आयाराम, गयाराम, बाबुराम ! –सुभाषचन्द्र देवकोटा
बाबुराम भट्टराई कुण्ठाको राजनीति गर्छन् । बाहिर उदार देखिए पनि यथार्थमा उनी एकात्मक र आत्म केन्द्रित छन् । बहुतै पूर्बाग्रही छन् ।
‘किन रोईस् मंगले, आफ्नै ढंगले !’ यो प्रचलित नेपाली उखान अहिले आएर ठ्याक्कै बाबुराम भट्टराईको राजनीतिक जीवनसंग मिल्न पुगेको छ । बिचार, सिद्धान्त र निष्ठासंग इमान्दार बन्न नसक्दा, कुनै बेला नेपाली राजनीतिका शीखर व्यक्तित्वको परिचय बनाएका बाबुराम भट्टराई यतिबेला माथिको उखानमा उल्लेख गरिएको मंगले जस्तै राजनीतिक रोइलो गर्दै नेताहरूको घर घर चाहारिरहेका छन् ।
भूईबाट राजनीति गरेर माथि उठेका नेता होईनन्, बाबुराम ! उनको राजनैतिक व्यक्तित्वको अभ्युदय नै अरूहरूले दुख गरेर बनाएको संगठनको काँध चडेर भएको हो ।
चालिसको दशकयता मोहन बिक्रमलाई गुरू थापेर बाबुराम भट्टराई कम्युनिष्ट भएका थिए । यसरी एउटा गुमनाम आरकिटेक्चर इन्जिनियरलाई राजनैतिक परिचय दिने काम मोहन बिक्रमले नै गरेका थिए । त्यस बेला ज्यान हत्केलामा राख्दै प्रहरी, प्रशासनसंग जुध्ने असली कार्यकर्ताहरू भन्दा दिल्लीको नेहरू बिश्वबिद्यालयको क्यान्टिनमा ब्रेकफाष्ट, लञ्च, डिनर खाने बाबुराम भट्टराई नै प्रिय थिए मोहन बिक्रमका लागि । तर गुट खडा गरेर पार्टी नै कब्जा गर्ने रणनीति लिएको थाहा पाए पछि मोहन बिक्रमले बाबुरामलाई कार्बाही गरेका थिए । बैगुनी बाबुराम भट्टराईले मोहन बिक्रमले राजनीतिमा लगाएको गुन बिचरा मोहनबिक्रम कै मान मर्दन गरेर तिरेका थिए ।
तर मोहन बिक्रमको कार्बाही पछि यता न उता भएका बाबुराम भट्टराईलाई मोहन बैद्य र प्रचण्डहरूले टपक्क टिपेर पार्टीको शीर्षस्थानमा राखेर उनको राजनीतिक अभ्युदयको ढोका खोली दिए । बाबुराम भट्टराई कुण्ठाको राजनीति गर्छन् । बाहिर उदार देखिए पनि यथार्थमा उनी एकात्मक र आत्म केन्द्रित छन् । बहुतै पूर्बाग्रही छन् ।
नेकपा, एमाले र नेकपा, माओबादी एकताकेन्द्र बीच बामपंथीहरूको एकतामा कम्युनिष्ट बिचारबाट अलग भैसकेका बाबुराम भट्टराईको सहभागिता धेरैको लागि आश्चर्यको बिषय भए पनि यो एमाले र माओवादी कार्यकर्ताहरूको बुँई चडेर आफ्नो राजनैतिक अभिष्ठ पुरा गर्न सोची संझी बाबुराम भट्टराईले चालेको चाल थियो ।
तर एमाले र माओवादीको बूँई चढेर आफ्नो अभिष्ट पूरा हुने सम्भावना नदेखे पछि एकाएक बाबुराम भट्टराईले आफ्नो रंग फेरेका छन् र बाम एकतालाई धारेहात लगाउदै काँग्रेसीहरूको ढोकामा हात पसार्न पुगेका छन् । यसबाट बाबुराम भट्टराईको राजनैतिक दिवालयपन फेरि एकपटक सबैको सामु छरपष्ट भएको छ ।
संविधानसभा मार्फत संबिधान बनाउनु लोकतान्त्रिक पद्धतिमा महत्वपूर्ण बिषय मानिन्छ । पहिलो संबिधानसभामा सबै भन्दा ठूलो दलको हैसियतमा माओबादी पार्टी नै थियो । त्यस बेलाको संबिधान सभाबाट संबिधान बनेको भए सम्भवत माओबादी जनयुद्धका धेरै जसो सबालहरू सम्बोधन हुन सक्थे ।
तर बाबुरामहरू नै त्यसबेला संबिधान बनाउन सकारात्मक देखिएनन् । प्रधानमन्त्रीको संबैधानिक अधिकारको उपयोग गरेर मध्य रातमा संबिधानसभाको हत्या गरेर देशमा संम्बैधानिक संकट खडा गर्ने काम बाबुराम भट्टराईले नै गरे । अरूको त के कुरा आफ्नै पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बलिन्द्र धारा आँशु झार्दै संबिधान सभा विघटन नगर्न गरेको अनुनय बिनयलाई समेत उनले वास्ता गरेनन् ।
कुन शक्तिको आडमा बाबुराम भट्टराईले संबिधान सभाको हत्या गरेर देशमा संबैधानिक संकट खडा गर्दै देशलाई अस्तिरता तर्फ धकेल्न खोजेका रहेछन् भन्ने कुरा अब जगजाहेरै भै सकेको छ ।
तर दोस्रो संबिधानसभामा संविधान मस्यौदा समितीका अध्यक्ष बाबुराम भट्टराई नै थिए । तर संबिधान निर्माण कार्यलाई तिब्रता दिएर टुग्याउँन कहिल्यै सकारात्मक देखिएनन् । बिभिन्न बहाना झिकेर अलटाल गर्ने, ढिला सुस्ति गर्ने काम गरिरहे ।
भन्न त बाबुराम भट्टराई आफूलाई संबिधानसभाको प्राधिकार नै भन्ने गर्छन् ।
तर नेपालका प्रमुख राजनैतिक दलहरू नेपाली काँग्रस , एमाले र माओवादी एकता केन्द्रका नेताहरूले संबिधान जारी गर्ने प्रतिबद्धता तथा तिथिमिति तोक्दा समेत बाबुराम भट्टराई खुशी हुन सकेनन् ।
यता उताको कुरा गरेर नेपाली जनताको स्वाभीमान माथि कटाक्ष्य गरिरहे । तोकिएको मितिमा संबिधान जारी भए देशमा रक्तपात हुन्छ , अनिष्ठ हुन्छ भनेर देशलाई नै आँतकित पार्ने काममा लागिरहे । त्यतिले मात्र नपुगेर भारतीय बिदेश सचिवलाई साथमा लिएर नेताहरूको घर घरमा संबिधानको घोषणा रोक्न दबाद दिन समेत पुगे ।
तर अखिर नेताहरूको सुझबुझको कारण संबिधान जारी भैछाड्यो । देश नयाँ युगमा प्रबेश गर्यो । तर संविधानको घोषणालाई भारत सरकारले स्वागत गरेन । बरू उल्टै प्रतिसोधमा भारतले दक्षिण सीमानामा अघोसित नाकाबन्दी मात्र लगाएन, केही मदेशी दलहरूलाई उचालेर तराई मदेशलाई अस्तव्यस्थ बनाउने काम गर्यो ।
नेपाली जनताले भारतीय नाकाबन्दीको राम्रैसंग प्रतिकार गरे र देशको स्वाभिमान, स्वाधीनताको पक्षमा जनलहरै उर्लियो । अन्तत तत्कालीन प्रधानमन्त्री केपी वलीको अडानले भारतीय सरकार गल्यो र ज्यानमारा नाकाबन्दी फिर्ता लिन बाँध्य भयो । नेपाली जनताको स्वाभीमानको जीत भयो ।
तर नेपाली जनताले देशको स्वाभिमान, स्वाधीनताको लागि गरेको योगदानमा एकबद्धता प्रकट त के सहानुभुति दिने सम्म कष्ट पनि बाबुराम भट्टराईले गरेनन् । बरू उल्टै भारतीय नाकाबन्दीले सृजना गरेको मानबीय संकटमा सारा देश एक भएर जुझिरहेको बेला टाउकोमा फेटा गुथेर भारतीय सीमानमा पुगेर हिन्दीमा भाषण गरेर भारतीय शासकहरूसंग बोलीमा लोली मिलाउने काम गरेका थिए । यसले पनि बाबुराम भट्टराईको जनता र राष्ट्रियता प्रतिको निष्ठा र सम्बेदनशीलतालाई स्पष्ट पार्दछ ।
भारतबादी भनेर चिनिएका ऋृषिकेश शाहमार्फत अबसरको खोजीमा बाबुराम भट्टराई कम्युनिष्ट आन्दोलनमा छिरेका थिए । तसर्थ बाबुराम भट्टराई निष्ठावान कम्युनिष्ट कहिल्यै थिएनन् । बाबुराम भट्टराई भित्र कम्युनिष्ट निष्ठा, आदर्श र बिचार खोज्नु नै गलत थियो । यो कुरा नेकपा माअवादी एकता केन्द्र छोडेर नयाँ शक्ति पार्टी बनाँउदा गरेको बाबुराम भट्टराई कै घोषणाले समेत स्पष्ट पारेको छ । कम्युनिष्ट कार्ड त उनको राजनैतिक व्यक्तित्व उजिल्याउने माध्यम मात्र रहेछ भन्ने कुरा अब दुनियालाई छर्लंग भैसकेको छ ।
कुण्ठा र अहंम्को चक्रव्युहमा परेको मानिसको लागि सिद्धान्त र बिचारको कुनै अर्थ हुदैन । आज बाबुराम भट्टराई त्यस्तै भएका छन् । त्यै कुण्ठा र अंहम्ले गर्दा नयाँ शक्तिका एक्ला सारथी बन्न पुगेका छन् । यथार्थमा आज उनीसंग न समाउने हाँगो छ, नत टेक्ने लौरो नै !
अबसरको खोजीमा कम्युनिष्ट र काँग्रेस कित्ता भएको घोडे दौंडको कारण अखिर बाबुराम भट्टराई पनि अया राम, गया राममा दर्ज हुन पुगेका छन् । इतिहासको व्याँज खाएर मात्र राजनीतिले अग्रगति लिन सक्दैन भन्ने अचुक उदाहरण हुन्, बाबुराम भट्टराई ।