दशैेंमा गाउँको नोस्टाल्जिया
-चन्द्रशेखर कार्की
१। यसपालीको दशैँ मनाउन मेरो मावली गाउँ जिरी जान खाँडीचौरबाट उकालोमा मोटर कुदाउँदै समझँदै थिएँ,। झण्डै तीन दशक अगाडी बैशाख महिनाको एकाविहानै मिर्मीरे उज्यालो सँगै मावलीका हजुरबुबाको हात समातेर लामोसाँगुको उकालो उक्लँदै गर्दा मावली पुग्ने रोमान्चक रमाइलोले हिड्नलाई खासै गाह्रो लागेको थिएन । मावली घर जिरीमा जन्मेर २ वर्ष लागेपछी आमा सँगै रामेछाप, सिन्धुली हुदै १ महिना जतिमा भद्रपुरको घर पुगेको रहेछु । त्यसपछी ८ बर्ष जतिको हुँदा मेरो कान्छा मामासँग भद्रपुरबाट काठमाण्डौ सम्म र हजुरबुबासँग लामोसाँगु सम्म बसमा आएर ४ दिनको हिँडाइ पछि जिरी पुगेको थिएँ । त्यसपछीका मेरा बाल्यकाल स्कुल सबै जिरीमा नै बितेका थिए । र मेरो आमा पनि त्यहीँको एउटा प्राइमरी स्कुलमा शिक्षिका बन्नु भयो । त्यसैले मलाई भन्न अप्ठ्यारो लाग्दैन की म मेरो आफनो घर गाउँ भन्दा मावली गाउँसँग बढी नजिक छु । त्यसबेलाको हजुरबुबाको हातको स्पर्श अझै पनि मेरा मनमा ताजै छ ।
लामोसाँगु जिरी सडक
तीन दशकभन्दा अलि बढीको फरकमा त्यसबेला बिहानै उकालो लागेको नजिकैबाट आज मेरी श्रीमती दुइ छोरा र माइली माइजु सँगै दशै मनाउन जिरी जाँदै थिए । जिरी बाट एसएलसी दिएपछी बीचबीचमा नगएको त होइन तर यसपाली चाहीँ गाउँको मावली घरमा अलि धेरै दिन बस्ने गरी जादै थिएँ । बुबा अगाडीको मोटरलाई जित्नु न मेरो सानो छोरा करायो मुडे नजिकैको उकालोमा, म पनि अगाडीको मोटरलाई उछिन्न तिर लागेँ ।
२। र्भरखरै जाँच सकेर ८ कक्षामा उक्लेको थिएँ । स्कुल जाँदै गर्दा घर कुन हो बाबु ? बाटोमा एक जनाले सोधे तल वरीपरी धान र परालका कुन्युहरुले घेरिएको घरलाई देखाइ दिएँ । त्यसको केही दिन पछि एउटा अलि बढी छट्टु साथीले खाजा खुवाउन लिएर गयो, पसल त त्यही मान्छेको रहेछ । साहुजीले पनि हामी जस्ता फुच्चे केटाहरुलाई बढो आत्मियताका साथ खाजा खुवाएको देख्दा खुब खुशी भइयो । साहुजीको आत्मीयताले गर्दा हाम्रो त्याहाँ जाने क्रम अली बाक्लियो । खाजा खान पैसा त सँधै हुँदैन । छट्टु साथीले जुक्ति निकाल्यो बाँकी खाने । पहिलो दिन पैसा बिना खाजा खान डर लाग्यो तर साथीले हिम्मत बढाउँदै भन्यो पख न म सब मिलाइ हाल्छु नी ।
साहुजी पैसा पछी दिन्छौँ है खाजा खाइसके पछी साथीले भन्यो । साहुजी त रिसाउनु सट्टा म तिर अउँला तेर्स्याउँदै खुशी हुँदै कराए ए भइहाल्छ नी यी बाबुलाई म रामै्रसँग चिन्छु । आफु पनि ठुलै मान्छे रहेछु भनेर फुरुक्क । आफुले मात्र होइन, म ज्वरो आएर सुतेको बेला साथीहरु गएर लप्काउँदै मेरो नाममा बाँकी लेखी दिँदा रहेछन् । जुन कुरा एक महिना पनि नभई एक सय रुपैँया कटेपछी साहुजीले तिर्नलाई भनेपछी थाहा भयो । अलि दिन त साहुजीको पसल तिरको बाटो हिँडीएन तर एक दिन साहूजीले बाटो ढुकेर समाती हाले अब परेन फसाद् पैसा नतिरे स्कुलमा गएर हेडसरलाई भनिदिने धम्की पाइयो । तेतीबेला सरहरु सँग आँखा जुधाएर हेर्नु भनेको हाम्रा लागी सानो सानो बाघ नै मारे बाराबर हुन्थ्यो । आजभोली त स्कुलमा विध्यार्थीलाई सरले एक झापड लाइदिनु मात्रै पर्छ अभिभावकहरुको जुलुसै पुगीहाल्छ ।
फेरी साहुजीले मलाई विश्वास गरेको कारण रहेछ त्यही कँुडारको धान परालको कुन्युले घेरीएको ठुलो घरलाई देखेर । स्कुलको डरले भए पनि तिर्न त पर्यो तर कसरी ? त्यही छट्टु साथीलाई मैले भँने दुइ जनाले मिलेर तिरौँ म आमासँग मागेर ५० रुपैँया जति ल्याउँछु तँ पनि त्यति जति ले तर उसले आफ्नो विवशता तेसर््याउँदै जुक्ती निकाल्दै भन्यो तेरो हजुरबुबा त गाउँको धनी मान्छे हो जाबो सय रुपैयाँ त हो एक पटकलाई खल्ती साफ गरेर तिरौँ अनि अर्को पटक देखि बाँकी नखाउँला । के गर्ने साहुजीले दिएको म्याद सकिन लागीसक्यो साथीको जुक्ति बाहेक अरु विकल्प नै देखिएन । दाउ हेरेर पहिलो पटक हजुरबुबाको खल्तीमा हात मात्र के हालेको थिएँ म त पसिनाले निर्थुक्कै भिजेँ । कसो कसो गरेर हातमा ३० रुपैयाँ निस्केछ ।
स्कुल गएर साथीलाई भनेँ त्यसपछी टीफीनमा गएर त्यो पैसा बुझाएर ४ रुपैयाँको खाजा खाएर र्फक्यौँ । अलिदिनलाई त साहुजीको मुखमा बुजो लगाइयो । यस्तै गर्दै ४ पटक जतिमा साहुजीको श्रृणबाट त मुक्त भइयो तर उता घरमा भने यो कुरा थाहा पाइहाले । भान्जा भएका नाताले पिटाइ त खानु परेन तर ग्लानीले गर्दा घोसे मुन्टो लगाउँदै बसेँ । बुबा जुका लाग्यो भनेर जेठो छोरो करायो केके न भएको जस्तो, यसको यो उमेरमा त म यही जुकाको घारीमा हुर्केको थिएँ, आहा कुँडारको घर त पुग्नै लागी सक्यो तर यसपाली धान परालका कुन्युहरु थिएनन् किनकी अहिले धान काट्ने बेला भइसकेको थिएन ।
कुँडार घर र माथिल्लो सिक्री गाउँ जुन अहिले भुँइचालोले भत्काइसकेको छ ।
३। घाम पश्चिम तिर ढल्किँदै थियो बार्दलीमा बसेर तल तिरको गाउँलाई नियाल्दै पुराना साथी संगीहरु सम्झँदै थिएँ एक्कासी पानी पो दर्किन थाल्यो । बिपरीत दिशा तर्फबाट आएको प्रकाशमा पर्दै गरेको पानी टल्किन थालेपछी हत्त न पत्त क्यामेरा निकालेर फोटोहरु खिच्न थालेँ क्लिक…. क्लिक…… क्लिक….. क्लिक…. ।
दश मिनेट जतिमा पानी पर्न रोकियो । त्यही पारीको डाँडामा गाई बाख्रा चराउन गएका बेला एक्कासी पानी परेर कती रुझिया रुझियो, स्कुलबाट फर्किदाँ पानी पर्यो की लुगा फुकालेर झोलामा हाल्यो, प्लास्टिकले बेर्यो अनि कट्टु मात्र लगाएर साथीहरुसँग दौडिँदाको मज्जा छुट्टै नै हुन्थ्यो । घामपानीमा लाग्ने इन्द्रेणीलाई भेट्न दगुरेको, भुँइ कुहिरोमो लुकामारी खेलेको सम्झदाँ अझै पनि रोमान्चित भइन्छ । फेदी खोलामा तीनटा छहराहरु राम्रा थिए, त्यसमध्येको लौतीको छहरा चाँही अरु भन्दा ठूलो र राम्रो थियो । एक दिन इन्द्रेणीलाई भेटाउन कुद्दै कुद्दै जाँदा बाख्रा जति अरुको बारीमा, हामी चाँही लौतीको छहरा नजिक । अनि साँझ घरमा गाली सँगै सुझाव पाइयो इन्द्रेणी लागेका बेला लौतीको छहरामा बन झाँक्री नाच्ने भएकाले त्यता नजानु नभए बन झाँक्रीले लैजान्छ । बुबा फोन भन्दै सानो छोरा करायो, गाउँमा अरु बिकास नपुगे पनि फोनको नेटर्वक चाँही पुगेको रहेछ । साथी राजु नेपालको फोनमा आदेश आयो, हामी त टीकाको भोलिपल्ट ताप्लेजुङगको पाथीभारा जाँदैछौँ तँ जाने हो भने मिलाएर आइज ।
अचानक दर्केको झरी र लौतीको छहरा ।
४ । माने डाँडाको घर नजिक मोटर पुछ्दै थिएँ तल जाँचमा नम्बर पाइने आशामा रोपिएका सल्लाका रुखहरुको बीचबाट म पढेको स्कुल देखिँदै थियो । एक दिन एउटा साथीले भन्यो दोर्जे भन्ने साथीको कोठामा दुइजना साथीको फाइट पर्यो रे र त्यसमध्येको एउटाले मलाई नि गोद्छु भन्दै थियो र,े त्यो पनि म सँग घनिष्ठ साथीले । के ही गरेको छैन किन गोद्ने ? कारण खोज्दै जाँदा एउटा रमाइलो कुरा थाहा भयो । जाडो महिनाको एक दिन हामी चार पाँच जना साथीहरु घाममा गफिदैँ थियौँ । एउटा साथीको कमीजको खल्तीमा कागज देखेँ र मैले स्वात्त निकालेर भागेँ । साथी पछ्याउँदै आएर भन्न थाल्यो बिन्ति छ यो कुरा कसैलाइ नभन ।
साथीको अनुरोधलाई स्वीकार्दै खोलेर हेरेको त सँगै पढ्ने एउटी केटीलाई लेखेको प्रेम पत्र पो रहेछ । कसैलाई नभन्ने वचन दोहोर्याउँदै उसलाई नै फर्काइ दिएँ । त्यसको पर्सिपल्ट जिस्कँदा जिस्कँदै त्यो प्रेम पत्र जसलाइ लेखेको हो उसको भाईको हातमा पुगेछ । त्यसबेला सम्म प्रेम पत्रको तल अरु दुई जनाको नाम थपिइसकेको रहेछ तीमध्ये एउटा म परेछु । घनिष्ठ साथी रिसाउनु पनि जायज नै थियो । थाहा पाउने बित्तिकै गएर साथीलाई त्यो प्रेम पत्र देखाउन अनुरोध गरेँ । उसले भन्यो तेरो नाम तैँले थाहा पाइस भनेर उसैले थपी दिएको रहेछ । तर मलाई थाहा भएर पनि नभनेकोमा चाँही उसले रीस रामै्रसँग पोख्यो । ए शेखर कहिले आइस ? मास्तिर ढिस्काबाट कराउँदै सँगै पढेको साथीले सम्झनाबाट बाहिर ल्याइदियो ।
जिरी स्कुल ।
सानो छँदा जिरीमा देखिएका धेरै दृश्यहरुले मलाई फोटो खिच्न उक्साई रहेका हुन्थे । मेरो बुबाको क्यामेरा देखेर पनि होला मलाई एउटा क्यामेरा घाँटीमा झुण्ड्यार फोटो खिच्दै हिँड्ने रहर सानै देखि थियो । म सँग क्यामेरा नभएका बेला उक्साउने दृश्यहरुलाई यसपाली अलिकती धेरै बसेर भए पनि खिच्छु भन्ने सोचेर छिट्टै नै जिरी गएको थिएँ । पानी धेरै परेकोले साचे जस्तो त भएन तैपनि बाल्यकालका केही सम्झनाहरु सँग डुबुल्की चाँही मारियो ।
सूर्योदयका बेला मालीको डाँडाबाट देखिएको दृश्य ।
चुथ्रोको मुना ।
छ वर्ष अगाडि लेखेको यो तस्वीर कथा नागरिक दैनिकमा प्रकाशित भएको थियो । दशैंको बेला भएकोले सम्झनाकालागि ।