सुगौली सन्धिको भ्रम

 

 

नेपालका नरेन्द्रदेवले ७००० घोडचढि सैनिक र तिब्बतका स्रङ्–चन–ग्याम्पोका १२०० घोडचढि सैनिक मिलेर उक्त सैनिक टुकडीले मगधमा आक्रमण गरेर राजधानी कब्जा गर्यो । बदमास भारतीय शासक अरुणास्वलाई बन्दी बनायो । सो बन्दीलाइ बाँधेर पाता फर्काउदै नेपाल–तिब्बतको बाटो हुँदै वाङ्–ह्वेन–त्सेले इस्वी ६४८ मा चीनका सम्राट समक्ष उपस्थित गराए ।

 

 

सुगौली सन्धि पछि मात्र तराइ नेपालको भु–भाग भएको भन्ने केही मानिसमा ठुलो भ्रम परेको देखिन्छ । यथार्थ के हो ? यो लेख पढनुस् र भ्रम निवारण गर्नुहोस् ।

 

१ नोभेम्बर १८१४ देखि ३ मार्च १८१६ सम्म नेपाल र भारतलाई बेलायती उपनिवेश बनाएर बसेको ईष्ट इण्डिया कम्पनि सरकार बीच युद्ध भएको थियो । यो युद्धको समाप्ति बहुचर्चित सुगौली सन्धि वाट भयो ।
सुगौली सन्धिमा पनि तराइका भु–भागहरु नेपालको भएता पनि कम्पनि सरकारको प्रभुत्वमा रहने र कम्पनी सरकारले ती क्षेत्र लिए वापत नेपाल सरकारलाइ २ लाख रुपैंया प्रतिवर्ष दिने भन्ने उल्लेख गरिएको छ । इस्वी संबत १८१५ मा कम्पनी सरकारले युद्ध गर्न भनी अवधका नवाव–बजीरसित २ करोड रुपैंया ऋृण लिएको थियो ।

 

युद्धवाट प्राप्त जमिनवाट ऋृण तिर्ने रकम नऊठ्ने, औलो प्रभावित क्षेत्र भएको र अन्य कुनै लाभ नहुने देखेपछि कम्पनी सरकारले कोशीदेखी राप्ती सम्मको तराईको भु–भाग नै फिर्ता दियो । त्यसपछि वार्षिक रुपमा कबुल गरेको २ लाख रुपैंया पनि इष्ट इण्डिया कम्पनीले नेपाललाई दिन परेन ।

 

राप्ती पश्चिमको तराइको भु–भाग ऋृणको साटो भनी नवाव– वजीरलाई दियो । पछि सिमाना सम्बन्धी झै–झगडा नहोस भनी दुबै सरकारका प्रतिनिधिहरुले दुबै देशको बीच जमिनको एक पातलो पट्टी छाडी बीच–बीचमा खम्बाहरु गाडीयो ।

 

इस्वी १८५७ मा भारतमा कम्पनी सरकारको विरुद्ध आन्दोलन भयो सो बिरोध दबाउन जंगबहादुरले कम्पनी सरकारलाई सहयोग गरे । त्यो सहयोग गरे वापत १ नोभम्बर १८६० मा नेपाल र कम्पनि सरकार बीच एक सन्धि भयो । सो अनुसार पहिले सुगौली सन्धिवाट नेपालवाट खोसेर नवाव–वजीरलाई दिएको तराइको भु–भाग पुन नेपाललाई फिर्ता दिइयो ।

 

यसै सन्धिवाट पहिलो पटक कम्पनी सरकारले नेपाललाई सार्वभौम सत्ता सम्पन्न राज्य पनि मान्यो र भारतको भौगोलिक सीमाभित्र नेपाल एक मात्र स्वतन्त्र राज्यको रुपमा रह्यो ।

 

भारतका अन्य सबै राज्यहरुलाई कम्पनी सरकारले आफ्नो आधिनमा राख्न सफल भयो । उपर्युक्त सन्धिहरुमा पनि तराइको उपर्युक्त भु–भाग तत्कालिन भारतका मालिक अङ्ग्रेज सरकारले नेपालको भन्ने स्विकार गरेको छ र सिमा कोरिएको छ । यसका लागि अहिले पनि नेपालबाट अङ्ग्रेजलाई साक्षी राख्न सकिन्छ ।

 

 

 

नेपाली तराईको इतिहासतर्फ एक दृष्टि

 

‘प्राचीन भारत वर्षको उत्तर तर्फका सम्पन्न नगर राज्यहरु, आफ्नो राज्यको उत्तर तर्फको सम्पुर्ण जङ्गल तथा पहाडी भूभागलाइ इस्वीको प्रथम शताव्दी सम्म किरात प्रदेश वा नेपाल देश भन्ने गर्दथे ।

 

तसथर्, हालको तराइको भु–भाग वैदिककालदेखि नै नेपालको एक अभिन्न अँग थियो । नेपालमा लिच्छवि कालको अन्त पछि १०९७ इस्वीमा बङ्गालका राजाका सामन्त कर्णाट वंशी नान्यदेवले हालको बारा जिल्लाको सिमरा वनमा सिम्रौनगढ राज्य स्थापना गरेपछि नेपाल र भारतका पूर्वी तराइका धेरै जसो भुभागमा सिम्रौनगढका शासकहरुले राज्य गरे ।

 

इस्वी १३२४-२५ तिर मुसलमान शासक गयाशुद्दिन तुगलकले सिम्रौनगढ आक्रमण गरि ध्वस्त पारेपछी सो क्षेत्रमा स–साना सामन्तहरुको ( जमिन्दारी ) शासन कायम भयो । यद्धपि केही सामन्त शासकहरु धाक र रवाफको लागि दिल्लीका मुसलमान शासकहरुको समर्थन लिने गर्दथे । पछि पाल्पाका राजा मणि मुकुन्दसेन ( इस्वी १५१८–५३ ) ले यो क्षेत्र विजय गरे र उनका छोरा लोहाङ्गसेनले इस्वी १५५३ देखी यस क्षेत्रमा राज्य गरी सेन वंशको आधिपत्य कायम गरे ।

 

गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपालको एकिकरण अभियान अन्तर्गत इस्वी १७६२ मा आफ्नो ससुराली राज्य मकवानपुर विजय गरी सो क्षेत्र नेपाल राज्यमा गाभे । यस प्रकार इतिहासमा कहिल्यै सम्पूर्ण तराइ भारतको कुनै राज्य अन्तर्गत रहेको देखिदैन ।

 

कुनै भारतीय सांसद वा व्यक्तिले नेपालको सो भु–भाग कुनै समय हाम्रो थियो भन्नु टिष्टा देखि काङ्गडा सम्म नेपालको भु–भागलाई भारतको दाबी गर्नु इतिहासको अज्ञानता वा मुर्खता हो ।

 

इतिहासमा नेपाली शासकले गरेको ठूलो भूल

 

इस्वी १९४४ मा ब्रिटिश भारतका तत्कालीन भायसराय लर्ड वेभलले नेपालका श्री ३ जुद्धलाई अपरझट भारत बोलाए । श्री ३ जुद्ध पनि तुरुन्तै भारत गए । सो अवसरमा भायसरायले “ अब हामी ब्रिटिश भारत छोडी जान लागेको छौ, नेपाल सरकारले हामीसंग पूर्बी पाकिस्तान ( हाल बंगलादेश )को इलाका नेपालसँग जोडिने गरी माग गर्नुहोस् विना आपत्ति सजिलै सो सम्पुर्ण इलाका हामी नेपाल सरकारलाई सुम्पने छौं’ भने ।

 

जुद्धले तत्कालै आँट नगरी काठमाडौं फर्की यस बिषयमा सल्लाह गरि जवाफ दिन्छु भने । त्यसपछि जुद्धले काठमाडौंमा आफ्ना भाइभारदारहरु जम्मा पारी छलफल गराए । अन्तमा सो इलाका नलिने निर्णय गरियो र भायसरायलाई नेपाल सरकारले प्रस्तावित इलाका लिन मन्जुर नगरेको जानकारी गराइयो ।

 

भायसरायले पुन नेपाल सरकारलाई डराउनु पर्दैन, हामी छौं । हामी नै सो सम्पूर्ण इलाका सम्हाल्दछौ र स्थिति सामान्य भएपछि नेपाल सरकारलाई नै सुम्पिने छौ ं। त्यस पछि पनि केहि परे हामी तुरुन्त जस्तो मद्धत आवश्यक पर्छ त्यस्तै सहयोग गर्ने छौं, भनी खबर पठाए तर पनि नेपाल सरकारले सो प्रस्ताव स्वीकार गरेन ।

 

२४ अक्टोबर १९४५ मा ब्रिटिश भारतका प्रधान सेनापति अकिनलेक काठमाडौं आए । उनले श्री ३ जुद्धलाई अझै समय छ, पूर्वी भागको माग गर्नुस डराउनु पर्दैन हामी छौं भने ।
उनले हामी त्यस क्षेत्रमा शासन व्यवस्था बलियो बनाइ तपाईंहरुलाइ सुम्पिने छौं, होइन भने पूर्वी पाकिस्तान ( हालको बाङ्लादेश ) बनाउन बाध्य हुनेछौ भने ।
तर उनको सो प्रस्ताव फेरि पनि नेपाल सरकारले मन्जुर गरेन । यस प्रकारले तत्कालीन शासकको भुलले नेपाल भूपरिबेष्टित राष्ट्र हुन गयो । नेपालीले अनेकौ दुख, कष्टको सामना गर्नु परिरहेछ । यसैलाई भन्छन्, न्याउरी मारी पछुतो…

 

 

किन रोइस मंगले आफ्नै ढंगले…

 

इतिहासको अनुसन्धानमा सरकारी उदासीनता र देशको दुर्भाग्यले नेपालमा उर्जा सङ्कट
इस्वीको सातौ शताब्दीदेखि नेपाल केवल भारतको एक कुनाको देशमात्र रहेन । एशियाका दुई ठुला राष्ट्र चीन र भारतको यातायातको प्रमुख मार्ग भएकोले एशियाको राजनीतिक घटनाहरुमा नेपालको पनि महत्वपूर्ण स्थान हुनगयो । त्यस समयदेखि चिनियाँहरु धार्मिक, व्यापारिक तथा सरकारी कामले आवत–जावात गर्न थाले । उनीहरु मध्ये केहीले नेपालको उर्जा–श्रोत’bout जानकारी दिएका छन् । इस्वी ६२९ देखि ६४३ सम्म भारतको भ्रमण गर्ने चिनिया यात्री हुएन–साङले काठमाडौं उपत्यकाको तेलको खानी ’bout उल्लेख गरेका छन । उनको भनाइ अनुसार नेपालको राजधानीदेखि दक्षिण–पुर्व एउटा सानो खोला र पोखरी छ ।
यी दुबै आगोको स्पर्शले तुरन्त नै प्रज्वलित हुन्छ । तिनमा परेका अन्य कुरा जलेर खाक हुन्छ । इस्वी ६४३ देखि ६५७ बीच वाङ–हुएन–चेले पनि नेपाल हुँदै अनेक पटक चीन र भारत ओहोर–दोहर गरे । उनले उल्लेख गरे अनुसार नेपाल देशको कुनै बेसीमा पाउ–लो–ताउ नामक ग्रामदेखि पूर्व एक सानो कुण्ड देखियो जो प्रज्वलित जलले पूर्ण थियो ।

 

अग्निको संसर्गले यो कुण्ड धपक्क बल्दथ्यो । यो अग्नि निभाउन पानीको साटो माटो हाल्नु पर्दथ्यो । यो अग्नि नागहरुको अग्नि हो भन्ने यहाँका मानिसहरुको मान्यता रहेको छ । वाङ्–ह्वेन–त्सेको दलले आफ्नो भोजन पनि यसै आग्निमा पकायो ।

 

वाङ्–ह्वेन–त्सेले एक अर्को कुण्डको पनि बर्णन गरेका छन् । उनी अनुसार राजधानी नजिक दक्षिणतिर एक कुण्ड छ । त्यसको केही पूर्व अग्नि पोखरिको श्रोत खोला पनि छ ।

 

कुनै पनि ऋतुमा यसको जल सुक्दैन, यसमा आगो पर्यो भने कैयन फिट अग्लो धुँवा र आगोको ज्वालाको मुस्लो छोडदै दन्कन्छ । यो अग्निमा पानी हाल्यो भने निभ्नुको साटो झन बढदथ्यो । समयमा सरकारले इतिहासको अनुसन्धान गराइ उपर्युक्त श्रोतहरु पत्ता लगाएको भए हामी नेपालीले आज सङ्कटको यो दिन देख्नु पर्ने थिएन ।

 

स्मरण रहोस अहिले पनि दिन बितेको छैन
नेपाल–चीन राजनीतिक सम्वन्धको संक्षिप्त संझना
इस्वी ४६३–६४ तिर लिच्छवी राजा मानदेवले पूर्व र पश्चिमका बिद्रोही सामन्तहरुलाई दबाई नेपालको शासन र राजनीति सुदृढ पारे । स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न नेपालको राजनीतिमा कुनै विदेशी प्रभाव थिएन ।

 

इस्वी ३१९ देखि ५३० सम्म भारतमा गुप्तहरुले राज्य गरे । त्यसबीच व्यापार गर्न र अनेकौ कारणले नेपाल प्रवेश गरेका केहि गुप्तहरुले सामन्त र महासामन्तको रुपमा नेपालको राजनीतिमा भूमिका प्राप्त गर्न सफल भए ।

 

उनीहरुको प्रभाव कम गर्न राजाले अंशुवर्मा जस्ता व्यक्तिलाई प्रोत्साहित गरे । पछि अंशुवर्मा सामन्त, महासामन्तको साथै राजा सम्म भए । उनले सर्वप्रथम तिब्बततिरको नाका खोलेर तिब्बतसंग व्यापारिक सम्वन्ध स्थापित गरे र रेसम मार्गबाट चीनसँग सम्वन्ध गाँसे ।

 

अंशुले लिच्छवी राजकुमार उदयदेवलाई नै युबराज घोषित गरे । अंशुवर्माको मृत्युपछि उदयदेव राजा भए । तर केहि समयपछि गुप्तहरुले उदयदेवका नाता पर्ने लिच्छवि वंशका व्यक्तिलाई उचालेर बिद्रोह गर्न लगाई नेपालको शाशन सत्ता कब्जा गरे । उदयदेव भागेर तिब्बत पुगे ।

 

तिब्बतमा त्यसबेला स्रंग चङ गम्पो शक्तिशाली राजाको रुपमा स्थापित भैसकेका थिए । स्रंग चङ गम्पोले उदयदेवलाई शरण दिए । सम्भवत उदयदेवले आफ्नी छोरीको विवाह स्रंगचङ गम्पोसँग गराएर वैवाहिक सम्वन्ध कायम गरे । स्रंग चङ गम्पोले चीनको राजकुमारीसँग पनि विवाह गरेका थिए ।

 

लगभग २० वर्ष पछि उदयदेवका छोरा नरेन्द्रदेव तिब्बत र चीनको सहयोगवाट नेपालको आफ्नो पैत्रिक राजगद्दि प्राप्त गर्न सफल भए ।

 

उनको समयदेखि नेपाल–तिब्बत र चीनबीच राजनीतिक सम्वन्ध सुदृढ हुन गयो । रेसम मार्गबाट नेपालको व्यापार व्यवसाय समृद्ध भयो ।

 

नेपालले सर्वप्रथम भारतका तात्कालिक शासक वर्गहरुलाई आफ्नो स्वतन्त्र–सार्वभौम सत्ताको महत्व दर्शाउँदै विकल्पको रुपमा उत्तर तर्फका राज्यहरुसंगको राजनीतिक र व्यापारिक सम्वन्धलाई प्रस्तुत गरेको थियो ।
इतिहासमा नेपाल–चीन र तिब्बतको भारतीय शासकबिरुद्ध संयुक्त सैनिक कारवाही तर्फ एक दृष्टि दिऊँ ।
इस्वी ६४२–४३ देखि ६९० सम्म नेपालमा लिच्छवि राजा नरेन्द्रदेवले शासन गरेका थिए । उनी तिब्बत र चीनको सहयोगवाट नेपालको आफ्नो पैतृक सिंहासनमा अधिकार जमाइ राजा हुन सफल भएका थिए । स्रंग चङ गम्पोले नेपाल र चीनकी राजकुमारी विवाह गरेका थिए ।

 

यी दुबै राजकुमारीहरु आएको चीन–तिब्बत र नेपालको बाटो भारत सम्म गुम्बा र चैत्यहरुले सिँगारिएको मुल सडक बनाइयो ।

 

इस्वी ६४३–५७ को बीच चिनियाँ राजदुतहरु नेपालको बाटो चीन र भारत आवत–जावत गर्न थाले ।
यसै समयतिर वर्तममान भारतमा पर्ने मगध देशका शासक हर्षबर्धनको चीनसँग निकै राम्रो सम्बन्ध कायम भएको थियो ।

 

चीनका राजा ताइ सोङले वाङ्–ह्वेन–त्से को नेतृत्वमा एक प्रतिनिधि मन्डल उपहार सहित हर्षबर्धनको दरवारमा पठाए ।

 

तर यो टोली मगध पुग्नु अघि नै हर्षबर्धनको मृत्यु भैसकेको थियो ।
हर्षबर्धनका सामन्त अरुणास्वले राजनीतिक गडबडीको लाभ उठाई मगधका साथै तिरहुत र त्यसका समिपवर्ती क्षेत्रमा अधिकार जमाए ।

 

अरुणास्वले चीनका सम्राटले पठाएको उपहार ग्रहण नगरि अन्य मुलुकवाट भारतमा हस्तक्षेप गर्न आएको भनेर पाहुनाहरुलाई लुटने तथा सिपाहीहरुलाई मार्ने काम गरे ।
अरुणास्वले चिनिया यात्रीहरुको घोर अपमान गरे ।

 

वाङ्–ह्वेन–त्से र उपनेता स्याङ्–सु–जेन कुनै प्रकारले राती ज्यान जोगाइ भाग्न सफल भए । उनीहरु नेपालको शरणमा आइपुगे ।

 

आफ्नो राजदुतको अपमानको बदला लिन चीनका सम्राटको अनुरोधमा नेपालका नरेन्द्रदेवले ७००० घोडचढि सैनिक र तिब्बतका स्रङ्–चन–ग्यम्पोका १२०० घोडचढि सैनिकलाई अरुणास्व उपर आक्रमण गर्न अनुरोध गरे ।

 

त्यो फौजले मगधमा आक्रमण गरेर राजधानी कब्जा गर्यो । बदमास शासक अरुणास्वलाई बन्दी बनायो । सो बन्दीलाइ बाँधेर पाता फर्कादै नेपाल–तिब्बतको बाटो हुँदै लिएर वाङ्–ह्वेन–त्सेले इस्वी ६४८ मा चीनका सम्राट समक्ष उपस्थित गराए ।

 

यस प्रकारले नेपाल, चीन र तिब्बतको संयुक्त सैनिक कार्यवाही त्यसबेला सफल भएको थियो ।

(लेखक डा. रिमाल, त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका सहप्राध्यापक हुन् ।)