बामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणको शिलान्यास –कृष्णमुरारी भण्डारी
माओवादी केन्द्रसंग तालमेल नगरेको भए, एमालेको बहुमत आउने थियो ! पंच (राप्रपा) नबोकेका भए कांग्रेसको स्थिति मजबुत हुन्थ्यो !
सिद्धान्त, नीति–कार्यक्रम र इतिहासलाई आधार नवनाइ ध्रुवीकरण भैरहेकोले कतिले यसलाई बहुलाहरुको एकता भन्दै दोषारोपण पनि गरिरहेछन्, सद्धे ब्यक्ति भए पो इतिहास संझन्छ, स्वार्थीले इतिहास विर्सने नै भए !
नेपालमा भैरहेको तीब्र राजनीतिक ध्रुवीकरण र अप्रत्यक्ष रुपमा निकै अघिदेखि भैरहेको यो चरम ‘पोलराइजेशन’लाई लक्षित गर्दै सामाजिक संजाल (फेसबुक र ट्वीटर) मा कात्तिक ५ गते राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले आजको फरक मत भनेर लेखे–माओवादी केन्द्रसंग तालमेल नगरेको भए, एमालेको बहुमत आउने थियो ! पंच (राप्रपा) नबोकेका भए कांग्रेसको स्थिति मजबुत हुन्थ्यो !
उनको यो टिप्पणीले उनमा अहिलेको ध्रुवीकरणले पारेको, पार्दै गरेको र पार्नेवाला प्रभावको चिन्ता स्पष्टसंग अभिब्यक्त भएको छ । उद्धरण गरिएका दुई हरफले नै बताइरहेका छन्, नेकपा एमालेको नेतृत्वमा बामपन्थी ध्रुवीकरण नभएको भए, आगामी चुनावमा एमालेको बहुमत आउने थियो ! त्यसैगरी वामपन्थी ध्रुवीकरणको प्रतिक्रिया स्वरुप नेपाली कांग्रेसको नेतृत्वमा दक्षिणपन्थी ध्रुवीकरण नभएको भए आगामी निर्वाचनमा कांग्रेसको स्थिति मजबूत हुन्थ्यो !
तर गौतमको विश्लेषण विपरित दुई राजनीतिक सोचको ध्रुवीकरण किन भयो ? के देशका यी दुई ठूला दलहरुलाई यो ध्रुवीकरणले संघारमा रहेको निर्वाचनले पत्ता साफ गर्ने हेक्का छैन ? हेक्का छ भने किन यस्तो आत्मघाती खेलमा सामेल भए र थाहै छैन भने अब यिनीहरु भविष्यमा कस्तो भँड्खालोमा परेर नारायणहरि हुने वाला छन् ?
के भन्ने राजनीतिक ध्रुवीकरणलाई ?
नेपालको राजनीतिमा अहिलेको वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणलाई सैद्धान्तिक, दार्शनिक र राजनीतिक आधारमा नामाकरण, व्याख्या र विश्लेषण गर्ने गरिएको छैन । जसले गर्दा यो सधैं अस्पष्ट, गलत र भ्रम सिर्जना गर्ने शब्दावली भएर रहिरहेको छ ।
त्यसैले यो आलेखमा देशका दुई ठूला पार्टीहरुको नेतृत्वमा भैरहेको ध्रुवीकरणलाई दार्शनिक, बौद्धिक र राजनीतिशास्त्रको अन्तर्राष्ट्रिय बर्गीकरण र ध्रुवीकरणको आधारमा नामाकरण गर्ने प्रयत्न गरिएको छ ।
जसरी अहिले वामपन्थी र प्रजातान्त्रिक ध्रुवीकरण भनिदैछ, यो किमार्थ त्यसो होइन । भएको भए गौतमले त्यस्तो टिप्पणी गरिरहनु पर्ने थिएन । प्रगतिशील र प्रजातान्त्रिक समानार्थी शब्द होइनन् । निरंकुश सम्राटहरु उग्रदक्षिणपन्थी नै हुन् । अन्यथा तिनलाई अहिलेको शब्द चयनले उग्रप्रजातन्त्रवादी भन्नु पर्ने हुन्छ । निरंकुश सम्राट बामपन्थी होइन ।
वामपन्थीहरुको वारेमा त भनिरहनै परेन !
त्यसैले यसको टुंगो लगाउन अथवा यो विषयको वहसलाई अगाडि बढाउन वामपन्थी र दक्षिणपन्थी शब्दको प्रयोग राजनीतिशास्त्रको इतिहासमा कहाँ, कहिले र कोबाट भयो यसको खोजीबाट त्यसलाई पर्घेल्न सकिन्छ । र, अहिलेको अलमल वा भ्रमलाई त्यसले स्पष्ट पार्न मद्धत गर्न सक्छ ।
वामपन्थी–दक्षिणपन्थी
विकीपिडिया अनुसार वामपन्थी (लेफ्टिष्ट) र दक्षिणपन्थी (राइटिष्ट) त्यत्तीकै बनेका शब्द होइनन् । कसैलाई भन्नका लागि लेफ्टिष्ट र राइटिष्ट भनिएको पनि होइन । बिचार, सिद्धान्त र दलहरु नै लेफ्टिष्ट र राइटिष्ट, एकअर्काका विपरित हुन् । तर एउटा ब्यक्ति वामपन्थी वा दक्षिणपन्थी पक्षमा लाग्न सक्छ । कहिले काँहि बिचारले गर्दा अस्पष्ट पनि हुन सक्छ ।
धेरै नेपाली विद्वानहरु पनि भन्छन्, यी दुबै शब्द बेलायतको संसदबाट शुरु भएका हुन् । तर यो गलत बुझाइ हो । खासमा यी दुबै शब्द फ्रान्सबाट प्रयोगमा आएको हो । वामपन्थीलाई आन्दोलनको पक्षपाती र दक्षिणपन्थीलाई सत्ताको पक्षपाती भनिन्थ्यो । यी दुईको बीचलाई मध्यमार्ग अर्थात सेन्ट्रिज्म र ब्यक्ति भए मध्यमार्गी अर्थात सेन्ट्रिष्ट मानिन्थ्यो ।
सन् १७८९को फ्रान्सेली क्रान्तिको दुईवर्षपछि १७९१मा बनेको विधान परिषद (लेजिस्लेटिभ एसेम्ब्ली) मा नयाँ सदस्यहरु आए पनि परंपरागत विभाजनले निरन्तरता पायो । मौलिक सोच भएकाहरु सदनमा वायाँ (लेफ्ट) तर्फ नै बसे भने मध्यमार्गीहरु सेन्टरमा जम्मा भए । जबकि शान्तिपूर्ण रुपमा संविधानको पक्षपातीहरु दायाँ (राइट) तर्फ बसे ।
सन् १७९३ र १७९४ सम्ममा अति वामपन्थीहरुलाई निमिट्यान्न पारियो, मारियो र दायाँ र वायाँ वस्ने चलनलाई पनि समाप्त पारियो । तर सन् १८१४–१५मा राजनीतिक समूहलाई फेरि ब्यूँताइयो, संसदमा बस्नका लागि मात्र । सन् १८४८ पछि प्रजातान्त्रिक समाजवादीहरु प्रमुख प्रतिपक्षी बनेपछि प्रतिक्रियावादीहरु रातो र सेतो झण्डा बोकेर आफ्नो पक्ष पोषण गर्न थाले ।
सन् १८७१को तेस्रो गणतन्त्र स्थापनापछि, राजनीतिक दलहरुले ‘रिपब्लिकन लेफ्ट, सेन्टर राइट, सेन्टर लेफ्ट (१८७१) र एक्सिट्रिम लेफ्ट (१८७६) तथा रेडिकल लेफ्ट (१८८१)’ भन्न थालियो । रेडिकल लेफ्टलाई सेन्टर लेफ्टको नजीक हुन् भन्ने मानिन्थ्यो र तिनैलाई एक्सट्रिम लेफ्ट ठानिन्थ्यो ।
रिपब्लिकन–रियाक्सनरी
बीसौं शताब्दिको शुरुमा लेफ्ट र राइटलाई निश्चित राजनीतिक बिचारधाराको रुपमा मानिन थालियो । शिक्षा, स्वास्थ्य, आर्थिक, वैचारिक र राजनीतिक दर्शन र कार्यक्रम कस्को कति जनपक्षीय र जनविरोधी छ त्यसका आधारमा वर्गीकरण गरेर हेर्न थालियो ।
नागरिकको राजनीतिक विश्वासलाई लाल (रेड) र प्रतिक्रिया (रियाक्सन) ले प्रतिस्थापन ग¥यो । वायाँ बस्नेलाई गणतन्त्रवादी (रिपब्लिकन) र दायाँ बस्नेलाई कट्टर पुरातनपन्थी (कन्जर्भेटिभ) भन्न थालियो । यसरी वायाँ र दायाँलाई पहिलो पल्ट यी प्रतिपक्षीले एकअर्काको ब्यक्तित्वलाई आक्षेप लगाउने गरी संबोधन गर्न थाले ।
यसरी फ्रान्सबाट राजनीतिक प्रतिस्पर्धीहरुलाई वायाँ र दायाँ अर्थात वामपन्थी र दक्षिणपन्थी भन्ने संबोधन विश्वभर फैलियो । अहिले संसारभर ठूला हुन वा साना राजनीतिक बिचार बोकेका दलहरुलाई उनीहरुले बोकेको बिचारको आधारमा वामपन्थी र दक्षिणपन्थीको रुपमा वर्गीकरण गर्ने गरिन्छ ।
बेलायतबाट शुरु भएको भनिएको वामपन्थी र दक्षिणपन्थी अर्थात लेफ्टिष्ट र राइटिष्ट शब्दको प्रयोग सन् १९३०मा आएर स्पेनको गृहयुद्धको सन्दर्भमा मात्र भएको हो ।
राजनीतिक वैज्ञानिकहरुको वर्गीकरणमा लेफ्टिष्ट भनेपछि त्यसभित्र–कम्युनिष्ट, एनार्किष्ट, डेमोक्रेटिक सोसलिष्ट, सोसल डेमोक्रेटिक, लेफ्ट लिबरिटारियन्स, प्रोग्रेसिभ, सोसियल लिबरल्स, मुभमेन्ट्स अफ रेसियल इक्वेलिटी, ट्रेड युनियनिज्म पक्षीय समूहलाई मानिन्छ ।
त्यसैगरी राइटिष्ट अन्तर्गत त्यसभित्र–क्रिश्चियन डेमोके्रट्स, कन्जरभेटिभ्स, राइट लिवरिटेरियन्स, नियो कन्जरभेटिभ्स, इम्पेरियलिष्ट, मोनार्किष्ट, फासिष्ट, रियाक्सनरीज, ट्रेडिसनालिष्ट्स, धार्मिक कट्रपन्थी कठमुल्लाहवादीहरु रहेका छन् ।
आजको सन्दर्भमा वामपन्थी र दक्षिणपन्थीहरुलाई उनीहरुको राजनीतिक, आर्थिक र सामाजिक कार्यक्रमका सन्दर्भमा हेर्न थालिएको छ । वेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले लेफ्टिष्ट र राइटिष्टलाई परंपरागत होइन, उ खुला समाजको पक्षपाती हो कि बन्द समाजको भन्ने सन्दर्भमा हेर्नु पर्ने बिचार ब्यक्त गरेका थिए ।
नेपाली सन्दर्भ
राजनीतिशास्त्रका एक प्राध्यापकले भने, नेपालमा एमालेलाई वामपन्थी र कांग्रेस पार्टीलाई दक्षिणपन्थी भन्नुपर्छ ’cause यिनीहरु लोकतान्त्रिक अर्थात मध्यमार्गी भएका भए कांग्रेसले एमाले र एमालेले कांग्रेसलाई समातेर देश विकास गर्न अगाडि बढ्थे । एमाले नामले कम्युनिष्ट भए पनि समाजवादी पार्टीमा रुपान्तरित भैसकेको मानिन्थ्यो । यो प्रगतिशील सामाजिक सुरक्षा, आफ्नो गाउ आफैं बनाउ र चुनावी प्रतिस्पर्धाबाट अगाडि बढिसकेको पार्टी हो ।
उनले आफ्नो भनाईलाई पुष्टि गर्दै थपे, तर प्रगतिशील भनिएको एमाले कम्युनिष्ट कट्टरपन्थीतिर लहसिएको छ । पूर्व पंचहरु रुढिवादी भए । कांग्रेस नवउदारवादको पक्षपोषण गरिरहेछ । बहुराष्ट्रिय कम्पनी तथा विश्ववैंक र मुद्राकोषको निकायको रुपमा कांग्रेस लत्रेको छ । मधेशीहरुको के कुरा ? उनीहरु त उपेन्द्र यादववाहेक सबै कांग्रेसबाट नै फुटेर बनेका दल हुन् ! त्यसैले मधेशी बुद्धिजीवी सिकेलाल र प्रशान्त झाहरु मधेश आन्दोलनदेखि कांग्रेसलाई दक्षिणपन्थी भनिरहेका छन् ।
पार्टीहरुबीच ध्रुवीकरणको रस्साकस्सीलाई डा हर्ष गुरुंगले धेरैवर्ष अघि पार्टीहरु वाम र दक्षिणपन्थी भाषतिर भनेर लेखेका थिए । उनको पुस्तक ‘डेमोग्राफी एण्ड सोसियल एक्सप्रेसन्स’ ले त्यसैलाई पुष्टि गरेको छ । त्यस्तै पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेले त कांग्रेसमाथि गंभीर आरोप नै लगाएका छन्–कांग्रेस बीपीको होइन, विश्व बैंकको सपना साकार पारिरहेको छ !
अहिलेको ध्रुवीकरणलाई नजीकबाट नियालीरहेका ती प्राध्यापकले भने, एमाले वामपन्थी र कांग्रेस दक्षिणपन्थी धु्रवीकरणका मुख्य शक्ति हुन् । मधेशी र साना वामपन्थी दलहरु त भारेभुरे मात्र हुन् । विस्थापित भए पनि परंपरागत शक्ति भनेको राजावादी पूर्वपंचहरु नै हुन् । त्यसैले अहिले पूर्वपंचलाई कस्ले आफ्नो कित्तामा पार्ने भन्ने रस्साकस्सीमा कांग्रेस–एमाले लागेका छन् ’cause वर्तमान शक्ति सन्तुलनमा यो एक सतहमा देखिएको शक्ति हो ।
कांग्रेस एमाले भित्रको यो रस्साकस्सीलाई पत्रकारिताको भाषामा ‘जुम’ गरेर हेर्ने हो भने अचम्मका उतारचढावहरु देखिन्छन् । उनले भने, बाबुराम भट्टराईलाई धेरैथरि दक्षिणतिरबाट प्रयोग गरिएको छ, भन्छन् । तर के कुरा जगजाहेर छ भने, गिरिजाप्रसाद कोइरालाले सिद्धान्त, नीति र बिचारविरुद्ध गएर प्रचण्डसंग के कारण र कस्को सल्लाहमा मिल्न पुगे ? बीपी विचारलाई उनकै भाइले तिलान्जली दिएपछि मात्र उग्रकम्युनिष्ट र राजासंग मेलमिलाप भन्दै हिंडिरहेको कांग्रेस पार्टीबीच बाह्रबुँदे एकता संभव भएको हो ।
अहिले बीपी पुत्र डा शशांक कोइराला र खुमबहादुर खड्का राजावादी तथा उनको विरासतलाई कांग्रेसमा तान्न कन्दनीदेखिको बल लगाइरहेछन् । आफ्ना कान्छा बाले गरेको ब्लन्डर शशांक, शेखर र सुजाताका लागि निल्नु न ओकल्नु भएको छ । शेरबहादुर भने यसवारे मरिगए बोल्दैनन् ’cause भनिन्छ, बिमलेन्द्र नजीक रहेसम्म उनले यस विषयमा बोल्नै सक्दैनन् । उनीमाथि बाध्यता छ ।
एमालेका केपी ओली राष्ट्रियता, गणतन्त्र, सार्वभौमसत्ता र विकासको लागि वाम–लोकतान्त्रिक राष्ट्रवादी धारलाई सशक्त बनाएर वामपन्थी ध्रुवीकरणलाई तिब्र पारिरहेका छन् । उनका एक चेलालो भने, राष्ट्रियताको मामिलामा देशभक्तहरु सबै एकै मोर्चाबाट जनताको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताका लागि विदेशी हस्तक्षेपविरुद्ध डटेर लड्नुपर्छ । यो शिक्षा हामीले जापानी उपनिवेशवादीविरुद्ध चीनका माओ र च्यांगकाइसेक मिलेर लडेकोबाट पाएका हौं । यो उदाहरणले हामीलाई बाटो देखाइरहेको छ ।
नुन, उन र सुनका लागि इतिहासदेखि संवन्धरहेको चीन÷तिब्बतसंग र धर्म संस्कृति निम्ति भारतसंगको संबन्ध दुबैलाई हामी आधुनिक नेपालको अन्तर्राष्ट्रिय संबन्ध विस्तारका रुपमा उजेल्याउन चाहन्छौं ।
ध्रुवीकरणको प्रभाव
यो ध्रुवीकरणले नयाँ राजनीतिक सम्मीकरण सिर्जना गरेको छ । भक्ष अभक्ष जे पनि खाए जस्तो गरी पार्टीहरुबीच धु्रवीकरणको लहर आएको छ । सिद्धान्त, आदर्श, नीति कार्यक्रम र इतिहास केहीलाई आधार नवनाइ भैरहेको ध्रुवीकरण देखेर कतिले त यसलाई स्वार्थीहरुको एकता पनि भनिरहेछन् । सद्धे ब्यक्तिले इतिहास संझन्छ, बहुलायो भने इतिहास विर्सन्छ । यो ध्रुवीकरणमा निहित स्वार्थी काम भैरहेछन् । यसले ध्रुवीकरण गर्नेलाई नै फाइदा पुग्ने देखिदैन । को कोसंग मिल्छ केही भन्नै नसकिने भएको छ । यसले लामो समयदेखि रहेको शक्ति सन्तुलन असन्तुलित हुन पुगेको छ ।
ती प्राध्यापकले भने, पहिलो चरणको निर्वाचनको उम्मेदवारी संगसंगै बामपन्थी ध्रुवीकरणको शिलान्यास केपी ओलीले गरिरहेका छन् भने दक्षिणपन्थीहरुको ध्रुवीकरणको शिलान्यास शेरबहादुर देउवाले गरिरहेछन् । अब को कति मजबुत हुन्छन्, निर्वाचन परिणामले नै बताउनेछ ।