भारत हजार वर्ष दास भयो ! तैपनि छिमेकीलाई दास बनाउन चाहन्छ ? कारण केहो ?

भारत जसरी एउटा स्वतन्त्र देश भुटानभित्र पसेर सेना परिचालन गर्दै चीनसंग मुठभेड निम्त्याइरहेको छ, यसले उस्लाई अन्तत फर्सि र चुलेसीको झगडाको अवस्थामा पुर्याउनेछ । के भएको थियो फर्सी र चुलेसीको झगडामा ?

 

भारत हजार वर्ष दास भयो !  तैपनि छिमेकीलाई दास बनाउन चाहन्छ ?  कारण केहो ?

 

कारण सरल छ र परिणाम पनि स्पष्ट छ । यसले भारतलाई फेरि नारायणहरि बनाउने छ !

भारत लामो समय उपनिवेश बनेकोले भारतीय शासकहरुमा औपनिवेशीक शैली अपनाइयो भने मालिक बनिन्छ भन्ने मध्ययुगीन भ्रम कायम छ । सत्तरी वर्षअघि महात्मा गान्धी र सुवाषचन्द्र बोस जस्ता महान ब्यक्तिहरुको नेतृत्वमा स्वतन्त्र भारत बने पनि स्वाधीनतापछि भारतले न आफ्नो छुट्टै पहिचान बनाउन सक्यो नत भारतीय जनतामा ब्याप्त गरीवीबाट मुक्ति पायो । बेलायती बाबुहरुको ढाँचालाई निरन्तरता दिएर भारतीय शासक बाबु बने र भारतीय आमजनता दरिद्रको दरिद्र नै रहिरहेको छ ।

 

बेलायती बाबुहरुको अनुकरण गरेपछि उनीहरु जस्तै र अझ अंग्रेज नै बनिन्छ भन्ने दरिद्र मानसिकताले गर्दा भारतीय नेतृत्वले स्वतन्त्रतापछि पनि आन्तरिक र बाह्य संबन्धमा उपनिवेशवादी नीतिलाई निरन्तरता दिइरह्यो । त्यसैकारण सात दशक अघि स्वतन्त्र भए पनि करोडौं भारतीयहरु अभाव, बिपन्नता र शोषणको चक्रबाट न मुक्त हुन सकेका छन् नत यो विशाल देशसंग सिमाना जोडिएका देशहरुले शान्तिको सास फेर्न नै पाएका छन् । सबै छिमेकीलाई दुख दिएकाले भारतसंग कसैको कहिल्यै सुमधुर संबन्ध रहन सकेको छैन ।

 

छिमेकीहरुमध्ये तुलनात्मक रुपमा भारतको सुमधुर संबन्ध रहेको भनिएको दक्षिण एशियामा नेपाल मात्रै हो । तर नेपालमाथिको उस्को ब्यवहारले नेपाल हल न चलको अवस्थामा रहिरहेको आर्थिक र राष्ट्रवादीहरु दोहोर्याई रहन्छन् ।

 

प्रमाणको रुपमा असमान ब्यवहार गर्ने १९५०को जस्तो किर्ते सन्धि गरेर नेपाललाई हल न चलको स्थितिमा भारतले राखिरहेको उदाहरण उनीहरु प्रस्तुत गर्छन् । न बाटो बनाउन दिन्छ, नत संविधान नत ब्यापार गर्न नै ! झेलैझेल गरेर भारतले स्वतन्त्रतापछि पनि नेपालीहरुलाई सताइरहे । तै पनि नेपालीहरु सहिरहेका थिए ।
भारतमा नरेन्द्र मोदीको उदयपछि नेपाल–भारत संबन्धमा नयाँपन आउने र त्यो लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुने विश्वास गरिएको थियो । भारतीयहरुले लर्ड कर्जनको नीतिलाई तिलान्जली दिएर स्वतन्त्र भारतको परराष्ट्रनीति अवलम्बन गर्ने अपेक्षा गरिएको थियो । त्यसैले प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमणलाई नेपालीहरुले धुमधामसंग स्वागत गरे । ऐतिहासिक बनाए । छिमेकीहरुले पनि ए होकि क्याहो भारतको नीति परिवर्तन भएको भन्न थालेका थिए ।

 

नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानसभामा ऐतिहासिक नै संबोधन गरे । उनले संबोधन गरिरहँदा संभासदहरुले सदनमा तालीको गडवडाहटबाट समर्थन पनि गरे । आमजनताले सडकबाट । नेपाल भ्रमण कै बेला मोदी गाडीबाट सडकमा उत्रिएर जनताबीच अभिभादन गर्दा मोदीको समर्थनमा नेपालीहरुले नाराबाजी पनि गरे । त्यतीबेला मोदीमय बनेको थियो नेपाल ।

 

तर उपनिवेशवादी मानसिकताको भारतीय नेतृत्व यसलाई कपटपूर्ण रुपमा हेरिरहेको रहेछ । मोदीको भनाइप्रति नेपालका सर्वसाधारणले जनस्तरमा जनाएको समर्थन र भारतीय–नेपाली भाइभाइ भन्ने माहौल भारतीय नेता र बाबुहरुलाई पचेन । फलस्वरुप, तीब्र गतिमा नेपालीहरुमा पलाएको भारतप्रतिको विश्वासलाई अविश्वासमा बदल्न भारतीय सत्तापन पक्ष हात धोएर लाग्यो । मोदी स्वयम् आफूले बोलेका कुराबाट पछि हटे ।

 

जबकि नेपाल र हिन्दूस्तानबीचको संबन्ध यति नजीक छ भनिसाध्य छैन । दुबै देशका जनताका भगवान एउटै छन् । फुलपाती एकै छन् । तीर्थस्थल उही छन् । तीर्थ गर्न दुबैदेशका जनता बाह्रै महिना आवत जावत गरिरहन्छन् । दुबै देशका चाडपर्वहरु एउटै छन् । मन्त्र, श्लोक र धर्मग्रन्थहरु एउटै छन् । रोटी र बेटीको संबन्ध त जगजाहेर नै छ ।

 

यति घनिष्ट संबन्ध हुँदाहुँदै पनि भुइचालोले थिलथिलो भएको नेपाललाई भारतले नाकाबन्दी लगाएर प्याकप्याक बनाइ दियो । ’cause भारतीय नेतृत्वमा नकारात्मकता छ, जो उनीहरुले सात समुद्रपारीका बेलायती उपनिवेशवादीबाट सिकेका हुन् ।

 

दुखमा परेकोलाई झन् दुख थपिदिएर, आफूभन्दा कमजोरलाई अझ हेपेर, अगाडि बढ्न लागेकोलाई छिड्की लगाउदै ढालेर, स्वाभिमानीमाथि आक्रमण गरेपछि आफू बलियो होइन्छ भन्ने सोच भारतीय शासकमा छ । यही सोच कार्यान्वयन गरेर मात्र सधै शासक बनिरहन सकिन्छ भन्ने बेलायती उपनिवेशवादीहरुले भारतमा शासन गर्दा अपनाएका तरीकालाई नै भारतले स्वतन्त्रतापछि अख्तियार गर्यो । यही उपनिवेशवादी चिन्तन फेरि हावी भएकोले सुल्झिन लागेको नेपाल–भारत संबन्ध बाबुहरुलाई सह्य भएन ।

 

उनीहरु नीर बिरालोले झैं घात लगाउने दाउ खोज्न थाले । नेपालमा आएको महाभुकम्प र त्यसवाट लतारिएर निरास, कमजोर, घाइते, दुखी बनेका नेपालीलाई दास बनाउन लागिहाले । नेपाली जनताले संबिधानसभाबाट संबिधान जारी गर्न लागेकोलाई बिरोधको बहाना बनाएर भारतले नेपालमाथि ज्यानमारा नाकाबन्दी गर्यो ।
भारत भएर नेपाल आउने ग्याँस, खाद्यान्न, पेट्रोल, डिजेलदेखि औषधिसम्म भारतीय सरकारले रोक्यो । त्यसपछि नै हो मोदीलाई देवता कै अर्को रुप होकि भनेर मान्ने गरेका महिलाहरुले राक्षस ठान्न थालेका । अब फेरि मोदीले नेपालको भ्रमण गरे र सडकमा उत्रिएका कति गृहिणीका ढुंगा खान्छन् होला, अहिल्यै अडकल गर्नु बुद्धिमानी हुँदैन । त्यती कुँडिएको छ आमनेपालीको मन । भारतीय ब्यवहार त्यती निन्दनीय र घृणास्पद थियो ।

 

यो सबै देखे भोगेका मात्र होइन, विश्लेषण गरेका एक प्राध्यापकले भने, भारत त्यसै हजार वर्ष विदेशीको गुलाम बनेको होइन रहेछ । भारतीय मानसिकता नै कस्तो कमजोर छ भने, शक्तिशालीसंग झुक्ने र निर्दोलाई दवाउदा उनीहरु आफूलाई सफल भएको ठान्छन् । यस्तो पराजीत र दरिद्र मानसिकता हावी छ भारतीय शासकहरुमा ।

 

त्यसैले नेपाल र नेपाली जनता जस्ता भारतका शुभचिन्तकहरुमाथि नै निकृष्ट ब्यवहार गर्ने भारतीय सत्तापक्षले अरु छिमेकीहरुसंग कस्तो ब्यवहार गरेको होला ? एकमुठी महन्थ ठाकुर र राजेन्द्र महतोहरुलाई बोकेर सकल नेपालीहरुलाई दण्डित गरेबाटै यो प्रष्ट हुन्छ । जवकि भारतीय सेनाका गोर्खालीहरुले नै भारतका निम्ति सिमानाका खतरनाक युद्धमा जीवन न्यौछावर गरिरहेका छन् । तर नेपालीहरुलाई चिढ्याइरहेको छ भारत ।

 

उनले भने, अब अनुमान गरौं, भारतका वरिपरिका पाकिस्तान र बंगलादेश पहिलेका भारत नै हुन् । उनीहरुमाथि भारतको नीति भनेकै अविश्वास र सकेसम्म हेप्नु हो । त्यसवाहेक श्रीलंका, माल्दिभ्स, बर्मासंग पनि भारतको सुमधुर संबन्ध छैन ।

 

भुटान ? भुटानसंग भारतको गज्जवको सुमधुर संबन्ध छ भनिन्छ तर भित्रबाट त्यो अत्यन्त खोक्रो छ । भुटान स्वतन्त्र राष्ट्रको रुपमा अन्तर्राष्ट्रिय रुपमा संबन्ध विस्तार गर्न चाहन्छ । तर तथाकथित सन्धि देखाएर भारत भुटानलाई अँठ्याइरहेको छ । यसले गर्दा आमभुटानी भारतविरुद्ध भित्रभित्रै कुँडिइरहेका छन् ।

 

 

 

श्रीलंकामा भारतले गरेको नग्न हस्तक्षेपले गर्दा भारतीय प्रधानमन्त्री राजीव गान्धीलाई उनैले उचालेका तामिलहरुले भारतमै पसेर हत्या गरे । जबकि अर्काको देशमा गएर बसेका भारतीय तमिलहरुलाई भारतले नै उकासेर तमील विद्रोहलाई मलजल गरेको थियो । हतियार चलाउने तालिम दिएको थियो । नेपालमा पनि यस्तै गर्ने धम्की दिन खोजीरहेको छ ।

 

भारतका छिमेकी मध्ये नेपाल नै एउटा मात्र त्यस्तो देश हो, जसले भारतसंग कालापानीदेखिका अन्य क्षेत्रमा भएको भारतीय अतिक्रमणविरुद्ध सैनिक उतारेको छैन । होइन भने चीन, पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका माल्दिभ्स कोसंग छैन भारतको क्षेत्राधिकारकोे विवाद ?

 

देशको क्षेत्रफल अनुरुप भारतीय मानसिकता बिशाल छैन, तोरीको गेडो भन्दा पनि सानो मानसिकता लिएर भारत विश्व शक्ति बन्ने सपना पालिरहेको छ । चिकेन नेकमा अड्किएको छ–भारतीय चिकेन हर्ट !
चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान कसैसंग विश्वासिलो संबन्ध छैन । सबैलाई अवगत नै छ, पाकिस्तानसंग भारतको दुइपल्ट युद्ध भैसकेको छ । चीनसंग सन् १९६२को युद्धमा भारत हारेको मात्र होइन, अहिले पनि चीनबाट भारतले आफ्नो भूमि फिर्ता लिन सकेको छैन । चीनसंग गुमेको भूभाग फिर्ता गर्न नसकेको कमजोरीको पूर्ति कमजोर छिमेकीहरुलाई दण्डित र प्रताडित गरेर लिन खोजीरहेको छ ।

 

कमजोर छिमेकीसंग चारआनाका मुद्धामा अलमलिएर भारतीय बुद्धिजीवी र रणनीतिबाजहरु चीनसंग टक्कर लिन खोजीरहेका छन् । फलस्वरुप गरीवी निवारण र दरिद्र भारतीयलाई खुवाउनु पर्ने सिटामोलको पैसा ३ हजार ४ सय किलोमिटर लामो चीनसंगको सिमानामा सेना तैनाथ गरेर खर्चिरहेको छ । अझ भारतीय भृत्यतन्त्र नेपालसंगको शान्त सिमानालाई अशान्त बनाएर भारतीय अर्थतन्त्रलाई कंगाल बनाउन र भारतीयहरुलाई दरिद्र बनाउन खाल्डो खनिरहेको देखिदैछन् ।

 

पाकिस्तानसंग बाह्रैमहिना बाह्रैकाल युद्धको अवस्था रहिरहेको छ । बंगलादेश र बर्माको सिमानामा उत्तरपूर्वी भारतीय राज्य जोगाउन उतारिएको भारतीय सेना र अर्धसैनिक सेना फर्केको दिन पूरै उत्तरपूर्वी राज्य भारतमा रहने लक्षण छैन । अरुका देशमा विद्रोह जन्माउन लागिरहेको भारतले आफ्नो देशभित्रै बढिरहेको विद्रोह देख्ने आँखामा सायद रतन्धो लागेको हो कि !

 

यस्तो अवस्थामा नेपालको १७ सय किलोमिटर लामो चीनसंगको सिमाना जहाँ भारतले सिमा सुरक्षाका लागि सुको खर्च गर्नुपरेको छैन । तर पनि भारत नेपाललाई नै चिढ्याइरहेको छ । यो बुद्धिमानले होइन, मूर्खले मात्र गर्ने ब्यवहार हो ।

 

आफूलाई हिन्दूधर्मको पक्षपाती बताउने बर्तमान सत्ताधारी भाजपा सत्ताको चास्नीमा आफ्नै मूल्यमान्यतालाई तिलान्जली दिइरहेको देखिदैछ । प्राचिन इतिहासमा कालिदासले आफू बसेकै हाँगो काट्दा पनि बुद्धि फिरेको बर्णन पढ्न पाइन्छ । यो ज्ञानपछि कालिदास बालमिकी ऋषि बनेका थिए तर हिन्दु धर्मशास्त्र र संस्कृतिलाई जोगाउछु भन्ने भारतीय रथ राजनीति र कुटनीतिका दिग्गजहरु कालिदास चाललाई नै बढावा दिइरहेका छन्, विश्लेषणमाथि विश्लेषण थपिरहेका छन् । तिनमा बाल्मिकी बन्ने रत्तीभर संभावना देखिदैन ।

 

यसैको परिणाम हो, भुटानको दोक्लांग क्षेत्रमा चीन–भुटान सिमानाको विवाद । भारत जसरी एउटा स्वतन्त्र देश भुटानभित्र पसेर सेना परिचालन गर्दै चीनसंग मुठभेड निम्त्याइरहेको छ, यसले उस्लाई अन्तत फर्सि र चुलेसीको झगडाको अवस्थामा पुर्याउनेछ । के भएको थियो फर्सी र चुलेसीको झगडामा ? सबैलाई अवगत नै छ, फर्सी रिसाएर चुलेसीलाई हान्दा फर्सी काटियो र चुलेसी रिसाएर हान्दा पनि फर्सी नै काटियो ! यस्तो अवस्था चीन र भारतबीच नआओस् । पशुपतिनाथ क्षेत्रबाट यत्तीमात्र भन्न सकिन्छ, यस्तो नहोस्, भारतीयहरुमा बेलैमा स्वतन्त्र चेत पलाओस् !