा दुवै शक्ति राष्ट्रहरु अमेरिका र रसियाले एशिया महाद्विपका वहुसंख्यक मुलुकहरुलाई असंलग्न राख्ने रणनीति अङ्गिकार गरेका थिए । यसले नेपाललाई असंलग्न तथा स्वतन्त्र राष्ट्रको रुपमा रहन मद्धत गर्ने भएकोले त्यही रणनीति अनुरुप दौत्य संवन्ध र आर्थिक प्राविधिक अनुदानको नीति अवलम्वन भएको स्पष्ट हुन्छ ।
तत्कालीन नेपालले पनि आपूmलाई स्वतन्त्र राष्ट्रको रुपमा विश्वसमुदाय सामु परिचित हुने-गर्ने संकल्पका साथ आफ्नो परराष्ट्रनीति अङ्गिकार गरेकोले समाजवादी खेमासित दौत्य संवन्ध स्थापित गर्नु आवश्यक थियो ।
नेपाल अधिराज्य र सोभियत संघ वीचको दौत्य तथा मैत्री सम्वन्धको राजनीतिक अभिप्राय त्यहि हो भन्ने विज्ञहरुको मत छ । भारतका प्रधानमंत्री नेहरुको नेतृत्वमा रहेको भारतको प्रत्यक्ष÷अप्रत्यक्ष अनिच्छा तथा अवरोधका वावजुद पनि नेपाल–सोभियत संवन्ध प्रगाढ हुन गयो । तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यको कुटनीतिक चातुर्यले नै यो संभव भएको हो ।
नेपालको प्रारंभिक संरचनागत आर्थिक उन्नतिमा त्यस सम्वन्धको महत्वपूर्ण प्रभाव रह्यो । कलकारखाना, जलविद्युत, कृषि औजार, चिनी उद्योग, जनकपुर चुरोट कारखाना, बाल अस्पताल, हजारौं प्राविधिक जनशक्ति उत्पादन गर्न उच्च शिक्षाको सहयोग, नेपालको सल्लोका खोटोबाट तयार हुने गुणस्तरीय रोजीन टर्पाइन कारखाना, पूर्वपश्चिम राजमार्गको सिमरा–ढल्केवर खण्डको निर्माणमा सोभियत सहयोग आदिले आधुनिक नेपालको मेरुदण्ड निर्माणमा सहयोग पुगेको जगजाहेर छ ।
तर यसपछि विश्व राजनीतिमा देखा परेको आमूल परिवर्तन अर्थात शीतयुद्घको अन्त्य पछि सोभियत नीतिमा पनि ठूलै परिवर्तन आयो ।
त्यसपछि विकासोन्मुख राष्ट्रहरुसितको सम्वन्ध आर्थिक अनुदानवाट होइन व्यापार वाणिज्यवाट गर्ने सोच सोभियत संघले अनुकरण ग¥यो । फल स्वरुप सन १९७० को दशकदेखि सोभियत आर्थिक सहयोग वन्द झैं हुन थाल्यो ।
यता नेपालले पनि “आर्थिक सहायता होइन व्यापार” लाई दुई देश विचको सम्वन्धको आधार हो भनी घोषणा गरे पनि यथार्थमा त्यो नारा नाराकै रुपमा मात्र खुम्चिन पुग्यो । नेपालवाट प्रभावकारी रुपमा आर्थिक कुटनीति परिचालित हुन सकेन ।
आर्थिक -व्यापारिक संवन्ध वाहेक नेपाल र सोभियत संघ वीचमा रहेको घनिष्ठ सम्वन्धमा आघात पु¥याउने अर्काे राजनीतिक घटनाको रुपमा पूर्व राजा वीरेन्द्रको “शान्ति क्षेत्र” को प्रस्तावलाई सोभियत नीति निर्मातावाट समर्थन नपाउनु पनि हो ।
भारतले नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई अनुमोदन नगरे पछि सोभियत संघवाट पनि अनुमोदन प्राप्त भएन । त्यस पछि नेपाल र सोभियत संघको मैत्री प्रायः औपचारिकतामा मात्र सीमित भयो । यसलाई राजनीतिक विश्लेषकहरुले नेपाल–सोभियत संवन्धको पहिलो चरण भन्ने गरेका छन् ।
वर्तमानमा आइपुग्दा पनि नेपाल सरकारको “सहयोग” को चाहना यथावत छ । वर्तमान रुसी महासंघ वाहेक विभिन्न मुलुकवाट नेपाललाई आर्थिक सहायता ओइरिएकै छ ।
यस तथ्यलाई विश्लेषण गर्दा दुई मुलुकका नीति निर्माता विच सोचाइमा ठूलो अन्तर देखा पर्दछ । यस कटु सत्यलाई मनन गरेर वर्तमान परिवेशमा सान्दर्भिक विदेशनीति अवलम्वन हुन अत्यन्त जरुरी भैसकेको छ ।
मात्र हिजोको सोभियतकालीन सहयोगलाई प्रशंसा गर्दै समय विताउने भजन मण्डली सोचाइवाट वर्तमान रसियासंगको संवन्ध शायद गतिशिल र प्रभावकारी हुन नसक्ला ।
रुसी महासंघ अहिले पनि क्षेत्रफलको हिसावले संसारको सबैभन्दा ठूलो राष्ट्र हो । आर्थिक रुपमा पनि यो एक विशाल राष्ट्र हो । संघीयतालाई अङ्गिकार गरेर शान्तिपूर्ण तरिकावाट संचालित राष्ट्र मानिन्छ ।
यो राष्ट्रको संघीयता केन्द्रित समस्याहरुको अवलोकन–अध्ययन नेपालका लागि अति नै उपयोगी हुने देखिन्छ । तसर्थ अव आउने नीति निर्माताको निम्ति रुसप्रति नयाँ, यथार्थपरक, प्रभावकारी नीति अवलम्वन गर्नु पर्ने एउटा ठूलै हाँक देखा पर्दछ ।
रसियाली नीति निर्माताहरु व्यापार–आधारित मैत्री संवन्ध विकसित गर्न चाहन्छन् । आजको विश्वमा आर्थिक व्यापारिक कुटनीतिलाईनै राष्ट्र–राष्ट्रवीचको संवन्धको आधार मानिएको छ ।
नेपाल–रुस सम्वन्ध दीर्घायु होस् ।
(प्राध्यापक, तुलाधर नेपाल रुस मैत्री संघका अध्यक्ष हुन् ।)