छोराछोरी बिग्रेलान् कि ?

 

मध्य पश्चिमका मेरा एक मित्र गत असारमा छोराछोरी लिएर राजधानी उपत्यका आइपुगे । यसै बर्ष एसइइ (एसएलसी) उत्तीर्ण गरेका उनका छोराले जिपिए ३.८५ र छोरीले ३.९ ल्याएका रहेछन् ।

 

छोरो नाम चलेको काठमाण्डौंकै एक कलेजमा इन्जीनियरिङ्ग गर्ने धोको सहित साइन्स पढ्ने भए । पहिलो लिष्टमै नाम निष्क्यो । स्कलरसीप पनि पाए तर फी बर्षको एक लाख पच्चीस हजार ।

 

छोरीको डाक्टर बन्ने सपना रहेछ । वायोलोजी ग्रुपमा सेन्ट जेभियरमा भर्ना पाईन् । तुलनात्मक रुपमा केहि कम नै शुल्कमा । छोरा छोरीले नै राम्रो नम्बर ल्याएकाले राम्रै कलेजमा भर्ना पाए ।

 

मित्रलाई अर्कै चिन्ताले पिरोलेको रहेछ । विस्तारै ब्यक्त गरे, छोराछोरीलाई अब कहाँ राखेर पढाउने ? राम्रै जागिर, थोरै खेतिपाती र पुस्त्यौनी किराना पसल भएका ती मित्रले राजधानीमा न मेरो घर छ, नत आफन्तको नै । अन्त्यमा छोराछोरीलाई पm्ल्याट लिएर राख्नु भन्दा उनकै साथीले चलाएको होष्टलमा छोरीलाई र छोरालाई कलेजकै होष्टलमा राख्ने निर्णय गरे ।
अनि जिल्ला फर्कने अघिल्लो दिन खाना खाँदै कुराकानी गर्न आमन्त्रण गरे । त्यतीखेर नै उनले छोराछोरीलाई सहयोग गर्न अनुरोध गरे । उनले होटलमा बोलाए । रेष्टुरेन्टमा राम्रै चहलपहल थियो । रिजर्भ गरिएको टेवलमा उनी, उनकी श्रीमती, छोरा र छोरी पहिल्यै बसिसकेका रहेछन् । जब म पनि परिवारसाथ पुगें, उनी त एकाएक रुन पो थाले । उनकी श्रीमतीले पनि आँशु झार्दै उनैलाई साथदिन थालिन् । एक छिन् अलमलमैं परियो । उनीहरुको चिन्ता छोरा छोरी विग्रेलान् कि भन्ने रहेछ !

 

मैले फेरि काउन्सिलिंग गर्नु पर्यो । उनीहरुलाई भनें, चिन्ता नलिनुहोस् । तपाईको छोराछोरीको चरित्र एवं व्यक्तित्व निर्माणमा अब साथी संगातीको खासै प्रभाव पर्दैन । उनीहरु मेरा कुराप्रति अविश्वास गर्दै एकोहोरो मलाई नै हेरिरहे !

 

उनीहरुका आँखामा आँखा जुधाउदै मैले सोधे, के के हुन् ती कुरा जसले व्यक्तिको चरित्र एवं व्यक्तित्व निर्माणमा प्रभाव पार्छन् ? अनि मुसुक्क हाँस्दै व्यवहार विज्ञानका अनुसार कुनै पनि व्यक्तिको चरित्र एवं स्वभाव बन्नमा पाँच कुराको प्रभाव रहने कुरा बताउन थालें –

 

पहिलो: जेनेटिक अर्थात जीन, बंशानुगत गुण:
बालबालिकाहरुको स्वभाव, चरित्र र व्यक्तित्वमा आफ्ना बाबु, आमा, हजुरबा, हजुरआमा वा परिवारका अन्य सदस्यको डिएनएबाट गुण एवं स्वभावहरु आउँछन् । त्यसको अत्यधिक प्रभाव हुन्छ । बंशानुगत गुणहरु सँगसँगै चरित्र र स्वभाव कस्तो हुन्छ भन्ने प्रभाव हुन्छ । कतिपय अनुसन्धानले देखाएको छ इलेक्ट्रोन प्रोटोन र न्युट्रन जसरी सानो सानो कणमा विभक्त गर्दा पनि उहि रहन्छ त्यसै गरि जीनको प्रभाव पनि सन्तानहरुमा पर्छ । भलै त्यसमा वातावरणले पनि प्रभाव पार्न सक्छ । जसरी चिकित्सकहरुले विरामीको केश हिस्ट्री लिँदा आमा बाबु हजुरबा हजुर आमालाई के कस्ता रोगहरु सुगर, प्रेसर आदि इत्यादि रोग थिए भनेर सोध्छन् । त्यो पनि एक प्रमाण हो । चरित्रमा पनि जीनको अत्यधिक प्रभाव हुन्छ । यो स्वत आउने गुणहरु हुन् जसमा व्यक्ति स्वयम्को भने कुनै नियन्त्रण हुँदैन ।

 

दोश्रो: प्यारेन्टिङ्ग अर्थात अविभावकत्व:
जोसँग बच्चा हुर्कन्छन् । जसले बालबालिकालाई खुवाउने पियाउने, बोल्ने, खेल्ने हास्ने हसाउँने, रुँदा फुल्याउने । फुक्र्याउने । हप्काउने । दप्काउने । नियम, अनुशासनका घेरा कोर्ने काम गर्दछन् । यत्ति के भनेको थिएँ, भाउजुले बीचैमा थप्नुभयो, हो त नि कान्छी छोरी मामाघरमा हुर्केकि उसको दाजु दिदी भन्दा स्वभाव कत्ति फरक छ ।

 

कतिपय सन्दर्भमा बुढा भएका हजुरबालाई डोकोमा बोकेर भिरबाट फाल्न लागेका बाबुलाई साना छोराछोरीले डोको चाँहि फर्काएर ल्याउनु होस् है भनेको प्रसंग चलनचल्तीमा छ । भोली तपाईलाई यहि डोकोमा हालेर फाल्नुपर्छ, बच्चाले भनेपछि बा आमाको चेत खुलेको कथा समाजमा चर्चित छ । योे भनेकै प्यारेन्टिङ्ग हो । पहिलो पाठशाला बाबु–आमा नै हो भन्ने यसबाट पनि पुष्टि हुन्छ ।

 

तेश्रो: स्कुलिङ्ग वा शैक्षिक संस्था, पाठ्य सामग्री, शिक्षक र शिक्षण आदि ।
तपाईले के कस्तो शैक्षिक संस्थामा बच्चालाई पढाउनु भएको छ ? त्यहाँको वातावरण, सिकाई, शिक्षक–शिक्षिकाहरुको आनि, बानी र व्यवहार । किनकि पहिलो सिकाइका गुरुहरुका अभिव्यक्ति र व्यवहारले बालबालिकामा प्रेरणा उत्पन्न हुन्छ । के कस्ता पुस्तक पढ्छन् ? वातावरमा उपलब्ध सिकाइ सामाग्रीहरुको प्रभावमा व्यक्तित्व र चरित्र निर्माण हुन्छ ।

 

गत महिना काभ्रे जिल्लाको वोल्दे–फेदिचे गाऊ पुग्दा त्यहाँको एक पूर्व प्राथमिक विद्यालयमा जीवनको भोगाई केटाकेटिहरुको सिकाई भनेर कक्षा कोठाको भित्तामा टाँसेको पोष्टरमा भएको कुरा जसलाई मोवाइलमा खिचेर राखेको थिएँ । मैले ती अंश सुनाएँ– आलोचनामा हुर्केको बच्चाले निन्दा गर्न सिक्छ । प्रशंसामा हुर्केको बच्चाले अरुको कदर गर्न सिक्छ ।

 

वैरभावमा हुर्केको बच्चाले झगडा गर्न सिक्छ । सहनशीलतामा हुर्केको बच्चा क्षमाशील बन्न सिक्छ ।
उपहासमा हुर्केको बच्चाले संकुचित हुन सिक्छ । प्रोत्साहनमा हुर्केको बच्चाले आत्मविश्वासी हुन सिक्छ ।
निस्पक्षतामा हुर्केको बच्चाले न्यायनिसाफ सिक्छ । सुरक्षामा हुर्केको बच्चाले माया पाउन सिक्छ ।

 

अब भन्नुहोस्, तपाईका छोराछोरी कस्तो वातावरणबाट गुज्रिएका छन् ? किनकि विगतले वर्तमान र वर्तमानले भविष्यलाई मार्ग निर्देश गरिरहेको हुन्छ ।

 

चौथो: पियर्स अर्थात साथीसंगाती र सामाजीक बातावरण:
यसको प्रभाव व्यक्तिको व्यक्तित्व र चरित्र निर्माणमा परिरहेको हुन्छ । हुर्कदाका बखतमा पारिवारिक, सामाजिक सम्बन्ध, बालबालिकाको वरिपरिको वातावरण । उनीहरुले सबै भन्दा धेरै समय व्यतित गर्ने कुरा, नजिकका साथीहरु । धार्मिक, र्आिर्थक, राजनीतिक, साँस्कृतिक, रहन सहन, समाज, सूचना प्रविधिको प्रयोग आदि । यी कुराबाट व्यक्तिको चरित्र निर्माण हुन्छ । यिनै प्रभावले आफूलाई पोजिसनिङ्ग गरिरहेको हुन्छ ।
पाँचौ: ड्रीम वा सपना:
बच्चा भविष्यमा आफू के कस्तो बन्न चाहन्छ ? बालबालिकाले यी चारवटै तहबाट भित्रभित्रै सपना बुनेका हुन्छन् । आफ्नो काल्पनिक रुप तयार गर्दै सोहि अनुरुप चरित्र निर्माण भएको हुन्छ । भविष्यमा कलाकार, गायक, संगीतकार, नेता, लेखक, कवि, डाक्टर, इन्जिनियर आदि ईत्यादि जे बन्ने सुसुप्त सपना बनाएको हुन्छ सोहि अनुरुप आचरण र व्यवहार गर्दै जान्छ । यस्ता कुराको प्रभावमा व्यक्तिको चरित्र निर्माण हुन्छ ।
यी विषयमा सामान्य ज्ञान भएमा अविभावकले आफ्ना छोराछोरी विग्रन्छन् कि भनेर चिन्तित भैरहनु पर्दैन । साथी–संगातीको प्रभाव त्यतिधेरै हुँदैन जति अन्य चार आयामहरुमा छन् ।

 

अब तपाईका छोराछोरी हुर्किसकेका छन् । के ठिक, के बेठिक आफैं छुट्ट्याउन सक्छन् । पूर्वीय सभ्यता संस्कृतमा एउटा श्लोक पनि छ, पाँचबर्ष सम्म छोराछोरीलाई पुलपुल्याएर पालौंं । दशबर्षदेखि हप्काई दप्काई गरौं । सोह्र बर्ष पुगेका छोराछोरीलाई साथी समान व्यवहार गरौं ।

 

त्यसैले हे मेरा मित्र, म्याडम र छोराछोरीहरु हो, तिमिहरु विग्रेलाउ भन्ने चिन्ता होईन, हाम्रो चिन्ता तिमीहरुको पढाईको । स्वास्थ्यको । मितव्ययिता र आर्थिक अनुसाशनको मात्र हो ।
मेहनत । लगनशीलता । परिश्रम र भविष्यको चिन्ता पो हामीले गर्ने हो । नकि साथी संगाति आदिको । अरुको विषयको चिन्ता त कमजोर मनस्थितिका रोगीहरुले मात्रै गर्ने गर्छन् । तपाईहरुले होईन ।
यति कुरा सुनिसके पछि मित्र दम्पति र उनका छोराछोरीको मुहारमा प्रसन्नताको प्रकाश छायो । बेकारका कुराले बोझिलो अन्धकार र चिन्तित बनाएको रहेछ भन्ने छर्लंग भयो ।
छोराछोरी त खुसी भए तर अझै आमाबाबुको मनमा दुविधा, अनिश्चितता र संकोच कायमै थियो, हटिसकेको थिएन ।

खानापछि हामीले सामुहिक तस्वीर खिच्यौं । स्थानीय अविभावक झै भतिजा–भतिजीलाई मोवाईल, इमेल र घरको फोन टिपाएँ । समस्याको समाधान निर्धक्क परेर भनें र लाग्छ, साथीलाई आश्वस्थ पनि पारें !