कियाना –राजेन्द्र ज्ञवाली

‘यही हो मेरो घर, तर स्यानो छ है ।’ उसले एउटा एक तले घर सामु सडकमै गाडी रोक्दै भनी ।
‘घर सानो अथवा ठूलो आकारले होइन वरु त्यहाँ वस्नेहरूवीचको आपसी सम्बन्धले हुने गर्छ ।’ सानै देखी सुन्दै आएको कुरा मैले भन्दै गर्दा उ गाडीको ढोका खोलेर वाहिर निस्की सकेकी थिइ ।
अगाडि रहेको स्यानो लन हुदै हामी भित्र पस्यौँ । भित्र उसको वुवा भान्सामा वेलुकाको मेसो गर्दै थिए । मेरो सामान्य परिचयपछि उसले मलाई हातमा समाएर आफ्नो कोठामा लगी ।
एउटा स्यानो कोठा थियो त्यो । तर त्यसमा भएका थुप्रै सामानलाई मिलाएर चिटिक्क पार्ने प्रयास गरिएको थियो ।
उ म काम गर्ने स्टोरको ठिक अगाडि झ्याल ढोका बनाउने कम्पनीको सो रुममा काम गर्थी । उसँग परिचय भएको पनि लगभग १५ दिन मात्र भएको थियो ।
पहिलो दुई दिन त वोल चाल नै भएको थिएन । तेस्रो दिन म आफै गएर कुरा गरे ।
मैले नाम सोधेपछि लगभग १८ वर्षकी जस्तो देखिने उसले हास्दै भनेकी थिइ–कियाना ।
लामो सुनौलो कपाल उसको गोरो हसिलो अनुहारमा निकै सुहाएको थियो । अझ त्यसमाथि कम्पनीको पोसाकका रुपमा उसले लगाउने रातो टिसर्ट त उसकै लागि तयार पारिएको जस्तै देखिन्थ्यो ।
‘तिम्रो सोख के हो ?’ मेरो प्रश्नको जवाफमा उसले एक क्षण पनि नसोची भनेकी थिइ–नयाँ नयाँ मानिससँग परिचय गर्नु र कुरा गर्नु ।
‘किन हाँसेको नी ?’ उसको जवाफ सुनेर म हासेको देखेपछि उसले सोधेकी थिइ ।
‘तिम्रो जवाफका कारण नी ।’ मैले भने–तिमिलाई देखेको चौथो दिनपछि हामी वोल्दै छौँ र त्यसको सुरुवात पनि मैले गरेको हूँ । तर तिम्रो सोख त फेरी नयाँ नयाँ मान्छेसँग परिचय वढाउनु र कुरा गर्नु रहेछ होइन ।
‘तिमीसँग सोझै कुरा गर्न आउन अली अप्ठेरो माने नी ।’ उसले स्पष्ट नभने पनि म विदेशी भएका कारण अप्ठेरो मानेको संकेत गरेकी थिइ । ‘फेरी तिमीले के सोच्लाउ भनेर संकोच लागेको थियो ।’
त्यसपछि प्रत्येक दिन जसो हामी विच कुरा हुन थालेको थियो । त्यसविचमा उसले आफ्नो र आफ्ना परिवारका ’boutमा खुलेर वताएकी थिइ ।  तर सबैभन्दा वढी उ आफ्नो व्वायफ्रेन्डका ’boutमा कुरा गर्न रुचाउथी ।
एक दिन एक जना अग्लो जिउडाल मिलेको सुन्दर युवक लिएर म सामु आइ र भनी –हेर मेरो व्वाइफ्रेन्ड । अनी लगत्तै फेरी भनी,‘तिमीलाई थाहा छ मैले उसलाई कति धेरै उपहार दिइ सके । तर आजसम्म मैले चाही केही पाएकी छैन । कस्तो कञ्जुसलाई रोज्न पुगेछु मैले ।
‘तिम्रो वुवाले के काम गर्ने हो नी ?’ मेरो प्रश्नको जवाफमा उसले निकै गर्वकासाथ भनेकी थिइ–ट्रक ड्राइवर ।
त्यहाँ ठूला ठूला ट्रक चालक अनुमती पाउनका लागि विशेष परिक्षा हुने कुरा मैले पछि थाहा पाएको थिए । यस्ता ट्रक चालकलाई प्राविधिक काम मानिने रहेछ । अनी तलब पनि निकै आकर्षक ।
परिचय भएको केही समयमै उ मसँग निकै खुलेकी थिइ । फुर्सद भयो की कुरा गर्न आउने ।
केटाकेटी जस्तो चञ्चलताले भरिएकी उ कहिलेकाही अनायास जीवनको उतार चढावलाई नजिकैबाट भोगेको व्यक्ति जस्तै परिपक्वता पनि देखाउथी ।
अझ कहिलेकाही त उसको परिपक्व कुराकानीका सामु म आफूलाई सानो सम्झिन्थे ।
अनी एक दिन एक्कासी उसले सोधी– पर्सी के गर्दै छौ ?
त्यस दिनको पर्सि अर्थात थ्याङ्स गिभिङ डे । त्यस दिन अमेरिकामा सार्व जनिक विदा हुने गर्छ । अनी सबै साथी भाइ नाता कुटुम्ब आपसमा भेटघाट गर्दै टर्कीको मासु खाने गर्छन् भन्ने मैले सुनेको थिए ।
मैले ‘केही गर्दिन । आफ्नो अपार्टमेन्टमा वसेर दिन कटाउछु’ भनेपछि एकै छिन घोरिन पुगेकी उसले
भनी–त्यसो भए तिमिलाई मेरो घरमा आउने निम्तो है । म लिन आउला ।
भोली पल्ट म काममा जाँदा उ आफ्नो सो रुमका रुपमा रहेको कियासमा आइ सकेकी थिइ । मलाई हेल्लो भनेपछि उ फेरी केही वेर सोँचे जस्तो गरेको देखेपछि मैले सोधीहाले–के सोचेर वसेकी ?
‘भोली तिम्रो लागि के बनाउ भनेर विचार गरि रहेको ।’ हिजै कुराकानीका क्रममा मैले आफू शाकाहारी भनेपछि उसलाई अली अप्ठेरो भएको थियो ।
‘तर के वनाउछु भनेर मैले तिमिलाई भन्दिन है । त्यो चाही तिम्रा लागि सरप्राइज हुने छ !
त्यस दिन हलुका हिउ पर्दै थियो । उ तीन वजे तिर लिन आउने कुरा भएको थियो । म तिन वज्न लगभग ५ मिनट अघि नै घर वाहिर पर्खी रहेको थिए । लगभग १० मिनटपछि उ आफ्नो भाइलाई लिएर आएकी थिइ ।
कोठाको एउटा कुनाबाट उसले सुगालाई झिकेर ल्याइ । उसको काँधमा वसेको सुगा म निर आउन भने डरायो । केही वेर विस्तारै मुन्टो घुमाएपछि सुगा उसको काँधबाट उफ्रेर त्यही कुना तिर कतै विलायो ।
त्यसपछि उसले अर्को कोठाबाट ठूलो छेपारो लिएर आइ । त्यो उसले आफ्नो व्यायफ्रेण्डको घरबाट ल्याएको वताइ सकेकी थिइ । मलाई छेपारो देखेर कस्तो कस्तो लाग्यो । तर उसका सामु केही भनिन । एकै छिन छेपारोसँग खेलेपछि उसको खोर जस्तो ठाउमा राखेर आइ ।
हामीहरू नजिक पनि पर्न नसक्ने पशु, पञ्छी समेतलाई यहाँ वडो मायाँकासाथ पाल्ने गरेको मैले थाहा पाएको थिए । कुकुर, विराला त के कुरा सर्प, गँगटा, उल्लु पनि पाल्ने गर्दा रहेछन् । अझ कोही कोह ित सर्पलाई आफ्नो कमिजको वाहुला भित्र लुकाएर सार्वजनिक स्थानमा जाने गरेको एक जना भाइले बताएका थिए ।
‘हेर त मैले तिम्रो डिनरका लागि के तयार पार्दै छु ।’ हामी भान्सामा आइ पुगेपछि उसले भनी ।
तर त्यो त भोगटे जस्तो देखिने एउटा फल थियो जुन हामी पूजाआजामा प्रयोग गथ्र्यौँ । अझ त्यसलाई खान हुदैन भन्ने पनि सुनेको थिए मैले ।
तर यहाँ उसले यति चाखका साथ वोलाएपछि खान्न भन्न पनि मिलेन । म दुविधामा परेको पत्तै नपाइ उसले त्यो भोगटे जस्तो देखिने फललाई विचबाट काटेर माइक्रोवेभमा राखी ।
लगभग पाँच मिनटपछि मेरो डिनर तयार भएको थियो । माइक्रोवेभबाट झिकेपछि त्यो भोगटे जस्तो फलको गुदी नरम भएको थियो । त्यसैमा नुन, मरिचको धुलो र थोरै खुर्सानीको धुलो छर्केर एउटा चम्चा सहित मलाई दिइ ।
अव मैले चम्चाले त्यो गुदी कोतरेर खानु थियो ।
विहानै वेलुका दाल, भात, तरकारी अचार टन्न चाहिने ज्यानलाई त्यो भोगटे जस्तो देखिने फलको गुदीले के पुगोस ! त्यसमाथि मलाई खान पनि अप्ठेरो लागेको थियो । मैले विस्तारै खाए जस्तो गर्न थालेको थिए । उनीहरू चाही टर्कीको मासुमा व्यस्त थिए ।
‘अब म जाउ है ।’ मेरो भनाइ सुनेपछि मुन्टो हल्लाउदै उ उठी ।
‘म यो खानेकुरा घरै लगेर खान्छु, हुदैन ?’ उसले हुन्छ भन्दै एउटा प्लास्टिकको भाँडो दिइ ।
घर पुगेपछि उसलाई धन्यवाद दिएर म आफ्नो अपार्टमेन्ट भित्र आए र हतार हतार खाना बनाउन तिर लागे ।